साना किसान सहकारी जाति संरक्षणमा
यज्ञ बञ्जाडे
साउन २, काठमाडौं । नेपाल कृषि सहकारी केन्द्रीय सङ्घ लोपोन्मुख जातिको संरक्षणमा जुटेको छ । सरकारले लोपोन्मुख जातिमा सूचीकृत गरेकामध्ये वनकरिया, राउटे, मुसहर, दनुवारलगायत जातिलाई सहकारी संस्थामा आबद्ध गराएर सङ्घले आयआर्जनमा सहयोग गर्न थालेको हो । उनीहरूमा बचत गर्ने बानी विकास गर्ने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गरिएको सङ्घका अध्यक्ष खेमबहादुर पाठकले अभियानलाई बताए । जिल्ला सङ्घ र प्रारम्भिक संस्थामार्फत सम्बन्धित क्षेत्रका लोपोन्मुख जातिको संरक्षण गर्न त्यस्ता कार्यक्रम सञ्चालन गरिएको पाठकको भनाइ छ । 'लोपोन्मुख जातिको बस्तीमै पुगेर सहकारी संस्थामा आबद्ध गराई आयआर्जनमा लगाएका छौं,' पाठकले भने । संस्थामा आबद्ध भएपछि उनीहरूको आयआर्जनका साथै चेतनाको स्तर पनि बढेको उनले जानकारी दिए ।
दुई महीनाअघि सङ्घले मकवानपुरको हाँडीखोलाका १० घरपरिवार वनकरिया जातिलाई 'हाडीखोला साना किसान कृषि सहकारी संस्था'मा आबद्ध गराएको हो । ती घरपरिवारका ३८ महिला र २७ पुरुष गरी ६५ जना सदस्य संस्थामा आबद्ध भएका छन् । त्यहाँका बाँकी दुई वनकरिया परिवारलाई आबद्ध गर्न नसकिएको सङ्घले जानकारी दिएको छ । संस्थामा आबद्ध सदस्यले सहकारीकै सहयोगमा आयआर्जनका काम पनि गर्दै आएका छन् । हाल प्रत्येक सदस्यले मासिक रू. ५० का दरले बचत गर्दै आएको सङ्घका कार्यकारी निर्देशक रुद्र भट्टराईले जानकारी दिए । जङ्गलमा घुमफिर गर्न रुचाउनु, कन्दमूल र शिकारले भोक मेटाउनु, परम्परागत रहनसहनमा विश्वास राख्नुलगायत विशेषता वनकरिया जातिमा पाइन्छ ।
सङ्घले घनुषाको रघुनाथपुर गाविस-७ मा रहेका मुसहर जातिलाई पनि सहकारीमा आबद्ध गरेको छ । 'साना किसान कृषि सहकारी संस्था, रघुनाथपुर' नाम दिइएको उक्त संस्थामा १ सय ६० सदस्य आबद्ध छन् । संस्थामा आबद्ध घरपरिवारले सहकारीको सहयोगमा कुखुरा, बङ्गुर तथा बाख्रापालन व्यवसाय गर्दै आएका छन् । सहकारीमा आबद्ध भएपछि आयआर्जनलगायतमा फाइदा भएको उनीहरूको भनाइ छ । सहकारी सहयोगमा सञ्चालित व्यवसायबाटै कतिपय सदस्यले जग्गा र भवनसमेत खरीद गरेको सङ्घले जानकारी दिएको छ । हाल प्रत्येक (सदस्य) मुसहरको व्यक्तिगत खातामा रू. १६ हजार र समूहगत खातामा रू. ६५ हजार बचत रहेको सङ्घले बताएको छ । सङ्घले सोही गाविसका ५० घरपरिवार दनुवारलाई पनि संस्थामा आबद्ध गराएको छ । सङ्घका अनुसार १२ ओटा कृषक समूहमार्फत दनुवार परिवार संस्थामा आबद्ध भएका हुन् ।
एक महीनाअघि डँडेलधुराको सिस गाविसस्थित 'सिस साना किसान कृषि सहकारी संस्था'मा स्थानीय ३४ घरपरिवारका महिला र पुरुष गरी ६८ जना राउटे आबद्ध भएका छन् । 'करीब १ वर्षदेखि यो समुदायलाई सहकारीमा आबद्ध गराउने उद्देश्यले विभिन्न प्रशिक्षण शुरू गरेका थियौं, अहिले आएर सफल भयौं,' अध्यक्ष पाठकले भने । ढिलै भए पनि राउटे समुदायलाई संस्थामा आबद्ध गराउन पाएकोमा खुशी लागेको उनले बताए ।
भन्सार छूट कार्यान्वयनमा आशङ्का
साउन २, काठमाडौं (अस) । आव २०६८/०६९ को बजेटले कृषि औजार आयातमा सहकारी सङ्घसंस्थालाई भन्सार छूटको व्यवस्था गरेको छ । तर, सरोकारवालाले यसको कार्यान्वयनमा शङ्का व्यक्त गरेका छन् । आव २०६६/६७ को बजेटमा पनि सहकारीले खरीद गर्ने मेशिनरी उपकरणमा भन्सार नलाग्ने घोषणा गरिएको थियो । तर, कार्यान्वयन हुन सकेको थिएन । 'सरकारले निर्णयगरिसकेको छूटको व्यवस्था कार्यान्वयनमा आउन नसक्दा यसपालिको छूट कार्यान्वयनमा पनि द्विविधा उत्पन्न भएको छ,' जिल्ला सहकारी सङ्घ काठमाडौंका अध्यक्ष केबी उप्रेतीले भने । यद्यपि सहकारीलाई प्राथमिकतामा राखेर घोषणा गरिएको भन्सार छूट सकारात्मक भएको उनको भनाइ छ । उत्पादन तथा वितरणमा केन्द्रित सहकारीलाई सरकारले सहयोग गर्दा कृषिको व्यवसायीकरणमा सहयोग पुग्ने उप्रेतीले बताए ।
सहकारी ऐन २०४८ मा पनि सहकारी संस्थाले खरीद गर्ने उपकरणमा भन्सार छूटको व्यवस्था गरिएको छ । सोहीअनुसार सरकारले गत २०६६/०६७ मा छूटको व्यवस्था गरेको थियो । तर, निजीक्षेत्रको चर्को विरोधपछि कार्यान्वयन हुन सकेको थिएन । चालू आर्थिक वर्ष२०६८/०६९ मा सरकारले निजीक्षेत्रबाट खुलेका सहकारीलाई भन्सार छूट र अनुदान सुविधा उपलब्ध गराउन निर्देशिका तयार गरी लागू गर्ने नीति लिएको छ ।
यान्त्रीकरणमार्फत कृषि उत्पादन बढाउने लक्ष्यअनुरूप कृषि औजार खरीदमा सरकारले भन्सार छूटको व्यवस्था गरेको हो । सहकारी खेती प्रणालीमार्फत खेती गर्ने साना किसान सहकारी संस्थाका समूहलाई ट्रयाक्टर, पावर टिलर, थ्रेसर, धान कुट्ने मिललगायत उपकरणको आयातमा औचित्यका आधारमा भन्सार छूट दिने घोषणा गरिएको छ । त्यस्तै दुग्ध पदार्थ चिस्यान केन्द्र, खाद्य, फलफूल एवम् तरकारी प्रशोधन मेशिन आयातमा पनि भन्सार छूटको व्यवस्था गरिएको छ । प्रत्येक गाविसमा उत्पादित सामानको सुपथ मूल्यमा विक्री गर्ने बहुउद्देश्यीय सहकारीले सामान ढुवानी गर्न चाहेमा औचित्य हेरी ढुवानी साधन आयात गर्न भन्सार सुविधा दिइने सरकारको नीति छ । काठमाडौं उपत्यका र शहरी क्षेत्रमा स्थापना भएको यातायात सहकारीले सञ्चालन गर्ने सवारीसाधन खरीदमा पनि भन्सार छूट दिइने बजेटमा उल्लेख छ । सहकारीलाई भन्सार छूट दिने सरकारी निर्णय स्वागतयोग्य भएको राष्ट्रिय सहकारी सङ्घका अध्यक्ष केशव बडालले बताए ।
बाग्लुङका तीन सहकारी आफ्नै भवनमा
साउन २, बाग्लुङ (अस) । बाग्लुङ बजारमा सञ्चालित तीन सहकारी संस्थाले आफ्नै भवन निर्माण गरेका छन् । सदरमुकाममा सञ्चालित बाग्लुङ बहुउद्देश्यीय सहकारी, एकता सहकारी र शङ्खधर बहुमुखी सहकारी संस्थाले चालू आर्थिक वर्षदेखि आफ्नै सुविधासम्पन्न भवनबाट सेवा शुरू गरेका छन् । सदस्यहरूको दैनिक बचत सङ्कलन तथा कर्जा प्रवाहबाट मुनाफा प्राप्त गरी भवन निर्माण गरेको उनीहरूले बताएका छन् । सहकारी आफैले भवन निर्माण गरी सेवा दिन थालेपछि सहकारीप्रति सर्वसाधारणको विश्वास बढेको उनीहरूको भनाइ छ । बाग्लुङ बहुउद्देश्यीय सहकारी संस्थाले ६ महीनाअघि रू. १ करोड १३ लाखमा भवन खरीद गरेको थियो ।
सदस्यहरूको ससानो पूँजी सङ्कलन तथा कर्जा प्रवाहबाट मुनाफा प्राप्त भएपछि सहकारी आफैले भवन खरीद गर्न सफल भएको संस्थाका अध्यक्ष अशोकगोविन्द राजभण्डारीले अभियानलाई बताए । यसैगरी सोही स्थानमा सञ्चालित एकता सहकारी संस्थाले करीब रू. ७६ लाखमा जग्गा खरीद गरी भवन निर्माण गरेको सो संस्थाका अध्यक्ष कृष्णशङ्कर श्रेष्ठले बताए । भवन निर्माण नै सहकारीको ठूलो उपलब्धि रहेको उनको भनाइ थियो । उनले भने 'निरन्तरको प्रयास र सदस्यहरूको विश्वासले यो उपलब्धि प्राप्त भएको हो ।' त्यस्तै गतवर्षमात्र आफ्नै भवनबाट शङ्खधर बहुमुखी सहकारी संस्थाले ग्राहकहरूलाई सेवा पुर्याइरहेको छ । सो सहकारीले करीब रू. ६८ लाखको लागतमा जग्गा खरीद गरी भवन निर्माण गरेको संस्थाले बताएको छ ।
Admin 2011-07-19