शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

सफा ऊर्जा अभियन्ता
विजयमान शेरचन
कार्यकारी अध्यक्ष
पशुपति इनर्जी डेभलपमेण्ट कम्पनी

सरकारी जागीरप्रति धेरैको मोह हुने गर्छ । तर, उनी त्यस्ता व्यक्ति हुन्, जसले पाएको जागीरसमेत छोडेर आफ्नै पौरखमा बाँच्ने अठोट गरे । ती कर्मठ र लगनशील व्यक्ति हुन् विजयमान शेरचन । सरकारी कामको प्रवृत्ति देखेर कर्मचारी स्वयम् नै दिक्दार भएपछि के लाग्छ र ? उनमा पनि सरकारी जागीरप्रति ठूलो वितृष्णा भयो र नेपाल आयल निगमको इञ्जिनीयर पदबाट राजीनामा दिएर व्यवसायमा होमिए । अहिले शेरचनले पशुपति इनर्जी डेभलपमेण्टको नेतृत्व गरिरहेका छन् । 'सरकारी जागीरभन्दा त आफ्नै व्यवसायले असीम सन्तुष्टि दिने रहेछ' उनी भन्छन् । आधा दर्जन भिन्नभिन्न प्रकृतिका संस्थाहरूको नेतृत्व गरेका शेरचन अहिले हाइड्रोपावर निर्माणतर्फ अग्रसर छन् । हुन त उनलाई नेपाल इलेक्टि्रक भेहिकल इण्डष्ट्री (नेभी)ले व्यवसायमा स्थापित बनाएको हो । यसै व्यवसायले आफूलाई कामप्रति उत्साहित बनाइरहेको बताउँछन् उनी ।

राजधानीलाई प्रदूषणरहित बनाउन शेरचनले १९९४ मा सफा टेम्पो सञ्चालनमा ल्याएका थिए । यसको आकर्षण एकाएक बढेपछि उनी अहिले विद्युतीय बसहरू सञ्चालनमा ल्याउने सुर कसिरहेका छन् । धूवाँरहित गाडीमा बढ्दै गएको जनआकर्षणले उनलाई उत्साहित बनाइरहेको छ । अहिले राजधानीमा चल्ने ७ सयभन्दा बढी विद्युतीय टेम्पो उनकै संस्थाद्वारा विक्रीवितरण भएका हुन् । तेस्रो मुलुकबाट इन्धन ल्याएर सवारीसाधन सञ्चालन गर्नुभन्दा नेपालमै विद्युत् उत्पादन गरेर सफा गाडी प्रयोगमा ल्याउनुपर्छ भन्ने सोचका साथ जलविद्युत् विकासमा आफूलाई केन्द्रित गरेको बताउँछन् उनी । अहिले उनले दुईओटा जलविद्युत् आयोजनाको निर्माण कार्य अगाडि बढाइरहेका छन् । दक्षिणी ललितपुरको टुङगुन ठोस्ने खानीखोला (६ दशमलव ४ मेगावाट) र सङ्खुवासभास्थित मायाखोला जलविद्युत् आयोजना (१५ मेगावाट) निर्माणमा उनी जुटिरहेका छन् । यी दुवै योजना ३ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ । 'विद्युतीय बसका लागि विद्युत् पनि आफै उत्पादन गर्न सोच बनाएका छौं,' उनी भन्छन् ।

उमेरले ६ दशक नाघिसकेका शेरचन मुस्ताङमा स्याउखेतीले गुजारा चलाइरहेको परिवारमा जन्मिए । थकाली समुदायमा उच्च शिक्षा हासिल गर्ने पहिलो व्यक्ति हुन् उनी । प्रारम्भिक शिक्षा मुस्ताङमा लिएर उनले सेण्टजेभियर गोदावरीबाट सिनियर क्याम्ब्रिज कोस पूरा गरे । अमृत साइन्स क्याम्पसबाट आईएससी पूरा गरेका शेरचनले मेकानिकल इञ्जिनीयरिङ अध्ययन गरेका छन् । प्रारम्भमा निजामती सेवामा प्रवेश गरेका उनी सरकारले नेपाल आयल निगमको स्थापना गरेपछि इञ्जिनीयरका रूपमा व्यवस्थापन समूहमा काम गर्न थाले । केही समयपछि उनले हवाई इन्धन विभागको प्रमुख भएर पनि काम गरे । तर, उनले ९ वर्षमै सरकारी जागीरबाट हात धोए । 'आफूलाई दायाँबायाँ गर्न आएन, त्यसो नगर्दा खान नपुग्ने भयो,' उनले सरकारी काममा हुने विकृत्रि्रति सङ्केत गर्दै भने 'त्यही भएर म सरकारी जागीर छोड्ने निर्णया पुगेँ ।' त्यसपछि उनले सिम्याट रई-टेकजस्ता विदेशी कम्पनीमा काम गरे । यिनै कम्पनीमा काम गर्दागर्दै आफैले केही गर्नुपर्छ भन्ने सोचका साथ नेपाल इलेक्टि्रक भेहिकल इण्डष्ट्री स्थापना गरेको बताउँछन् शेरचन । लोडशेडिङले इलेक्टि्रक भेहिकलमा ठूलो समस्या भएपछि उनको ध्यान जलविद्युत् विकासमा मोडियो । र उनले पशुपति इनर्जी डेभलपमेण्ट कम्पनीको स्थापना गरे ।

अहिले उनी आफ्नो सम्पूर्ण ध्यान जलविद्युत्मा लगाइरहेको बताउँछन् । लगनशीलताले नै व्यवसायमा सफल बनाएको उनको ठम्याइ छ । गृहकार्य गरेर योजनाबद्ध ढङ्गले काम गर्ने उनी अनुभव नै आयस्रोत भएको ठान्छन् । मुस्ताङबाट झोलामा किताब बोकेर राजधानी छिरेको थकालीको छोरो अहिले करोडौं सम्पत्तिको मालिक बनेका छन् । 'यो लगनशीलताको परिणाम हो,' उनी भन्छन् । फुसदमा आर्थिक म्यागेजिनहरू अध्ययन गर्न रुचाउने शेरचन वर्षमा दुईचोटि मुस्ताङ पुग्छन् । उनी आफ्नो क्रियाशीलतालाई अझै एक दशकसम्म जारी राख्ने बताउँछन् । पूजापाठमा भन्दा उनको रुचि वैज्ञानिक प्रविधिका नयाँ विषयमा हुने गर्छ । अहिलेसम्मका सबै कामबाट सन्तुष्ट भएको बताउँछन् उनी  ।

मुलुकलाई आर्थिक रूपमा समृद्ध बनाउन जलविद्युत् र पर्यटनमा लगानी गर्नुपर्ने उनको सुझाव छ । राजनीतिक नेताहरूमा दूरदर्शी सोचको अभाव रहेकाले मुलुकमा आर्थिक क्रान्ति चाँडै हुनेमा उनको शङ्का छ । तर, आशावादी नै छन् । सबै कुरामा सरकारको मात्र आश गर्न नहुने उनको सुझाव छ । 'राज्यको मुख ताक्ने प्रवृत्ति राम्रो होइन, बरु सानोतिनो आफ्नै लगानीमा व्यावसाय गर्नुपर्छ' उनी आफूकहाँ भेट्ने जो कोहीलाई पनि यही भन्छन् । आफूले अगुवाइ गरेका संस्थाहरूबाट प्रत्यक्ष ६० जना र अप्रत्यक्ष रूपमा १ हजार ५ सयभन्दा बढीलाई रोजगारी दिएको बताउँछन् । आफैले विद्युत् उत्पादन गरेर चाँडै नै विद्युतीय गाडी सञ्चालनमा ल्याउने उनको योजना रहेको छ । 'यदि मेरो सपना साकार भयो भने पूर्वदेखि पश्चिमसम्म धूवाँरहित गाडी सञ्चालनमा आउनेछन्,' उनले भने ।

Admin 2011-07-14