नयाँ बेइजिङकी निर्मात्री
चाङ सिन
प्रमुख कार्यकारी अधिकृत
शोहो चाइना
विश्व आर्थिक रङ्गमञ्चमा चिनियाँ धनाढयहरूको सूची लम्बिँदै गइरहेको छ । चीनमा सन् ९० पछि फस्टाएका थुप्रै व्यापारमध्ये घरजग्गा कारोबार पनि हो । कुनै बेला सरकार र राज्यको मात्र स्वामित्व रहने घरजग्गामा अहिले निजी लगानीकर्ताको बाढी नै लागेको छ । यिनै लगानीकर्तामध्ये एक हुन्- चाङ सिन । ३ अर्ब डलर सम्पत्तिकी मालिक चाङ बेइजिङस्थित 'शोहो' नामक घरजग्गा व्यापार र निर्माण कम्पनीकी प्रमुख कार्यकारी अधिकृत हुन् ।चाङको जन्म बेइजिङनजिकैको एक गरीब बस्तीमा भएको थियो । उनका आमाबुबा बर्माबाट फर्किआएका थिए । एक अन्तरवार्तामा उनले आफ्नो बाल्यकाल अत्यन्त पीडादायी भएको बताएकी थिइन् । घरमा सधैँ खाद्यान्नको अभाव भइरहने र बस्तीनजिकै काम गर्ने मजदूरहरूले दिएको खानाबाट परिवारको गुजारा चल्ने गरेको उनी बताउँछिन् ।
सानैदेखि मेहनती चाङ बाल्यकालमा मजदूरी गरेर आफ्नो परिवारलाई सहयोग गर्ने गर्दथिन् । १४ वर्षको उमेरमा उनी हङकङमा पुगिन् र गार्मेण्ट हुँदै केही समयपछि मिठाईपसलमा काम गर्न थालिन् । उनको शिक्षादीक्षा पनि हङकङमै भयो । पढाइ र काम साथसाथै लगेकी उनले विद्यालयमै अङ्ग्रेजी भाषामा दक्षता हासिल गरिन् । किशोरावस्थाको उक्त समयमा उनले दैनिक १२ घण्टा काम गर्नुपथ्र्यो । चाङले २० वर्षको उमेरमै बेलायतको युनिभसिटी अफ ससेक्समा अर्थशास्त्र पढ्न छात्रवृत्ति प्राप्त गरेपछि भने उनको जीवनमा नयाँ अध्याय प्रारम्भ भएको देखिन्छ । अर्थशास्त्रमा स्नातक गरेपछि उनले क्याम्ब्रिज विश्वविद्यालयबाट विकास अर्थशास्त्रमा स्नातकोत्तर गरिन् । बेलायतमा अध्ययन पूरा गरेपछि उनी हङकङस्थित बेरिङ्स बैङकमा काम गर्न थालिन् । त्यसको केही समयपछि चाङलाई न्यूयोर्कको वालस्ट्रीटस्थित गोल्डम्यान शाक्स बैङ्कमा काम गर्न प्रस्ताव आयो जहाँ उनले सन् १९९४ सम्म काम गरिन् ।
सन् १९९० को दशकमा चीनमा भइरहेको तीव्र आर्थिक विकासले उनलाई आकर्षित गर्यो । यसै क्रममा सन् १९९५ मा चीन फर्किएर पान सिहाइ नामक व्यक्तिले सहसञ्चालन गरिरहेको घरजग्गा कम्पनी 'भानाटोन'मा काम गर्न थालिन् । त्यसको केही समयपछि चाङ र पान सिहाइले बिहे गरे र आफै बसेको घरमा 'शोहो चाइना' नामक घरजग्गा कम्पनी स्थापना गरे ।
'शोहो चाइना' अहिले चीनको सबैभन्दा ठूलो रियल इस्टेट कम्पनी बनेको छ । स्थापनापछि उक्त कम्पनीले चीनमा केही ठूला परियोजनाको निर्माण गरेको छ । 'शोहो चाइना'का केही महत्त्वपूर्ण निर्माणहरूमध्ये चीनको ग्रेट वालनजिकै बनाइएको पहिलो बुटिक होटल उल्लेखनीय छ । बेइजिङमा व्यवस्थित आवास शुरू गर्ने श्रेय पनि चाङ र उनका पति पानलाई जान्छ ।सन् १९९० को मध्यसम्म फोहोरी र अव्यवस्थित बेइजिङ हाल विश्वकै व्यवस्थित र सुन्दर शहर भएको छ । बेइजिङको छाओयाङ जिल्लामा सञ्चालन गरिएको 'शोहो चाइना जियानवाई प्रोजेक्ट'मार्फत कुनै समय फोहोर र अव्यवस्थाको पर्याय बनेको स्थानलाई व्यापारिक र आवास क्षेत्र बनाउने श्रेय चाङलाई जान्छ । हाल छाओयाङ जिल्ला चीनका युवा उद्यमीहरूको आकर्षणको केन्द्र बनेको छ ।
त्यसैगरी 'शोहो चाइना'ले केन्द्रीय बेइजिङमा ठूला र भव्य व्यावसायिक भवन निर्माण गरेर उक्त स्थानको रूप नै परिवर्तन गरिदिएको छ । कम्पनीले हालै मात्र केन्द्रीय बेइजिङमा १७ दशमलव ५० लाख वर्ग मिटर जमीनमा विशाल व्यावसायिक भवनहरूको निर्माण सम्पन्न गरेको छ । साथै त्यति नै क्षेत्रफलमा अर्को व्यावसायिक संरचना पनि निर्माण भइरहेको बताइन्छ । 'समृद्धिका लागि शहरी केन्द्रको निर्माण' भन्ने नाराका साथ चलिरहेको 'शोहो चाइना'ले हाल शोहो न्यू टाउन, शोहो शाङ्गडु, चाहोवाई शोहो, बेइजिङ शोहो रेसिडेन्स,क्वेन्मेन एभिन्यु र ग्यालेक्सी शोहोजस्ता आवासीय र व्यावसायिक भवन निर्माण परियोजनाहरू सञ्चालन गरिरहेको छ ।
चाङ र पानको जोडीले रिकेन यानामोतो, प्याट्रिक सुमेकर र आई वेई-वेईजस्ता विश्वविख्यात भवन डिजाइनरहरूसँग काम गरेका छन् । सन् २००८ मा 'शोहो चाइना' हङकङ स्टक एक्सचेञ्जमा सूचीकृत भएको थियो । हङकङ स्टक एक्सचेञ्जमा सूचीकृत भएपछि कम्पनीले १ दशमलव ६४ अर्ब अमेरिकी डलर पूँजी उठाइसकेको छ । सन् २००९ मा प्रसिद्ध पत्रिका 'फोर्चुन'ले चाङ सिनको उक्त कम्पनीलाई चीनका केही उल्लेखनीय कम्पनीहरूको सूचीमा रखेको थियो ।संघर्ष र मेहनतका चार दशकपछि चाङ हाल बेइजिङस्थित एक भव्य अर्पाटमेण्टमा आफ्नो परिवारका साथ बस्छिन् । सन् २००९ मा 'फोर्ब्स' पत्रिकाले चाङ सिनलाई ४ सय जना चिनियाँ धनाढयहरूको सूचीमा १९औं स्थानमा राखेको थियो ।
Admin 2011-08-17