क्यानडामा गुमेको रोजगारीको अवसर
सरकारी ढिलासुस्तीका कारण ४ सय नेपाली कामदार क्यानडा जानबाट वञ्चित भए । वैदेशिक रोजगारी र यसैबाट प्राप्त विप्रेषणले धानेको मुलुकको अर्थतन्त्रलाई दृष्टिगत गर्दा क्यानडाको रोजगारीलाई सुनौलो अवसरका रूपमा लिन सकिन्छ । मासिक करीब १ लाख ९० हजार पाउने मुलुकबाट आएको रोजगारीको अवसरलाई सरकारले विभिन्न निहुँमा स्वीकृति दिन ढिलाइ गरेका कारण नै यो अवसर गुमेको हो । रोजगारदाता कम्पनीले नेपाली कामदार आउन ढिला हुने देखेपछि २ सय भारतीय कामदार लगिसकेको बताइएको छ । झण्डै तीन महीनाअघि क्यानडाबाट कामदार माग भएकोमा सम्बद्ध सरकारी निकायबीचको समन्वयको अभावका कारण नै स्वीकृतिमा ढिलाइ भएको देखिएको छ ।
कामको खोजीमा नेपालीहरू अहिले आसियानका सदस्य राष्ट्र, खाडीमुलुक, दक्षिण कोरियालगायत विभिन्न देशमा जाने गरेका छन् । त्यसबाहेक थोरै सङ्ख्यामा जापान, अमेरिकाजस्ता देशमा पनि गइरहेका छन् । खाडीमुलुक र आसियानका सदस्य राष्ट्रमा गएका नेपालीहरूले अत्यन्त कडा परिश्रम गर्नुपर्ने र पारिश्रमिक पनि न्यून पाउने गरेका छन् । त्यसको तुलनामा क्यानडामा नेपालीहरूले पाउने तलब सुविधा अन्यन्त धेरै छ । सरकारले विगत लामो समयदेखि मुलुकभित्र उल्लेखनीय ढङ्गमा कुनै पनि रोजगारीको अवसर सिर्जना गर्न सकेको छैन । चलिरहेका कतिपय उद्योगधन्दा या त बन्द हुन थालेका छन् या त रुग्ण बनेका छन् । नयाँ उद्योगधन्दा स्थापना हुन सक्ने अवस्था अझै बन्न सकेको छैन । यस्तो स्थितिमा वैदेशिक रोजगारी नै नेपालको आम्दानीको प्रमुख स्रोत बन्दै आएको छ । तर, सरकारको 'पुरानो रोग’का रूपमा परिचित ढिलासुस्तीले क्यानडा मात्र होइन, अन्य मुलुकबाट प्राप्त अवसर पनि गुम्न पुगेको छ । करीब ६ महीनाअघि पोल्याण्डबाट माग भएको ४ सय कामदारको स्वीकृतिमा पनि त्यस्तै ढिलाइ भएको थियो । ढिलासुस्तीमा सम्बद्ध सरकारी निकायको जति आलोचना गरे पनि कम हुन्छ ।
साथै नेपालस्थित म्यानपावर कम्पनीहरू पनि रोजगारी गुम्नुमा धेरथोर जिम्मेवार छन् नै । म्यानपावर कम्पनीहरूबीच मौलाएको अस्वस्थ प्रतिस्पर्धाले कतिपय राम्रा रोजगारीका अवसर गुमेका छन् । एउटा कम्पनीले पाइसकेको कोटामा समेत अन्यले दाबी गर्ने प्रचलनले पनि रोजगारदातामा अविश्वास पैदा हुन पुगेको छ । कम्पनीहरूबीच समन्वय ल्याउन वैदेशिक रोजगारसम्बद्ध विभिन्न सङ्घ-सङ्गठनले सकारात्मक भूमिका निर्वाह गर्नु आवश्यक छ । वैदेशिक रोजगारीका सर्न्दर्भमा मात्र होइन, अधिकांश विषयमा सरकारी कार्यशैली विवादास्पद र आलोचित हुँदै आएको छ । पछिल्लो समयमा कामप्रतिको जिम्मेवारीबोध झनै घट्दै गएको अनुभव गरिएको छ । क्यानडाको अवसर गुम्नुमा मन्त्रालय- मन्त्रालयबीचको समन्वयको अभाव प्रमुख कारण देखिएको छ ।
परराष्ट्र र श्रम तथा यातायात व्यवस्था मन्त्रालयबीच समन्वय गरी आगामी दिनमा यस्ता अवसर गुम्न नदिनेतर्फ ध्यान दिनु अति नै जरुरी छ । दुवै मन्त्रालयले कुनै पनि म्यानपावर कम्पनीले रोजगारीको माग ल्याउनासाथ प्राथमिकताका आधारमा समयबद्ध ढङ्गबाट काम सक्ने परिपाटी बसाल्न सकेमा यस्ता अवसरहरू निश्चिय नै गुम्ने थिएनन् । यसका निम्ति रोजगारदाता देशमा रहेको नेपाली दूतावास तथा श्रम सहचारीलाई थप सक्रिय पार्नु जरुरी छ ।