विश्व हल्लाउने झारखण्डको केटो
देवेन शर्मा
अध्यक्ष, स्ट्याण्डर्ड एण्ड पुअर्स (एस एण्ड पी)
भारतका पिछडिएमध्येको एक राज्य हो- झारखण्ड । भौतिक विकास, शिक्षा, स्वास्थ्य र रोजगारीका अवसरजस्ता आधारभूत आवश्यकताबाट यहाँका धेरै बासिन्दा अझै वञ्चित छन् । तर, त्यस्तो पिछडिएको क्षेत्रबाट आएका एक व्यक्तिले अहिले विश्वको अर्थतन्त्रलाई दिशानिर्देश गरिरहेका छन् भन्ने सुन्दा जोकोही पनि अचम्मित हुन सक्छन् । गत शुक्रवार अमेरिकाको क्रेडिट रेटिङ 'ट्रिपल ए'बाट 'डबल ए प्लस'मा झारेर विश्वभर हल्लीखल्ली मच्चाउने 'स्ट्याण्डर्ड एण्ड पुअर्स ' (एस एण्ड पी)का अध्यक्ष हुन्- झारखण्ड राज्यबाट आएका देवेन शर्मा । सन् १९५६ मा झारखण्डको धनबाद जिल्लामा जन्मिएका देवेनका पिता आरएन शर्मा 'भारत कोकिङ कोल लिमिटेड'का अध्यक्ष थिए । धनबाद जिल्लाकै 'डी नोबिली' विद्यालयबाट हाइस्कूलको शिक्षा लिएका उनले 'बिरला इन्षिटच्युट अफ टेक्नोलोजी'बाट स्नातक गरे । स्नातकको अध्ययनपछि अमेरिका पुगेका उनले 'युनिभसिटी अफ विस्कोन्सिन'बाट स्नातकोत्तर र 'ओहायो स्टेट युनिभसिटी'बाट व्यापार व्यवस्थापनमा पीएचडी गरेका छन् ।
शुरूमा देवेनले विभिन्न म्यानुफयाक्चरिङ कम्पनीमा काम गरेका थिए । उनी 'ड्रेसर इण्डष्ट्रिज' र 'एण्डरएन स्र्टार्थक्लाइड'जस्ता कम्पनीमा विभिन्न उच्च ओहादामा कार्यरत रहे । उनीसँग परामर्शदाता संस्था 'बुज एलेन ह्यामिल्टन'मा नीतिनिर्माण, विक्री, व्यापार प्रवर्द्धनलगायत क्षेत्र सम्हालेको १४ वर्षलामो अनुभव छ । आफ्नो कार्यदक्षताका कारण देवेन पछि 'बुज एलेन ह्यामिल्टन'का व्यापारिक साझेदार बन्न सफल भए । सन् २००२ मा उनी अमेरिकी ट्रेडिङ कम्पनी 'म्याक-ग्र हिल'का रणनीतिक विभागका उपाध्यक्ष नियुक्त गरिए । विश्वको सबैभन्दा ठूलो क्रेडिट रेटिङ एजेन्सी 'स्ट्याण्डर्ड एण्ड पुअर्स' (एस एण्ड पी) 'म्याक-ग्र हिल'को सहायक कम्पनी हो । सन् २००६ अक्टोबरमा 'एस एण्ड पी'को लगानी र विक्री सेवा विभागको कार्यकारी उपाध्यक्षमा नियुक्त भएपछि देवेनको व्यावसायिक जीवनमा एउटा महत्त्वपूर्ण मोड आयो । उनको रणनीति निर्माण र नेतृत्वको खुबीका कारण कम्पनीलाई विभिन्न क्षेत्रमा ठूलो सफलता हात लागेको बताइन्छ । 'द म्याक-ग्र हिल कम्पनिज'का अध्यक्ष र कार्यकारी प्रमुख ह्यारोल्ड म्याक-ग्रले एक अन्तरवार्तामा देवेनको रणनीतिक चातुर्य र विश्वबजार बारेको राम्रो ज्ञानले आफ्नो समूह अहिले उच्च स्थानमा पुग्न सफल भएको बताएका छन् । उनले देवेनको व्यक्तित्व र खुबी आफूहरूको पनि सम्पत्ति भएको उल्लेख गरे । यिनै कारणले उनले सन् २००७ अगष्टमा 'एस एण्ड पी' को अध्यक्ष पद सम्हाल्ने मौका पाए ।
देवेन अहिले विश्वका सर्वाधिक प्रभावशाली व्यक्तिमध्ये एक हुन् । 'एस एण्ड पी'को विश्वव्यापी प्रभाव उनको आगमनपछि बढेको बताइन्छ । उनी अध्यक्ष भएपछि 'एस एण्ड पी'ले गरेका केही निर्णयले विश्व अर्थतन्त्रमा ठूलो महत्त्व राखेको छ । ती निर्णयमा सन् २००९ यता आयरल्याण्ड, स्पेन, ग्रीस र अहिले अमेरिकाको क्रेडिट रेटिङ घटाउने कार्य प्रमुख छन् । तर, 'एस एण्ड पी'का ती निर्णय विवादमुक्त भने रहेनन् । विशेषगरी अमेरिकाको रेटिङ घटेपछि अमेरिका र विश्वभरि तीव्र विवाद जन्माइदिएको छ । अमेरिकामा त यसले राजनीतिक कोलाहाल नै शुरू भएको छ । प्रतिपक्षी रिपब्लिकनहरूले राष्ट्रपति बाराक ओबामाविरुद्ध एक गतिलो राजनीतिक हतियार प्राप्त गरेका छन् । क्रेडिट रेटिङ घटेपछि रिपब्लिकन पार्टीका तर्फबाट सन् २०१२ को राष्ट्रपति पदका प्रत्याशीहरूले त सार्वजनिक रूपमै ओबामा प्रशासन असफल भइसकेको र अर्थमन्त्री टिमोथी गाइथ्नरले राजीनामा दिनुपर्ने माग गरेका छन् । 'एस एण्ड पी'को निर्णये राष्ट्रपति ओबामाको लोकप्रियता घटिरहेको विभिन्न सञ्चारमाध्यमले उल्लेख गरेका छन् । उता, सत्तापक्ष भने 'एस एण्ड पी'को निर्णयको प्रतिवाद गर्नमै व्यस्त छ । अमेरिकी सरकारले उक्त निर्णयराजनीतिक दुराग्रहले भरिएको र त्यसमा २० खर्ब डलरको गणनाको त्रुटि रहेकाले सही नभएको बताएको छ । राष्ट्रपति ओबामाले गत मङ्गलवार ह्वाइटहाउसमा आयोजित एक पत्रकार सम्मेलनमा कुनै रेटिङ एजेन्सीले भन्दैमा अमेरिकाको रेटिङ नघट्ने बताएका थिए । तर, 'एस एण्ड पी'ले सत्तापक्षको उक्त आरोपको प्रतिवाद गर्दै आफ्नो निर्णयो बचाउ गरेको छ । अमेरिकाको क्रेडिट रेटिङ घटेपछि विश्वका प्रमुख शेयर सूचकाङ्कहरू ओरालो लागिरहेका छन् । त्यसैगरी विश्वको प्रमुख मुद्रा अमेरिकी डलरको मूल्य निरन्तर कमजोर भइरहेको छ भने सुनको मूल्यमा तीव्र वृद्धि देखिएको छ । तेल, खाद्यान्नलगायत कमोडिटिजमा पनि व्यापक उतारचढाव भइरहेको छ । देवेनले यही विषयमा विगत केही महीनायता अमेरिकी कांग्रेशको सुनुवाइमा प्रश्नहरूको सामना गर्नुपर्यो । तर, उनी आफ्नो निर्णय्रति दृढ देखिन्छन् । हालैको एक अन्तरवार्तामा उनले क्रेडिट रेटिङ घटाउनु अर्थतन्त्रको विकराल परिस्थितिको उपज भएको बताएका थिए ।
जे भए पनि यसबाट देवेन शर्माको विश्व अर्थतन्त्रलाई दिशानिर्देश गर्ने खुबी भने विश्वसामु राम्रैसँग प्रदर्शित भयो । देवेनले विभिन्न व्यवस्थापकीय विषयमा तीनओटा पुस्तक पनि लेखेका छन् । उनका पुस्तकमा 'द ट्रुथ अबाउट कष्टोमर सोलुसन्स', 'कष्टोमर सोलुसन्स-पाइलट्स एण्ड प्रोफिट्स' र 'कनेक्टिङ द डिमाण्ड चेन' रहेका छन् । 'एस एण्ड पी'को अध्यक्ष पदका साथै उनी भारतको क्रेडिट रेटिङ गर्ने संस्था 'क्रेडिट रेटिङ एण्ड इन्फरमेशन सर्भिसेज अफ इण्डिया लिमिटेड' (क्रिसिल)को पनि अध्यक्ष छन् ।
Admin 2011-08-12