शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

दुग्ध सहकारीले खोल्यो चिज कारखाना
असोज ३०, पाँचथर (अस)। पाँचथरको  उत्तरी दुर्गम गाउँ विकास समिति प्राङ्वुङमा दुग्ध सहकारी संस्था आफैले चिज कारखाना स्थापना गरेको छ । सुर्केथाम दुग्घ उत्पादन सहकारी संस्था लिमिटेडद्वारा स्थापित उक्त कारखानाबाट अहिले  धमाधम चौंरीको चिज उत्पादन भइरहेको छ । सिदिन, मेमेङ र प्राङ्वुङ गाविसका जनतालाई पायक पर्ने गरी चिज कारखाना स्थापना गरिएको छ । ६१ जना शेयर सदस्य रहेको सहकारीमार्फत कारखाना निर्माणका लागि दीपज्योति युवा समूहले रू. ५ लाख ५१ हजारबराबरको आर्थिक सहयोग गरेको थियो भने गाउँ विकास समितिले रू. ५१ हजार सहयोग गरेको थियो ।

कारखानाको स्थापना तथा समन्वय गर्ने काम दीपज्योति युवा क्लबले गरेको हो । क्लबले चरनका गोठहरूलाई एकबद्ध गर्दै चिज कारखाना स्थापनाका लागि आर्थिक र प्राविधिक सहयोग गरेको क्लबका निर्देशक सुनील वान्तबाले बताए ।

सहकारीले दूध सङ्कलन र चिज निर्माणका लागि ६ जना कर्मचारी राखेको छ । सहकारीले चौंरीको दूधबाट चिजका साथै छुर्पी, घ्यू, स्यारग्याम पनि उत्पादन गर्दै आएको संस्थाका अध्यक्ष देवी नेपालले बताए । चौंरीको दूध प्रतिलिटर २५ देखि ३० रुपैयाँमा किन्ने गरिएको  छ । सहकारीले मासिक २ हजार १ सय लिटर चौंरीको दूध सङ्कलन गर्ने गरेको छ । सङ्कलित दूधबाट मासिक १ हजार ५ सय ३६ केजी चिज, २ सय २५ केजी छुर्पी, ५ सय ७८ केजी घ्यू, १ सय ५० केजी स्यारग्याम उत्पादन  हुँदै आएको  छ । उत्पादित चिज प्रतिकेजी रू. ४ सय, छुर्पी रू. ३ सय ५०, घ्यू रू. ३ सय र स्यारग्याम रू. २ सय  मूल्यमा बेच्ने गरेको नेपालले जानकारी दिए ।

यहाँ उत्पादित वस्तुहरू काठमाडौँका साथै भारतको दार्जिलिङ, सिक्किम पनि निकासी हुने गरेको छ । सहकारीले चौंरी किन्न स्थानीय किसानलाई रू. ३ लाख ऋण लगानी गरेको नेपालले बताए  ।

दक्षिणकाली सहकारीको घरदैलो सेवा
असोज ३०, इटहरी (अस)। सुनसरीको इटहरीस्थित दक्षिणकाली बचत तथा ऋण सहकारी संस्थाले 'घरदैलौ सेवा' शुरू गरेको छ । आफ्ना शेयर सदस्यहरूको बचत सङ्कलन तथा ऋण असुली गर्न सजिलोका लागि घरदैलो सेवा सञ्चालन गरेको संस्थाका व्यवस्थापक रामबाबु नेपालले जानकारी दिए ।

'ऋण लिएर व्यापार व्यवसाय गर्ने सदस्यलाई ब्याज तथा किस्ता बुझाउन संस्थासम्म पुग्ने झन्झट नहोस् भनेर संस्थाद्वारा घर दैलोमै सेवा दिन शुरू गरेका हौं,' नेपालले भने । संस्थाले व्यावसायिक कर्जाअन्तर्गत रू. २५ हजारदेखि रू. १ लाखसम्म विनाधितो र सोभन्दा धेरै कर्जाका लागि धितो राखेर उपलब्ध गराउँदै आएको छ । गत आर्थिक वर्षमा मात्र संस्थाले रू.१ करोड ३० लाख उत्पादनमूलक क्षेत्रमा कर्जा प्रवाह गरेको संस्थाका अध्यक्ष गोपाल नेपालले बताए । चौथो वार्षिक साधारणसभामा प्रगति प्रतिवेदन पेश गर्दै संस्थाका अध्यक्ष नेपालले सो जानकारी दिएका हुन् । 'संस्थाले थोरै पूँजी परिचालन गरी व्यवसाय गर्ने शेयर सदस्यलाई सरल तरीकाले कर्जा उपलब्ध गराई आय आर्जनमा सहयोग पुर्‍याउँदै आएको छ,' नेपालले भने । ४ वर्षअघि २५ जना सदस्यको रू. २ हजार ५ सय शेयर पूँजीमा दक्षिणकाली बचत तथा ऋण सहकारी संस्था स्थापना भएको हो । गत असार मसान्तसम्म संस्थाको सदस्य सङ्ख्या १ सय ७६ जना र शेयर पूँजी रू. २४ लाख २१ हजार पुगेको छ । वार्षिक बचत सङ्कलन रू. १ करोड रहेको उक्त संस्थाको गत असार मसान्तसम्मको लगानी रू. १ करोड ९ लाख रहेको छ । सोही अवधिमा संस्थाले रू. १९ लाख ८३ हजार आम्दानी गरेको अध्यक्ष नेपालले बताए ।
    
हंस सहकारीको निक्षेप वृद्धि लक्ष्य
असोज ३०, चितवन (अस) । आर्थिक वर्ष२०६७/६८ मा हंस बहुउद्देश्यीय सहकारी संस्थाले रू. २ करोड ८५ लाख ५० हजार निक्षेप सङ्कलन गरेको छ । अघिल्लो आवको सोही अवधिमा रू. २ करोड ८४ लाख ८ हजार निक्षेप सङ्कलन गरेको संस्थाका अध्यक्ष दिनेशकुमार चुकेले जानकारी दिए । चालू आवमा संस्थाले निक्षेप वृद्धि गरी रू. १० करोड पुर्‍याउने लक्ष्य लिएको छ । संस्थाको आठौं वार्षिक साधारणसभामा अध्यक्ष चुकेले सो जानकारी दिएका हुन् ।

कार्यक्रममा संस्थाले शेयर सदस्यबाट मासिक न्यूनतम रू. २ सयदेखि धेरै बचत गर्दै जाने, हंस मनोरञ्जन केन्द्र स्थापनाका लागि रू. ५० लाखसम्म लगानी गर्ने, स्थानीयवासीसँग सहकार्य गरी कृषि, बाख्रापालनलगायत क्षेत्रमा लगानी गर्नेलगायत निर्णय गरेको छ । हाल संस्थाले पूर्वी चितवनको शान्ति चोकमा माछापालन, रत्ननगर नगरपालिका-८ पसौनीमा हंस कोलोनी तथा भरतपुर नगरपालिका-१२ को भीआईपी कोलोनीमा लगानी गर्दै आएको छ ।  कार्यक्रममा अध्यक्ष चुकेले चितवनको आर्थिक तथा सामाजिक विकासमा सहकारीको योगदान महत्त्वपूर्ण रहेको बताए ।

Admin 2011-10-18