शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

ओखतीमा अग्रणी
महेन्द्रबहादुर अमात्य
प्रबन्ध निर्देशक
नेपाल फर्मास्युटिकल्स ल्याबोरेटरी
(एनपीएल), वीरगञ्ज

सानो सामान किन्न पनि भारततिर धाउनुपर्ने वीरगञ्जवासीहरूको बाध्यता देख्दा उनलाई निकै पीडाबोध हुन्थ्यो । भन्सारबाट ट्रकहरू नेपाल भित्रिँदा भरिभराउ देखिन्थे । तर, तिनै ट्रक भारततिर फर्किंदा खालीखाली हुन्थे । बाल्यकालदेखि नै यस्तै अनुभूति गरिरहेका महेन्द्रबहादुर अमात्यले एउटा सङ्कल्प र अठोट गरे- 'नेपालबाट भारत छिर्दा गाडीहरू पनि भरिभराउ पठाउनुपर्छ ।' तर, त्यसका लागि के गर्ने ? उनले धेरै सम्भावनाको अध्ययन गरे र औषधि व्यवसाय शुरू गर्ने निर्णया पुगे । तर, औषधि पनि भारतीय बजारबाटै ल्याउनुपर्थ्यो । औषधि विक्रेताबाट शुरू भएको उनको व्यावसायिक यात्रा उद्योगपतिका रूपमा स्थापित भएको छ । व्यवसायमा हात हालेको २६ वर्षपछि अमात्य गर्व गर्दै भन्छन्, 'अब मेरो प्रतिस्पर्धा भारतीय औषधि उत्पादक कम्पनीसँग हो ।'

२६ वर्षअघि ४६ लाखको लगानीबाट शुरू भएको उनको संस्थाले वार्षिक ४० करोड रुपैयाँको कारोबार गरिरहेको छ । अमात्य आफ्नो संस्थाको सम्पत्ति २७ करोड पुगिसकेको बताउँछन् । कडा मेहनत र परिश्रमको नतीजा ठान्छन् आफ्नो व्यावसायिक सफलतालाई । आफ्नो व्यवसायलाई देश र जनतालाई स्वस्थ बनाउन शुरू गरिएको उद्यम मान्छन् अमात्य । नेपालका औषधि उद्योगहरूमा एनपीएल अगुवा मानिन्छ । हाल ५० भन्दा बढी नेपाली औषधि कम्पनी अस्तित्वमा छन् । तर, उनी ती कम्पनीलाई प्रतिस्पर्धी होइन, सहयोगी ठान्छन् । 'मेरा प्रतिस्पर्धी भारतीय औषधि कम्पनी हुन्,' उनी भन्छन् । व्यवसायमा अठोट, प्रतिबद्ध र अनुशासन चाहिन्छ भन्छन् अमात्य । आफ्नो अठोटले नै भारतमा समेत आफ्नो औषधिको माग भइरहेको बताउँछन् उनी ।

६२ वर्षअघि वीरगञ्जमा जन्मिएका अमात्य राजनीतिमा संलग्न रहे । पछि शिक्षक, ठेकदार हुँदै व्यापारमा होमिए । शुरूमा अमात्यको चाहना राजनीतिमा थियो । तर, परिस्थितिले उनी सोच्दै नसोचेको विषयवस्तुभन्दा बाहिरको व्यवसायमा संलग्न भए । शिक्षित र सम्पन्न परिवारका अमात्य एसएलसीमा बोर्ड छैटौं भए । उच्चशिक्षा हासिल गर्न क्याम्पस आएपछि पढाइभन्दा राजनीतिलाई महत्त्व दिए । अर्थशास्त्रमा स्नातकोत्तर गरेका उनी केही समय शिक्षक र ठेकदारको पहिचानमा देखिए । तर, त्यसमा पनि चित्त नबुझेर उनी औषधि व्यवसायमा लागे । बजारमा एनपीएलद्वारा उत्पादित औषधिको माग बढिरहेको उनको दाबी छ । अहिले उनले मनग्गे नाम र दाम कमाएका छन् । उनको बसाइँ वीरगञ्ज, काठमाडौँ र विदेशमा बराबर छ । पारिवारिक पृष्ठभूमि राजनीतिक भएका कारण राणाकालमा आफ्नो परिवारलाई वीरगञ्ज बस्न निषेध गरिएको बताउँछन् उनी ।

नेपालमा मधुमेह र मुटुरोगसम्बन्धी औषधि उत्पादन गर्ने पहिलो संस्था हो- एनपीएल । यसले २ सयभन्दा बढी औषधि उत्पादन गर्छ । शिक्षण पेशालाई त्याग्नु देश र औषधि उद्योगका लागि फाइदाजनक भएको अमात्य बताउँछन् । उनले नेपालमा औषधि उद्योगको श्रीगणेश गरे । नेपालमा औषधि उद्योगहरू फस्टाउनुमा उनको सोच र दूरदृष्टिलाई श्रेय दिनु अस्वाभाविक हुँदैन । गहिरिएर समस्यालाई बुझ्ने र त्यसको समाधान सामूहिक रूपमा खोज्ने उनको व्यवस्थापन सूत्र हो । कर्मचारीसँग कहिल्यै पनि मालिकको जस्तो व्यवहार गर्दैनन् उनी । 'उहाँजस्तो मिलनसार, तार्किक र व्यावहारिक मान्छे थोरै देखेको छु,' अमात्यका बालसखा प्रा. विजयबहादुर सिलवाल भन्छन् । राज्यले स्पष्ट आर्थिक र औद्योगिक नीति नल्याएका कारण विरक्तिएको कुरा गर्छन् अमात्य । 'वितरण प्रणाली असमान भएकाले जनताले न्याय पाएनन्,' उनी भन्छन् । अध्ययनशील स्वभावका अमात्य राजनीति र व्यावसायिक पुस्तक उत्तिकै पढ्छन् । आफ्ना पितालाई आदर्श मान्ने उनी फुसदको समयमा कविता लेख्छन् । तर, प्रकाशन भने कहिल्यै गरेनन् उनले ।

करीब ३ सय कर्मचारीलाई रोजगारी दिएका छन् अमात्यले । आफूले गरेको राम्रो कामको प्रचार गर्न नचाहने उनले समयसमयमा विपत्तिमा परेकालाई औषधिका साथै आर्थिक सहयोग पनि गर्छन् । गतवर्ष पाकिस्तानमा गएको भूकम्पमा उनले ३ लाख रुपैयाँबराबरको औषधि सहयोग गरेका थिए । उनी मन्दिर जान्छन्, दर्शन गर्न होइन, त्यहाँको इतिहास हेर्न । सादा, सफा र सजिलो पहिरन मनपराउँछन् अमात्य । नेपालको औद्योगिक व्यवस्था र संयन्त्र भारतीय पूर्वाधार एवम् प्रविधिमा आधारित भएकाले यहाँका उद्योग भारतपरस्त भएको मान्दछन् उनी । आफै आन्तरिक रूपमा बलियो नभई राष्ट्रियता विकसित नहुने विचार राख्ने अमात्य देशको प्राकृतिक स्रोतसाधनको अधिकतम परिचालन गर्नुपर्ने मान्यता राख्छन् । त्यही भएर उनी भन्छन्, 'जबसम्म अर्थतन्त्र बलियो हुँदैन, तबसम्म राष्ट्रियता खोक्रोतन्त्र हुन्छ ।'

Admin 2011-07-15