शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

''अभियान स्वच्छ प्रशासनको'' - माधवप्रसाद घिमिरे
मुख्यसचिव

उनले कल्पना पनि गरेका थिएनन्, निजामती सेवाको उपल्लो तहमा पुग्छु भनेर । तर, केही गर्छु भन्ने अठोट भएका उनलाई इमानदारी र दृढ इच्छाका साथ काम गर्दा सफलता प्राप्त गर्न कठिनाइ हुँदैन भन्ने वास्तविकताको ज्ञान बाल्यावस्थामा नै भएको थियो । विद्यालय जीवनमा मेधावी मानिन्थे उनी । साधारण विद्यालय पढेर पनि उनले सारा देशवासीलाई चकित बनाए- एसएलसीमा 'बोर्ड थर्ड' भएर । सन् १९६१ मा पाल्पाको ग्रामीण भेगमा जन्मेका मुख्यसचिव माधवप्रसाद घिमिरेले विद्यार्थी जीवनमा कैयौं हण्डर र ठक्कर खाए पनि अध्ययनबाट हार खाएनन्, सिङ्गो सतिसालझैं ठिङ्ग उभिइरहे प्रतिकूल परिस्थितिमा पनि । इञ्जिनीयर बन्ने चाहनाले विज्ञान पढ्न काठमाडौं छिरेका उनी आईएस्सी पूरा नगरी पाल्पा नै फर्के, तत्कालीन परिस्थितिका कारण । 'लेखेको हुन्छ, देखेको हुँदैन' भन्ने पुरानो आहान उनको जीवनमा पनि ठयाक्कै चरितार्थ भएको छ । पाल्पाबाट व्यवस्थापनमा स्नातक गरेपछि राजधानी पसेका उनले यहीँ व्यवस्थापनमा स्नातकोत्तर गरेका हुन्- प्रथम भएर ।

झण्डै तीन दशकदेखि निजामती सेवाको सेरोफेरोमा छन् माधव । उनको पहिलो पोष्टिङ राष्ट्रिय योजना आयोगमा योजना अधिकृतका रूपमा भएको थियो । २ वर्ष त्यहाँ शाखा अधिकृत रहँदा सुदूरपश्चिमाञ्चल विकास क्षेत्रका नौओटा दुर्गम जिल्लाको उन्नयनका निम्ति अपरिहार्य मानिएका विकासका योजनामा उनको उल्लेख्य योगदान र⋲यो । मुख्यसचिव र सचिवबाहेक तलका सबै पदमा उनी परीक्षा उत्तीर्ण गरेर पुगेका हुन् । जलस्रोत मन्त्रालयमा मानव संसाधन विकासको जिम्मेवारीसँगै उपसचिवमा बढुवा पाएका थिए उनले । अर्थ मन्त्रालयअन्तर्गतको मूल्य अभिवृद्धि कर विभागको नायब महानिर्देशक भई उनले मूल्य अभिवृद्धि कर (भ्याट) सङ्कलनलाई प्रभावकारी बनाएर राज्यको ढुकुटी भरे भने सहसचिवमा पदोन्नतिसँगै झण्डै ५ वर्षवैदेशिक सहायता विभागमा रहेर बाह्य सहयोगलाई विकासका काममा केन्द्रित गरे । विदेशी सहयोग समन्वय र परिचालनमा पनि उनको नेतृत्वदायी भूमिका अर्थ मन्त्रालय र कूटनीतिक नियोगका निम्ति स्मरणीय रहेको बताउँछन् सम्बद्ध व्यक्तिहरू । वैदेशिक सहायता नीति, गरीबी न्यूनीकरण रणनीतिक पत्र, मध्यकालीन खर्च संरचना र मुलुकको विकासका खातिर सहायता भित्र्याउन दातृ राष्ट्र र समुदायको बैठक (नेपाल विकास मञ्च) को प्रारूप तयारी एवम् कार्यान्वयनमा पनि उनले अहम् भूमिका निर्वाह गरेका छन् । हङकङमा महावाणिज्य दूत हुँदा उनले हङकङ चेम्बर अफ कमर्श र नेपाल उद्योग वाणिज्य महासङ्घबीच द्विपक्षीय सम्बन्ध स्थापना एवम् सुदृढीकरणमा गरेको योगदानलाई कूटनीतिक वृत्तका साथै स्वदेशी तथा विदेशी उद्यमी-व्यवसायीले बिर्सेका छैनन् ।

आर्थिक मामिलालाई महत्त्वपूर्ण मुद्दा मान्छन् घिमिरे । आर्थिक उन्नयनका लागि यसको आधार विस्तार गर्नुपर्नेमा उनको जोड छ । प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउनेलगायत आर्थिक समृद्धिका लागि यसको अभ्यास बढाउनु अपरिहार्य भएको उनको बुझाइ छ । सामाजिक परिवर्तनका लागि पनि आर्थिक कूटनीतिले उल्लेख्य योगदान गर्नेमा उनी विश्वस्त छन् । २४ वर्षसम्म डेरामा वास बिताएका निजामती सेवाको सर्वोच्च पदमा पुगेका सम्भवतः एकमात्र प्रशासक हुन् उनी । उनले आफ्नै  आवासमा आरामदायी जीवन गुजार्न थालेको ३० महीना मात्र भयो । नियमानुसार प्राप्त पारिश्रमिक परिवारको भरणपोषण र शिक्षादीक्षामा नै खर्च भएकाले बेलैमा स्ववासको व्यवस्था हुन नसकेको हो ।

मुख्यसचिव घिमिरे आफै काम सृजना गर्छन् र जहाँसुकै सम्भावना देख्छन् । जिम्मेवारी खोजेर लिनुपर्ने उनको बुझाइ छ । उनी 'टम्स अफ रिफ्रेन्स'मा विश्वास गर्दैनन् । योजना आयोगमा काम गर्दाका ती दिन, त्यहाँ हासिल गरेको शीप, ज्ञान र अनुभवमात्र होइन, एसएलसीमा बोर्ड थर्ड, एमबीएमा प्रथम श्रेणीमा प्रथम, एशियन इन्षिटच्युट अफ टेक्नोलोजीबाट ग्रामीण तथा क्षेत्रीय योजनामा एमएस्सी गर्दा डिष्टिङशन प्राप्त गर्नु र मुख्यसचिवमा नियुक्त हुनुलाई उपलब्धि र अविस्मरणीय क्षणका रूपमा लिएका छन् घिमिरेले । उनी आफूलाई आम नेपालीभन्दा पृथक् मान्दैनन् । परिणाममुखी कार्यप्रणालीमा विश्वास गर्छन् । उनमा कुनै किसिमको नैराश्य छैन । अनुशासन उनको सफलताको सूत्र हो । जुनसुकै काम पनि समर्पित भएर गर्नुपर्नेमा उनको अभिमत छ । अरूलाई पनि अनुशासित भएर सकारात्मक सोचका साथ कार्यसम्पादन गर्न अभिप्रेरित गरिरहन्छन् उनी । पूर्णरूपमा उत्प्रेरित भएर कार्यालय जान र दिलोज्यानले दिइएको जिम्मेवारी वहन गर्न सुझाउने उनको बानी छ । काम गर्न नपाए उनलाई छटपटी हुन्छ । आफूलाई सगर्व किसानको छोरा घोषणा गर्छन् उनी र पितालाई नै आदर्श व्यक्ति मान्छन् । कुटोकोदालो गरिरहेका दौंतरीलाई पनि उनी आदर्श र प्रेरणाका स्रोत मान्छन् । उनको पूँजी सरलता र इमान हो । यी दुई गुणलाई दाउमा राखेर उनी कहिल्यै हिँडेनन् र त्यसो गर्नु उनका निम्ति अकल्पनीय हो । उनी महत्त्वाकाङ्क्षी छैनन्, न त्यो अवगुणले गाँजेको छ उनको परिवारलाई । 'यो वा त्यो भए हुन्थ्यो' भन्ने लालसा राख्नेले प्रभावकारी सेवा प्रवाह गर्न नसक्ने उनको मत छ ।

अट्ठाइस वर्षको जागीरे जीवनमा घिमिरेले कहिल्यै कसैबाट हस्तक्षेप बेहोर्नु परेन । नियमविपरीत काम गर्न हुँदैन भन्दा जोकोही मान्न तयार हुने उनको बुझाइ छ । 'भ्रष्टाचारको जरा माथि हुन्छ, अरू कुराको जरा तल हुन्छ' भन्छन् उनी । सुशासन कायम गर्नु सरकारको दायित्व भएकाले त्यसनिम्ति अभियान नै थाल्नुपर्नेमा उनको जोड छ । क्षमा दिँदैनन् उनी भ्रष्टाचारीलाई । निजामती सेवालाई आकर्षक बनाउन लोकसेवाको परीक्षाप्रणालीमा व्यापक संशोधन एवम् परिमार्जन अपरिहार्य लाग्छ उनलाई । प्रशासन यन्त्रलाई सुदृढ बनाउन निजामती सेवा नियमावली २४ (क)को सुधार र बढुवा प्रणाली परिवर्तन आवश्यक भएको उनको बुझाइ छ । मुलुकको प्रशासनलाई दक्ष एवम् सुदृढ बनाउने लक्ष्यका साथ उनी अहोरात्र काम गरिरहेका छन् । बिहान ३:३० बजे उठेर उनी कामसँग सम्बन्धित पुस्तक पढ्छन् र त्यसलाई यथासम्भव व्यवहारमा अनुवाद गर्छन् ।

Admin 2011-03-14