परिवर्तन प्रेम
रेष्टा झा
प्रमुख कार्यकारी अधिकृत
प्राइम लाइफ इन्स्योरेन्स कं.लि.
बालककालमा आकाशमा हवाईजहाज उडेको देखेर रेष्टा झाले कल्पना गरेका थिए- भविष्यमा म पनि पाइलट बनेर चराजस्तै आकाशमा उड्छु । अभिभावकसँग पाँचतारे होटेल छिरेपछि उनलाई त्यहीँको वातावरणले आकर्षित गर्यो । त्यसपछि उनले मनमनमा सङ्कल्प गरे, म अब होटलियर बन्छु । तर, हुर्किंदै जाने क्रममा उनको त्यो सङ्कल्प पनि बदलियो । उनले लिएको शिक्षा र उनको परिवर्तित चाहनाले अन्तत: उनलाई कुशल व्यवस्थापक बनायो । संस्थागत सुशासन, कुशल व्यवस्थापन र पारदर्शिताले मात्रै व्यवस्थापकीय लक्ष्य हासिल गर्न सकिन्छ भन्ने मान्यता राख्ने झा जीवन बीमा क्षेत्रमा स्थापित प्राइम लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत छन् । व्यक्तिगत रूपमा मात्र नभएर संस्थागत रूपमा पनि स्थापित हुनलाई नयाँ र जनमुखी काममा ध्यान दिनुपर्ने उनी बताउँछन् । 'संस्थालाई स्थापित गर्न नयाँ सोच चाहिन्छ,' उनले भने ।
आफ्नो संस्था स्थापनाको ४ वर्षै स्थापित हुनुमा आधुनिक जीवन बीमा सेवा नै भएको उनको ठहर छ । त्यसैले आफ्नो संस्थासँग जोडिएर आर्थिक बचत, जीवन सुरक्षा र कर लाभ लिन उनी सुझाव दिन्छन् । २ वर्षयता संस्थाको नेतृत्व गरिरहेका उनी नयाँ अवसरहरूको पहिचान गर्दै जाँदा बीमा कम्पनीमा पुगेका हुन् ।प्राइम लाइफ बीमा क्षेत्रमा एक उदाउँदो ताराका रूपमा अगाडि आएको छ । नेपालका प्रसिद्ध व्यावसायिक समूहद्वारा प्रवर्द्धित यो संस्था वैदेशिक रोजगार बीमामा अग्रणी रहेको दाबी गर्छन् झा । उनको संस्थासँग हाल १ लाख ३० हजार बीमित आबद्ध छन् । छोटो अवधिमा पनि यस प्रकारको उपलब्धि हासिल गर्नु चानचुने कुरा होइन भन्छन् उनी । कम्पनीको शेयर पूँजी ३६ करोड ५ लाख पुगिसकेको झा बताउँछन् । स्थापनाको छोटो अवधिमै मुलुकका ८१ स्थानमा प्रतिनिधित्व गर्ने उनको संस्थाले ६१ ओटा सेल्स अफिस खडा गरिसकेको छ । त्यस्तै, २० ओटा शाखा र १ हजार २ सय एजेण्ट नेटवर्क निर्माण भइसकेछ ।
बीमालाई भविष्य सुरक्षित गर्ने लगानी भन्न रुचाउने झा सधैं आशावादी व्यक्तिका रूपमा आफूलाई उभ्याउन चाहन्छन् । ३७ वर्षअघि काठमाडौंमा जन्मेका झा बाल्यकालमा जे देख्यो त्यसबाट चाँडै नै प्रभावित हुन्थे । उनका निश्चित योजना थिएनन् । आदर्श विद्यामन्दिर मीनभवनबाट एसएलसी उत्तीर्ण गरेपछि उनी व्यवस्थापन विषय लिएर पढ्न थाले । उनले शुरूमा विज्ञान पढ्ने चाहना गरेका थिए, तर त्यसमा सफल हुन नसकिने ठानेर व्यवस्थापन पढ्ने सोच बनाएको झा बताउँछन् । उनले दिल्ली युनिभसिटीबाट स्नातक सिध्याए र स्वदेशमै फर्किएर स्टयाण्डर्ड चार्टर्ड ( तत्कालीन ग्रिण्डलेज) बैङ्कमा सहायक स्तरको जागीर शुरू गरे । साथै नेपाल कमर्श क्याम्पसमा स्नातकोत्तर पनि पढ्न थाले । केही समयपछि ग्रिण्डलेजको जागीर पनि छोडेर उनी बैङ्क अफ सिलोनमा अधिकृतस्तरको जागीर खान थाले । तर, उनी त्यहाँ पनि लामो समय टिक्न सकेनन् र लक्ष्मी बैङ्क, पुन: स्टयाण्डर्ड चार्टर्ड बैङ्क हुँदै आफ्नै लगानीमा व्यवस्थापन शिक्षाको इन्षिटच्युट स्थापना गर्न पुगे । उनले खोलेको केएफए कलेजलाई नेतृत्व गरेर अन्तत: उनी प्राइम लाइफ कम्पनीको नेतृत्व गर्न आइपुगेका छन् । 'बीमाको फरकपनाले मलाई आकर्षित गर्यो,' उनले भने ।
उनको संस्थाले बजार विस्तारदेखि नयाँ ढङ्गले जीवन बीमाको आरम्भ गरेको छ । टीमवर्कमा विश्वास गर्ने उनको बानी छ । योजना बनाएर मात्रै कामको आरम्भ गर्ने बानी परेका उनी कसैले व्यवसायमा नयाँ सोच ल्यायो भने चाँडै आफू प्रभावित हुने बताउँछन् । बीमा गर्ने नेपालीको सङ्ख्या ५ देखि ७ प्रतिशत रहेको उनी अनुमान गर्छन् । फुसदमा प्रेरक पुस्तक अध्ययन गर्न रुचाउने झा व्यापारी भाटभटेनी सुपरमार्केटका प्रवर्द्धक मीनबहादुर गुरुङ र बुद्ध एयरका संस्थापक वीरेन्द्रबहादुर बस्नेतबाट प्रभावित छन् । 'यी दुई जना आफ्नै बलबुताले सफल भएका हुन्,' उनी भन्छन् ।व्यापारीले बैङ्क खोल्न नहुने सुझाव दिन्छन् उनी । राष्ट्र बैङ्कले सुशासन कायम गर्न नसक्दा आर्थिक अराजकता बढेको उनको ठम्याइ छ । उनी निकट भविष्यमै आफ्नै लगानीमा अर्को व्यवसाय पनि सञ्चालन गर्ने सोच रहेको बताउँछन् ।
Admin 2011-07-13