''विवेक व्यवस्थापन''
कर्ण शाक्य
संस्थापक अध्यक्ष, केजीएच ग्रूप
पर्यटन व्यवसायी उनले 'खोज' र 'सोच'जस्ता चर्चित पुस्तक लेखेर नयाँ परिचय बनाएका छन्- लेखकको । आफूलाई लेखक वा साहित्यकार केही पनि भन्न रुचाउँदैनन् उनी । मनका अन्तरङ्ग र भावना सरस र सरल भाषामा अभिव्यक्त गर्न माहिर उनी आफ्ना सृजना गृहिणी, युवावर्ग र साना व्यापार गर्नेहरूका निम्ति भएको उल्लेख गर्छन् । समाजसेवी, संरक्षण एवम् पर्यटनजगत्का भीष्मपितामह ६७ वर्षिय कर्ण बहादुर शाक्य अहिले 'मोज' नामक कृति रचनामा व्यस्त छन् । सेवानिवृत्त ज्येष्ठ नागरिकको दिनचर्यामा आधारित छ- उनको मोज । उनले व्यापार-व्यवसायबाट विश्राम लिएको २ वर्षनाघिसकेको छ ।
वन विज्ञान, प्रकृति एवम् वन्यजीवजन्तु संरक्षणमा वैशिष्टय हासिल गरेका उनले सन् १९६७ देखि पश्चिमी नेपालमा संरक्षण अधिकृतका रूपमा जागीरे जीवन प्रारम्भ गरेका थिए । त्यसै वर्षउनले देहरादूनस्थित इण्डियन फरेष्ट्री कलेजबाट वनविज्ञानमा पोष्टग्य्राजुएट डिप्लोमा गरेका हुन् । ४ वर्ष तत्कालीन श्री ५ को सरकारको वन्यजन्तु संरक्षण अधिकृत रहेका उनले 'एउटै पेशामा अल्भिम्नु हुँदैन' भन्ने मान्यताका कारण सरकारी सेवाबाट बाहिरिएर आफ्नै व्यवसाय थालेका हुन्- ठमेलमा काठमाडौं गेष्ट हाउस स्थापना गरेर ।
विधिमा बाँधिएर विवेकको व्यवस्थापन गर्दा देशको विकास हुने शाक्यको बुझाइ छ । सेना नभएको स्वीट्जरल्याण्ड र संविधानविहीन बेलायत दृष्टान्तका रूपमा प्रस्तुत गर्छन् उनी- विधि एवम् विवेकको उपयोगबाट तिनले हासिल गरेको आर्थिक समृद्धि । विवेकहीनताले नेपालीको यो गति भएको उनको विश्लेषण छ । 'देशमा यो भएन, त्यो भएन भनेर सरकारलाई मात्र सधैँ गाली गर्दैमा सबै समस्याको समाधान हुँदैन । समाजलाई नियमले होइन, विवेकले बाँध्नुपर्छ । समाजका कुरीति र विकृतिमा आँखा चिम्लनु हरुवा प्रवृत्ति हो । समस्यालाई बेवास्ता गरेर सबै राम्रो हुनेछ भनी आअशा राख्नु सकारात्मक सोच होइन, मात्र दिवा सपना हो । सकारात्मक सोचलाई मूर्तरुप दिने हो भने समाजको अँध्यारो पक्षलाई पनि नियालेर हेर्नैपर्छ,' सामाजिक परिवर्तनका लागि निर्वाह गर्नुपर्ने नागरिक कर्तव्य, विधिको शासन र सकारात्मक सोचबारे प्रस्टयाउँदै मृदु मुस्कानका साथ उनी भन्छन् ।
शाक्य संस्थापक अध्यक्ष रहेको केजीएच ग्रूपअर्न्तर्गत काठमाडौं गेष्ट हाउस, पार्क भिलेज होटल, बुद्धमाया गार्डेन होटल, पोखरा भ्यू गार्डन होटललगायत सेवामूलक उद्योगमा करोडौं रुपैयाँ लगानी गरेका छन् । आफूलाई 'रिटायर्ड'भने पनि उनका होटलमा झण्डै ५ सय जनाले रोजगारी पाएका छन् । प्रतिबद्धता, इमानदारी र धैर्य उनको व्यवस्थापन मन्त्र हो । रातारात कमाउने सोचबाट काम नगर्न सल्लाह दिने उनी 'बिजनेश इज ए लङ गेम' भन्छन् । शोषक र शासक भएर होइन, कर्मचारीको मन जितेर काम लिनुपर्छ । उनका अनुसार मुख र आँखाको भाषा एउटै हुनुपर्छ । शाक्यको विचारमा कसैले कसैलाई प्रेरणा दिन सक्दैन । तर, उनले बाबु सिद्धिबहादुरबाट 'मौकामा हीरा फोर्ने' र माता बुद्धमायाबाट 'लिएर होइन दिएर बाँच्ने' उत्प्रेरणा पाएका हुन् । उनका जनकजननी दुवै अहिले जीवित छै्रनन् । उनका दुइ छोरा एक छोरी छन् । उनीहरूलाई आत्मनिर्भर हुन घचघच्याउने उनी सबै नेपालीलाई त्यस्तै सन्देश दिन्छन् । समय र पैसा बर्बाद गरेको उनलाई मन पर्दैन । घाँटी हेरर हाड निल्नुपर्ने उखान पालना गर्न जोड दिने शाक्यलाई धेरै व्यवसायमा हात हाल्दा लक्षित उद्देश्य र उपलब्धि हासिल हुन्छ भन्ने लाग्दैन ।
परिस्थितिको सामना गर्दै समयसापेक्ष काम गर्न सक्नु शाक्यका निम्ति सफलता हो । 'होप फर द बेष्ट एण्ड प्रिपेयर फर द वष्र्ट' सकारात्मक सोच र सफलताको सूत्र सुनाउन उनी चुक्तैनन् । र, सँगै दुर्गालाल श्रेष्ठको 'फूलको आँखामा फूलै संसार.....' गीत पनि गुनगुनाउँछन् । एक्लै कमाउँछु भन्नेहरूलाई उनी मूर्ख् मान्छन् । आफूसँगै समुदायलाई पनि उन्नतिको मार्गमा डोर्याउने व्यक्ति नै वास्तविक उद्यमी भएको उनको ठम्याइ छ । आफूलाई सफल वा असफल केही नभन्ने शाक्य त्यसको मूल्याङ्कन अरूले गर्नुपर्ने उल्लेख गर्छन् । जीवनको मूल्याङ्कन लम्बाइबाट होइन, गहिराइबाट हुनुपर्ने उनको मत छ ।
जीवनसाथी सानुछोरी र आफ्नै छोरी सम्झनाको क्यान्सर लागेर यौवनावस्थामा नै देहावसान भयो । यही पीडालाई नै प्रेरणाको स्रोत बनाएर उनले भरतपुर र भक्तपुरमा क्यान्सर अस्पताल स्थापनामा अतुलनीय योगदान गरेका छन् । उनले 'एक पैसाबाट क्यान्सर अस्पताल' राजस्व उठाउने अवधारणा अघि मात्र सारेनन् ती दुवै अस्पताललाई आजको अवस्थामा पुर्याउन तन, मन र धनले योगदान गरेका छन् ।