''चिया विकासको प्रण'' - उदय चापागाईं
अध्यक्ष,
गोर्खा टी इस्टेट/
हिमालयन अर्थोडक्स टी प्लार्ण्र्टस एशोशिएशन
आफ्नै स्वतन्त्र व्यवसाय गर्न खोज्दा पञ्चायती शासनका समर्थकहरूले दिनसम्म दुःख दिए उनलाई ऊबेला । तर, हिम्मत हारेनन् प्रजातन्त्रप्रति निष्ठावान् उनले । प्रसङ्ग २०४५ सालतिरको हो । बाँसबारी छालाजुत्ता कारखानाका जागीरे उनलाई कन्याम र इलामका चिया बुटयानले लोभ्यायो । र, लागे त्यतैतिर काठमाडौंको रोजीरोटी उपार्जनको उपक्रमलाई चटक्क छाडेर । चिया पारखीमाझ लोकप्रिय 'ब्राण्ड' मुना र टोकलासँगको साझेदारीमा व्यवसायको श्रीगणेश गरेका उदय चापागार्इं अहिले तीनओटा चिया उत्पादक कम्पनीका स्वामी भएका छन् । २००८ सालमा भोजपुर दिङ्लामा जन्मेका उनले त्यहीँबाट प्रारम्भिक शिक्षा हासिल गरेका हुन् । उनी १३ वर्षमा थिए झापा बसाइ सदा । मध्यमवर्गीय परिवारका उनले मेची बहुमुखी क्याम्पसबाट अर्थशास्त्रमा स्नातकोपाधि लिए पनि आर्थिक समस्याका कारण स्नातकोत्तरको प्रमाणपत्र हात पार्न सकेनन् । जीवन जिउन उनले केही समय माष्टरी पनि गरे । काम गर्न उनलाई लाज लाग्दैन । 'जस्तोसुकै काम पनि गर्नुपर्छ । तर, त्यो अनैतिक हुनुहुन्न' कामलाई पूजा मान्ने उनी भन्छन् । कामको कदर नहुँदा मुलुक उन्नतिको मार्गमा अघि नबढेको उनलाई लाग्छ ।
परिश्रममा विश्वास गर्ने उदय चियाका बोरा आफै ट्रकमा लादेर कोलकाता पुग्थे । आफू र आफ्नो व्यवसालाई स्थापित गर्न धेरै आरोहअवरोह भोगेका छन् उनले । तत्कालीन पश्चिम जर्मनीका एकजना निः सन्तान व्यवसायीको सहयोगमा उनले आफूलाई चिया उत्पादन र प्रशोधनको क्षेत्रमा स्थापित मात्र गरेनन् जैविक नेपाली चियालाई विश्वबजारमा विस्तार गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेर राष्ट्रिय अर्थतन्त्रलाई उकास्ने उपायको पैरवी गरे । मुलुकमा सानासाना चियाका थैली अर्थात् 'टी ब्याग'को श्रीगणेश गर्ने श्रेय उनैलाई जान्छ । उनकै अगुवाइमा इलाममा अर्थोडक्स चिया कारखाना खुलेको हो । दिनरात मेहनत गर्ने उनको बानी छ । 'परिश्रमको फल मीठो हुन्छ' भनेझैँ साथीहरूसँगको साझेदारीमा झण्डै ४ सय रोपनी बगान किनेपछि उनले व्यवसायमा पछाडि फर्केर कहिल्यै हेर्नु परेन । बजारको मागअनुसार चियाको आपूर्ति गर्न भ्याइनभ्याई छ उनलाई । सार्वजनिक निजीक्षेत्र साझेदारी, जर्मन सहयोग नियोगलगायत अन्तरराष्ट्रिय दातृ निकायसँगको सहकार्य र सहयोगमा उनले स्थापना गरेका गोर्खा टी इस्टेट, श्रीअन्तु टी इण्डष्ट्रिज र नेपाल टी एक्सपोर्टस प्रालिका उत्पादन विश्वका २ सयभन्दा बढी पसलमा पुगेका छन् ।
मुलुक चियामा आत्मनिर्भर भएकोमा गर्व र गौरव गर्नु स्वाभाविक भए पनि चिया विकासको क्षेत्रमा अझै धेरै गर्न सकिने उदयलाई लाग्छ । सरकारी उदासीनताका कारण अपेक्षाकृत सहयोग नभएको उनको गुनासो छ । 'राष्ट्रिय चिया तथा कफी विकास बोर्ड राजनीतिक भर्ती केन्द्र भयो' पर्यटन प्रवर्द्धन गर्न स्थापित नेपाल पर्यटन बोर्डले जस्तो चिया तथा कफी विकास बोर्डले काम गर्न नसकेकोमा असन्तुष्टि पोख्छन् उनी । चिया उत्पादक किसान र यससँग आबद्ध व्यवसायीलाई अनुदान दिनुपर्ने उनको माग छ । छिमेकी मुलुक भारतले उद्योग व्यवसायको प्रवर्द्धनका लागि अङ्गीकार गरेका रचनात्मक कार्यको नेपाल सरकारले पनि अनुकरण गर्नुपर्नेमा उनको जोड छ । हाल मुलुकमा १९ ओटा चिया कारखाना सञ्चालनमा छन् । र, चारओटाले जैविक चिया उत्पादन गर्दै आएका उनी उल्लेख गर्छन् ।
चिया बगानमा श्रमिकको चरम अभाव बेहोर्नु परेकोमा खिन्न छन् उदय । श्रम मन्त्रालयले तोकेका सुविधाबाहेकका अतिरिक्त सहुलियत दिँदासमेत कामदार पाउन कठिन भएको उनी उल्लेख गर्छन् । झण्डै ७५ जनाले उनको कारखानामा प्रत्यक्ष रोजगारी पाएका छन् । उनीहरूलाई समर्पित भएर काम गर्न अभिप्रेरित गरिरहन्छन् उनी । उनीहरूलाई परिवारका सदस्य मान्छन् र त्यस्तै व्यवहार गर्छन् उदय । आलटाल गर्ने र झुलाउने सरकारी कर्मचारीसँग व्यवहार गर्नु नपरोस् भन्ने लाग्छ उनलाई । आफूले गरेको कामप्रति सन्तुष्ट छन् उनी तर आफूलाई सफल उद्यमी मान्दैनन् । आफ्नो मूल्याङ्कन अरूले गर्नुपर्ने उनको मत छ । नेपाली चियालाई विश्वबजारमा पुर्याउने उनको लक्ष्य छ । त्यो लक्ष्य प्राप्तिका निम्ति उनी हरेक साताजस्तो देशीविदेशी उद्यमीलाई भेटिरहन्छन् ।
नास्तिक होइनन् उदय । भ्याएको बेला मन्दिर जान्छन् तरईश्वरसँग केही माग्दैनन् । धार्मिक अनुष्ठानमा दान गर्नुभन्दा गरीबलाई उसको गर्जो र्टार्न सघाउँछन् उनी । त्यसो गर्दा उनलाई आत्मसन्तुष्टि हुन्छ । मन्दिर निर्माणभन्दा पाटीपौवा र वृद्धाश्रम बनाउन सकेको सहयोग गर्दै आएका छन् उनले । संस्थागत संस्कार स्थापित भइनसकेको उनको ठम्याइ छ । व्यक्तिवादी र स्वार्थी सोच हाबी भएसम्म आर्थिक उन्नयन र संस्थागत संस्कृति र संस्कार कोरा कल्पना मात्र हुने उनको विश्लेषण छ ।
Admin 2011-05-12