शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

नवीन सोचका अर्बपति 'हाई-स्कूल ड्रपआउट'
रिचर्ड ब्रान्सन
अध्यक्ष, भर्जिन ग्रूप


कुनै पनि मानिसको उन्नति र प्रगतिको प्रमुख तत्त्व हो नवीन सोच र जोखिम मोल्न सक्ने खुबी । आर्थिक, सामाजिक, राजनीतिकलगायत सबै क्षेत्रमा नवीन सोच अघि सार्ने र जोखिम उठाउन सक्ने व्यक्ति मात्र सफलताको सिँढीमा उक्लने गर्दछन् । विश्वमा कतिपय व्यक्तिले विद्यालय र विश्वविद्यालयको औपचारिक शिक्षा बीचमै छाडे पनि आफ्नो सोच र चिन्तनले अत्यन्त सफल भएका उदाहरण पाइन्छन् । थोमस एल्भा एडिसन, हेनरी फोर्ड, वाल्ट डिज्ने, माइकल डेल, मिल्टन हर्से , स्टिभ जब्स, उडी एलनजस्ता विद्यालयको पढाइ बीचमै छाडेकाहरू (हाई-स्कूल ड्रपआउट्स)को सफलताको कथा पछाडि उनीहरूको नवीन सोच र जोखिम उठाउन सक्ने खुबी नै प्रमुख तत्त्वका रूपमा रहेका छन् । यिनै मेहनती र सफल व्यक्तिहरूको सूचीमा पर्छन् बेलायती अर्बपति व्यापारी र लगानीकर्ता, रिचर्ड ब्रान्सन । सन् १९५० जुलाई १८ मा लण्डनको ब्ल्याकहिथमा जन्मिएका ब्रान्सन 'भर्जिन ग्रूप'का अध्यक्ष हुन् । प्रसिद्ध पत्रिका 'फोर्ब्स'ले सन् २०११ का विश्वका सर्वाधिक धनी व्यक्तिहरूको सूचीमा ब्रान्सन २५औं स्थानमा रहेको उल्लेख गरेको छ । फोर्ब्सले प्रकाशित गरेको उक्त सूचीमा उनी बेलायतको पाँचौं धनी व्यक्ति भएको पनि बताइएको छ । ब्रान्सनको भर्जिन ग्रूपमा हाल ४ सयओटा कम्पनी आबद्ध छन् । विशेषगरी वायुसेवा, पर्यटन तथा अतिथि सत्कार र साङ्गीतिक क्षेत्रका त ब्रान्सन हस्ती नै मानिन्छन् ।

ब्रान्सन पढाइमा भने निकै कमजोर थिए । बेलायतको उच्च अदालतका न्यायाधीश जर्ज हारविन ब्रान्सनका नाति र 'ब्यारिष्टर' (कानून व्यवसायी) एडवार्ड जेम्सका पुत्र रिचर्डलाई 'डिस्लेक्सि' नामक समस्या रहेको थियो । यो समस्या भएको बालक बढाइमा कमजोर हुन्छ । तर, उनको इच्छाशक्ति, जोखिम उठाउन सक्ने क्षमता र अरूसँग सम्पर्क बढाउन सक्ने खुबी भने उनका समकालीनहरूभन्दा निकै बढी थियो । ब्रान्सनले १६ वर्षको उमेरमै व्यापार शुरू गरेका थिए । उनले हाई-स्कूलमा पढ्दा निकालेको विद्यार्थी पत्रिका 'स्टुडेण्ट' उक्त समयमा विद्यार्थीहरूमाझ निकै लोकप्रिय थियो । १६ वर्षको उमेरमा लण्डनको बकिङ्घमशायरस्थित स्टोव स्कूलको पढाइ बीचमै छाडेपछि उनले सन् १९७० मा अडियो रेकर्ड हुलाकद्वारा बेच्ने व्यापार शुरू गरे । सन् १९७२ मा ब्रान्सनले साङ्गीतिक रेकर्ड बेच्ने स्टोरहरूको 'चेन'का रूपमा त्यही व्यापारलाई अघि बढाए । पछि सोही व्यापारिक 'चेन' भर्जिन मेगास्टोरका रूपमा विश्वभर प्रख्यात भयो । भर्जिन मेगास्टोर पछि उनले सन् १९७२ मै स्थापना गरेको रेकर्ड कम्पनी भर्जिन रेकर्डसमार्फत विश्वका प्रमुख साङ्गीतिक ब्याण्डका एल्बम बजारका ल्याएका छन् । भर्जिन रेकर्डस्ले रोलिङ स्टोन्स, सेक्स पिष्टल्स, रे अर्बिसन, द स्माशिङ पम्किन्स, ज्यानेट ज्याक्सन, मिटलोफ, लेनी क्राभिट्ज, कल्चर क्लब, स्पाइस गर्ल्स र गोरिल्लाज जस्ता चर्चित साङ्गीतिक ब्याण्ड र गायकका प्रस्तुतिहरू बजारमा ल्याएको छ । सन् १९८४ मा स्थापना भएको 'भर्जिन एटलाण्टिक एयरवेज' ब्रान्सनको अर्को व्यावसायिक सफलता मानिन्छ । सन् २०११ को फ्रेब्रुअरी महीनामा उक्त कम्पनीले २ हजार ७ सय मिलियन पाउण्ड नाफा आर्जन गरेको थियो । सन् २०१० मा ५ लाख ३० हजार यात्रु उडाएको भर्जिन एटलाण्टिक एयरवेज बेलायतको दोस्रो ठूलो विमानसेवा हो । सन् १९९० मा उक्त विमानसेवामा आर्थिक सङ्कट आयो । तैपनि ब्रान्सनले भर्जिन रेकर्डस एक अर्को रेकर्ड कम्पनी 'इएमआई'लाई ५० करोड पाउण्डमा विक्री गरेर विमानसेवा सुचारु गरेका थिए । एक अन्तरवार्तामा उनले भर्जिन रेकर्डस विक्रीको क्षण आफ्नो जीवनकै दुखद भएको र आफू रोएको बताएका छन् । उक्त विक्रीको केही समयपछि ब्रान्सनले 'भी टु' नामक रेकर्ड कम्पनी स्थापना गरेर आफनो पहिलो व्यवसायलाई निरन्तरता दिएका छन् ।

ब्रान्सनको जोखिम उठाउँदै लगानी गर्ने क्षमता सबैतिर प्रशंसनीय छ । उनले गरेको एक जोखिमयुक्त लगानीमा भर्जिन ट्रेन्स नामक रेलसेवा उल्लेखनीय छ । रेलसेवा अत्यन्त जोखिमयुक्त रहेको र त्यसमा लगानी नगर्न दिइएका सुझावहरूको बेवास्ता गर्दै उनले भर्जिन ट्रेन्समार्फत 'ब्रिटिश क्रस क्रण्ट्रि सेक्टर' रेलसेवा शुरू गरे । तर, उनका केही लगानी भने असफल रहे । हलुका पेयपदार्थ 'भर्जिन कोला' र मदिरा 'भर्जिन भोड्का' बजारमा त्यति नरुचाइएपछि बन्द भएका छन् । विश्लेषकहरूले यी उत्पादनहरूको प्रचारमा ध्यान नदिइएकाले चल्न नसकेको बताएका छन् । आफ्नो व्यावसायिक जीवनमा ब्रान्सन विवादमा मुछिएका पनि छन् । सन् २००६ मा उनलाई ब्रिटिश एयरवेजसँग मिलेर हवाई टिकटहरूको मूल्य निर्धारण गरी प्रतिस्पर्धाका नियमको उल्लघङ्न गरेको आरोप लगाइएको थियो ।

सन् २००४ मा ब्रान्सनले आफ्नो आगामी लगानी अन्तरिक्ष पर्यटनमा गर्ने घोषणा गरेका थिए । त्यसका लागि अन्तरिक्ष उडान गर्ने भर्जिन ग्यालेक्टिक नामक कम्पनी स्थापना गरेर एक अमेरिकी कम्पनी स्पेशसीप वानसँग सहकार्य गर्दै सन् २०१२ सम्म यानमार्फत अन्तरिक्षमा यात्रुहरूलाई घुमाउनका लागि तयारी भइरहेको बताइन्छ । साढे तीन घण्टाको उक्त अन्तरिक्ष शयरका लागि प्रतिव्यक्ति २ लाख अमेरिकी डलर शुल्क तोकिएको छ । त्यसका साथै भर्जिन फयुल नामक एक ऊर्जा कम्पनी स्थापन गरेर नवीकरणीय ऊर्जाको प्रयोगलाई व्यापकता प्रदान गर्ने पनि ब्रान्सनले बताएका छन् । उनले भूतपूर्व अमेरिकी उपराष्ट्रपति अल गोरसँगको एक 'ब्रेकफष्ट'मा गोरको विचारबाट प्रभावित भएर यस्तो ऊर्जा कम्पनी स्थापना गर्ने निर्णयगरेको उल्लेख गरेका छन् ।

रिचर्ड ब्रान्सन कीर्तिमान कायम गर्न खोज्ने खेलाडीका रूपमा पनि परिचित छन् । सन् १९८६ मा उनी एक स्पिडबोटबाट एटलाण्टिक महासागर पार गर्ने क्रममा दुर्घटनामा परेका थिए । त्यस्तै सन् १९८७ मा उनले एक समूहसहित विश्वको सबैभन्दा ठूलो तातो हावाको बेलुनबाट एटलाण्टिक महासागर पार गरी कीर्तिमान कायम गरेका थिए । सन् १९९१ को जनवरीमा त्यस्तै एक बेलुनबाट उनले जापानबाट थालेको यात्रा क्यानडामा पुगेर टुङ्ग्याएका थिए । उक्त यात्रामा उनले २ सय ४५ माइलको सीमा पार गरी कीर्तिमान बनाएका थिए । सन् १९९८ मा ब्रान्सन र उनका सहकर्मीहरूले बेलुनबाट गर्न खोजेको विश्वयात्रा भने प्राविधिक गडबडीले गर्दा पुरा हुन सकेन । त्यसैगरी सन् २००८ मा आफ्ना छोराछोरीसहित एटलाण्टिक महासागर एक डुङ्गा (याच)मार्फत पार गर्न खोज्दा तीव्र हावाका कारण डुङ्गाका पालहरू च्यातिएपछि बीचैमा परित्याग गर्नुपरेको थियो । गोल्फ खेलका शौखिन रिचार्डले सन् २०१० मा अष्ट्रेलियाको मेलबर्नमा रातको अँध्यारोमा गोल्फ खेल्ने कीर्तिमान बनाउन खोजेका थिए । उक्त स्पर्धामा उनी पार ४५ को कोसमा ४१ अङ्क बटुल्न भने सफल भए । ब्रान्सनको कम्पनी भर्जिन रेसिङले बाइक रेसिङ प्रतियोगिता 'मोटो जिपी' र कार रेसिङ 'फर्मुला वान'मा सन् २००९ देखि विभिन्न टिमलाई प्रायोजन गर्दै आएको छ ।

ब्रान्सनले विश्वका विभिन्न देशमा मानवतावादी कार्यहरू पनि सञ्चानल गर्दै आएका छन् । विश्वविख्यात प्रजातन्त्रवादी नेता नेल्सन मण्डेलाबाट प्रभावित बताउने ब्रान्सनले गरीबहरूका लागि नि:शुल्क शिक्षा, स्वास्थ्य र वातावरण संरक्षणका कार्यक्रम सञ्चालन गरिरहेका छन् । विशेषगरी अफ्रिकाका समस्याहरूमा केन्द्रित उनी दक्षिणी अप्रिmकी राष्ट्रहरूमा यस्ता कार्यक्रम चलाइरहेका छन् । यिनै कार्यका कारण उनी विभिन्न अन्तरराष्ट्रिय पुरस्कारले सम्मानित भएका छन् । सन् २००२ मा बीबीसीको सर्वेक्षण 'एक सय महान् बेलायती' (वान हण्ड्रेड गे्रटेष्ट ब्रिटन्स)को सूचीमा ८५औं स्थानमा पर्न सफल उनी सन् २००७ मा टाइम म्यागेजिनको 'विश्वका सर्वाधकि प्रभावशाली व्यक्ति'को सूचीमा ७६औं स्थानमा रहेका थिए । उनले मानवीय र वातावरणीय प्रयत्नका लागि संयुक्त राष्ट्रसङ्घीय र जर्मन मिडिया पुरस्कारसमेत पाएका छन् ।

ब्रान्सनले आफ्नोबारेमा एक पुस्तक पनि लेखेका छन् । ब्रान्सनको  आत्मकथा 'लुजिङ माई भर्जिनिटी'ले पाठकहरूबाट उत्साहजनक प्रतिक्रिया पाएको थियो । उक्त पुस्तक अन्तरराष्ट्रिय 'बेष्ट सेलर'का रूपमा रहेको छ । ४ दशमलव ८ अर्ब अमेरिकी डलर सम्पत्तिका मालिक ब्रान्सन आफ्ना सहकर्मी र कर्मचारीहरूसँग सहज सम्बन्ध राख्न रुचाउँछन् । कुनै पनि काम गर्न मानिसमा इच्छाशक्ति र नवीन सोच हुनैपर्ने बताउने ब्रान्सनले एक अन्तरवार्तामा भनेका छन्, 'मेरा लागि व्यापार भनेको सुट लगाउनु र साझेदारलाई खुशी पार्नु होइन, यो त आफू र आफ्नो सोचाइप्रति इमानदार हुनु  र मूलभूत कुराहरूमा केन्द्रित हुनु हो ।'

Admin 2011-08-15