सहकारी क्षेत्रमा बढ्दो महिला नेतृत्व
सीता पोखरेल
जेठ २ काठमाडौं । सहकारी क्षेत्रमा महिलाद्वारा मात्रै सञ्चालित सहकारी संस्थाहरूको संख्या २ हजार ५ सय ४४ पुगेको छ । यीमध्ये ९५ प्रतिशत सहकारी सक्रिय रहेको सहकारी विभागले जानकारी दिएको छ । सहकारी क्षेत्रमा साङ्गठनिक रूपमा ४ लाख महिला सदस्य पुगेको विभागको तथ्याङ्कमा उल्लेख छ ।
सहकारी विभागका रजिष्ट्रार सुदर्शनप्रसाद ढकालले सहकारीबाट महिलाको आर्थिक स्थिति सबल हुँदै गएको र नेतृत्व क्षमता र चेतनामा समेत विकास भएको बताए । उनले भने, 'महिलाले सञ्चालन गरेका सहकारीमा सु-शासन, इमान्दाररिता, पारदर्शिताका साथै ऐन र सिद्धान्तको परिपालना भएको छ ।' २०६७ फागुन मसान्तसम्म महिलाद्वारा मात्र सञ्चालित सहकारी संस्थाहरूको कुल शेयर पूँजी रू. ७६ करोड ३० लाख ९६ हजार पुगेको छ । यी संस्थाहरूको निक्षेप सङ्कलन ४ अर्ब ८० करोड ८५ लाख ९८ हजार रहेको ढकालले बताए । यस अवधिमा यी संस्थाले ६ अर्ब ८८ करोड १८ लाख ६९ हजार कर्जा लगानी गरेको विभागको तथ्याङ्कले देखाउँछ ।
संस्थाको सञ्चालक समितिमा ५० प्रतिशत महिला सहभागिता भएका सहकारी संस्थाहरू सहकारीका सिद्धान्तअनुसार अत्यन्तै सफल देखिएका राष्ट्रिय सहकारी सङ्घकी प्रबन्धक चित्राकुमारी सुब्बाले बताइन् ।
प्रारम्भिक सहकारी संस्थाहरूको नेतृत्व गर्ने महिलाको सङ्ख्या बढिरहेको भए पनि जिल्ला, केन्द्र र राष्ट्रियस्तरका सङ्घहरूमा शून्य दशमलव शून्य ९ प्रतिशत महिला मात्रै पुग्न सफल भएको राष्ट्रिय सहकारी बैङ्ककी सञ्चालक सरिता भट्टराईले अभियानलाई बताइन् । तथापि नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङघलगायत केन्द्रीयस्तरका सङ्घहरूले आफ्नो कार्य-समितिमा ३३ प्रतिशत महिला नेतृत्व हुनुपर्ने नीति तय गरेकाले यो सङ्ख्या बढ्दै जाने उनको भनाइ छ ।
महिलाहरू कृषि, उपभोक्ता, तरकारी तथा फलफूल, दुग्ध, बचत तथा ऋण, स्वास्थ्य, माछा, मौरी, चिया तथा कफीलगायत सहकारी संस्था खोल्नमा उत्प्रेरित भएको तथ्याङ्कले देखाएको छ ।
सहकारीमा एक व्यक्ति एक पद
जेठ २ काठमाडौं (अस)। सहकारीका केन्द्रीय, विषयगत तथा जिल्ला सङ्घहरूको अध्यक्ष र सञ्चालक समितिमा अब एक व्यक्ति एक पदको अवधारणा लागू हुने भएको छ । सहकारी विभागले वैशाख १ गतेदेखि लागू गरेको 'सहकारी सङ्घसंस्था नियमनसम्बन्धी मापदण्ड २०६८ ले यस्तो व्यवस्था गरेको हो । मापदण्डअनुसार सहकारी सङ्घसंस्थामा एक व्यक्ति एक मात्र पदाधिकारी हुन पाउनेछन् । एक सङ्घको पदाधिकारी हुँदाहुँदै अन्य प्रकृतिको सङ्घको अध्यक्षमा निर्वाचित हुने हो भने अघिल्लो सङ्घको अध्यक्ष पद स्वतः निष्क्रिय हुने मापदण्डमा उल्लेख छ ।
आठ-दशओटा सहकारी मिली सङ्घ दर्ता गर्ने र आलोपालो गरी वर्षौसम्म चलाइराख्ने प्रवृत्तिले अन्य प्रारम्भिक सहकारी संस्थाहरूले सदस्यता पाउन नसकेको सहकारी विभागका रजिष्ट्रार सुदर्शनप्रसाद ढकालले बताए । विभिन्न सहकारी सङ्घसंस्थामा एउटै व्यक्तिले धेरैतिर हालिमुहाली जमाएर बसेको उल्लेख गर्दै उनले भने, 'अब सहकारी मापदण्डअनुसार नचल्ने त्यस्ता व्यक्तिहरूलाई विभागले कारबाही गर्नेछ ।'
एउटै व्यक्ति विभिन्न प्रकृतिका सङ्घमा पदाधिकारी बनेका उदाहरण सहकारी क्षेत्रमा प्रशस्तै छन् । त्यस्तो प्रावधान हटाउन विभागले तत्काल कदम चाल्नुपर्ने अरनिको बहुउद्देश्यीय सहकारी संस्थाका सचिव तुलसीराम सापकोटाले बताए । हाल राष्ट्रिय सहकारी सङ्घसहित ११ केन्द्रीय सङ्घ तथा विषयगत र जिल्ला सङ्घहरू गरी २ सय ३ सङ्घ सहकारी विभागमा दर्ता भएका छन् । तीमध्ये १ सय ९३ ओटा सङ्घ मात्र सक्रिय रहेको विभागले जानकारी दिएको छ ।
केही व्यक्ति प्रारम्भिक सहकारी संस्थादेखि केन्द्रीय र विषयगत सङ्घसम्म पदकै लागि मात्र क्रियाशील रहेको सङ्घका महाप्रबन्धक रामभजन साहले बताए । यो मापदण्डले त्यस्ता व्यक्तिलाई निरुत्साहित बनाउने उनको भनाइ छ ।