शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

''मातृभूमिको माया'' - झपटबहादुर बोहरा
झपटबहादुर बोहराअध्यक्ष, ग्रोमोर बैङ्कर लिमिटेड

मातृभूमिको महत्ता मुम्बई महानगरको महत्त्वभन्दा उच्च लाग्यो उनलाई । त्यसैले मासिक ३० हजार भारतीय रुपैयाँ प्राप्त भइरहेको जागीर र शानसँग बिताइरहेको आरामदायी जीवनशैली च्याट्टै छाडेर यता आएका हुन् उनी- मातृभूमिको माया र यसप्रतिको कर्तव्यबोधले । मुम्बईमा जन्मेर त्यहीँ ३० वर्ष बिताएका उनले बाबुआमाको जन्मभूमि नेपालको वित्तीयक्षेत्रमा सेवा गरेको पनि १४ वर्षभइसकेको छ । ग्रोमोर बैङ्कर लिमिटेडका अध्यक्ष झपटबहादुर बोहरा पिता गगनसिंहको प्रेरणाबाट घर फर्केका हुन् । बाबाकै मार्गदर्शनबाट आजको अवस्थामा आइपुगेको उनी उल्लेख गर्छन् । ४४ वर्षीय उनले बम्बाई विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातक गरेका छन् । उनले त्यहीँको निजी कम्पनी प्रजासम इन्भेष्टमेण्टमा 'पोर्टफोलियो म्यानेजर'का रूपमा 'करिअर'थालेका हुन् । सुदूरपश्चिमको अछामबाट रोजगारीको खोजीमा मुम्बई पुगेका झपटका पिताको एक मात्र चाहना उनलाई नेपाली सेना वा नेपाल प्रहरीको अधिकृत बनाउने थियो । तर, आफ्नो स्वभावका कारण बाबुको सपना साकार नभएपछि उनकै निर्देशनमा झपट आफ्नै थातथलोमा फर्केका हुन्- नेपालको सेवा गर्ने बाबुको अन्तिम इच्छा पूरा गर्न, तर उनका पिताले सोचेको भन्दा अलि बेग्लै क्षेत्रमा ।

विसं २०५३ मा घर फर्केका बोहराको सक्रियतामा धनगढीमा मालिका विकास बैङ्कको स्थापना भएको हो । अध्यक्ष तथा प्रबन्ध निर्देशकका रूपमा उनले मालिकको ११ वर्षसम्म नेतृत्व गरेका हुन् । २ वर्षअघि कारोबार शुरू गरेको ग्रोमोरलाई उनले अब्बल दर्जाको मर्चेण्ट बैङ्क बनाउने लक्ष्य लिएका छन्- सर्वाधिक प्राथमिक शेयर निष्कासन, धितोपत्र प्रत्याभूति, लगानी र शेयर रजिष्ट्रेशन व्यवस्थापन गरेर । १४ ओटा मर्चेण्ट बैङ्कको भीडमा ग्रोमोरलाई पृथक् ढङ्गले स्थायित्व दिने उनको सोच छ । विद्यार्थी जीवनदेखि नै उनले बैङ्क तथा वित्तीयक्षेत्रमा काम गर्ने लक्ष्य निर्धारण गरेका थिए । 'घरमा आइरहने बैङ्क अफ बरोदाका प्रबन्धक अङ्कल'बाट प्राप्त ऊर्जाले उनलाई व्यवस्थापन  विषयको अध्ययन र वित्तीय क्षेत्रमा ल्याएको हो । नेपालमा स्थापित हुन उनलाई पूर्वगभर्नर तिलकबहादुर रावल, मूल्य अभिवृद्धिकर (भ्याट)का प्रणेता रूप खड्का र पूर्वमन्त्री नैनबहादुर स्वाँरले सघाएको सुनाउँदै बोहरा उनीहरूप्रति कृतज्ञता व्यक्त गर्छन् ।

पैसाले आत्मसन्तुष्टि प्राप्त नहुने झपटको बुझाइ छ । कामप्रति समर्पित हुने र जस्तोसुकै परिस्थितिमा पनि त्यसलाई फत्ते गर्नु उनको व्यवस्थापन मन्त्र हो । जिम्मेवारी दिएर काम लगाउने र त्यसको गुण र दोषको जसअपजस कर्मचारी स्वयम्लाई दिने उनको बानी छ । तलबले मात्र कर्मचारी उत्प्रेरित नहुने उनलाई लाग्छ । आन्तरिक तथा बाह्य तालीममा पठाएर कर्मचारीबाट राम्रो परिणाम लिन सकिने उनको विश्वास छ । सबै कर्मचारीसँग उनी समान रूपमा प्रस्तुत हुन्छन् । कसैलाई लाखापाखा गर्दैनन् । नेपाल व्यवस्थापन सङ्घका अध्यक्ष जनकराज शाह बोहरालाई उद्यमशील व्यक्ति मान्छन् । बोहरामा केही गरौं भन्ने भावना र अठोट भएको शाह उल्लेख गर्छन् । उनलाई बोहराको 'कुरा कम काम ज्यादा' गर्ने शैली औधी मनपर्छ ।

ग्रोमोर बैङ्कर लिमिटेडले स्थापनाकालदेखि नै औद्योगिक एवम् व्यापारिक सङ्घसंस्थासँग सुमधुर सम्बन्ध कायम गर्ने क्रमलाई उच्च प्राथमिकता दिएको छ । झपटको नेतृत्वमा ग्रोमोरको ३८ ओटा विकास बैङ्क र वित्तीय संस्थासँग संलग्नता कायम भइसकेको छ । मर्चेण्ट बैङ्कर एशोसिएशन र नेपाल चेम्बर अफ कमर्शको सदस्यता लिएर यसले आफ्नो व्यावसायिक दक्षता र दायरा पनि बढाएको छ ।

जीवनमा आफूले गर्व गर्नलायक काम केही नगरेको बताउने झपट आफूलाई सफल वा असफल केही भन्न रुचाउँदैनन् । 'आफ्नो वर्णन आफै गर्नु हुँदैन' अरूले मूल्याङ्कन गर्नुपर्नेमा जोड दिँदै उनी भन्छन् । आध्यात्मिक शक्ति नभए जीवन सफल नहुने उनको मत छ । ईश्वरमा विश्वास गर्ने उनी मन्दिर जान्छन्, तर पत्थरमा शिर ठोक्दैनन् ।  कम्पनीले कमाएपछि कर्मचारी र आफू बसेको समाजको हितका लागि सक्दो सहयोग गर्ने उनको सोच छ । समाजसेवा नै आफ्नो जीवनको अन्तिम लक्ष्य भएको बताउने उनी त्यसैको माध्यमबाट कुनै दिन सुदूरपश्चिमको मुख्यमन्त्री बन्ने सपना पनि देखिरहेका छन् । मुलुक सङ्घीय संरचनामा समाहित हुँदा उनले त्यस्तो सपना देख्नु अस्वाभाविक होइन ।