शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

''सपना आफ्नै अन्तरराष्ट्रिय ब्राण्डको'' - सागरदेव लाखे
पूरा आकारमा हेर्नुहोस्प्रमुख कार्यकारी अधिकृत, निर्देशक, लाखे इन्फोसिस
    
अरुले कम्प्युटर चलाएको हेर्दाहेर्दै कम्प्युटरबाट धेरै कुरा गर्न सकिन्छ भन्ने उनले ज्ञान पाए । हाल प्रविधि र जीवनलाई सँगसँगै अगाडि बढाइरहेका उनको सपना आफ्नो ब्राण्डलाई सार्क क्षेत्रकै प्रतिष्ठित ब्राण्ड बनाउने छ । प्रविधिबाट नै नेपाल समृद्ध बन्छ भन्ने कुरामा विश्वास गर्ने सागर इन्फोसिसका प्रमुख कार्यकारी अधिकृत सागरदेव लाखेको नेपाललाई विश्वका अन्य विकसित राष्ट्रसँगै हिँडाउन सक्ने एकमात्र माध्यम सूचना तथा प्रविधि नै भएको ठहर छ । सागरले हाल आठवटा ब्राण्डका कम्प्युटर उपकरण तथा सफ्टवेयरको बिक्रीवितरण गर्दै आएको छ । त्यसमध्ये सातवटा बहुराष्ट्रिय कम्पनीका ब्राण्ड हुन् भने 'बेलियो' चाहिँ उनको आफ्नै ब्राण्ड । 'नेपालमा सूचनाप्रविधि (आइटी)को सम्भावना प्रचुर छ,' उनी भन्छन्, 'अहिले पनि नेपालीहरूले घरमै बसी करोडौं रुपैया आर्जन गरिरहेको भए पनि सरकारसँग यसका बारेमा कुनै तथ्याङ्क नहुँदा कहाँ के भैरहेको छ कसैलाई पनि थाहा छैन ।' अन्यत्र काम नलाग्ने उपकरणहरू अन्धाधुन्धरूपमा भित्राउँदा नेपाल आइटी उपकरणको 'डम्पिङ साइट' हुन्छ कि भन्ने उनलाई डर छ ।

उनले स्कूल पढ्दापढ्दै चित्रकला हुँदै कम्प्युटर डिजाइनमा हात हालेका थिए । स्कूले जीवनदेखि नै व्यापारमा रुचि रहेका उनले एसएलसी सकिने वित्तिकै चारवटा कम्प्युटर र तीनजना सहयोगी राखेर प्रशिक्षण केन्द्र खोलेका थिए । जतिबेला उनले कम्प्युटर सिकाउन शुरु गरे त्यतिबेला कम्प्युटरका बारेमा निकै कममात्र नेपालीलाई थाहा थियो । त्यसैले उनको कामलाई हाँसोमा उडाउने जमात पनि कम थिएनन् । तर, अरुका प्रतिक्रियालाई भन्दा आफ्नो योजनामुताविकको कामलाई महत्व दिने स्वभाव भएकोले ती कुरामा उनले खासै चासो गरेनन् । काम शुरु गरेको केही समयपछि कम्प्युटरलाई बनेपामा परिचित गराउने व्यक्तिकै रुपमा उनी चिनिए । व्यावहारिक शिक्षालाई पहिलो प्राथमिकतामा पारेका लाखेले विश्वविद्यालयको पढाईलाई सोचेअनुरूप निरन्तरता दिन पाएनन् । विज्ञान, ललितकला, व्यवस्थापनलगायतका सङ्कायमा अलिअलि भए पनि अनुभव सँगालेका उनले अन्त्यमा मानविकीमा स्नातक गरे । 'हाम्रो देश बिग्रेकै अहिलेको पढाइले हो,' उनी भन्छन्, 'ठूलाठूला डिग्रीका सर्टिफिकेट छन्, तर प्राविधिक कामबारे जानकारी छैन ।' नेपालमा बेरोजगारी बढेको मात्र नभई कतिपय अवस्थामा रोजगारी पाएकाहरूको जीवनस्तर बेरोजगारको भन्दा पनि दयनीय भएको उनको धारणा छ । उनको दृष्टिमा अहिले शिक्षा लिँदै गरेकाहरूले समय खेर फालिरहेका छन् ।

काठमाडौंबाहिर विभिन्न कम्पनीका सामान बिक्री गर्ने उद्देश्यले सन् २००४ मा पुतलीसडकमा 'सागर इण्टरनेशनल' खोलेपछि उनको वास्तविक व्यवसाय शुरु भयो । कम्पनीले सन् २००७ मा ब्रदरको 'डिलरसिप' लिएको थियो । हाल आफ्नो व्यापार झण्डै ९ करोडको हाराहारीमा पुगेको बताउने उनी शुरूमा बनेपामा गरेको रू. २ लाखको लगानी नै त्यसको आधार भएको बताउँछन् । यहाँसम्म आइपुग्दा पनि उनले आफ्नो कम्पनीको नाफाघाटाको हिसाबकिताव कहिल्यै गरेका छैनन् । 'मेरो हिसावकिताब वुद्धलक्ष्मी दिदीले राख्नु भएको छ । मैले उहाँसँग नाफाघाटाको बारेमा जानकारी मागेको छैन । किनकि नाफा भए म मात्तिन सक्छु, घाटा भए म आत्तिन सक्छु,' ३१ वर्षीय युवा लाखे भन्छन्, 'मलाई आफ्नो कामबाहेक अरु मतलव छैन । कामका सन्दर्भमा बाहेक कसैलाई समय दिन पनि सक्दिनँ ।' उनलाई आफ्नो कम्पनीको वित्तीय अवस्था हेर्न मन नै लाग्दैन । वित्तीय विवरणमात्र हेरेर नाफाघाटाबारे आफ्नो दिमागमा केही नघुस्ने उनी बताउँछन् । 'मैले हेर्ने व्यवस्थापन र योजना हो,' उनले भने, 'यसैले मलाई यहाँसम्म ल्याएको हो ।'

'पाइरेट्स अफ सिलिकन भ्याली' सिनेमालाई जीवनको पे्ररणाको स्रोत मान्ने उनी बिल गेट्सलाई अनुकरणीय व्यक्ति मान्छन् । गेट्सको कार्यशैली, योजना र दृढताबाट धेरै कुरा सिक्न सकिको उनको विश्वास छ । अरुलाई चाँडै विश्वास गर्ने र भावुक स्वभाव नै आफ्ना प्रमुख कमजोरी हुन् भन्ने उनलाई लाग्छ । उनी एक वर्षको अवधिमा कम्तीमा पनि ६ वटा मुलुक भ्रमणमा गर्छन् । विदेशमा बसुञ्जेल त्यहाँको प्रगति देख्दा स्वदेशमा पनि केही गरूँ भन्ने उनीभित्र हुटहुटी जाग्छ । जब नेपाल फर्किन्छन् फेरि कतै अल्मलिए जस्तै लाग्छ, अनि फेरि विदेश भ्रमणमा जाने र पुनः केही गरूँ भन्ने सोच आउने गरेको उनी बताउँछन् ।

प्रत्येक महिना आफ्ना कर्मचारीलाई विशेष तालीम दिने गरेको बताउने उनी आफूले चाहेको जस्तो योग्य जनशक्ति पाउन धेरै गाह्रो परेको बताउँछन् । सामान्य अङ्ग्रेजी जानेको र कामप्रति दृढ इच्छा भएको जो कोहीलाई पनि आफूले रोजगारी दिन सक्ने उनको दाबी छ । 'तर, कर्मचारीले आफ्नो जिम्माको काम कुनै पनि हालतमा पूरा गर्नै पर्छ, उनी भन्छन् । विदेशमा गएर काम गर्दा बढी पैसा कमाइन्छ भन्ने भ्रम अधिकांश नेपालीमा रहेको उनलाई लाग्छ । 'नेपाली दाजुभाइले विदेशमा गएर कामगरेजस्तै यहाँ पनि लगनशील हुने हो भने आठ गुणा तलब वृद्धि गरिदिन मलाई कुनै गाह्रो छैन,' उनी भन्छन् ।