जागीरमा बिद्रोहपछि बैङ्कर
सुधीर खत्री
अध्यक्ष तथा प्रमुख कार्यकारी निर्देशक
डीसीबीएल बैङ्क लिमिटेड
२५/२६ वर्षगाडि रू. ६ हजार पारिश्रमिक भएको इञ्जिनीयरको जागीर छाडेर रू. ३ हजार पाउने बैङ्कको जागीर शुरू गर्दा उनले परिवारबाट निकै हप्की खानुपरेको थियो । 'त्यो मेरो विद्रोह थियो,' विगत सम्झँदै उनी भन्छन् । अध्ययन र जागीरको लामो यात्रापछि सफल बन्दै गएका उनी आजकाल भन्ने गर्छन्, 'धैर्य गर्नुपर्छ, सपना देख्नुपर्छ, तर एकैपल्ट ठूलो सफलताको अपेक्षा गर्नुहुँदैन ।'
तत्कालीन समयमा अर्थ मन्त्रालयको उच्च तहमा रहेका बुबा भूमेश्वर खत्रीको निरन्तरको हौसलाबाट आफू डीसीबीएल बैङ्कको प्रमुख कार्यकारी निर्देशक बन्न सकेको सुधीर खत्रीले बताए । काममा विश्वास गर्ने खत्री सफलतामा समेत भाग्यले साथ दिनुपर्ने धारणा राख्छन् । भन्छन्, 'मेरो सफलतामा ७० प्रतिशत कर्म र ३० प्रतिशत भाग्यको हात छ,' आफ्नो काममा रमाउनेले नै सफलताको स्वाद चाख्ने उनको अनुभूति छ । आफ्नो कार्यक्षेत्रको सम्मान गर्नुपर्छ' उनी भन्छन् ।
सन् १९६० मा भैरहवामा जन्मिएका खत्रीले काठमाडौंको भीमसेनस्थानमा बाल्यकाल बिताए । चकचके स्वाभावका उनी आम बालबालिकाझैँ धूलोमाटोमा रमाए, चाडबाडमा उटपटयाङ काम गरे । तीक्ष्ण बुद्धिका धनी उनले उमेर बढाएर १४ वर्षमै एसएलसी पास गरेका थिए । । '१६ वर्षको उमेरमै मैले प्रमाणपत्र तह पास गरेको थिएँ,’ तीक्ष्ण बुद्धिको प्रमाण पेश गर्दै उनले भने ।
नेपालबाट आर्किटेक्चरमा प्रमाणपत्र गरेपछि उनले १ वर्ष पोखरामा राजपत्र अनङिकत प्रथम श्रेणीमा ओभरसियर भएर काम गरे । त्यसपछि इञ्जिनीयरिङ पढ्न रूस गए । रूसको 'राष्ट्रोभ सिभिल इञ्जिनीयरीङ विश्वविद्यालय' मा भर्ना भई उनले सन १९८४ मा स्नातकोत्तर पास गरेका हुन् । सोही समयमा उनले रूसकै एक कम्पनीमा इञ्जिनीयर भएर काम गरे । उनलाई इञ्जिनीयरिङ पेशा मन पथ्र्यो, तर किन यो पेशामा व्रि्रोह गरी बैङिकङ क्षेत्रमा प्रवेश गरे ? भन्छन्, 'सन् १९८७ मा एमबीए पढ्न फिलिपिन्स गएपछि मानसिकता नै परिवर्तन भयो ।' एमबीए पढ्न फिलिपिन्स गएका खत्री फिलिपिन्स नेशनल बैङ्कमा जागीरे भए । उनलाई बैङ्किङ क्षेत्रको नसा त्यतिबेला देखि नै शुरू भयो । पढाइ सकेर फर्किएपछि उनी नेपाल इन्भेष्टमेण्ट बैङ्कबाट नेपालको बैङ्किङ क्षेत्रमा प्रवेश गरे । 'मलाई त्यो बेलाको निर्णयसँग कुनै गुनासो छैन्,' उनी भन्छन् ।
उनले आफ्नो घरबाट अनेक संस्कार सिक्ने मौका पाए । त्यही संस्कारले उनलाई व्यावसायिक काममा सजिलो बनायो । ठूलो परिवारमा बाल्यकाल बिताएका उनलाई 'समाज के हो' भन्ने बुझ्न सजिलो भएको अनुभव छ । उनलाई फाइनान्सको क्षेत्रमा आउन निरन्तर हौसला दिने उनका बुबा हुन् । भन्छन्, 'काम मैले गरेँ, तर बाटो देखाउने काम बुबाबाटै भयो ।' बुबा राष्ट्रिय वाणिज्य बैङ्क तथा नेपाल बैङ्क लिमिटेडमा अध्यक्ष भइसकेकाले उनलाई यो क्षेत्रमा आउन गाह्रो भएन । 'जागीरमात्र कतिन्जेल खानु ?' भन्ने विचारले 'डीसीबीएल विकास बैङ्क' स्थापना गर्न प्रेरित गरेको उनी बताउँछन् । साथीहरूको सहयोग र परिवारको हौसलाका कारण बैङ्कले सफलता पाएको उनको भनाइ छ ।
उनलाई बैङिकङ क्षेत्रमा आउन प्रेरणा दिने घटना नै फिलिपिन्सको बसाइ हो । अधिकांश मान्छेले बङ्कै स्थापना गर्दा झन्झट बेहोरेको गुनासो उनीसँग गर्छन् । तर, यस मामलामा उनी आफूलाई भाग्यशाली ठान्छन् । डीसीबीएल विकास बैङ्कका रूपमा आफ्नै कम्पनी स्थापना गर्दा उनलाई राष्ट्र बैङ्कका तत्कालीन गर्भनर र कर्मचारीले ठूलो सहयोग गरे । भन्छन्,' राष्ट्रबैङ्कमा मेरो राम्रो दोस्ती थियो । सोही कारण पनि मलाई सहयोग भयो ।' बैङ्क स्थापना गर्दा लाइसेन्स प्रक्रियामा पाएको सहयोगका कारण उनी हतोत्साह भएनन् । 'त्यसैले त म अहिले यो ठाउँमा छुँ' उनी भन्छन् । सफलतामा आफ्नै कर्मको बढी भूमिका देख्ने खत्री भन्छन्, 'साथीभाइको सहयोग र परिवारको हौसलाले यहाँसम्म आइपुगेको हुँ ।'
प्रस्तुति: अच्युत पुरी
Admin 2011-09-03