शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

सहकारीद्वारा अस्पताल सञ्चालन
फागुन ३०, इटहरी (सुनसरी) (अस)। सुनसरीको इटहरीस्थित सामुदायिक स्वास्थ्य सेवा सहकारी संस्थाले सहकारी अस्पताल सञ्चालन गरेको छ । स्थापनाको १० वर्षपछि सो सहकारीले स्तरीय सेवा दिने उद्देश्यले अस्पताल सञ्चालन गरेको बताएको छ । २५ जना व्यक्तिको रू. २५ हजार शेयर पूँजीबाट २०५६ सालमा स्थापना भएको सो सहकारीले शुरूदेखि नै प्राथमिक सेवा केन्द्रस्तरको स्वास्थ्य संस्था सञ्चालन गर्दै आएको थियो । अहिले शेयर सदस्य र पूँजी दुवै थप गरेर १५ शैय्याको आकस्मिक सेवासहितको अस्पताल सञ्चालन गरिएको संस्थाका अध्यक्ष गोपाल गुरुङले अभियानलाई बताए । उनले भने, 'हामीले सञ्चालन गरेको सामुदायिक अस्पतालले सरकारी अस्पतालले भन्दा कम शुल्कमा बिरामीहरूको उपचार गरिरहेको छ ।’

संस्थामा रू. १० हजारको शेयर लिने ५० र रू. १ सयदेखि रू. १ हजारसम्मको शेयर लिने ६ सय सदस्य रहेका छन् । संस्थाको कूल शेयर पूँजी अहिले रू. ५० लाख ७ हजार पुगेको छ । सो अस्पतालले नियमित चिकित्सा सेवाअन्तर्गत सार्वजनिक बिदाबाहेकका दिनमा बिहान १० देखि २ बजेसम्म दुई चिकित्सकबाट बिरामीको परीक्षण गर्ने गरेको छ । बिदाको दिनबाहेकका दिनमा बिरामी परीक्षणबापत रू. ६० र बिदाको दिनमा रू. ८० प्रतिव्यक्ति लिने गरिएको अस्पतालले जानकारी दिएको छ । अस्पतालले सरकारी अस्पतालको भन्दा सस्तोमा एक्स-रे तथा प्रयोगशालालगायत सुविधा पनि उपलब्ध गराउँदै आएको जानकारी पनि दिएको छ । संस्थाले शेयर सदस्यलाई भने सो शुल्कमा पनि १० देखि ५० प्रतिशतसम्म छूट दिने गरेको अध्यक्ष गुरुङले बताए ।

अस्पतालले नियमित रूपमा दन्त चिकित्सकको सेवा उपलब्ध गराउनुका साथै हाडजोर्नी तथा नशा रोग, नाक-कान-घाँटी रोग, छाला तथा यौन रोग, स्त्रीरोग तथा बाल रोग विशेषज्ञको समेत सेवा दिँदै आएको छ । अस्पतालमा अहिले मासिक करीब ४ हजार बिरामी उपचारका लागि आउने गरेको अस्पतालले बताएको छ । अस्पतालले एम्बुलेन्स सेवासमेत सञ्चालन गरेको छ ।

अस्पतालले ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क दन्त उपचार सेवा प्रदान गर्दै आएको छ भने गर्भवती महिलालाई निःशुल्क स्वास्थ्य परीक्षण, निःशुल्क प्रसुती तथा प्रसुतीपछिको स्वास्थ्य परीक्षण सेवासमेत  दिँदै आएको छ । अस्पतालले गत पुसदेखि सुत्केरी हुने महिलालाई यातायात खर्चको रूपमा रू. ५ सय र प्रसुतीपूर्वकम्तीमा चारपटक गर्भ जाँच गराएका महिलालाई थप रू. ४ सय प्रोत्साहन भत्ता पनि दिँदै आएको अस्पतालले बताएको छ । अस्पतालले ५ वर्षमुनिका बालबालिकालाई सबै खोप निःशुल्क दिँदै आएको छ भने क्षयरोगीहरूको निःशुल्क उपचार गर्दै आएको छ । अस्पतालमा विशेषज्ञ सेवाबाहेक नियमित सेवामा ४७ जना कार्यरत छन्  ।

धनगढीमा मुक्तकमैया नमूना सहकारी
फागुन ३०, धनगढी (अस)। टीकापुरको विजयनगरमा बसोबास गर्दै आएका मुक्तकमैयाहरूले विजयनगर नमूना सहकारी संस्था स्थापना गरेका छन् । उनीहरूले सहकारीका माध्यमबाट विभिन्न कार्य गर्नुका साथै अहिलेसम्म रू. १२ लाखभन्दा बढी सामूहिक रकम जम्मा गरेको अध्यक्ष विषराम चौधरीले बताएका छन् । ४ वर्षअघिदेखि सञ्चालित सो सहकारीका ४ सय ७१ सदस्य छन् । अध्यक्ष चौधरीले भने, 'सहकारी शुरू गरेपछि मुक्तकमैयाहरूले साहुमहाजनका घर चहार्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।’

सहकारीले विजयनगर बस्तीमा मुक्तकमैयाहरूका लागि उपभोक्ता सहकारी पसलसमेत सञ्चालन गरेको छ । सहकारी पसल सञ्चालन गरेपछि सो स्थानमा बस्दै आएका मुक्तकमैयाको जीवनमा निकै परिवर्तन आएको पनि उनले बताए । पसलबाट मुक्तकमैयाहरूले सस्तो मूल्यमा दैनिक उपभोग्य सामग्री पाउँदै आएका छन् । सहकारी उपभोक्ता पसलले मल र औषधि पनि थोकमा खरीद गरेर मुक्तकमैयाहरूलाई सस्तोमा विक्री गरी सेवा प्रदान गरिरहेको सहकारीकी पूर्वअध्यक्ष झरना चौधरीले अभियानलाई बताइन् ।

यस्तै विजयनगरका मुक्तकमैयाहरूले सञ्चालन गरेको सामूहिक तरकारी खेतीका लागि सहकारी कोष वृद्धिबाट चार ओटा बोरिङ गाडिएका छन् । उनीहरूले सामूहिक तरकारी खेतीका लागि टीकापुर क्याम्पसको पाँच विगाहा जग्गा ठेक्कामा लिई वार्षिक लाखौ रुपैयाँ आम्दानी गरिरहेका छन् । मुक्तकमैयाहरूले बेचेको तरकारीबाट  मासिक रू. ५ सहकारीमा जम्मा गर्ने गरेको मुक्तकमैयाहरू बताउँछन् ।

बस्तीमा उनीहरूले स्थापना गरेको सहकारीकै माध्यमबाट व्यवस्थित होटेल, तालीम हल र बालबालिकाका लागि एउटा विद्यालयसमेत सञ्चालन गरेका छन् । सहकारी खेतीका लागि उनीहरूले एउटा ट्रयाक्टरसमेत किनेका छन् ।

कैलालीमा सहकारी संस्था दर्ता हुने क्रम बढ्दो
फागुन ३०, धनगढी (अस)। कैलाली जिल्लामा सहकारी संस्था दर्ता हुने क्रम बढ्दै गएको छ । हालसम्म जिल्लामा ३ सय ७५ सहकारी संस्था दर्ता भएको सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय, धनगढीले बताएको छ । जिल्लामा दर्ता भएका सहकारी संस्थाहरूमा बहुउद्देश्यीय, बचत तथा ऋण, एकल, कृषि उपज तथा बेचबिखन, ग्रामीण विद्युतलगायत रहेका छन् । दर्ता भएका सहकारीमध्ये सबैभन्दा बढी ग्रामीण विद्युत् सहकारी संस्था भएको सो कार्यालयका प्रमुख कृष्ण भट्टले बताए ।

थोरै पूँजी परिचालन गर्न सकिने भएकाले केही समययता जिल्लामा सहकारी संस्था दर्ता हुने क्रम बढेको हो । कार्यालयका अनुसार जिल्लामा सञ्चालित सहकारी संस्थामध्ये धनगढीको नवजीवन सहकारी संस्था र लम्कीस्थित साना किसान सहकारी संस्था नमूना सहकारीका रूपमा रहेका छन्  । ती दुई संस्थाले करोडौं रुपैयाँ नाफा गर्न सफल भएको बताइएको छ ।

जिल्लामा दर्ता भएका मध्ये ३५ ओटा भने निष्क्रिय रहेका छन् । सहकारी ऐनअनुसार सञ्चालन नभएका २२ ओटा सहकारी संस्थाको दर्ता खारेज गरिएको पनि सो कार्यालयका नायब सुब्बा करुणाकर जोशीले अभियानलाई बताए । उनका अनुसार ४ ओटा अन्य सहकारी संस्था पनि खारेजीको प्रक्रियामा छन् ।

सहकारीका माध्यमबाट जिल्लाका निम्न वर्गीय परिवारको जीवनस्तरमा सुधार आएको सहकारी कार्यालयको भनाइ छ । जिल्लाका ग्रामीण भेगका कृषकहरूले आफूले उत्पादन गरेका कृषिजन्य वस्तु सहकारीका माध्यमबाट बजारमा विक्री वितरण गर्दै आएका छन् । त्यसबाट आएको मुनाफाको केही अंश उनीहरूले सहकारीमा जम्मा गर्दै आएका छन् । सहकारी संस्थामार्फतत ग्रामीण क्षेत्रका किसानले रासायनिक मल, उन्नत बीउविजन सजिलै पाउन थालेका छन् । जिल्लामा दर्ता भएर केही समय सञ्चालनमा आएका केही सहकारी संस्था भने सवसाधारणको लाखौं बचत लिएर फरार भएको सहकारी डिभिजन कार्यालयले बताएको छ । त्यस्ता सहकारीलाई कालो सूचीमा राखिएको पनि कार्यालयले स्पष्ट पारेको छ ।

साइनिङ स्टारद्वारा सुपथ मूल्यका घर निर्माण
फागुन ३०, काठमाडौं । चालू आर्थिक वर्षको माघ महीनासम्म साइनिङ स्टार सेभिङ तथा क्रेडिट कोअपरेटिभ लिको कुल पूँजी तथा दायित्व करीब रू. २० करोड पुगेको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा करीब रू. ३ करोडले बढी हो । चालू आवको माघ अन्तिमसम्म संस्थाको चुक्ता पूँजी रू. १ करोड २० लाख रहेको छ । अघिल्लो आवको सोही अवधिमा संस्थाको चुक्ता पूँजी करीब रू. ९० लाख रहेको थियो ।
 
साइनिङ स्टार कोअपरेटिभ २०५९ सालमा २५ जना सदस्यको साढे १२ हजार रुपैयाँबाट काठमाडौं कालिमाटीमा स्थापना भएको हो । हाल संस्थाको शेयर सदस्य करीब २ हजार र साधारण सदस्य करीब ६ हजार रहेको संस्थाका कार्यकारी अध्यक्ष राजेशकुमार खड्गीले अभियानलाई बताए ।

संस्थाले नियमित बचत, स्थिर बचत, साइनिङ स्टार सुपर सेभिङलगायत विभिन्न बचत कार्यक्रम सञ्चालन गर्दै आएको छ । चालू आवको माघसम्म संस्थाको बचत रकम रू. ३ करोड रहेको थियो । यी बचतमा संस्थाले वार्षिक १२ देखि १९ प्रतिशतसम्म ब्याज दिँदै आएको छ ।

व्यावसायिक कर्जा, हायर पर्चेज कर्जा र साइनिङ स्टार आवास कर्जा गरी संस्थाले तीन किसिमका कर्जा पनि दिँदै आएको छ । चालू आवको माघ अन्तिमसम्ममा यी क्षेत्रमा संस्थाको लगानी रू. १७ करोड पुगेको छ । यी कर्जामा संस्थाले वार्षिक शून्य देखि २१ प्रतिशत ब्याज लिने गरेको छ । यसैगरी संस्थाले राष्ट्रिय सहकारी बैङ्क, काठमाडौं जिल्ला सहकारी सङ्घलगायत सङ्घसंस्थामा करीब रू. १ लाख ५० हजारबराबरको शेयर लगानी गरेको छ ।

संस्थाले आर्थिक स्थिति कमजोर भएका आफ्ना सदस्यका छोराछोरीहरूलाई छात्रवृत्तिसमेत प्रदान गर्दै आएको छ । २०६४ सालदेखि शुरू गरिएको यस कार्यक्रमअन्तर्गत संस्थाले सरकारी विद्यालयमा अध्ययनरत २५ विद्यार्थीलाई छात्रबृत्ति प्रदान गर्दै आएको छ । यसैगरी संस्थाले तोकेको निजी विद्यालयमा अध्ययनरत आफ्ना सदस्यका छोराछोरीलाई पनि शैक्षिक शुल्कमा ५० प्रतिशत छूट दिँदै आएको छ ।     

तीन वर्ष देखि संस्थाले आफ्ना सदस्यको घरपरिवारमा रहेका ७० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकलाई वार्षिक नगद रू. १ हजारसहित सम्मान गर्दै आएको छ । चालू आवमा १ सय ज्येष्ठ नागरिकलाई सम्मान गरिएको संस्थाले बताएको छ । संस्थाले वार्षिक साधारणसभामा शिक्षा, स्वास्थ्य, खेलकूद र सहकारी क्षेत्रका साथै असहाय र अशक्तहरूमध्ये उत्कृष्ट योगदान पुर्याउने व्यक्तिहरूलाई पनि नगद तथा प्रमाणपत्रले सम्मान गर्दै आएको छ । यसैगरी संस्थाले साइनिङ आवास सुविधाअन्तर्गत सुपथ मूल्यमा घर निर्माण गरी सस्तो ब्याजदरमा सदस्यहरूलाई वितरण गर्दै आएको छ ।

राजेशकुमार खड्गी कार्यकारी अध्यक्ष रहेको संस्थामा सचिव रमेश पाठक र कोषाध्यक्ष शर्मिला खड्गी रहेका छन् । सदस्यहरू अनु मानन्धर र मधुकृष्ण नापित छन् । संस्थाको लेखा संयोजक पञ्चमान महर्जन रहेका छन् ।

राजेशकुमार खड्गी
अध्यक्ष
साइनिङ स्टार सेभिङ तथा
क्रेडिट कोअपरेटिभ काठमाडौं लि.
अन्य साकोसको तुलनामा साइनिङ स्टार कुन अर्थमा उत्कृष्ट छ ?
साइनिङ स्टार कोअपरेटिभ वित्तीय क्षेत्रमा लामो अनुभव भएका व्यक्तिहरूको समूहद्वारा सञ्चालित संस्था हो । संस्थाका प्रत्येक निर्णयतथा कार्यक्रममा सदस्यहरूको सक्रिय सहभागिता रहदै आएको छ । यसैको परिणामस्वरूप स्थापनाको ७/८ वर्ष संस्थाको सदस्य सङ्ख्या करीब २ हजार पुगेको छ । समग्रमा, साइनिङ स्टार सदस्यहरूको आर्थिक र सामाजिक विकासलाई नै प्रमुख उद्देश्य बनाएर अघि बढेको संस्था हो ।

संस्थाका दीर्घकालीन योजना बताइदिनुस् न ?
संस्थाले सदस्यहरूका लागि सुपथ मूल्यमा घर निर्माण गरी विक्री गर्दै आएको छ । यो कार्यक्रमले दीर्घकालमा पनि निरन्तरता पाउने छ । चालू आवमै साइनिङ स्टारले सुपथ मूल्यको पसल सञ्चालन गर्न लागेको छ । साथै २०६८ सालभित्र संस्थाले काठमाडौं कालिमाटीमा साइनिङ स्टार वृद्धाश्रम स्थापना गर्ने, सुपथ मूल्य विद्युतीय सामग्री बिक्री केन्द्र सञ्चालन गर्नेलगायत योजना बनाएको छ ।

आगामी पाँच वर्षमा साइनिङ स्टार कुन स्तरमा हुने छ ?
आगामी पाँच वर्षमा संस्थाले साइनिङ स्टार फाइनान्स हुँदै विकास बैङ्कमा परिणत हुने लक्ष्य लिएको छ । आजको तुलनामा पाँच वर्षपछि संस्थाको कारोबार रकम, सदस्य सङ्ख्या, चुक्ता पूँजी सबै कम्तीमा पनि तीन गुणाले वृद्धि हुनेछ ।

सहकारीमा आबद्ध विपन्नका छोराछोरीलाई छात्रवृत्ति
फागुन ३०, घोराही (दाङ) (अस)। महिला विकास कार्यालयद्वारा प्रवर्द्धित महिला बचत तथा ऋण सहकारी संस्थाका अतिविपन्न सदस्यका छोरीहरूलाई छात्रबृत्ति दिइने भएको छ । त्यसका लागि यूएनएफपीएले महिला विकास कार्यालय, दाङलाई रू. २ लाख निकासा दिइसकेको महिला विकास अधिकृत प्रभा श्रेष्ठ वलीले बताइन् । घोराही नगरपालिकाका तीन, तुलसीपुर नगरपालिकाको एक र विभिन्न गाविसमा सञ्चालित ३२ गरी जिल्लाका ३६ महिला बचत तथा ऋण सहकारी संस्थामा आबद्ध विपन्न सदस्यहरूमध्येबाट छनोट गरी छात्रवृत्ति वितरण गरिने छ । त्यस्तो छात्रवृत्ति सहकारी संस्थाहरूले आफै वितरण गर्ने र त्यसका लागि पहिले सञ्चालनमा आएका २० सहकारी संस्थालाई प्रतिसंस्था रू. ६ हजारका दरले रू. १ लाख २० हजार र अन्य महिला सहकारी संस्थालाई प्रतिसंस्था रू. ५ हजारका दरले रू. ८० हजार उपलब्ध गराइने पनि सो कार्यालयले जानकारी दिएको छ । छात्रवृत्तिका लागि छानिने छात्राहरूले जनही रू. १ हजार पाउनेछन् । छात्रवृत्ति रकम सम्बन्धित विद्यालयको शिक्षकको रोहबरमा हस्तान्तरण गर्नुपर्ने पनि बताइएको छ ।

महिला विकास कार्यालयबाट प्रवर्द्धित महिला सहकारीहरू आर्थिक कारोबारमा मात्र सीमित नरही सामाजिक क्षेत्रमा पनि सक्रिय छन् भन्ने अनुभूति दिलाउन कार्यक्रम ल्याइएको महिला विकास अधिकृत वलीको भनाइ छ । कार्यालयले हरेक गाविसमा छात्रवृत्ति कोष सञ्चालन गर्ने योजना पनि अघि बढाएको उनले बताइन् । सोअनुसार महिला तथा बालबालिकासम्बन्धी विकेन्द्रित कार्यक्रम (डकाउ) लागू भएका दाङका १२ गाविसमा ४० हजारको छात्रबृत्ति कोष खडा गरेर महिला सहकारी संस्थामा आबद्ध विपन्न सदस्यका छोरीहरूलाई छात्रबृत्ति दिइनेछ । डकाउ कार्यक्रम लागू भएका गाविसमा सम्बन्धित गाविसको रू. २० हजार र महिला विकास कार्यालयको रू. २० हजार गरी ४० हजारको कोष स्थापना गरी छात्रबृत्ति दिइने अधिकृत श्रेष्ठले जानकारी दिइन् । डकाउ कार्यक्रम लागू नभएका अन्य सबै गाविसमा पनि क्रमशः कोष स्थापना गर्ने योजनाअनुसार पहिलो चरणमा गत वर्ष दुई गाविसमा कोष खडा गरिएको र यस वर्ष दुई गाविसमा खडा गरिने उनले बताइन् ।

दुग्ध सहकारीले सेवा विस्तार गर्दै
फागुन ३०, पुतलीबजार  (स्याङ्जा) (अस)। स्याङ्जाको तुलसीभञ्ज्याङ गाविस-२ मा रहेको कैलाश दुग्ध सहकारी सस्थाले सेवा विस्तार गर्ने भएको छ । संस्थाले अब बचत तथा ऋण, नगदेवाली, पशुपालन, तरकारी खेती, महिला उद्यमशीलता, शीपमूलक कार्यक्रमलगायत क्षेत्रमा सेवा विस्तार गर्ने संस्थाका अध्यक्ष भूपराज अधिकारीले बताए । उनले भने, 'यसबाट किसानको जीवनस्तर माथि उठाउन सहयोग पुग्ने हाम्रो विश्वास छ ।’  २०४२ सालमा स्थापना भएको संस्थाले यसअघि दूध सङ्कलन र विक्री मात्र गर्दै आएको थियो । संस्थामा ७८ शेयर सदस्य छन् । संस्थाका तुलसीभञ्ज्याङ-२ र जगत्रदेवी-८ गल्याङमा गरी दुई ओटा दूध सङ्कलन केन्द्र रहेका छन् । ती सङ्कलन केन्द्रहरूबाट दैनिक ३ सय लिटर दूध सङ्कलन हुने गरेको अध्यक्ष अधिकारीले बताए ।   

भैंसी पाल्ने कार्य कम हुँदै गएकाले गाउँमा दूध सङ्कलन गर्न समस्या भएको संस्थाले बताएको छ । अध्यक्ष अधिकारीले दूध उत्पादन बढाउनका लागि सहकारीले अब भैंसीपालन व्यवसायलाई  प्रोत्साहन दिने पनि बताए ।  यसैबीच स्याङ्जाकै सिर्सेकोट  गाविसका महिलाको सक्रियतामा सिर्सेकोट महिला बचत तथा ऋण सहकारी संस्था सञ्चालन भएको छ । पिछडिएका ग्रामीण महिलाको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले संस्था सञ्चालन गरिएको संस्थाका अध्यक्ष टिकमाया गुरुङले अभियानलाई बताइन् ।  सहकारीको कुल शेयर सदस्य ९२ जना छन् भने शेयर पूँजी रू. ९२ हजार ५ सय रहेको छ ।  

संस्थाको हालै महिला तथा बालबालिका कार्यालय, स्याङ्जाका प्रमुख मीरा शेरचनले उद्घाटन गरिन् । सो अवसरका उनले महिलाको क्षमता अभिवृद्धिका लागि आर्थिक विकास आवश्यक रहेको बताइन् । उनले भनिन्, 'महिलालाई  आर्थिक रूपमा अघि बढाउन सरकारले महिला सशक्तीकरणका  कार्यक्रमलाई ग्रामीण क्षेत्रमा लागू गर्नुपर्छ ।’ कार्यक्रममा सिर्सेकोट गाविस सचिव विष्णु पोख्रेल, समाजसेवी मानध्वज गुरुङ, पूर्वगाविस अध्यक्ष डिकेश गुरुङलगायतले गाउँमा छरिएर रहेको पूँजी सङ्कलन गरी गाउँको विकास गर्न महिलाले चालेको कदम महत्त्वपूर्ण भएको बताए ।

Admin 2011-03-15