''राष्ट्रनिर्माणको ओखती'' - प्रदीपजङ्ग पाण्डे
अध्यक्ष तथा प्रबन्ध निर्देशक
लोमस फर्मास्युटिकल्स
आफ्नो कम्पनीबाट उत्पादित औषधिलाई विश्व बजारमा उपलब्ध उस्तै खालका औषधिसँग पूर्ण प्रतिस्पर्धी बनाउन उनी दिनरात खटिरहेका छन् । कम्पनीको प्रगतिलाई आफ्नो समृद्धि ठान्ने उनका कर्मचारी र कामदारले पनि होस्टेमा हैंसे गरिरहेका छन्- बिहान ७ नबज्दै उत्पादन शुरू गरेर । त्यसैले उनको कार्यालयको आगन्तुक प्रतीक्षालयमा राखिएको बडेमानको फ्रेममा अङ्कित 'हामी रोग निदानका लागि हेरचाह गर्र्छौं' भन्ने घोषित प्रतिबद्धता सामयिक एवम् र्सार्थक प्रतीत हुन्छ । लोमस फर्मास्युटिकल्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक प्रदीपजङ्ग पाण्डे उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग गर्दै राष्ट्रलाई आर्थिक रूपमा सबल बनाउनुपर्नेमा जोड दिन्छन् । विश्व स्वास्थ्य सङ्गठनले निर्धारण गरेको 'गुड म्यानुफ्याक्चरिङ प्राक्टिस'अर्थात् उत्तम उत्पादन अभ्यासलाई उनले गायत्रीमन्त्र नै मानेका छन- गुणस्तरीय उत्पादनका निम्ति । स्तरीय उत्पादनका कारण स्वीट्जरल्याण्डको बहुराष्ट्रिय कम्पनीले केही समयअघि गरेको सर्वेक्षणमा उनको कम्पनीलाई 'नेपालको नम्बर एक' को दर्जा दिएको उनी र्सगर्व सुनाउँछन् । विश्वभरका सर्वोत्कृष्ट औषधि उत्पादक कम्पनीका नामले भरिएको अजङ्गको पुस्तक पल्टाउँदै आफ्नो उपलब्धि देखाउँदा उनलाई गर्व लाग्छ । सर्वेक्षक कम्पनीले छापेको त्यो पुस्तक 'नम्बर वान' को प्रमाण हो । त्यो र्सर्वेक्षणअनुसार विगत १० वर्षदेखि उनको कम्पनीलाई कसैले उछिन्न सकेका छैनन् ।
भारतले नेपालमा नाकाबन्दी लगाएको बेला रू.२५ लाखको अधिकृत पूँजीबाट थालिएको लोमस फर्मास्युटिकल्सले ६० करोड बढीको सम्पत्ति जोडिसकेको छ । 'नेपालमा पनि औषधि उत्पादन हुन्छ र -' सरकारका उच्च पदस्थ अधिकारीहरूले अविश्वास प्रकट गरेको समयमा उद्योग सञ्चालन गरी २ सय ५७ किसिमका ओखती बजारमा पुर्याउन र्समर्थ भएको समयलाई पाण्डेले जीवनको 'महत्त्वपूर्ण मोड मानेका छन् । उनको नेतृत्व एवम् सक्रियतामा नेपाल उद्योग वाणिज्य महासङ्घका तर्फाट औद्योगिक तथा वाणिज्य नीति पारित गराउन सरकारलाई 'कन्भिन्स' गराउनु पनि उनको उपलब्धि सूचीको अर्को बुँदा हो ।
योजनाबद्धरूपमा काम गर्ने उनी बजारको प्रवृत्ति हेरर पाइला चाल्छन् । कामबाहेक केही नसोच्ने उनको बानी छ । आफूले सञ्चालन गर्ने उद्योग, व्यापार वा व्यवसायबारे पूर्ण ज्ञान नभई कारोबार नथाल्न युवा पुस्तालाई उनको सुझाव छ । आफ्ना कर्मचारीलाई पनि उनी यस्तै दीक्षा दिइरहन्छन् । लोमसमा काम गर्ने १ सय ९० कर्मचारीलाई उनी परिवारका सदस्यका रूपमा व्यवहार गर्छन् । इमानदारीपूर्वक जिम्मेवारी वहन गर्न कर्मचारीलाई प्रेरित गर्ने उनको बानी छ । 'कर्मचारी बने आफू पनि बनिन्छ' भन्ने मान्यताप्रति शतप्रतिशत विश्वस्त उनले सधैं सबै कर्मचारीलाई कम्पनीकै खर्चमा दिउँसोको खाना खुवाउने गरेका छन् । उनीहरूको स्वास्थ्यप्रति उत्तिकै सजग उनले हरेक साता कारखानामा स्वास्थ्य परीक्षणको व्यवस्था गरेका छन् । 'पोषिलो खाना र नियमित स्वास्थ्य परीक्षणले हाम्रा कामदारका भुँडी बढेका छन्' समृद्धिको सूचक भुँडीको बखानका साथ लामो हाँसो हाँस्दै उनी संवादलाई अझ जीवन्त बनाउँछन् । 'काम कम कुरा ज्यादा' गर्नेहरूसँग उनलाई व्यवहार गर्न पटक्कै मन लाग्दैन । सधैं नयाँ काम गर्न रुचाउने पाण्डेले जडीबुटीबाट पनि औषधि उत्पादन थालेका छन् । विराटनगरमा 'सिमेण्ट प्लाण्ट'स्थापनाको तयारीमा पनि उनी जोडतोडका साथ जुटेका छन् ।
बन्द उद्योगको पुनः सञ्चालन, निकासी प्रवर्द्धन, रोजगारीका अवसरहरूको सिर्जना र आयात प्रतिस्थापन थलिएको अर्थतन्त्र उठाउने उपायहरू भएको पाण्डेको ठम्याइ छ । मजदूरमात्र होइन, नेपालीले सिकेका शीप पनि निकासी गर्न सकिने उनको विश्लेषण छ । नेपाल र नेपालीलाई फाइदा पुग्ने काम गर्न धेरै बाँकी रहेको र त्यो नै आफ्नो लक्ष्य भएको बताउने उनी ७ वर्षभित्र देशको स्वरूप परिवर्तन गर्न सकिने ठोकुवा गर्छन् । कृषि, पशुपालन, दुग्ध उत्पादन, भौतिक संरचनाको विस्तार, जलस्रोत र वन पैदावारको उपयोगका निम्ति प्रत्यक्ष वैदेशिक लगानी तथा गैरआवासीय नेपालीलाई भित्र्याउने सूत्र सुझाउँछन्- पाण्डे । बिजुली, श्रम, श्रमिकलगायतका व्यवधान पन्छाउनु त्यस्तो लगानी ल्याउने पूर्वशर्त भएको उनको बुझाइ छ । परिश्रमी, पराक्रमी र अतिथि सत्कारमा नाम कमाएका नेपालीको पहिचानले पनि लगानी आकर्षित गर्ने उनको धारणा छ । 'प्रकृति र जनतालाई असर नगर्ने उद्योगलाई चौबीसै घण्टा चल्न दिनुपर्छ' उद्योगधन्दा बन्द हुन नहुने तर्क गर्दै उनी भन्छन् ।
जीवनको साठीऔं वसन्तमा हिँडिरहेका पाण्डेले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका छन् । तीन छोराका पिता उनी आफ्ना उत्पादनलाई पनि सन्तानको संज्ञा दिन्छन् । धर्मकर्ममा विश्वास गर्ने उनी सोमवार उपवास बस्छन् । १४ वर्षघि कायम भएको मूल्यमा प्यारासिटामोल आज पनि ६० पैसामा बेचेर उनले संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गरिरहेका छन् । अप्ठयारोमा परेका बिरामी र देशका विभिन्न अस्पताललाई पनि उनले निःशुल्क औषधि उपलब्ध गराउँदै आएका छन् ।