''आवश्यकता प्रतिबद्धताको'' - डा. पोषराज पाण्डे
कार्यकारी अध्यक्ष, साउथ एशिया वाच अन ट्रेड
इकोनमिक्स एण्ड इन्भाइरोन्मेण्ट (सावती)
जीवनका रङ्हरू स्तम्भका लागि संवाद गर्न बालुवाटारको सुकुम्बासी चोकमा अवस्थित आलिसान महलमा दिवाभोजन सकेर सुस्ताइरहेका भेटिए उनी । चिरिच्याट्ट परेको उनको कार्यकक्ष कुनै बहुराष्ट्रिय कम्पनी वा निजीक्षेत्रबाट सञ्चालित बैङ्कको प्रमुख कार्यकारी अधिकृतको भन्दा कम आकर्षक थिएन । 'प्राण जाए पर वचन नजाए' रामचरित मानसको उक्तिलाई अक्षरशः व्यवहारमा अनुवाद गर्ने उनी बोलेको कुरा पुर्याएरै छाड्छन् । बरु असम्भव कुरा गर्दैनन् । झण्डै आधा शताब्दीअघि पाल्पा सदरमुकाममा जन्मेका साउथ एशिया वाच अन ट्रेड, इकोनमिक्स एण्ड इन्भारोन्मेण्ट (सावती) का कार्यकारी अध्यक्ष डा. पोषराज पाण्डे ६ वर्षको कलिलो वयमा दैनिक ४ किलोमिटर हिँडेर विद्यालय जान्थे-प्राथमिक शिक्षाका लागि । ९ वर्षपछि उनले थप २ किलोमिटर हिँड्नुपर्यो- नजिकको अर्को निम्नमाध्यमिक विद्यालय पुग्न । शिक्षाले गतिलो नागरिक बन्न सहयोग पुर्याउने उनको बुझाइ छ । त्यसैले उनले व्यवस्थापन र अर्थशास्त्रमा दोहोरो डिग्री हासिल गरे त्यसबेलाको एकमात्र शैक्षिक प्रतिष्ठान त्रिभुवन विश्वविद्यालयबाट । किसानका छोरा उनी नै पहिलो पुस्तका व्यक्ति हुन् यसरी दुई विधामा स्नातकोत्तर गर्ने । शैक्षिक योग्यता विस्तारलाई बढी महत्त्व दिने उनले चण्डीगढबाट अन्तरराष्ट्रिय व्यापारमा विद्यावारिधि गरेका छन् ।
दक्षिण एशियाका सीमान्तकृत वर्गको उत्थानमा योगदानका साथै दिगो आर्थिक समृद्धि तथा विकास सुनिश्चित गर्ने दूरदृष्टिका साथ सन् १९९९ मा स्थापना भएको गैरसरकारी संस्था हो- सावती । दक्षिण एशियामा क्षेत्रीय सहयोग प्रवर्द्धन, गरीबी न्यूनीकरण, खाद्यसुरक्षा तथा वातावरणीय दिगोपन कायमको कार्यलाई यो संस्थाले उच्च प्राथमिकता दिएको छ । नेपाललाई विश्व व्यापार सङ्गठन(डब्ल्यूटीओ)को सदस्यता प्राप्तिमा सक्दो योगदान गर्ने व्यक्तिमा गनिन्छन् पाण्डे । यसैलाई जीवनको उपलब्धिपूर्ण क्षण मान्छन् उनी । नेपालको सदस्यतासम्बन्धमा डब्ल्यूटीओमा प्रस्तुत दस्तावेज राष्ट्रसङ्घीय निकायहरूले पनि त्यसको मुक्तकण्ठले प्रशंसा गरेको उनलाई गर्व र गौरवको अनुभूति भएको छ । कर्तव्यनिष्ठ, कठोर परिश्रम र इमानदारी उनको सफलताको सूत्रको हो । अन्तरव्यक्तीय सम्बन्ध, नेतृत्व क्षमता, निर्णयक्षमता, शक्ति पृथक्कीकरण वा विकेन्द्रीकरण, गुनासो सुन्ने र तल्लो तहका कर्मचारीको पनि सुझाव सुन्नु उनको व्यवस्थापन मन्त्र हो । मौद्रिक एवम् गैरमौद्रिक दुवैबाट कर्मचारीलाई उत्प्रेरित गर्न सकिने उनलाई लाग्छ । यद्यपि उनी मातहतका कर्मचारीलाई योग्यता र क्षमताअनुसारको जिम्मेवारी सुम्पेर उत्कृष्ट उत्पादकत्वका लागि अभिप्रेरित गर्छन् । अरूका विचार सुन्न नचाहने अर्थात् 'मेरो गोरुको बार्है टक्का' प्रवृत्तिका मान्छेसँग व्यवहार गर्न उनलाई पटक्कै मन लाग्दैन ।
सावतीका महासचिव रत्नाकर अधिकारी पाण्डेलाई असल गुरु मान्छन् । जस्तोसुकै जटिल विषय पनि सहज र सरल रूपमा सिकाउने पाण्डेको गुण उनलाई अद्वितीय लाग्छ । समयमा उचित निर्णयगर्ने तथा त्यो निर्णयो सकारात्मक एवम् नकारात्मक परिणामसमेत निक्र्यौल गर्ने उनको क्षमताको अधिकारी प्रशंसा गर्छन् । अल्प, मध्यम र दीर्घकालीन योजना बनाएर काम गर्ने पाण्डेको शैली अनुसरण गर्नुपर्ने उनको बुझाइ छ ।
जमीन र जनशक्तिको उचित उपयोगमा जोड दिन्छन् पाण्डे । त्यसको प्रभावकारी परिचालनबाट देशलाई आर्थिक रूपमा सबल बनाउन सकिने उनको विश्वास छ । प्रकृति प्रदत्त सबै वस्तुलाई जमीनको परिभाषाभित्र समाहित गर्छन् उनी । जडीबुटी र खनिज पदार्थको उपयोगलाई उच्च प्राथमिकता दिनुपर्ने उनलाई लाग्छ । राष्ट्रिय योजना आयोगका सदस्यसमेत भइसकेका उनलाई 'नाराजुलुस र धर्नामा एकता कायम गर्ने राजनीतिक दलहरू राष्ट्र निर्माणका काममा अझ भनौं आर्थिक उन्नयनका कार्यमा एकजुट हुन नसक्नुलाई' विडम्बनापूर्ण मान्छन् । विकास निर्माणका कार्यमा राजनीतिक एकता हुनुपर्ने र यो वा त्यो बहानामा तिनलाई प्रभावित गर्न नहुने उनको ठम्याइ छ । जोखिमपूर्ण काममा नेपाली श्रमिक विदेशिएको पनि उनलाई उपयुक्त लाग्दैन । श्रमशक्तिको पलायनलाई पूँजी पलायनभन्दा कम ठान्दैनन् । ठूला परियोजना सञ्चालन गर्न विदेशी कामदार झिकाउनुपर्ने अवस्था आउन सक्ने उनको ठम्याइ छ ।
गुणस्तरीय शिक्षासँगै प्राविधिक ज्ञानले उक्त जनशक्तिबाट नेपालमा नै कम्प्युटरका चिप्स बनाउन सकिने ठोकुवा गर्छन् पाण्डे । ज्ञानमा आधारित शिक्षाबाट मनग्गे आम्दानी गर्न सकिनेमा विश्वस्त उनी त्यसको पूर्वशर्त मान्छन् राजनीतिक प्रभावरहित शिक्षाप्रणाली । सडक, ऊर्जा र सिँचाइमा ध्यान केन्द्रित गर्न सके केही वर्षा नेपालको अर्थतन्त्र मध्यमस्तरमा पुर्याउन सकिने बताउँछन् उनी । भुक्तानी सन्तुलनमा देखिएको असन्तुलन, बढ्दो आयात र खस्कँदो निर्यात अनि तरलता अभावले देशलाई असहज अवस्थातिर धकेलेको उनको विश्लेषण छ ।
Admin 2011-03-13