''सिद्धान्तको व्यवहारमा अनुवाद'' - प्रा.डा. मदनकुमार दाहाल
अध्यक्ष, मेगा बैङ्क नेपाल लिमिटेड
झण्डै चार दशकसम्म त्रिभुवन विश्वविद्यालय, केन्द्रीय अर्थशास्त्र विभागमा अध्यापन गरेका उनी आफूले हासिल गरेको सैद्धान्तिक ज्ञानलाई व्यवहारमा अनुवाद गर्न लागिपरेका छन्- ६ महीनाअघि कारोबार थालेको मेगा बैङ्क नेपाल लिमिटेडका अध्यक्ष भएर । प्राध्यापक डा. मदनकुमार दाहाललाई कामभन्दा ठूलो र प्रियवस्तु केही लाग्दैन । त्यसैले उनी ६३ वर्षको उमेरमा पनि सक्रिय व्यावसायिक जीवन बिताइरहेका छन् । झापाको चकचकी गाउँमा शिक्षित मध्यमवर्गीय परिवारमा जन्मेका उनले तेर्हथुम, आठराईबाट प्रारम्भिक शिक्षा हासिल गरेका हुन् । दार्जीलिङ र कोलकाता हुँदै उकालो लागेको उनको माध्यमिक शिक्षाले त्रिचन्द्र क्याम्पसमा अर्थशास्त्रमा बीए (अनर्स) मा नै विराम लिएन । ज्ञानका भोका उनले मुलुकको एक मात्र विश्वविद्यालयबाट स्नातकोत्तर उपाधि लिएपछि पनि अध्ययनको क्रमलाई टुटाएनन् । र बम्बई विश्वविद्यालयबाट अर्थशास्त्रमा नै विद्यावारिधि गरेपछि भने ज्ञानको दियो अविराम बालिरहे- ३८ वर्षसम्म । योजना बनाएर उनी प्राध्यापक भएका होइनन् न त जीवनयात्रामा उनले बैङ्कको अध्यक्ष बन्ने सोच बनाएका थिए । सरस्वतीका उपासक दाहालले मुलुकको अर्थतन्त्र र अर्थव्यवस्थाका बारेमा अनुसन्धानमूलक १४ ओटा पुस्तक प्रकाशन गरेका छन् । उनका सृजना पुस्तकाकारमा रूपमा पाठकसमक्ष पुग्नुलाई उनी उपलब्धि मान्छन् र विद्यार्थीलाई आफ्ना सम्पत्ति भन्छन् । नेपाल राष्ट्र बैङ्कका गभर्नर युवराज खतिवडा उनका विद्यार्थी हुन् ।
हाल केन्द्रीय कार्यालयबाट कारोबार गरिरहेको मेगाले आगामी फागुन २ गतेसम्ममा १२ शाखा विस्तार गर्ने योजनाका साथ काम गरिरहेको छ । काठमाडौं उपत्यकामा चारओटा तथा उपत्यकाबाहिर स्याफ्रुबेँशी, सन्धिखर्क, चौतारा र हरिओनमा शाखा खोलिने दाहाल बताउँछन् । त्यसैगरी विराटनगर, वीरगञ्ज, बुटवल र पोखराका बासिन्दाले पनि मेगासँग बैङ्किङ कारोबार गर्न पाउने छन् । मेगाले रू. २ अर्ब ४० करोड निक्षेप सङ्कलन गरेको छ भने रू. ३ अर्ब ४ करोड कर्जा प्रवाह गरेको छ । १५ हजार निक्षेपकर्ता रहेको मेघा बैङ्कमा हाल ८४ जना कर्मचारी कार्यरत छन् । आगामी ५ वर्षमा ५० शाखा पुर्याउने उनको लक्ष्य छ । र्'वर्क मोर, अर्न मोर एण्ड गेट मोर' उनको व्यवस्थापन मन्त्र हो । र, अधिक प्राप्तिका लागि त्यसै गर्न उनी कर्मचारीलाई प्रेरणा दिन्छन् । अक्षम, अनुशासनहीन, बेइमान र कामचोरसँग काम गर्न उनलाई पटक्कै मन लाग्दैन ।
त्रिभुवन विश्वविद्यालय, केन्द्रीय अर्थशास्त्र विभागका प्रमुख प्राध्यापक डा. रुद्रप्रसाद उपाध्याय प्राध्यापक दाहाललाई आँखामा राखे पनि नबिझाउने व्यक्ति भन्न रुचाउँछन् । प्राध्यापक दाहालको 'थिङ्क बिग, थिङ्क पोजेटिभ' आदर्श उनलाई सार्है राम्रो लाग्छ । अर्काको नकारात्मक कुरा नगर्ने दाहालको गुणबाट उनी प्रभावित भएको बताउँछन् । दाहाललाई उनी दूरदृष्टि भएको नवीन सोचयुक्त असल प्रशासक एवम् व्यवस्थापक भन्न रुचाउँछन् ।
प्राज्ञिक क्षेत्रमा काम गर्नेहरू शैक्षिक उन्नयन तथा गुणस्तरका निम्ति इमानदार हुनुपर्नेमा जोड दिने दाहाल बाध्यतावश अन्यत्र लाग्नुपर्ने अवस्था सृजना भएको बताउँछन् । पर्याप्त पारिश्रमिक एवम् सुविधा भएमा कुनै पनि अध्यापक अन्यत्र आकर्षित नहुने उनको ठम्याइ छ । एकातिर विद्यार्थीलाई 'क्लास'मा पर्खाएर अन्त कतै प्राध्यापन गर्नु उनलाई अमर्यादित लाग्छ । भौतिक पूर्वाधार, परीक्षाप्रणाली, पाठयक्रम, प्राध्यापक वर्गलगायत सबै क्षेत्रमा सुधार नभएसम्म मुलुकको शैक्षिक प्रणालीमा सुधार नआउने उनको बुझाइ छ ।
राष्ट्रियस्तरमा आजसम्म कुनै किसिमको योगदान गर्न नसकेको बताउने प्राध्यापक दाहाल 'व्यस्तता नै सफलताको द्योतक हो' भन्छन् । किसान खेतमा, कर्मचारी अड्डामा, विद्यार्थी अध्ययनमा व्यस्त रहनुलाई उनी सफलताको सोपान मान्छन् । मातापिताको प्रेरणा र जीवनसँगिनी नीराको सहयोगको सम्मिश्रण उनको जीवनको उपलब्धि हो । यद्यपि उनी आफूलाई सफल/असफल मूल्याङ्कन गर्न रुचाउँदैनन् । नेपालको अहिलेको अर्थव्यवस्थालाई 'रेशम मार्ग' मान्ने उनी समाजका हरेक वर्गको सक्रिय सहयोग एवम् सहकार्यबाट आर्थिक रूपमा वैभवशाली बनाउन सकिनेमा विश्वस्त छन्- त्यसको पूर्वशर्त हो एकता र दृढ इच्छाशक्ति ।