शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

सहकारीमार्फत १२ हजार महिला आयआर्जनमा
राजन गाउँले
असोज २, सिन्धुली । महिला तथा बालबालिका कार्यालय सिन्धुलीको सहयोगमा जिल्लाका ३८ गाविसका विपन्न महिला सहकारी संस्था गठन गरी आयआर्जनमा लागेका छन् । उनीहरूलाई यो अवसर एशियाली विकास बैङ्कको आर्थिक सहयोगमा लैङ्गिक समनता र महिला सशक्तीकरण आयोजनालेजुटाइदिएको हो ।

कार्यालयका अनुसार अहिलेसम्म ३८ गाविसमा १ हजार ८ सय १० ओटा महिला समूह गठन भइसकेको छ । उनीहरूले ती समूहअन्तर्गत २१ ओटा महिला सहकारी संस्था गठन गरी बचत गरिरहेका छन् । समूहका महिलाले आफ्नो आयको क्षमताअनुसार मासिक बचत गर्ने गरेको कार्यालयले बताएको छ ।

सहकारीमा आबद्ध महिलाले १ सय ४८ ओटा भिन्नाभिन्नै समिति गठन गरेर कार्यसम्पादन गरिरहेका छन् । ती सहकारीमा १२ हजार ५ सय १८ महिला आबद्ध छन् । रू. ९० लाख ३७ हजार बचत सङ्कलन गरिसकेका महिलालाई कार्यालयले बीउ पूँजीका रूपमा रू. १२ लाख ३० हजार सहयोग गरेको उक्तकार्यालयकी प्रमुख चन्द्रकला श्रेष्ठले जानकारी दिइन् ।

उक्त आयोजनाअन्तर्गत ककुरठाकुर, रानिचुरी, बेलघारी, रत्नावती, नेत्रकाली, हरिहरपुरगढीलगायत ३८ गाविसका महिलाले नियमित बचत तथा ऋण प्रवाहका माध्यमबाट आयमूलक तथा भौतिक पूर्वाधारका कार्यक्रम सञ्चालन गरेको उनले बताइन् । यहाँका महिलाले मौसमी तथा बेमौसमी तरकारी, साना लघु उद्यमका साथै बाख्रा तथा बङ्गुर पालनलगायत व्यवसायबाट आम्दानी गर्न थालेका छन् । 'उनीहरूले मासिक रू. ५ हजारदेखि रू. १० हजारसम्म आम्दानी गर्न थालेका छन्,' श्रेष्ठले भनिन्, 'उनीहरू पुरुषसरह भौतिक पूर्वाधार विकासमा समेत जुटेका छन् ।'

कार्यालयको आव २०६७/०६८ को प्रगति प्रतिवेदन जिविसले आयोजना गरेको समीक्षा कार्यक्रममा प्रस्तुत गर्दै श्रेष्ठले भनिन्, 'उनीहरूलाई दिगो संस्था व्यवस्थापन र आत्मनिर्भरताका लागि थप सहयोगको खाँचो छ ।' कार्यालयले गत आवमा आयोजना सञ्चालनका लागि पूँजीगततर्फ रू. १ करोड २७ लाख ४० हजार र चालू खर्चतर्फ रू. १ करोड ८ लाख ४० हजार, प्रशासनिकतर्फ रू. ५४ लाख ८ हजार, महिला सशक्तीकरणतर्फ रू. ५४ लाख ३१ हजार गरेको श्रेष्ठले जानकारी दिइन् । सहकारीमा आबद्ध महिला लैङ्गिक तथा महिला सशक्तीकरण, एचआईभी एड्स तथा यौन शिक्षामा समेत सचेत बन्दै गएको उनले बताइन् ।

दुग्ध सहकारीमा दश हजार सदस्य
अभियान संवाददाता
असोज २, काभ्रेपलाञ्चोक । काभ्रे जिल्लामा दुग्ध उत्पादक सहकारी संस्थामा मात्र १० हजारभन्दा धेरै सदस्य आबद्ध छन् । दूध उत्पादनबाट राम्रो आम्दानी हुन लागेपछि जिल्लामा व्यावसायिक दुग्ध उत्पादनमा लाग्ने कृषकको सङ्ख्या बढेको हो ।

विगत केही वर्षयता काभ्रेमा दुग्ध उत्पादक सहकारी संस्थाको सङ्ख्या अत्यधिक बढेको डिभिजन सहकारी कार्यालय काभ्रेका निरीक्षक शङ्करप्रसाद दुलालले अभियानलाई बताए । उत्पादित दूध गाउँमै विक्री हुने भएपछि यो पेशामा कृषकको आकर्षण बढेको उनको भनाइ थियो । हाल काभ्रेमा २ सय ६६ दुग्ध उत्पादक सहकारी सञ्चालित छन् ।

चार नगरपालिका र ८७ गाविस रहेको काभ्रेमा करीब १ हजार १ सय सहकारी संस्था छन् । तीमध्ये सबैभन्दा धेरै बचत तथा ऋण सहकारी संस्था छन् । त्यसैगरी बहुउद्देश्यीय सहकारी संस्था १ सय ५४, दुग्ध उत्पादक सहकारी संस्था २ सय ६६, कृषि सहकारी संस्था ९९, लघु जलविद्युत् सहकारी संस्था १३, कफी उत्पादक सहकारी संस्था ७, पशुबीमा सहकारी ११, तरकारी उत्पादक सहकारी संस्था १८, शीपमूलक सहकारी संस्था १० र बाँकी अन्य सहकारी संस्था रहेको कार्यालयले जानकारी दिएको छ ।

विगत केही वर्षयता काभ्रेका शहरी भेगमा सहकारी संस्थाको स्थापना हुने क्रम अत्यधिक बढेको छ । बनेपा, धुलिखेल, पनौती र पाँचखाल नगरपालिकामा मात्र करीब ५ सय सहकारी संस्था सञ्चालित छन् । काभ्रेको कुशादेवी गाविसमा मात्र ३७ ओटा सहकारी संस्था रहेका छन् । तर, फलाँटे गाविसमा अहिलेसम्म पनि कुनै सहकारी संस्था स्थापना नभएको कार्यालयले बताएको छ ।

Admin 2011-09-20