शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

''उद्देश्य उज्यालो'' - शेखर अर्याल
कार्यकारी अध्यक्ष, नेपाल ऊर्जा विकास कम्पनी प्राइभेट लिमिटेड

छयालीस वर्षअघि अर्घाखाँचीको चिदिका गाविसमा जन्मेका उनी छिमेकी जिल्ला गुल्मीमा हुर्केका हुन् । पिता युवराजबाट पठनपाठनको प्रेरणा पाएका उनले त्यहीँबाट एसएलसी गरे । भारतको अलाहबाद विश्वविद्यालयमा आईए पढेका उनी काठमाडौंको चुम्बकीय आकर्षणले  तानिए- जहाँ उनले लेखरचनाबापत प्राप्त पारिश्रमिकले बीए, बीएल, बीएडमात्र गरेनन्, अर्थशास्त्रमा स्नातकोत्तर नै गरे । आधारभूत तहबाट उक्लिएका नेपाल ऊर्जा विकास कम्पनी प्राइभेट लिमिटेडका कार्यकारी अध्यक्ष शेखर अर्याल झण्डै एक दशकसम्म पत्रकारिताको सेरोफेरोमा रुमल्लिएको स्मरण सुनाउँदा त्यसै पुलकित हुन्छन् । जीवनमा कैयौँ आरोहअवरोह भोगेका उनले बायोग्यास तथा कृषि उपकरण विकास कम्पनीमा खरिदारबाट जागीरेयात्रा थालेका हुन् । १० वर्ष उक्त कम्पनीमा सेवा गर्दा अधिकृतमा पदोन्नति पाएर नेपालगञ्ज शाखा सम्हालेका थिए उनले । २०४६ सालको जनआन्दोलन उत्कर्ष तर उन्मुख भइरहेका बेला उनलाई विरोधीहरूबाट गम्भीर फत्तुर लगाइयो- कार्यालय प्रमुख भएर कार्यालय बन्द गरी आन्दोलनमा होमिएको । स्वाभिमानी उनलाई त्यो लाञ्छनाले सरकारी सेवाप्रति वितृष्णा जगायो । अन्ततः उनी जागीर छाडेर ऊर्जा र यससँग सम्बन्धित उद्यमशीलताको विकासमा लागे, जसले उनलाई नाम र दाम दुवै दिएको छ ।

नवीकरणीय ऊर्जाको क्षेत्रमा शेखरको कम्पनीले अन्तरराष्ट्रिय मान्यता प्राप्त गरेको छ । देशभर शाखा उपशाखा सञ्चालन गरेर ऊर्जाको विकासमा ग्रामीण जनतालाई प्राविधिक सेवा प्रदान गरिरहेका उनको एकमात्र लक्ष्य छ- नवीकरण ऊर्जाको प्रवर्द्धन गरेर मुलुकलाई लोडशेडिङबाट मुक्त गर्ने । सौर्यऊर्जा र साना जलविद्युत् आयोजनाले अहिले व्याप्त अन्धकार हटाउन सकिने अर्यालको ठम्याइ छ । उपकरण आयतमा भन्सार महशुलको छूटलगायत सहुलियत दिएर सरकारले उपयुक्त वातावरण बनाएमा  ५ वर्षमा लोडशेडिङबाट पार पाइने उनको निचोड छ ।

नवगङ्गा फिड इण्डष्ट्रिज, इण्टरनेशनल कलेज, फोकस मिडिया, नेशनल बायोग्यास कन्ष्ट्रक्सन एण्ड सर्भिसेज्, एकीकृत ग्रामीण विकास केन्द्र, बायोग्यास सेक्टर पार्टनरशिप नेपाललगायत व्यावसायिक एवम् सामाजिक सङ्घसंस्थासँग आबद्ध शेखरको मातहतमा करीब १ हजार ५ सय कर्मचारी कार्यरत छन् । कार्यनीति बनाएर काम गर्ने उनी कर्मचारीलाई संस्थागत सुदृढीकरणमा जोड दिन अभिप्रेरित गर्छन् । प्राप्त उपलब्धिलाई दिगो बनाउनु उनका निम्ति महत्त्वपूर्ण हो । कामप्रति समर्पित नहुने र अनुशासनहीनहरूसँग व्यवहार गर्न उनलाई पटक्कै मन लाग्दैन । क्षमता भएर पनि कामप्रति उदासीन हुनेहरू पनि उनलाई अप्रिय लाग्छन् ।

नेपाल ऊर्जा विकास कम्पनीका निर्देशक नवराज कुँवर शेखरको सरलताबाट अत्यन्त प्रभावित छन् । सबैलाई समान र मित्रवत् व्यवहार गर्ने उनको शैलीको कुँवर प्रशंसा गर्छन् । प्रचुरमात्रामा विषयगत ज्ञान भएका शेखर नवीकरणीय ऊर्जाको क्षेत्रका प्रभावशाली १० व्यक्तिभित्र पर्ने उनी उल्लेख गर्छन् । कसैसँग नरिसाउने र हाँसीहाँसी व्यवहार गर्ने शेखरका अँध्यारा पक्ष आफूलाई थाहा नभएको बताउँछन् कुँवर ।

सिध्दार्थ विकास बैङ्क लिमिटेडका अध्यक्षसमेत रहेका शेखरलाई नेपाल राष्ट्र बैङ्कले प्रमुख कार्यकारी अधिकृतको पारिश्रमिकका सम्बन्धमा जारी गरेको परिपत्र त्यति व्यावहारिक लाग्दैन । सीईओहरूले बढी नै सुविधा लिएको स्वीकार्छन् उनी । तर, सक्षम र अक्षमलाई एउटै तराजुमा राखेर मूल्याङ्कन गर्नु तर्कपूर्ण नहुने उनको बुझाइ छ । 'बैङ्क तथा वित्तीय संस्थाको मर्जर अपरिहार्य भएको छ' वर्तमान वित्तीय परिदृश्यको विश्लेषण सुनाउँछन् उनी । ठोस नीति ल्याएर बैङ्क विलय गर्न सकिने उनको मत छ । देशको समग्र आर्थिक हित त्यसले प्रवर्द्धन गर्नुपर्नेमा उनी जोड दिन्छन् ।

आफ्नो आयको २० प्रतिशत रकम सामाजिक सेवामा खर्चने शेखर त्यसको प्रचार रुचाउँदैनन् । दृढ विश्वासका साथ काम गरेमा सफलताले साथ दिने उनलाई लाग्छ । यद्यपि आफूलाई सफल भन्दैनन् उनी । हरेक मान्छेमा ६० प्रतिशत गुण भए ४० प्रतिशत दोष हुने भएकाले उसलाई सफल भन्न नसकिने उनको तर्क छ । आफूले नै दृष्टान्त बनेर समाजमा प्रस्तुत हुनुपर्ने उनको धारणा छ । देशमा व्यावसायिक संस्कृतिको विकास हुन नसकेको बताउने उनी सरकारी तथा गैरसरकारी क्षेत्र व्यक्तिगत स्वार्थबाट निर्देशित भएको उनको टिप्पणी छ ।

Admin 2011-02-10