''रुपान्तरण चुनौतीलाई अवसरमा'' - उमङ्ग शमशेर जङ्गबहादुर राणा
प्रमुख कार्यकारी अधिकृत
वेष्टार प्रपर्टिज
प्रभावशाली राणा परिवारका सदस्य भए पनि पितापुर्खा र परिवारको रत्तीभर दम्भ छैन उनमा । जतिसुकै वैभवशाली भए पनि परिश्रम र कर्ममा विश्वास गर्छन् उनी । स्वरोजगार र स्वाध्यायनका पक्षपाति तर परनिर्भरताका विपक्षी छन्- वेष्टार प्रपर्टिजका प्रमुख कार्यकारी अधिकृत उमङ्ग शमशेर जङ्गबहादुर राणा । सन् १९७४ मा काठमाडौंमा जन्मिएका उनले तत्कालीन दीपेन्द्र प्रहरी विद्यालय पढेका हुन् । पूर्वनायब प्रहरी महानिरीक्षक रूपाल शमशेर जङ्गबहादुर राणा उनका पिता हुन् । कामको सिलसिलामा उनको जहाँ 'पोष्टिङ' हुन्थ्यो त्यहीँ पुग्थे उमङ्ग बिदाका दिनहरूमा । उनले देशका कुनाकन्दरालाई नजिकबाट नियालेका मात्र छैनन् गरीबका झुपडी पनि देखेका छन् । ती झुपडीमा समृद्धि ल्याउन सरकारीस्तरमा ठोस प्रयास हुनुपर्ने उनलाई लाग्छ । शीप र उद्यमशीलताको विकासबाट नै निर्धनहरूको उत्थान हुने उनको अभिमत छ ।
त्रिभुवन विश्वविद्यालयबाट व्यापार अध्ययनमा स्नातक गरेका छन् उमङ्गले । स्वावलम्बन रुचाउने उनले स्नातकोपाधि हासिल गर्नेबित्तिकै बहुराष्ट्रिय कम्पनी डीएचएलमा उच्च तहमा रहेर ६ वर्षकाम गरे । व्यवस्थापकीय तहमा रहे पनि उनले पदको परवाह नगरी कयौंपटक डेलिभरी भ्यान चलाएर 'पासलका पोका'सम्बन्धित ग्राहकसमक्ष पुर्याए । त्यहाँको अनुभव र शीपलाई उपयोग गर्न उनले सर्व सुविधासम्पन्न एपार्टमेण्टको व्यवसायमा हात हालेका हुन् । राजधानीको मुटु मानिने बालकुमारी र सोल्टीमोडमा अत्याधुनिक सुविधायुक्त एपार्टमेण्ट निर्माण गरेर जग्गा किन्ने र घर बनाउने कार्यलाई झन्झट मान्नेहरूलाई तयारी आवास उपलब्ध गराउँदै आएका छन् उनले । इमानदारी र कडा परिश्रमबाट नै व्यक्ति सफल हुन्छ भन्ने उनलाई लाग्छ । आफ्ना कर्मचारीलाई अन्तरसंवाद र अन्तरक्रियाका प्रशस्त अवसर दिन्छन् उनी । सञ्चारका सबै ढोका खुला राखेर काम गर्ने उनको बानी छ ।
अन्तर्मुखी छन् उमङ्ग । कुरा कम काम धेरै गर्नेको कित्तामा उनलाई राख्छन् उनका समवयीहरू । स्मार्ट टेक्नोलोजिज् प्रालिका प्रमुख कार्यकारी अधिकृत मुकुन्द मल्ल उमङ्गको कामप्रतिको समर्पण र लक्ष्य प्राप्त नभएसम्म त्यसमा लागिरहने शैलीको प्रशंसा गर्छन् । उमङ्गलाई राणा परिवारका खास व्यावसायिक व्यक्तित्व भन्दा अतिशयोक्ति नहुने मुकुन्द बताउँछन् ।
जस्तोसुकै चुनौतीको पनि सहजरूपमा सामना गर्नुपर्ने मान्यता छ उमङ्गको । हरेक दिन चुनौतीपूर्ण हुने र त्यसलाई उपलब्धिपूर्ण बनाउनुपर्ने उनको अभिमत छ । पूर्वयोजना बनाएर कार्यसम्पादन गर्छन् उनी । कठोर परिश्रम उनको सफलता सूत्र हो । यद्यपि आफूलाई सफल भन्न उनी रुचाउँदैनन् । आफ्नो मूल्याङ्कन अरूले गर्नुपर्ने उनलाई लाग्छ । समूहगत कार्यमा विश्वास गर्छन् उनी । र, मातहतका कर्मचारीलाई परिणाममुखी हुन अभिप्रेरित गर्छन् । उनीहरूलाई जिम्मेवारी दिएर उत्तरदायी बनाउन पनि उमङ्ग चुक्दैनन् । कुनै पनि कर्मचारीलाई भेदभाव नगर्नु उनको विशेषता हो । झूटो बोल्नेसँग व्यवहार गर्न उनलाई पटक्कै मन लाग्दैन । मातापिताको प्रेरणा र जीवनसँगिनी आश्मीको सहयोगले व्यापारिक क्षितिजलाई विस्तार गरिरहेका छन् उनले । चालू परियोजना पूरा भएपछि अर्को योजनामा हात हाल्ने सोचाइमा रहेको उनले बताए । सुविधा र अवस्थितिका हिसाबले वेष्टार 'बेष्ट प्रोजेक्ट' भएको उनको दाबी छ ।
फुटबलका शौकिन खेलाडी हुन् उमङ्ग । उनलाई खेलका अन्य विधामा पनि उत्तिकै अभिरुचि छ । फुसदमा ड्राइभिङ गर्नु र द्वन्द्वप्रधान चलचित्र हेर्दा उनलाई आनन्दानुभूति हुन्छ । मुलुकमा संस्थागत संस्कारको थालनी भए पनि विकट पहाडी एवम् हिमाली भेगमा त्यो पुग्नुपर्नेमा उनको जोड छ । 'बाजुराकी कुनै अर्की महिलाले फेरि प्रसव पीडाबाट अनाहकमा ज्यान गुमाउन नपरोस्' शहरकेन्द्रित सीएसआर गाउँगाउँमा पुग्नुपर्ने धारणा व्यक्त गर्छन् उमङ्ग । परोपकारबाट पुण्य प्राप्ति हुनेमा विश्वस्त उनी हरेक नागरिकले आफ्नो समाजको उन्नयनका लागि सकेको सहयोग गर्नुपर्ने बताउँछन् । अदृश्य शक्ति मान्छन् उनी ईश्वरलाई । र, पूजाअर्चना गर्दा असीम आनन्दको अनुभूति हुन्छ उनलाई ।
Admin 2011-05-13