शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

''लक्ष्य आर्थिक विकासको'' - राजेशकाजी श्रेष्ठ
अध्यक्ष, इण्टरनेशनल चेम्बर अफ कमर्श नेपाल

सानो उमेरमा नै उनले नसोचेको उपलब्धि हासिल गरेका हुन्- साथीभाइको सहयोग र आफ्नो निरन्तरको परिश्रमले । व्यापारिक परिवारका उनले आफ्नै प्रयासमा आयातको व्यापार थालेका हुन्- २०३३ सालदेखि । १८ वर्षको अल्लारे उमेरमा पाको मान्छेले झैँ व्यवसाय गर्नु चानचुने कुरा थिएन- तत्कालीन समाज र परिवेशमा उनका लागि । देशको उद्योग, वाणिज्य तथा आपूर्ति सहायकमन्त्री भइसकेका इण्टरनेशनल चेम्बर अफ कमर्श नेपालका अध्यक्ष राजेशकाजी श्रेष्ठ कामको मूल्याङ्कन र मित्रबन्धुको साथबाट त्यो स्थानमा पुगेको बताउँछन् ।  र, सबैप्रति आभार पनि व्यक्त गर्छन्, आफूलाई त्यस ठाउँमा पुग्न सहयोग गरेकोमा ।

व्यवसायमा इमानदारी र मिहिनेतले सफलता हासिल हुनेमा श्रेष्ठको विश्वास छ । तर, यी शाश्वत पक्षसँगै समयको आवश्यकतालाई बुझ्नु पनि सफलताका निम्ति अपरिहार्य ठान्छन् उनी । यही गुणले उनले लगातार सफलताको सिँढी चढ्ने सौभाग्य पाएका हुन् । आर्थिक गतिविधिको बढोत्तरीबाट नै देशको विकास सम्भव हुन्छ भन्ने उनी व्यावसायिकजगत्मा केही गरेर देखाउने दृढताका साथ कार्यक्षेत्रमा भिडिरहेका छन् । बहुपक्षीय एवम् द्विपक्षीय मञ्चहरूमा उनले नेपालको आर्थिक उत्थानका 'एजेण्डा' उठाउने गरेका छन्- इण्टरनेशनल चेम्बर अफ कमर्श र नेपाल-चाइना चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रीको अध्यक्षका हैसियतले । नेपाल र चीनबीचको परम्परागत सम्बन्धलाई नेपालको आर्थिक विकासको वाहकका रूपमा उपयोग गर्न पनि उनी उक्त च्याम्बरमार्फ काम गरिरहेका छन्- दुवै मुलुकका विभिन्न क्षेत्रका उद्यमीलाई त्यसमा आबद्ध गराएर ।

उद्यमी-व्यवसायीहरूको छाता सङ्गठन नेपाल चेम्बर अफ कमर्शको अध्यक्ष भइसकेका श्रेष्ठले विगत १८ वर्षदेखि होटल एशोसिएशन नेपालको कार्यकारी सदस्यका रूपमा मुलुकको पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउँदै आएका छन् । आरके एशोशिएट्सअर्न्तर्गत कन्ष्टयाण्ट बिजनेश ग्रूप, नेपाल इण्टरनेशनल बिजनेश प्रालि, राजेश कर्न्र्सनलगायत व्यापारिक प्रतिष्ठान उनले सञ्चालन गरेका छन् । उनका कम्पनीमा १ सयभन्दा बढीले रोजगारी पाएका छन् । सबै कर्मचारीसँग घुलमिल गरेर 'टीमवर्क'का साथ कार्यसम्पादन गर्दा सफलता प्राप्त हुने उनको बुझाइ छ । जिम्मेवारी सुम्पेको काम कर्मचारीले सम्पादन गरे/नगरेको निरन्तर अनुगमन गर्ने उनको बानी छ । विकेन्द्रीकरण उनको व्यवस्थापन मन्त्र हो । अव्यावहारिक मान्छेसँग काम गर्न उनलाई मन लाग्दैन ।

ग्लोबल बैङ्कका अध्यक्ष चन्द्रप्रकाश ढकाल श्रेष्ठलाई व्यवस्थापकीय क्षमता भएको उद्यमशील व्यक्तिका रूपमा प्रस्तुत गर्छन् । सबैलाई समेटेर लैजाने श्रेष्ठको गुण उनलाई राम्रो लाग्छ ।  मिलनसार, कसैलाई भेदभाव नगर्ने र सबैका कुरा सुन्ने उनको कार्यशैलीबाट आफू प्रभावित भएको ढकाल बताउँछन् । भविष्य र वर्तमानप्रति सधैं आशावादी हुने उनको सकारात्मक सोचको अनुसरण गर्नुपर्ने ढकालको धारणा छ । जसका पनि सल्लाह र सुझाव लिने तथा समूहगतरूपमा प्रभावकारी ढङ्गले कार्यसम्पादन गर्ने व्यक्ति भन्छन् उनी श्रेष्ठलाई ।

राजनीतिक अस्थिरताका कारण मुलुकको अर्थतन्त्र ओरालो लाग्ने क्रम नरोकिएकोमा चिन्तित श्रेष्ठ राजनीतिक नेतृत्वले आर्थिक 'एजेण्डा'लाई ओझेलमा पार्न नहुनेमा जोड दिन्छन् । राजनीतिक असहमतिले अर्थव्यवस्थालाई प्रभावित पार्न नहुने उनको धारणा छ । नेतागणले हृदयदेखि नै देशको भलो सम्झेर आर्थिक क्षेत्रको विकासका लागि इमानदारीपूर्वक काम नगरेसम्म समृद्धितर्फ लाग्न नसकिने उनको बुझाइ छ । आर्थिक रूपले समुन्नत र समृद्ध नयाँ नेपालको निर्माणका लागि भौतिक पूर्वाधारको विकास अपरिहार्य भएको उनलाई लाग्छ । कृषिमा आत्मनिर्भर हुन सक्ने प्रशस्त सम्भावना देख्ने उनी आधुनिक कृषिकर्म, उन्नत मल र बीउसम्म किसानको सहज पहुँच बढाउने तथा नहरलगायत सिँचाइका पूर्वाधार विकासबाट कृषिमा क्रान्ति ल्याउन सकिनेमा विश्वस्त छन् । विकासका परियोजनालाई प्राथमिकताको सूचीमा राखेर तदनुरूप योजना बनाउन तथा त्यसलाई कार्यान्वयन गर्न उनको सुझाव छ ।

श्रेष्ठलाई आफ्ना त्रुटिहरू औंल्याइदिने र स्पष्टवक्ता अतिप्रिय लाग्छन् । पिताको प्रेरणाबाट अहिलेको अवस्थामा आइपुगेको उनी उल्लेख गर्छन् । ईश्वरका अनन्य भक्त उनी दैनिक पूजा नगरी भोजन गर्दैनन् । भन्छन्- पूजाबाट असीम आनन्द प्राप्त हुन्छ । सबै धर्मप्रति समान आस्था भएका उनी बुद्धका उपदेश सबैका निम्ति मार्गदर्शक मान्छन् । देशको आर्थिक विकासलाई नै लक्ष्य बनाएका उनलाई हरेक नागरिकले आ-आफ्नो क्षेत्रबाट त्यसनिम्ति सहयोग गर्दा त्यो लक्ष्य प्राप्ति दुरुह लाग्दैन ।