'नेपाल-भारत सम्बन्ध परिभाषित गरिनुपर्छ'
असोज ८, काठमाडौं (अस) । एमाओवादी अध्यक्ष पुप्पकमल दाहालले नेपाल र भारतबीचको सम्बन्धलाई नयाँ आधारमा परिभाषित गर्नुपर्ने बताएका छन् । 'नेपाल भारतसँग नयाँ आधारमा सम्बन्धलाई विकास गर्न चाहन्छ,' राजधानीमा आइतबार आयोजित नेपाल भारत मानव विकास एवम् मैत्री सङ्घको कार्यक्रममा दाहालले भने, 'त्यही आधारमा उसले पनि भूमिका निर्वाह गरोस् भन्ने नेपाली जनताको चाहना छ ।' तत्कालीन विद्रोही नेकपा माओवादी र सात राजनीतिक दलका बीचमा १२ बुँदे सहमति गराउन भारतले देखाएको सदाशयता शान्ति प्रक्रियालाई पूर्णता दिन पनि आवश्यक भएको उनको भनाइ थियो । 'हामी हस्तक्षेप होइन, सहयोग चाहन्छौँ,' उनले भने ।
'प्रमुख दलबीच राष्ट्रिय सहमति आवश्यक’
असोज ८, काठमाडौँ (अस) । एमाले अध्यक्ष झलनाथ खनालले प्रमुख दलबीच सहमति नभई शान्ति र संविधानको काम पूरा नहुने बताएका छन् । भारत जाने क्रममा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा कुरा गर्दै अध्यक्ष खनालले शान्ति र संविधानका काम पूरा गर्न प्रमुख दलबीच राष्ट्रिय सहमति जुटाउनुपर्ने भनाइ उनको थियो । भारतको उडिसास्थित कलिन्द विश्वविद्यालयले गुरु दिवसका अवसरमा आयोजना गर्ने विशेष समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुन त्यसतर्फ जानेक्रममा उनले यस्तो धारणा राखेका हुन् । 'ज्यादै महत्वपूर्ण शान्ति र संविधानका कार्यभार पूरा गर्न राष्ट्रिय सहमति चाहिन्छ,' उनले भने ।