''व्यापार र समाजसेवा बराबर'' - राजेन्द्रकुमार खेतान
अध्यक्ष, खेतान ग्रूप
शिक्षा, स्वास्थ्य, पर्यटन र आर्थिक क्षेत्रलाई राजनीतिबाट मुक्त राख्न उनले बारम्बार आवाज उठाउने गरेका छन् । नेपाली नागरिकको हैसियतमा उनले त्यसो गरेको दशकौं भइसक्यो तर त्यसको खासै सुनुवाइ भएको छैन । अहिले उनी सभासद् छन् । र, उनका कुरा नसुनी सुखै छैन, नेतागणलाई । यद्यपि एक कानले सुन्ने र अर्कोले उडाउने उनीहरूको प्रवृत्ति अन्त्य भएको छैन । निदाएकाहरूलाई आर्थिक उन्नयनका लागि झकझक्याएर उनले नागरिक र सभासद्को दोहोरो दायित्व निर्वाह गरेका छन् । मुलुकको प्रसिद्ध औद्योगिक घराना खेतान ग्रूपका अध्यक्ष राजेन्द्रकुमार खेतानलाई देशको अहिलेको अर्थतन्त्र मिश्रति लाग्छ । उत्पादनक्षेत्र नबढेसम्म रोजगारीका अवसरमा बढोत्तरी नहुने भएकाले उत्पादनशील क्षेत्रको दीर्घकालीन विकासका लागि लाग्नुपर्नेमा उनको जोड छ । विप्रेषणले धानेको मुलुकको अहिलेको अर्थव्यवस्थालाई उकास्न निजीक्षेत्रबीचको सहयोग एवम् सहकार्य अपरिहार्य भएको उनको ठम्याइ छ ।
एक सय ६५ वर्ष पहिलेदेखि खेतानका पुर्खाले नेपालको राष्ट्रिय अर्थतन्त्रमा योगदान गर्दै आएका हुन् । पाँचौँ पुस्ताका राजेन्द्रले झण्डै अढाइ दशकदेखि पिता मोहनगोपाल खेतानलाई व्यवसायमा सघाउँदै आएका थिए । केही वर्षपहिले पिताको असामयिक देहावसान भएपछि राजेन्द्रले खेतानसमूहको नेतृत्व गरिरहेका छन् । खेतानसमूहअन्तर्गत गोर्खा ब्रुअरी, लक्ष्मी बैङ्क, प्राइम लाइफ इन्स्योरेन्स, हिमालयन स्न्याक्स एण्ड नुडल्सलगायत औद्योगिक प्रतिष्ठान सञ्चालित छन् । मुलुकको कुल राजस्व सङ्कलनको २ प्रतिशत हिस्सा अर्थात् रू.४ अर्ब २० करोड ७८ लाख ७८ हजार खेतानसमूहले तिर्दै आएको छ । २ हजार १ सय कर्मचारी यस समूहसँग आबद्ध छन् भने साझेदारको सङ्ख्या ५७ हजार ४ सय ७७ छ । राजेन्द्रले मातहतका कर्मचारीलाई उनीहरूको क्षमताअनुसार सबैलाई जिम्मेवारी सुम्पेका छन् । स्वामित्वबोधका साथ काम गराउन उनी सिपालु छन् । परिणाममुखी कार्यप्रणाली तथा 'दण्ड र पुरस्कार' उनको व्यवस्थापन मन्त्र हो । खेतानसमूहमा काम गर्नेले १८ महीनाको तलब पाउँछन् । वर्षेनि बोनस पनि दिइरहन्छन् उनी- कर्मचारीको कामबाट उत्कृष्ट परिणाम पाउन । कर्मचारीसँग मित्रवत् व्यवहार गर्ने खेतान उनीहरूसँग खुलेर कुरा गर्छन् । बेलाबेलामा कामको अनुगमन गर्न पनि उनी पछि पदैनन् ।
भूतपूर्व उद्योग, वाणिज्य तथा आपूर्ति सहायकमन्त्री राजेशकाजी श्रेष्ठ खेतानलाई कुनै पनि काममा पूर्व तयारी एवम् अध्ययन गरेर मात्र हात हाल्ने व्यक्तिका रूपमा चित्रित गर्छन् । साथीभाइको सुझाव लिने उनको विनयी स्वाभाव श्रेष्ठलाई मनपर्छ । कुनै पनि विषयलाई तर्कपूर्ण ढङ्गले प्रस्तुत गर्ने र मानिसलाई सजिलै 'कन्भिन्स' गर्न सक्ने उनको क्षमताको श्रेष्ठ प्रशंसा गर्छन् । प्रतिभा र प्रभाव भएका खेतानलाई उनी 'केही गरौं भन्ने भावना भएको उत्साही उद्यमी' मान्छन् ।
उत्पादनका क्षेत्रमा केन्द्रित वर्तमान उद्योग व्यवसायलाई विविधीकरण गर्दै आगामी ५ वर्षमा सेवाक्षेत्र र वित्तबजारमा स्थापित हुने लक्ष्यप्राप्तिका निम्ति उनी कार्ययोजना बनाइरहेका छन् । मेडिकल तथा नर्सिङ कलेज, बैङ्किङ एवम् टेलिकम्युनिकेशन क्षेत्रमा उनको कम्पनीले लगानी गर्न अनुसन्धान सम्पन्न गरिसकेको छ । जनसम्पर्कमा अत्यधिक रुचि भएका खेतानको अर्थतन्त्र र सामाजिक सेवामा पनि उत्तिकै अभिरुचि छ । साथीभाइको अनुरोध टार्न नसकेर बेलाबेलामा होर्डिङबोर्डमा पनि देखिन्छन् उनी- युवा जमातलाई 'सेन्सेटाइज्' गर्न । युवा उद्यमी उनी आफ्नो वयका बन्धुहरूलाई उद्यमशीलतातर्फ आकर्षित गर्ने 'लौन अब केही गरौं' होस् वा महारोग एचआईभी/एड्सविरुद्ध जागरण अभियान होस् आफ्ना सहयोगी हात फैलाउन कञ्जुस्याइँ गर्दैनन् ।
सामाजिक सेवाको क्षेत्रमा खेतान नेतृत्वका कम्पनीले शिक्षा, स्वास्थ्य, खेलकुदलगायत क्षेत्रमा अतुलनीय योगदान गरेका छन् । हरेक नागरिकको समाजप्रति दायित्व हुन्छ भन्ने खेतानले संस्थागत सामाजिक उत्तरदायित्व निर्वाहका क्रममा देशका विभिन्न भागमा अवस्थित आधा दर्जन शैक्षिक प्रतिष्ठानका निम्ति भवन निर्माण गरिदिएका छन् । करीब रू. २० लाखको लागतमा उनको समूहले काठमाडौं विश्वविद्यालयका निम्ति छात्रावास बनाइदिएर हालै हस्तान्तरण गरेको छ । धार्मिक सङ्घसंस्थाहरूलाई पनि हृदय खोलेर सहयोग गर्ने खेतान 'देशले के दियो भन्दा पनि मैले देशलाई के दिएँ' भन्ने भावनाले काम गर्नुपर्ने अभिमत व्यक्त गर्छन् ।