''समर्पण पर्यापर्यटनप्रति" - याङ्किला शेर्पा
प्रबन्ध निर्देशक, स्नो लियोपार्ड ट्रेक्स
सन् ७० को दशकमा हिमचितुवाबारे अनुसन्धान गर्न नेपाल आएका एक जना अमेरिकी लेखक एवम् पर्यावरणविद्को सुझावअनुसार उनको कम्पनीको न्वारान गरिएको हो । जीवनसाथी तेण्डी शेर्पाले झण्डै ३० वर्षअघि शुरू गरेको पदयात्रा व्यवसायलाई सुदृढ बनाउन उनले यति ट्राभल्सको जागीर छाडिन् । त्यहाँ १० वर्षकाम गर्दाको अनुभव र शीपले उनलाई आफ्नै व्यवसाय विस्तारमा निकै सघायो । स्नो लियोपार्ड ट्रेक्सकी प्रबन्ध निर्देशक याङ्किला शेर्पापर्यटन क्षेत्रको विकास नै मुलुकको आर्थिक समृद्धिको मेरुदण्ड मान्छिन् । शिक्षा, आत्मनिर्णयको अधिकार र अवसर दिएर महिलालाई सक्षम बनाउनुपर्नेमा जोड दिने उनी महिला सशक्तीकरणका विषय ओझेलमा परेकोमा खिन्न छिन् । हालै उनले लाङटाङ क्षेत्रका महिलालाई पाककला, अतिथिसत्कार एवम् पथप्रदर्शनको तालीम दिएर उनीहरूमा उद्यमशील र आत्मनिर्भर हुन प्रेरित गरेको बताइन् । ट्रान्स हिमालय इन्भायरमेण्ट एण्ड लाइभ्ली हुड नामक संस्थासँगको सहकार्यमा देशका ग्रामीण पर्यटकीय स्थलमा उनले यस्ता कार्यक्रमलाई निरन्तरता दिइरहेकी छन् । महिलाहरूको आत्मविश्वास बढाउन यस्ता तालीम अपरिहार्य भएको उनको बुझाइ छ ।
ताप्लेजुङको अति विकट गाउँ ओलाङचुङगोलाकी शेर्पाले सेण्ट मेरिज स्कूलबाट सिनियर क्याब्रिज गरेकी हुन् । बीएबीएड हुँदै समाजशास्त्रमा स्नातकोत्तर उनले बुबा र मामाको प्रेरणाबाट उच्च शिक्षा हासिल गरेकी हुन् । सम्भ्रान्त परिवारका छोरीहरूसँग सेण्ट मेरिज स्कूलको छात्रावासमा बस्दाका क्षण उनको मानसपटलमा सधैं आइरहन्छ- ओलाङचुङगोला मात्र होइन, नेपालको भूगोलबारे सामान्य ज्ञानसमेत नभएकाहरूलाई आफ्नो जन्मस्थलबारे अर्थ्याइरहनुपर्दा । मीनपचासको छुट्टीमा ओलाङचुङगोला पुग्न धरानबाट १० दिन हिँड्नुपथ्र्यो र र्फकन पनि त्यति नै दिन लाग्थ्यो उनलाई । अरू साथीले घरपरिवारसँग बिताएका बिदाका दिन उनका निम्ति घर र धरानबीच आउजाउको उपक्रमले बेस्वाद बनाइदिन्थ्यो ।
विकट क्षेत्रकी शेर्पाले मुलुकको पर्यटन प्रवर्द्धनमा पुर्याएको योगदानको कदर गर्दै तत्कालीन राजाले राष्ट्रिय सभामा मनोनयन गरेका थिए । शाही शासनकालमा पर्यटन राज्यमन्त्रीसमेत बन्ने सौभाग्य पाएकी उनले विधायक र मन्त्री बन्ने कल्पनासमेत गरेकी थिइनन् । उनलाई यी दुइ पद जीवनका प्रमुख उपलब्धि लाग्छन् । पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हाल्दा उनले विमानस्थललगायत क्षेत्रको अस्तव्यस्तता अन्त्य गर्ने प्रयास गरिन् । कहीँ सफल भइन्, कहीँ असफल । सुकेटार विमानस्थल स्तरोन्नतिको धेरै प्रयास गरिन् उनले । तर, राजनीतिक खिचातानीले सफल हुन सकिनन् । खेद प्रकट गर्छिन् उनी- विकासका काममा हुने यस्ता खिचातानीको । देशका लागि सोच्न उनको आग्रह छ नेतृत्ववर्गमा । सुशासनको अभावमा विकास निर्माणका कार्य ठप्प भएको टिप्पणी गर्ने उनी देशको विकास ५० वर्षपछाडि धकेलिएको बताउँछिन् ।
पदयात्राको व्यवसाय 'सिजनल' भए पनि पर्यटनको याममा झण्डै २ सय मानिसलाई रोजगारी दिन्छिन् शेर्पा । पारदर्शिता र सहभागितामूलक व्यवस्थापनमा उनको जोड छ । कर्मचारीहरूलाई ल्याकतअनुसारको जिम्मेवारी दिने उनको बानी छ । स्वामित्वबोधका साथ काम गर्न उनीहरूलाई उत्प्रेरित गर्छिन् शेर्पा । उनीहरूसँग परिवारका सदस्यसँगको जस्तो व्यवहार गर्ने उनी कर्मचारीका पीरमर्का र पारिवारिक समस्या समाधान गर्न पनि लागिरहन्छिन् । सबैलाई आदर गर्ने उनी मालिक- कामदारको विभेदविरुद्ध छिन् । अरूसँग नाजायज फाइदा लिन खोज्ने र इमान नभएकाहरूसँग काम गर्न उनलाई फिटिक्कै मन लाग्दैन । ग्रामीण भेगका विपन्न वर्गका महिलाको आर्थिक उन्नतिलाई उनले लक्ष्य बनाएकी छन् । र, त्यस दिशामा पर्यटनसँगसम्बन्धित कार्यक्रम व्यक्तिगत एवम् सङ्गठित रूपमा सञ्चालन गरिहेकी छन् उनले । कञ्चनजङ्घा संरक्षण क्षेत्रका जनताको उन्नयन उनको प्राथमिकता हो । पर्यापर्यटन आर्थिक विकासको वाहक हुन सक्ने उनको ठम्याइ छ । पर्यटन वर्षलाई अभियान मान्ने उनी सडक, विमानस्थललगायत भौतिक पूर्वाधारको विकासमा जोड दिन्छिन् । द्वन्द्वोत्तर नेपाल भ्रमणका निम्ति सुरक्षित छ भन्ने प्रचार गर्न अभियान सफल हुनेमा ढुक्क छिन् उनी ।