''कामका लागि काम'' - पूणिर्मा राजभण्डारी
प्रमुख कार्यकारी अधिकृत
बृहत् इन्भेष्टमेण्टस् प्रालि
कम्पनीको नामजस्तै उनका योजना र सोचाइ पनि बृहत् छन् । चुलोचौकोको चौघेरोमा सीमित आम नेपाली महिलालाई विकासको मूल प्रवाहमा समाहित गर्ने दिशामा उनको योगदान प्रेरणाको पुञ्जभन्दा कम छैन । महिला सशक्तीकरणका चर्का नारा लगाएर नथाक्नेहरूका लागि उनी एउटा गतिलो जवाफ हुन् । आजसम्म सञ्चारमाध्यममा खुलेर प्रस्तुत नभएकी उनी प्रतिभा, क्षमता र मेहनतकी प्रतिमूर्तिभन्दा अतिशयोक्ति हुँदैन । नेपालमा घरजग्गाको कारोबार, त्यसको बजारी एवम् व्यावसायीकरणको क्षेत्रमा कार्यरत संस्था बृहत् इन्भेष्टमेण्टस्की प्रमुख कार्यकारी अधिकृत पूणिर्मा राजभण्डारीलाई ज्ञान र प्रविधि हस्तान्तरण एक्काइसौं शताब्दीका आवश्यकता हुन् भन्ने लाग्छ । घरजग्गा कारोबारलाई नयाँ सोच र व्यवस्थापनका साथ अघि बढाउन उनी लागिपरेकी छन् । यो व्यवसायबाट बढी नाफा कमाउनेभन्दा पनि ग्राहकको विश्वास आर्जनलाई उनी अधिक प्राथमिकता दिन्छिन् । उनी नेतृत्वको कम्पनी 'रियल इस्टेट मार्केटिङ एजेण्ट, रियल इस्टेट पार्टनरशिप फर अन्त्रपेनरशिप र रियल इस्टेट इन्भेष्टमेण्ट'प्रति प्रतिबद्ध रहेको उल्लेख गर्छिन् । ती तीन विषयको प्रवर्द्धनलाई नै उनले जीवनको प्रमुख लक्ष्य निर्धारण गरेकी छन् । सकारात्मक सोचका साथ कर्तव्यपथमा निरन्तर अगाडि बढ्दा लक्ष्यमा पुगिनेमा उनी विश्वस्त छिन् ।
तेर्ह वर्ष एस डेभलपमेण्ट बैङ्कमा बिताएकी उनी त्यस बैङ्ककी प्रमुख कार्यकारी अधिकृत पदकी दाबेदार भए पनि सधैँ नयाँ काम गर्न रुचाउने र चुनौतीसँग मुकाबिला गर्ने स्वभावका कारण बृहत् इन्भेष्टमेण्टस्को प्रवेश उनका लागि सुखद संयोग भएको छ । बैङ्कबाट रियल इस्टेटमा आउनुलाई उनी आफ्नो जीवनको महत्त्वपूर्ण उपलब्धि मान्छिन् । पतिको प्रेरणाबाट त्यहाँ पुगको बताउने उनी उत्प्रेरणाको श्रेय पनि उनलाई नै दिन्छिन् । 'हुने बिरुवाको चिल्लो पात भनेझैँ' सानैदेखि परिश्रम गर्ने बानीका कारण उनी एक दिन पनि घरमा खाली बसिनन् । स्वालम्बन र आत्मनिर्भर हुने आत्मज्ञानले उनलाई प्रवेशिका परीक्षा उत्तीर्ण हुनेबित्तिकै विश्व निकेतन विद्यालयको शिक्षिका बनायो । 'शिक्षण पेशाले संयम, प्रोत्साहन, विनयशीलता सिकाउने भएकाले यसलाई जीवनको एउटा गतिलो शुरुआत भन्न सकिन्छ,' मधुर मुस्कानका साथ आफ्ना भावना सटिक रूपमा प्रस्तुत गर्दै उनी भन्छिन् ।
महिलालाई घरगृहस्थीमा मात्र सीमित राख्ने नेपाली समाजको संरचना समयसापेक्ष नभएको बताउने राजभण्डारीले आफ्नो कम्पनीमा पनि महिला कर्मचारी नियुक्तिलाई सर्वाधिक प्राथमिकता दिएकी छन् । उनको कार्यालयको विशेषता भनेको समयको लचकता हो । १०-५ को कार्यसमयभन्दा पृथक् पाराले उनको कार्यालयमा काम गर्ने संस्कारको विकास भएको छ-कर्मचारीलाई उनीहरू अनुकूल कार्यसम्पादनको जिम्मेवारी सुम्पिएर । तीन वर्षअघि स्थापना भएको उनको कम्पनीले झण्डै छ सय जनालाई रोजगारी दिएको छ । उनको कार्यालयमा काम गर्नेले जीवनचक्र चलाउने आधारमात्र पाएका छैनन्, वृत्ति विकासका पर्याप्त अवसर पनि पाएका छन् । कर्मचारीबाट अत्युत्तम परिणाम प्राप्त गर्न उनले हरेक साता तालीमको व्यवस्था गरेकी छन् । हरेक साता दिइने केही घण्टाको तालीमबाट १० घण्टा लाग्ने काम २ घण्टामा सम्पन्न हुने उनको बुझाइ छ । उनीहरूको स्वास्थ्यप्रति उत्तिकै सजग उनले नियमित तलबको सूचीमा रहेकाहरूलाई कार्यालयमा नै निः शुल्क भोजनको प्रबन्ध गरेकी छन् । 'समय र स्वास्थ्यको ख्याल गर्नैपर्छ' मातहतका कर्मचारीलाई आफ्नै एकाघरका परिवारलाई झैं व्यवहार गर्ने उनको स्वभाव वन्दनीय छ । उनी सबै कर्मचारीसँग खुलेर कुरा गर्छिन् । र, आदर पनि उत्तिकै ।
राजभण्डारीको कार्यालयमा मालिक, कामदार वा कर्मचारीबीच कुनै विभेद छैन । समानतामा विश्वास गर्ने उनी प्रत्येक नयाँ दिनको शुरुआत हिजोका कामको समीक्षा कर्मचारीसँग बसेर गर्छिन् । कामदारको सुरक्षा र कम खर्चमा गुणस्तरीय उत्पादन उनको व्यवस्थापन मन्त्र हो । हरेक साता तालीम दिएर कम्पनीमा दक्ष कामदार उत्पादन गर्दा उनलाई अपार आनन्द आउँछ । आफ्नो कार्यालयमा पोख्त भएको कर्मचारी अझ ठूलो कम्पनी वा अन्तरराष्ट्रिय बजारमा पुग्दा उनलाई गौरव र गर्वको अनुभूति हुन्छ । 'यहाँबाट बाहिरिएको कर्मचारीले मेरो कम्पनीको वर्णन गर्न छाड्दैन' असल कामको गुणगान सधैँसधैँ भइरहने विश्लेषण दार्शनिक पारामा उनी सुनाउँछिन् ।
एक छोराकी आमा राजभण्डारी भड्किलो पहिरनलाई अनुपयुक्त ठान्छिन् । त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर गरेकी उनले अमेरिकाको न्यू मेक्सिकोबाट पनि अल्पकालीन तालीम गरेकी छन् । उद्यमशीलताको विकासका निम्ति राज्यले विशेष कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिन्छिन् । निजीक्षेत्रसँगको सहकार्यमा त्यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सकिने उनलाई लाग्छ । व्यापार-व्यवसायबाहेक उनको अर्को परिचय हो- समाजसेवा । हसपिस नेपाल नामक संस्थाकी कोषध्यक्ष उनले अर्बुद रोगबाट पीडित भएकाहरूको निःशुल्क उपचारमा सघाउँदै आएकी छन् । उनकै प्रयासमा अत्याधुनिक उपचार सुविधासहितको एम्बुलेन्स सेवा सञ्चालन भएको छ । यातायातको अभावमा कसैले पनि अकालमा ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले उनी नेतृत्वको कम्पनीले थालेको एम्बुलेन्स सेवा संस्थागत सामाजिक उत्तरदायित्वको अनुपम उदाहरण हो ।