शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

तथ्यको परख
उत्तमनारायण मल्ल
महानिर्देशक
केन्द्रीय तथ्याङ्क विभाग

उनको जागीरको प्रारम्भ नै जनगणनाको कामबाट भएको थियो र अन्त्य सोही कामबाटै हुँदै छ । 'जिन्दगी पूरै तथ्याङ्क केलाउँदैमा बित्यो', केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक उत्तमनारायण मल्ल भन्छन् । २०२८ सालमा गणक भएर काम गरेका उनी चारओटा जनगणनाका काममा प्रत्यक्ष संलग्न रहे र अहिले सो कामको अगुवाइ गरिरहेका छन् । त्यसो त मल्लको सरकारी जागीरमा प्रवेश २०३८ मा भएको थियो( शाखा अधिकृत भएर । उनले अधिकांश समय तथ्याङ्क विभागमा बिताए । जागीर प्रवेश गर्दा पनि मल्ललाई जनगणना कामको चटारोले छोएको थियो । अवकाश पाउन २ वर्षमात्र बाँकी रहँदा पनि त्यही काममा व्यस्त छन् उनी । उनले २०७० मा अहिलेको जनगणनाको परिष्कृत नतीजा तयार पारेपछि उमेरका कारण अवकाश पाउँदै छन् । फरक यति हो, त्यसबेला उनले अरूले अह्राएको काम गर्नुपथ्यो तर अहिले आफै अगुवाइ गर्छन् । 'जिन्दगीमा एउटै विभागमा रहेर यति लामो समय काम गर्ने अवसर थोरैले मात्र प्राप्त गर्छन्,' मल्ल भन्छन् ।

'कोही नछुटौं, कोही नदोहोरिऔं' भन्ने नारासहित प्रारम्भ भएको राष्ट्रिय जनगणना २०६८ को नेतृत्व उनकै काँधमा छ । मुलुकको अन्तरिम संविधानले धेरै कुराको आधार जनगणनाबाट प्राप्त जनसङ्ख्यालाई मानेको छ । निर्वाचन क्षेत्र, सभासद् सङ्ख्या, र समानुपातिक प्रतिनिधित्वको निर्धारणसमेतमा जनसङ्ख्यालाई मानेको छ । 'यी सबै संवेदनशीलतालाई ख्याल गर्दै हामीले 'कोही नछुटौं, कोही नदोहोरिऔं' भनेका हौँ,' उनले भने । यस वर्षको जनगणनामा २ करोड ८५ लाख जनसङ्ख्या प्रक्षेपण गरिएको मल्ल बताउँछन् ।  जनगणना थोरै प्रश्न राखेर थोरै अवधिमा भरपर्दो नतीजा निकाल्ने तरीका हो भन्ने उनको बुझाइ छ । 'गुणस्तरयुक्त तथ्याङ्क निकाल्नु चुनौती पूर्ण कार्य हो,' उनी भन्छन् । तथ्याङ्कलाई निष्पक्ष बनाउन यसअघिको तुलनामा धेरै प्रश्नसहित गणक खटाइएको मल्लले बताए । यसपटक ३४ हजार गणक र ८ हजार सुपरिवेक्षकको व्यवस्था गरिएको उनको थियो । 'यसका लागि रू.१ अर्ब १८ करोड बजेट सरकारले उपलब्ध गराएको छ,' उनले भने ।

अभाव र गरीबीमा हुर्किएका मल्लको रुचि शुरूमा व्यापारमा थियो । २०१२ सालमा भक्तपुरमा जन्मिएका उनले स्नातकोत्तरसम्म काम गर्दै पढेका थिए । कक्षामा सधैं चौथो स्थानमा पर्थे उनी । काठमाडौंमा पढ्नलाई आर्थिक अवस्थाले नभ्याएपछि उनले भक्तपुर कलेजमा पढे । त्रिवि केन्द्रीय क्याम्पसबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका मल्लले २०३६ मा तथ्याङ्क विभागमा अस्थायी जागीरमा प्रवेश गरेका थिए । तर, त्यसको २ वर्षपछि उनी लोकसेवा दिएर त्यहीँ स्थायी भए । मल्ल २०४७ मा तथ्याङ्क अधिकृत, २०५२ मा  वरिष्ठ तथ्याङ्क अधिकृत हुँदै २०६१ मा उपमहानिर्देशक भएर २०६६ मा महानिर्देशक भएका थिए । 'धैर्य र स्थिरताले मलाई यस क्षेत्रमा सफल तुल्यायो,' उनी भन्छन् । ३ दशक लामो जागीरे यात्रामा उनले थोरै समय कृषि मन्त्रालयमा पनि काम गरे ।

बढ्दो जनचेतनाका कारण तथ्य सङ्कलन सहज भएको उनको भनाइ छ । फुसदमा प्रेरक जीवनी र दर्शनका पुस्तक पढ्न रुचाउने मल्ल साहित्यकार बालकृष्ण समको कृति 'नियमित आकस्मिकता' अध्ययन गर्न सबैलाई सल्लाह दिन्छन् । सहभागितामूलक र पारदर्शी व्यवहार नै 'व्यवस्थापनको मन्त्र' ठान्छन् । 'चेतनाको यो युगमा विचारको विविधता हुनु स्वाभाविक हो । त्यसैले, समयमा सबै विचारलाई समेटेर अघि बढ्नुपर्छ,' उनी भन्छन् । कर्मचारीलाई विश्वासमा नलिई काम नगर्ने उनको मान्यता छ । योजना बनाएर काम गर्ने बानी भए पनि कहिलेकाँही तत्कालै निर्णयलिएर अगाडि बढ्ने गरेको मल्ल बताउँछन् । 'कर्मचारीसँग मालिकको व्यवहार गर्नुहुँदैन भन्ने मैले इराक र कम्बोडियाको संविधानसभाको निर्वाचनमा स्वतन्त्र पर्यवेक्षक बनेर सिकेको पाठ हो,' उनी भन्छन्, 'त्यसैले म सबैसँग दाजुभाइको जस्तो व्यावहार गर्छु' मन स्थिर गराउन उनी मठमन्दिरमा जान्छन्, तर पूजा गर्दैनन् । जागीरबाट अवकाश पाएपछि आम्दानी हुने काम नगर्ने उनको विचार छ । 'सामाजिक काममा लाग्ने विचार छ,' उनले भने ।

मानव संसाधनको व्यवस्थापन मुलुकको चुनौती रहेको मल्लको ठम्याइ छ । अहिले मुलुकमा भइरहेको द्वन्द्वको प्रमुख कारण चुलिँदै गएको जनअपेक्षा रहेको उनको बुझाइ छ । आफू सरकारी जागीरमा प्रवेश गर्दा हरेक कोठामा विदेशी विज्ञहरू रहेको स्मरण गर्दै मल्ल भन्छन्, 'अब तपाईंले एउटा विदेशी पनि हाम्रो जनगणना कार्यमा संलग्न भएको देख्नुहुन्न ।' उनी हरेक क्षेत्रमा नेपाली आफैले अग्रसरता लिनुपर्ने बताउँछन् ।

Admin 2011-07-12