शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

सहकारीबाट वार्षिक रू. १ खर्ब परिचालन
फागुन २, काठमाडौं (अस)। नेपालमा सहकारीको माध्यमबाट वार्षिक रू. १ खर्बको कारोबार हुने सहकारी विभागको अनुमान छ । गत वर्ष सहकारी संस्थाहरूबाट वार्षिक रू. ७० अर्बको कारोबार भएको विभागका रजिष्ट्रार सुदर्शनप्रसाद ढकालले बताए । सहकारीका माध्यमबाट चालू वर्षमा  भएको कारोबारको तथ्याङ्क सङ्कलनको कार्य भने भइरहेको छ । 'सङ्कलन भएका तथ्याङ्कका आधारमा सहकारीको कारोबार रकम वार्षिक रू. १ खर्ब नाघेको अनुमान छ,' ढकालले भने ।  हाल मुलुकमा सहकारीको सङ्ख्या पनि बढेर करीब २१ हजार पुगेको छ । विभागका अनुसार नेपालको वित्तीय क्षेत्रमा सहकारीको योगदान करीब १२ प्रतिशत रहेको छ ।

रजिष्ट्रार ढकालले गत वर्ष सहकारी संस्थाको कुल शेयर पूँजी रू. ९ अर्ब ३६ करोड रहेको बताए । सो अवधिमा सहकारी सङ्घसंस्थाहरूको बचत रू. ५८ अर्ब र लगानी रू. ६१ अर्ब ५४ करोड रहेको विभागले जानकारी दिएको छ । देशभरमा ५० हजारभन्दा बढीले सहकारी क्षेत्रमा रोजगारी पाएका छन् ।

नेपालमा गत चैतसम्ममा ८ हजार ८ सय ८८ बचत तथा ऋण, ३ हजार ४ सय ६५ बहुउद्देश्यीय, १ हजार ६ सय ८७ दुग्ध, २  हजार ९ सय ६४ कृषि,  १ हजार २ सय ५ उपभोक्ता, २ सय २२ विद्युत्, १ सय ८३ फलफूल तथा तरकारी र अन्य ७ सय ७५ ओटा सहकारी संस्था दर्ता भएका छन् । त्यस्तै ८२ विज्ञान तथा प्रविधि (यातायात,  सञ्चार), ६६ कफी, ५० स्वास्थ्य, ७५ चिया, ३८ जडीबुटी र ४१ मौरीपालन सहकारी संस्था सञ्चालनमा रहेको विभागले जानकारी दिएको छ । विभागका अनुसार सोही अवधिमा विभिन्न नाममा ११ ओटा केन्द्रीय सहकारी सङ्घ पनि दर्ता भएका छन् । चालू आवको ५ महीनामा मात्र देशभर करीब २ हजार सहकारी संस्था दर्ता भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।  

सहकारीको सङ्ख्या बढे पनि गुणस्तरमा भने सुधार नभएको ढकालले बताए । '३ वर्षको अवधिमा सहकारीको सङ्ख्या उल्लेख्य बढेको छ, अब गुणस्तरमा सुधार गर्ने हाम्रो सोच छ', उनले भने । सहकारीले धेरैलाई समेट्न सक्ने भएकाले यसको भविष्य राम्रो रहेको ढकालको भनाइ थियो ।

नेपालको अन्तरिम संविधान, २०६३ ले अर्थतन्त्रका तीन स्तम्भमध्ये सहकारीलाई एउटा महत्त्वपूर्ण स्तम्भको रूपमा स्वीकार गरिसकेको छ ।

शाक्य पुचःको पूँजी दश वर्षमा रू. ११ करोड
फागुन २, काठमाडौं (अस)। १० वर्षको अवधिमा शाक्य पुचः बचत तथा ऋण सहकारी संस्थाको कुल सम्पत्ति करीब रू. ११ करोड पुगेको छ । विसं २०६७ पुससम्म संस्थाको निक्षेप करीब रू. ८ करोड ६७ लाख र लगानी रू. ७ करोड ८८ लाख रहेको छ । सोही समयावधिमा संस्थाको चुक्ता पूँजी रू. १ करोड ४९ लाख पुगेको छ । चालू आवमा सदस्यलाई ७ प्रतिशतका दरले नगद लाभांश वितरण गरिने संस्थाले जानकारी दिएको छ ।

शाक्य पुचः बचत तथा ऋण सहकारी संस्था विसं २०५७ मा कनिबहाल, ललितपुरमा स्थापना भएको हो । २५ जना सदस्यको रू. ७५ हजारबाट शुरू भएको सो संस्थामा हाल सदस्य सङ्ख्या बढेर ६ सय ७० पुगेको छ । त्यसमध्ये २ सय ७७ महिला छन् । २०५२ सालमा स्थापना भएको 'शाक्य पुचः' नामक सामुदायिक संस्था पछि सहकारीमा परिणत भएको संस्थाका अध्यक्ष धर्मराज शाक्यले अभियानलाई बताए ।

संस्थाले आवधिक, विशेष, शैक्षिक, मैत्री, शाक्य पेन्सन, नियमित, कर्मचारी हित र अक्षयकोष बचत गरी आठ किसिमका बचत कार्यक्रम सञ्चालन गरेको छ । यी कार्यक्रममा संस्थाले वार्षिक ८ देखि १६ प्रतिशतसम्म ब्याज दिँदै आएको छ । यसैगरी संस्थाले व्यावसायिक कर्जा, हायर पर्चेज कर्जा, विविध कर्जा, घरजग्गा विकास कर्जा, सदस्य सुविधा कर्जा र शाक्य सजिलो कर्जा गरी ६ किसिमका कर्जा प्रदान गर्दै आएको छ । यी कर्जा कार्यक्रममा संस्थाले वार्षिक  १२ देखि १८ प्रतिशतसम्म ब्याज लिने गरेको छ । संस्थाले आफ्ना कार्यक्रम प्रभावकारी बनाउन सञ्चालक समितिको नेतृत्वमा सात उपसमिति गठन गरी काम गर्दै आएको छ ।  

दश वर्षको अवधिमा संस्थाले केन्द्रीय बचत तथा ऋण सहकारी सङ्घ लि. (नेफ्स्कुन), राष्ट्रिय सहकारी बैङ्क, ललितपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घ, उग्रचण्डी बचत तथा ऋण सहकारी संस्था, लायकु बचत तथा ऋण सहकारी सङ्घ, ललितपुर जिल्ला सहकारी सङ्घ, अन्तर लगानी संरक्षण कोषलगायत सङ्घसंस्थामा गरी रू. १५ लाख ३५ हजार शेयर लगानी गरेको छ ।

विगत ४ वर्षदेखि संस्थाले आफ्ना अपाङ्ग सदस्यहरूलाई मासिक रू. १ सय ५० र ७५ वर्षमाथिका सदस्यहरूलाई मासिक रू. १ सयका दरले भत्ता प्रदान गर्दै आएको छ । संस्थाले प्रत्येक वर्ष सदस्यका छोराछोरीहरूमध्ये प्रवेशिका परीक्षामा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुने एक जना छात्र र एक जना छात्रालाई दुइ वर्षसम्म मासिक रू. ३ सयका दरले छात्रबृत्ति प्रदान गर्दै आएको छ । संस्थाले स्थापना कालदेखि निरन्तर संस्थागत सामाजिक उत्तरदायित्वका क्षेत्रमा काम गर्दै आएको अध्यक्ष शाक्यले बताएका छन् ।

धर्मराज शाक्य अध्यक्ष रहेको यस संस्थामा महेन्द्र शाक्य उपाध्यक्ष, रोविन शाक्य सचिव र विनयराज शाक्य कोषाध्यक्ष रहेका छन् भने सदस्यहरूमा त्रिरत्न शाक्य, जगतरत्न शाक्य र उमा बज्राचार्य छन् ।

धर्मराज शाक्य
अध्यक्ष
शाक्य पुचः बचत तथा ऋण सहकारी संस्था, ललितपुर

सहकारीमार्फत संस्था सञ्चालन गर्ने सोच कसरी आयो ?

हाम्रो संस्थामा अधिकांश सदस्य स्थानीय आदिबासी (नेवार जाति) छन् । हाम्रो समुदायले सामाजिक मूल्य-मान्यतालाई बढी महत्त्व दिन्छ । त्यसैले २०५२ सालमा शाक्य पुचः नामक समूह स्थापना गरी सामाजिक र सांस्कृतिक क्षेत्रमा काम गर्दै आएका थियौँ  । संस्थालाई आर्थिक रूपमा पनि बलियो बनाउन २०५७ सालमा सहकारीमा परिणत गरेका हौं ।

संस्थाका दीर्घकालीन योजना बताइदिनुस् न ।

संस्थाको मुख्य उद्देश्य सदस्यको सामाजिक र आर्थिक स्थिति बलियो बनाउनु हो । हाम्रा सबै योजना त्यसमै केन्द्रित छन् । संस्थाले आगामी दिनमा वृद्धाश्रम सञ्चालन गर्ने योजना बनाएको छ । वृद्धाश्रमका लागि संस्थाले ललितपुरको गोदावरीमा रू. ७० लाखमा दुइ रोपनी जग्गा किनेको छ । यसैगरी संस्थाले पर्यटन प्रवर्द्धन, घरेलु उद्योग, हस्तकलालगायत क्षेत्रमा लगानी तथा कर्जा प्रवाह गर्ने योजना बनाएको छ ।

१० वर्षको अवधिमा संस्थाले गर्न नसकेका कामहरू के-के हुन् ?
१० वर्षको समयावधिमा संस्थाले अझै धेरै काम गर्न सक्नुपर्थ्यो । तर, संस्थाको गति सीमित देखिएको छ । अन्य ठूला सहकारी संस्थाको तुलनामा हाम्रा सदस्यहरूलाई धेरै सुविधा पनि प्रदान गर्न सकेका छैनौं । समयसापेक्ष रूपमा सदस्य सङ्ख्या पनि बढाउन सकेका छैनौं ।

साना किसान सहकारी सङ्घमा भण्डारी
फागुन २, धादिङ (अस) । साना किसान कृषि सहकारी सङ्घ, धादिङको अध्यक्षमा शिवबहादुर भण्डारी चयन भएका छन् । सङ्घको दशौं वार्षिक साधारणसभा तथा अधिवेशनले उनलाई सर्वसम्मतिबाट अध्यक्षमा चयन गरेको हो । सङ्घमा धादिङ, नुवाकोट र काभ्रे जिल्लाका कृषिसँग सम्बन्धित ३८ सहकारी संस्था आबद्ध छन् । साधारणसभाले गत आर्थिक वर्ष०६६/६७ को रू. १४ लाख २३ हजार ६ सय ९८ को आयव्यय विवरण र चालू आवको रू. ३७ लाख ८० हजारको प्रस्तावित बजेट पनि पारित गर्‍यो । सङ्घले आगामी वर्षसहकारी संस्थाका सदस्यहरूलाई जीविकोपार्जन कृषि प्रणालीबाट व्यावसायिक कृषि प्रणालीमा रूपान्तरण गर्न व्यावसायिक पशुपालन, मासुजन्य पदार्थ उत्पादन, प्राङ्गारिक तरकारी खेती र घरेलु उद्योग सञ्चालनमा सहयोग गर्ने कार्यक्रम बनाएको सङ्घका प्रबन्धक खिलप्रसाद सिलवालले बताए । सो साधारणसभा साना किसान विकास बैङ्कका केन्द्रीय अध्यक्ष खेमबहादुर पाठकको अध्यक्षतामा भएको थियो ।

आजदेखि क्षेत्रीय अन्तरक्रिया गोष्ठी
फागुन २, मोरङ (अस)। राष्ट्रिय सहकारी सङ्घले फागुन ३ र ४ गते मोरङ्को लेटाङमा  क्षेत्रीय अन्तरक्रिया गोष्ठी गर्ने भएको छ । सङ्घले तयार गर्न लागेको 'सहकारी विकास रणनीति पत्र'का लागि सुझाव सङ्कलन गर्ने उद्देश्यले गोष्ठी गर्न लागेको सङ्घका अध्यक्ष केशव बडालले बताए ।  गोष्ठीमा एकल तथा बहुउद्देश्यीय बचत तथा ऋण, चिया र अलैंची सहकारी संस्थाका केन्द्रीय सङ्घहरूले कार्यपत्र प्रस्तुत गर्नेछन् । गोष्ठीमा एकल बचत तथा ऋण सहकारी संस्थाका तर्फबाट केन्द्रीय बचत तथा ऋण सहकारी संस्था लि. (नेफ्स्कुन) का अध्यक्ष मीनराज कँडेल र  केन्द्रीय चिया उत्पादक सहकारी सङ्घका तर्फबाट सङ्घका अध्यक्ष गोविन्द दाहालले कार्यपत्र प्रस्तुत गर्नेछन् । यसैगरी बहुउद्देश्यीय बचत तथा ऋण र अलैंची सहकारी संस्थाका तर्फबाट कृषि सहकारी केन्द्रीय सङ्घका अध्यक्ष खेमबहादुर पाठकले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रमका संयोजक बाबुल खनालले अभियानलाई बताए ।

कार्यक्रममा राष्ट्रिय सहकारी सङ्घमा आबद्ध पूर्वाञ्चल विकास क्षेत्रका २४ विषयगत सङ्घ, ५० प्रारम्भिक बचत तथा ऋण सहकारी संस्था, २० प्रारम्भिक चिया उत्पादक सहकारी संस्था र १० साना किसान सहकारी संस्था गरी करीब १ सय ४ भन्दा बढी सङ्घसंस्था सहभागी हुने बताइएको छ । कार्यक्रममा सहकारी विभागका रजिष्ट्रार सुदर्शनप्रसाद ढकाल, सङ्घका अध्यक्ष केशव बडाल, सहकारी विकास बोर्डका सदस्य सचिव नेत्रप्रसाद न्यौपानेलगायत व्यक्तिहरू  सहभागी हुनेछन् । सङ्घले यस्ता कार्यक्रम मध्यमाञ्चलमा फागुन ६ र ७ गते, पश्चिमाञ्चलमा ८ र ९ गते, सुदरपश्चिमाञ्चलमा ११ र १२ गते र मध्यपश्चिमाञ्चलमा  १४ र १५ गते  गर्ने कार्यक्रम रहेको छ ।  

सहकारीद्वारा विद्यालयमै बचत सुविधा
फागुन २,  दोलखा (अस)। दोलखा काब्रे गाविसस्थित जनसचेतन बचत तथा ऋण सहकारी संस्थाले जिल्लाका चार विद्यालयमा बचत कार्यक्रम शुरू गरेको छ । विद्यार्थीहरूलाई बचत गर्ने बानी बसाल्न विद्यालयमा नै सञ्चालक चयन गरी कार्यक्रम शुरू गरेको संस्थाका सचिव हेमन्त चौलागाइंले अभियानलाई बताए ।  'जनसचेतन अध्ययन केन्द्र' नाम दिइएको सो कार्यक्रम हाल हनुमन्तेश्वर उच्च मावि काब्रे, कालीढुङ्गा मावि मिर्गे, वैत्यश्वर उच्च मावि नाम्दु र कालिका मावि मार्बूमा सञ्चालन गरिएको छ । आगामी दिनमा जिल्लाका अन्य विद्यालयमा पनि कार्यक्रम सञ्चालन गरिने सचिव चौलागाइंले बताए ।  विद्यार्थीहरूको अनावश्यक खर्चलाई कम गरी वचत गर्न प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ छ । हाल प्रत्येक विद्यालयमा एक जना विद्यार्थीले  मासिक २५ रुपैयाँ बचत गर्ने गरेका छन् । विद्यार्थीहरूलाई लेखा व्यवस्थापन र सञ्चालन सम्बन्धमा विद्यालयले सहयोग गर्ने बताइएको छ ।

सहकारी पेट्रोलपम्पको नाफा रू.२५ लाख
फागुन २, दाङ  (घोराही)(अस) । दाङमा हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाद्वारा सञ्चालित पेट्रोलपम्पले २ वर्षको अवधिमा रू. २५ लाखभन्दा बढी खुद नाफा गरेको छ । पेट्रोलपम्प सञ्चालन गरेपछि सहकारीले राम्रो व्यापार गरिरहेको सहकारी पेट्रोलपम्पका संयोजक दुर्गाप्रसाद भण्डारीले अभियानलाई बताए । करीब रू. ७० लाखको लागतमा संस्थाले तुलसीपुर नगरपालिका-३ गणेशपुरमा २ वर्षअघिदेखि 'सहकारी पेट्रोलपम्प' सञ्चालन गर्दै आएको छ । नेपाल आयल निगमको अधिकृत विक्रेता रहेको सो पेट्रोलपम्पले हाल औसतमा मासिक ४५ हजार लिटर डिजल र ३ हजार ५ सय लिटर पेट्रोल विक्री गर्दै आएको बताइएको छ ।

सामूहिक व्यवसायबाट फाइदा हुने देखेर सहकारी पेट्रोलपम्प सञ्चालन गरेको संस्थाका अध्यक्ष हरि रिजालले बताए । 'सहकारीको अर्थ नै सबैको सहकार्य भएकाले सामूहिक काम शुरू गरेका हौँ  , अहिले व्यवसायबाट राम्रो आम्दानी भएको छ,' रिजालले भने, 'सहकारीद्वारा सञ्चालन भएकै कारण ग्राहकमा हामीप्रतिको विश्वास बढेको छ ।'  

विसं. २०६४ मा स्थापना भएको सो सहकारीले स्थापनाको करीब १ वर्षपछि पेट्रोलपम्प व्यवसाय शुरू गरेको हो । २ महीनाअघिदेखि संस्थाले तुलसीपुर नगरपालिकामा 'सहकारी रेडियो' प्रसारण पनि शुरू गरेको छ । यसैगरी संस्थाले अन्य व्यवसाय पनि सञ्चालन गर्ने योजना बनाएको अध्यक्ष रिजालले बताए । संस्थाले निकट भविष्यमा व्यावसायिक जडीबुटी खेती र पशुपालन कार्यक्रम पनि सञ्चालन गर्ने उनले जानकारी दिए ।

Admin 2011-02-15