व्यक्तित्व
थ्रिलरप्रेमी व्यापारी

सुनीलकुमार शर्मा
अध्यक्ष,
उद्योग वाणिज्य सङ्घ, नेपालगञ्ज
फुर्सदमा टेलिभिजनमा समाचार हेर्न रुचाउने सुनीलकुमार शर्मालाई जेम्स बण्ड, सुरेन्द्रमोहन पाठकलगायतले लेखेको ‘थ्रिलर’ उपन्यास खुब मन पर्छ । घुमफिरमा खुबै रुचि राख्ने शर्माले जर्मनी बेल्जियम, फ्रान्स, स्वीट्जरल्याण्ड, थाइल्याण्ड लगायतका एक दर्जन देशको भ्रमण गरिसकेका छन् । भगवान् र केही समययता भूतप्रेतमा पनि उनी विश्वास गर्न थालेका छन् । ‘रिटायर्ड लाइफ’मा रुचिका किताब पढ्ने उनको विचार छ । पोशाकप्रति निकै शौखिन शर्मा सधैं ठाँटिएर हिँड्न रुचाउँछन् । बिहान ६ बजे उठेपछि शुरू हुने उनको दिनचर्या प्रायः राति साढे एघार बजेसम्म चल्छ । जमीनदार परिवारका सुनीलकुमार शर्माको जीवनमा एउटा यस्तो मोड आयो, पुख्र्यौली पेशा त्यागेर व्यवसायमा हात हाल्न पुगे । हाल उद्योग वाणिज्य सङ्घ, नेपालगञ्जका अध्यक्ष रहेका उनी जीवनमा आएको नयाँ मोडको श्रेय आफ्नी पत्नीलाई दिन्छन् । ‘व्यापारमा लाग्न उनले दिएको सल्लाहले नै मैले केही फरक काम गर्ने सोच बनाएँ,’ उनी भन्छन्, ‘त्यो बेला उनले मलाई प्रेरित नगरेको भए म आजको ठाउँमा नहुन सक्थेँ ।’ हाल उनको खाद्यात्र व्यापारको फस्टाउँदो व्यवसाय छ ।
२०१६ सालमा नेपालगञ्जमा जन्मिएका शर्माले भारतको लखनउ विश्वविद्यालयबाट २०४१ सालतिर समाजशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन पूरा गरे । आईएसम्म पढेकी पत्नी अंशुले उनलाई पुख्र्यौली जमीनदारी पेशा छाडेर व्यवसायमा लाग्न घचघच्याउन थालिन् । ‘नयाँ जमीनदार बनेर बस्नुभन्दा सानै भए पनि आफै केही काम गर्नु जाति हुन्छ,’ पत्नीको भनाइ उनी सम्झन्छन् । २०४४ सालमा तथ्याङ्क विभागको नायब सुब्बामा जागीर खान शर्मा काठमाडौं पनि आए । तर, उनी जागीरमा धेरै दिन टिकेनन् । ‘जमीनदारी संस्कार’मा हुर्केका उनले अरूको मातहतमा बसेर काम गर्नै सकेनन् । त्यसपछि २०४६ सालमा उनले रू. ३ लाखको लगानीमा खाद्यात्र व्यवसाय शुरू गरे । छोटो समयमै व्यवसायमा सफलता मिलेपछि उनी उद्योगतिर लागे । अर्को वर्ष नेपालगञ्ज–१, खजुरा रोडस्थित धम्बोजीमा उनले आफ्नै भवनमा राइस मिल स्थापना गरे ।
उद्योग वाणिज्य सङ्घको नेतृत्व
उद्योग–व्यवसायका क्षेत्रमा सङ्गठित यात्राको खाँचो शर्माले महसूस गरे । व्यावसायिक हकहितका लागि त्यो जरुरी पनि थियो । २०५३ सालतिर निष्क्रिय अवस्थामा रहेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घलाई ब्यूताउँनतिर लागे उनी । अच्युतप्रसाद प्रसाईंको नेतृत्वमा सो अभियान अघि बढेको शर्मा बताउँछन् । २०६३ सालसम्म उनी उद्योग वाणिज्य सङ्घ, नेपालगञ्जका उद्योग विभागतर्फका उपाध्यक्ष भएर काम गरे । त्यहीबीच उनी ‘सुरक्षा र राजस्व’ उपसमिति संयोजक पनि भए । यस क्षेत्रको एकदशक लामो अनुभव र व्यवसायीहरूसँगको सङ्गतपछि २०६३ सालमा उनी उवासङ्घको अध्यक्षमा चुनाव लडे । जीवनलाई ‘हार–जित’ दुवैको सङ्गम ठात्रे उनले त्यसपटकको पराजयलाई जीतको शुरुआतका रूपमा लिए । २०६६ सालमा भएको निर्वाचनले उनलाई नेतृत्वमा ल्याइछाड्यो ।
व्यवसायीहरूको समस्यालाई आफ्नो मूल समस्या ठानेर काम गर्ने शर्माको बानी छ । ‘कुनै व्यवसायी समस्यामा परे समाधानको खोजीमा लागिहाल्छु,’ उनी भन्छन्, ‘तर, यसका लागि अन्य साथीहरूको पनि रायसुझाव र सहयोग लिन्छु । यसो गर्दा सामूहिक भावनाको विकास हुन्छ ।’ यही कार्यशैलीले होला, उनी व्यावसायिक वृत्तमा ‘जुझारु’ भनेर चिनिन्छन् । व्यवसायीहरूलाई रिझाउने उनको आफ्नै शैली छ । नेतृत्वमा बस्नेले सबैलाई समान व्यवहार गर्नुपर्ने उनको मान्यता छ । ‘अहम्ले मान्छेलाई कुशल व्यवस्थापक वा नेता बत्रबाट वञ्चित गर्छ,’ शर्मा भन्छन् ।
संस्थाको काम–कारबाहीमा चुस्तता ल्याउन महीनाको ४÷५ पटक औपचारिक बैठक बस्ने गरेको उनी बताउँछन् । कार्यसमितिका सदस्यहरू संस्थाका हरेक कार्यक्रमप्रति ‘अपडेट’ हुनुपर्ने उनको मान्यता छ । शर्मा भन्छन्, ‘त्यसो गरेमात्र कहीँ कतै कमीकमजोरी भए त्यसलाई सच्याउने मौका मिल्छ । त्यसले संस्थालाई गति प्रदान गर्छ ।’ नेपालगञ्ज उवासङ्घले व्यावसायिक हितबाहेक सामाजिक विकासमा पनि उल्लेखनीय काम गर्दै आएको उनको भनाइ छ । नेपालगञ्जमा विश्वविद्यालय स्थापनाका लागि पनि उवासङ्घको नेतृत्वमा पहल भइरहेको शर्माले जानकारी दिए ।
उनका अनुसार, हाल नेपालगञ्जमा उच्चस्तरीय सभागृह बनाउने पहलमा सङ्घ लागिपरेको छ । यसका लागि सङ्घले नेपाल सरकारको स्वामित्वको १० बिगाहा जमीन ३० वर्षका लागि ‘लिज’मा लिएको छ । सुर्खेत रोडस्थित सो जमीनमा सभागृह र प्रदर्शनीस्थल निर्माण गर्ने सङ्घको योजना रहेको शर्माले बताए । रू. ४० करोडको अनुमानित लगानीको सो परियोजनाका लागि तत्काल दाताहरू जुटाउन सङ्घले नेपाल उद्योग वाणिज्य महासङ्घसँग पनि अनुरोध गरेको छ । यसका लागि व्यवसायी, सामाजिक सङ्घसंस्था, विदेशी दाता र सरकारसम्म पुग्ने र छलफल गर्ने पहल भइरहेको शर्मा बताउँछन् ।
हरदम सङ्घकै काममा व्यस्त रहने उनी परिवारलाई समय दिन नसकिरहेको स्वीकार्छन् । फुर्सदमा टेलिभिजनमा समाचार हेर्न रुचाउने उनलाई जेम्स बण्ड, सुरेन्द्रमोहन पाठकलगायतले लेखेको ‘थ्रिलर’ उपन्यास खुब मन पर्छ । घुमफिरमा खुबै रुचि राख्ने शर्माले जर्मनी बेल्जियम, फ्रान्स, स्वीट्जरल्याण्ड, थाइल्याण्डलगायतका एक दर्जन देशको भ्रमण गरिसकेका छन् । भगवान् र केही समयदेखि भूतप्रेतमा पनि उनी विश्वास गर्न थालेका छन् । ‘रिटायर्ड लाइफ’मा रुचिका किताब पढ्ने उनको विचार छ । पोशाकप्रति निकै शौखिन शर्मा सधैं ठाँटिएर हिँड्न रुचाउँछन् । बिहान ६ बजे उठेपछि शुरू हुने उनको दिनचर्या प्रायः राति साढे एघार बजेसम्म चल्छ ।