''माटोको माया'' - लक्ष्मण न्यौपाने
अध्यक्ष, सिर्द्धार्थ बिजिनेश ग्रुप अफ हस्पिटालिटी
बिरानो ठाउँमा गएर जस्तोसुकै दुःख गरे पनि आफन्तले देख्दैनन् भन्ने लागेर उनी सुदूरपश्चिमतिर लागे । गुल्मीको हुँगामा जन्मेका लक्ष्मण न्यौपानेसँग १३ वर्षअगाडि कैलालीको टीकापुरमा सामान्य होटल व्यवसाय शुरू गर्दाको उत्साह र सीपबाहेक हातमा केही थिएन । जग्गाभाडाबापत प्रतिमहीना ५ सय तिर्ने गरी ४० हजार रुपैयाँको लगानीमा शुरू गरेको व्यवसाय अहिले व्यापारिक समूहका रूपमा प्रगतिउन्मुख भइरहेको छ । त्रिपालले छाएको छाप्रोबाट शुरू भएको व्यावसायिक यात्रा अब तीनतारे होटलमा पुगेको छ । पारिवारिक एकता तथा सहकार्यको बलमा उनले व्यवसायमा सफलता पाएका हुन् । 'व्यवसायप्रतिको समर्पण, मिहिनेत र पारिवारिक सहकार्यको जगमा आजको अवस्थामा पुगेका हौँ ,' उनी समृद्धिको रहस्य सुनाउँछन् ।
न्यौपानेले नेतृत्व गरेको 'सिध्दार्थ बिजिनेश ग्रुप अफ हस्पिटालिटी' अन्तर्गत यतिबेला सातवटा 'चेन रेष्टुराँ' र एउटा तीनतारे होटल छ । उनको समूहले 'सिध्दार्थ होटल र सिध्दार्थ कटेज रेष्टुराँ' का नाममा काठमाडौं उपत्यका र राजधानीबाहिर होटल र रेष्टुराँ सञ्चालन गर्दै आएको छ । अहिले उनी ललितपुरको सानेपामा ६ रोपनी जग्गा लिएर व्यवस्थित रेष्टुराँको निर्माणमा जुटेका छन् । 'रेष्टुराँमा ग्राहकको मागअनुसारको खानेकुराका साथै वातावरण आनन्ददायक हुनुपर्छ । त्यसले ग्राहकलाई आकर्षित गर्न प्रभावकारी भूमिका निर्वाह गर्छ,' व्यवसाय विस्तारको उपाय उजागर गर्दै उनी भन्छन् ।
सिध्दार्थ बिजनेश ग्रुपसँग कृषि, पर्यटन र होटल व्यवसाय अभिवृद्धिका कैयौं योजना छन् । मध्य तथा सुदूरपश्चिमका पर्यटकीय स्थललाई व्यवसाय प्रवर्द्धनको केन्द्रमा राखेर उनको समूहले लगानीको तयारी पनि गरेको छ । प्रशासकीय झमेला र सरकारी कर्मचारीको असहयोगी भावनाका कारण तिनले मूर्तरूप पाउन नसकेको उनको गुनासो छ । जडीबुटीखेतीबाट पनि प्रशस्त आम्दानी गर्न सकिने आत्मविश्वास भएका उनी बढ्दो बेरोजगारी घटाउन जडीबुटीखेती गर्नु अपरिहार्य ठान्छन् । होटल व्यवसाय थाल्नुअघि केही समय भारतको प्रसिद्ध कपडा उत्पादक कम्पनी 'गार्डेन बरेली'मा समेत काम गरेका उनले अहिले २ सय जनालाई रोजगारी उपलब्ध गराएका छन् ।
न्यौपानेले बनाएको व्यवसायको जगमा यतिबेला उनका ६ जना दाजुभाइ खम्बा बनेर आड दिइरहेका छन् । कामप्रतिको समर्पण र लगावलाई नै आफ्नो सफलता मान्ने उनी त्यसैलाई मूलमन्त्र मानेर काम गर्न युवापुस्तालाई सल्लाह दिन्छन् । उनलाई स्वव्यवसायको उत्प्ररेणाचाहिँ 'गार्डेन बरेली' बाट प्राप्त भएको हो । त्यो कम्पनीका महाप्रबन्धक आलोक शाहले बेलाबेलामा सुनाउने विश्वविख्यात व्यवसायीहरूको सफलताको कथाले उनलाई आफ्नै व्यवसाय सञ्चालन गर्न अभिप्रेरित गरेको हो ।
सिध्दार्थ ग्रुपसँग रेष्टुराँ सञ्चालनको विशेष तरीका छ- आफ्ना कामदारहरूलाई पनि कम्पनीको शेयर वितरण गर्ने । त्यसो भयो भने कामदारमा स्वामित्वबोधको भावना जागृत हुने न्यौपानेको बुझाइ छ । त्यसैले ग्रुपले आफ्ना कर्मचारीलाई होटलको साझेदार बनाउने गरेको छ । उनको समूहले कामदारहरूबाट १० देखि १५ प्रतिशत लगानी स्वीकार गर्ने नीति नै बनाएको छ ।
कर्मचारी नै कम्पनीका साझेदार भएकाले बन्द, हडतालजस्ता गैरव्यावसायिक गतिविधि नभएको उनी बताउँछन् । दक्ष कामदार विदेशिने प्रवृत्ति बढेकामा चिन्तित उनी योग्य कर्मचारीको अभावमा व्यवसाय प्रभावित नहोस् भन्ने चाहन्छन् । आफ्ना कर्मचारीलाई परिवारको सदस्य ठान्ने उनको सबै कामदारलाई एकै थलोमा राखेर सुखदुःख बाँड्दै भोजन गर्ने बानी छ । श्रमको सम्मान र पूजा गर्नुपर्छ भन्ने मान्यताका उनी कर्मचारीहरूलाई जिम्मेवारी र अधिकार दुवै दिनुपर्नेमा जोड दिन्छन् । 'आफ्नो ठाउँमा हरेकले मालिक हुन पाउनुपर्छ' यही व्यवस्थापन सूत्रले उनको सपना साकार भइरहेको छ ।
वर्षौंअघि स्वप्नलोक मानिने अमेरिका जाने प्रवेशाज्ञा पाएका न्यौपानेले आफ्नै भूमिमा पसीना बगाउने निर्णय गरेको सुनाए । 'आफ्नो माटोभन्दा प्रिय अरू के होला र ?' भावुक हुँदै देशप्रेम भावना अभिव्यक्त गर्छन् उनी । दैनिकरूपमा बिहान १ घण्टा पूजापाठ गर्ने उनी टेलिभिजनमा समाचार र प्रायः हास्यप्रधान चलचित्र हेरेर मनोरञ्जन गर्छन् । गीतसङ्गीतप्रतिको उनको अभिरुचि पनि वर्णायकको छ । विद्यालय शिक्षापछि औपचारिक अध्ययनको यात्रालाई निरन्तरता दिन नसक्नु उनको कमजोर पक्ष हो । चार छोराछोरीका पिता उनी उच्च शिक्षा हासिल गर्न नसकेकामा पश्चात्ताप भने गर्दैनन् । ३७ वर्षको उमेरमा 'सानोतिनो' भए पनि व्यवसायमा जम्नु नै सिकाइको ठूलो क्रम भएजस्तो लाग्छ उनलाई । भन्छन्, 'ज्ञान मान्छेबाट मात्र होइन, रूख र नदीबाट पनि लिन सकिन्छ ।'