शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

युनुसको सामाजिक व्यवसाय
मोहम्मद युनुस
नोबेल पुरस्कार विजेता


बङ्गलादेशका नोबेल पुरस्कार विजेता मुहम्मद युनुसले सरकारसँगको विवादपछि ग्रामीण बैङ्कको जागीर गुमाउनु परे तापनि देशका गरीब जनतालाई अवसर उपलब्ध गराउने कार्यमा उनको उत्साह यथावत् नै देखिन्छ ।ग्रामीण बैङ्कको अग्रसरतामा सेलफोन, खानेपानी, कुपोषित बच्चालाई दही र ग्रामीण क्षेत्रमा सौर्य ऊर्जाजस्ता परियोजना सञ्जाल रहेका छन् । बैङ्कको प्रमुखबाट गत मेमा हटाइए तापनि युनुसले कैयन् परियोजनाको अझै पनि अध्यक्षता गरिरहेका छन् ।हालै युनुस आफ्नो 'सामाजिक व्यवसाय’ को अवधारणाबारे प्रचार गर्न वाशिङटन पुगेका छन् जहाँ उनले गरीबी निवारणका व्यापारिक उपायबारे बोल्नेछन् । विकास विशेषज्ञहरूको एक सम्मेलनमा शुक्रवार युनुसलाई भव्य स्वागत गरिएको थियो । त्यसैगरी, बिहीवार उनले अमेरिकी विदेशमन्त्री हिलरी क्लिण्टनलाई भेटेका थिए । तर, विदेशमा जतिसुकै स्वागत गरिए तापनि आफ्नो देशमा भने युनुस विवादमा तानिएका छन् ।

ग्रामीण बैङ्क र अन्य लघुवित्त संस्थाले चर्को ब्याज लिएर गरीब ऋणीको रगत चुसेको प्रधानमन्त्री शेख हसिनाले आरोप लगाएकी छन् । राजनीतिक विवाद रहे तापनि देश छाड्ने आफ्नो कुनै विचार नरहेको युनुसले बताए । युनुसले अमेरिकाबाटै पीएचडी गरेर १९७१ को स्वतन्त्रता युद्धपछि बङ्गलादेश फर्केका हुन् ।सन् १९८३ मा उनले ग्रामीण बैङ्कको स्थापना गरेका थिए । गरीबहरूलाई लघुवित्त दिने उनकोे त्यस्तो योजनालाई विश्वभरि नै पछयाइएको छ । उनको सोही कामले नै उनी र उनको बैङ्कलाई २००६ को नोबेल शान्ति पुरस्कार दिलायो । हाल बङ्गलादेशभरि नै बैङ्कका ९० लाख ऋणी छन्, जसमध्ये अधिकांश महिला छन् । तर, ७१ वर्षीय युनुसलाई गत मार्चमा ग्रामीण बैङ्कको प्रमुखबाट हटाइएको थियो । उनीमाथि सेवानिवृत्तिसम्बन्धी नियमन उल्लङ्घन गरेको आरोप लगाइएको छ, जसलाई उनले अस्वीकार गर्दै आएका छन् । अमेरिकी र अन्य अन्तरराष्ट्रिय राजनेताहरूको समर्थन रहे तापनि देशको सर्वोच्च अदालतले पनि उनको बर्खास्तगीलाई समर्थन गरेपछि उनी पदमुक्त हुन बाध्य भएका थिए ।

युनुससँग हसिनाको लामो समयदेखि तनावपूर्ण सम्बन्ध रहँदै आएको थियो । युनुसले सेनाको समर्थन लिई २००७ मा आफ्नै राजनीतिक दल खोल्ने प्रयास गरेपछि हसिनासँग उनको सम्बन्ध बिग्रिएको भनिएको थियो । त्यतिखेर, बङ्गलादेशमा आपत्कालीन अवस्था घोषणा गरिएको थियो भने हसिनालाई जेल हालिएको थियो ।बङ्गलादेश सरकारले अप्रिलमा गरेको एक छानविनले ग्रामीण बैङ्कले लघुवित्तदाताको रूपमा आफ्नै नियमनको उल्लङ्घन गरेको आरोप लगाएको थियो । बैङ्कसँगको सम्बन्धनप्राप्त संस्थाहरूको निर्माणले बैङ्कका शेयरहोल्डरलाई फाइदा नपुगेको भन्दै तिनलाई सरकारी नियन्त्रणमा ल्याउन भनेको थियो । युनुसले भने सामाजिक व्यवसायहरू स्वतन्त्र हुने र स्वतन्त्र रहिरहनुपर्ने दाबी गर्दै आएका छन् ।    पछिल्लो अमेरिकी भ्रमणका बेला भने युनुसले बैङ्क विवादबारे खासै बोल्न चाहेनन् । तर, सरकारसँगको अप्ठयारो सम्बन्धले सामाजिक व्यवसायमा बाधा पुगिरहेको भने युनुसले स्वीकार गरे । एपी/रासस

Admin 2011-08-14