शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

विश्वास वित्तप्रणालीमा
अम्बिका श्रेष्ठ
प्रमुख कार्यकारी अधिकृत
सूर्यदर्शन फाइनान्स कम्पनी लिमिटेड
सम्भवत: उनी वित्तीय संस्थाको नेतृत्व गर्ने मुलुकको प्रथम महिला हुन् । झण्डै अढाइ दशकको मेहनतपछि उनी त्यो स्थानमा पुगेकी हुन् । कसैको निगाहमा नभई खुला प्रतिस्पर्धाबाट त्यो स्थानमा पुग्नुलाई एक किसिमको उपलब्धि मानेकी छन्- सूर्य दर्शन फाइनान्स कम्पनी लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत अम्बिका श्रेष्ठले । यद्यपि, उनी यसलाई उपलब्धिका रूपमा चित्रण गर्न रुचाउँदिनन् । २१ वर्षभन्दा बढी स्टयार्ण्र्डड चार्टर्ड बैङ्कमा बिताएकी उनले बजारमा तरलता अभाव भएको समयमा पनि फाइनान्सको वित्तीय स्थितिलाई सुदृढ बनाएर आफूलाई सक्षम प्रशासकका रूपमा स्थापित गरेकी छन् । उनले नेतृत्व गरेको संस्था फाइनान्स कम्पनी भए पनि कार्यसञ्चालन विधि बैङ्कको भन्दा पृथक् छैन ।

देशमा विद्यमान असुरक्षाको वातावरण, राजनीतिक अस्थिरता, व्यापारिक गतिविधिमा आएको मन्दी, बैङ्क तथा वित्तीय क्षेत्रमा देखिएको तरलता समस्याले वित्त बजारको कारोबार शिथिल हुँदै गएको अम्बिकाको विश्लेषण छ । तरलता अभावसँगै ऋण सङ्कटसमेत उत्पन्न हुने परिस्थिति सृजना भएको उल्लेख गर्दै उनी विश्वासको वातावरण बनाउनेतर्फलाग्नुपर्नेमा जोड दिन्छिन् । त्यसमा सञ्चारजगत्को गहन भूमिका देख्ने उनी सकारात्मक समाचारलाई मात्र प्राथमिकता दिएमा नकारात्मक वस्तुले स्थान नै नपाउने र हाम्रो समाज पनि उन्नतिको शिखरतर्फउन्मुख हुने उनको अभिमत छ ।

बैङ्क तथा वित्तीय संस्थालाई विश्वसनीय बनाउन नियमनकारी निकाय नेपाल राष्ट्र बैङ्कको नियमित अनुगमन अम्बिकालाई आवश्यक लाग्छ । सम्बन्धित संस्थाले पनि संस्थागत सुशासनलाई बढावा दिनुपर्ने उनी बताउँछिन् । केन्द्रीय बैङ्कका निर्देशनको अक्षरश: पालना र व्यावसायिक अनुशासन पनि उत्तिकै अपरिहार्य लाग्छ उनलाई बैङ्क तथा वित्तीय संस्थाको स्थायित्वका निम्ति । काठमाडौंकी रैथाने उनलाई बाल्यावस्थादेखि नै जागीरप्रति मोह जागेको हो । बाबा बडाहाकिम भएर देशका विभिन्न भागमा पुग्दा उनी पनि साथै पुग्थिन् । महिलाका निम्ति संविधानमा गरिएको ३३ प्रतिशत आरक्षणप्रति असहमति व्यक्त गर्छिन् उनी । आरक्षणले महिलाको प्रतिस्पर्धात्मक क्षमता क्षीण पार्ने उनको बुझाइ छ ।

समूहगत एवम् सहभागितामूलक कार्यप्रणाली अपनाएकी छन् श्रेष्ठले । जुनसुकै काम पनि उनी समर्पित भएर गर्छिन् । स्पष्ट दृष्टिकोण र योजना बनाएर अघि बढ्नु उनको व्यवस्थापन मन्त्र हो । परेका बेला कर्मचारीलाई सहयोग गर्ने बानीले उनीहरूमाझ अत्यन्त प्रिय छिन् श्रेष्ठ ।  उनैबाट कर्मचारीले स्वामित्वबोध र उत्तरदायित्वपूर्ण जिम्मेवारी निर्वाहको शिक्षा पाएका छन् । 'सूर्यदर्शनमा सबै समान छन् । हाकिम (कर्मचारीमा विभेद छैन' उनको कार्यालयमा पुग्ने जोकोहीले त्यस्तो महसूस गर्छन् । कार्यशैली र त्यसप्रतिको व्यक्तिको लगाव हेरेर तुरुन्तै खुटयाउँछिन् उनी मेहनती र लोसे कर्मचारी । उनीहरूलाई शीप एवम् दक्षता प्रस्फुटन गर्न प्रशस्त अवसर दिने गरेकी छन् उनले । पूर्ण अभिव्यक्ति स्वतन्त्रता र सोचको क्षितिजलाई फराकिलो पार्न कर्मचारीहरूलाई उकासिरहने उनको अचम्मको बानी छ ।

स्पष्ट दृष्टिकोणसहितको कार्ययोजना र त्यसलाई व्यवहारमा अनुवाद गर्ने दृढइच्छाशक्ति तथा आत्मविश्वासबाट व्यवसाय र व्यवसायी दुवै सफल हुने श्रेष्ठको ठम्याइ छ । उनीसँग सहकार्य गर्नेहरू उनलाई आफ्ना भनाइ स्पष्ट शब्दमा प्रस्तुत गर्ने र समूहगत रूपमा पनि प्रभावकारी ढङ्गले काम गर्न सक्ने प्रतिभावान् सीईओ मान्छन् । क्लिन इनर्जी डेभलपमेण्ट बैङ्ककी महाप्रबन्धक वर्षा श्रेष्ठ अम्बिकालाई हिम्मतिली एवम् बैङ्क तथा वित्तीय क्षेत्रकी होनहार महिला मन्छिन् । उनको क्रियाशीलता तथा जस्तोसुकै चुनौतीलाई स्वीकार गर्दै अघि बढ्ने गुणको प्रशंसा गर्छिन् वर्षा ।

Admin 2011-06-12