महिला रोजगारीको आकर्षण सहकारी
केपी भट्टराई
माघ ३, इटहरी । सुनसरीको इटहरीमा सञ्चालित बचत तथा ऋण सहकारी संस्था महिला रोजगारीका लागि अहिले आकर्षणको केन्द्र भएको छ । सक्रिय रूपमा सञ्चालित ४५ भन्दा बढी सहकारी संस्थामा कम्तीमा ३ देखि अधिकतम १ सय २५ जनासम्म महिला शेयर सदस्यहरूबाट निक्षेप सङ्कलन गर्ने कार्यमा संलग्न रहेको बताइएको छ । नेपाल बचत तथा ऋण सहकारी सङ्घकी उपाध्यक्ष अमृता सुब्बाका अनुसार यस्ता महिलाको सङ्ख्या २ सय ५० भन्दा बढी छन् ।
इटहरीका यस्ता सहकारी संस्थामध्ये सबैभन्दा बढी १ सय २५ जना महिलालाई दुर्गा बचत तथा ऋण सहकारी संस्थाले रोजगार दिएको छ । सो संस्थाका व्यवस्थापक कुमार निरौलाका अनुसार कार्यरत महिलाले मासिक न्यूनतम रू. ३ हजारदेखि रू. ३० हजारसम्म कमाउने गरेका छन् । इटहरी नगरपालिका कार्यक्षेत्र रहेको सो सहकारीले शेयर सदस्यलाई सजिलो होस् भनी सम्बन्धित टोलमै कम्तीमा एकजना बचत सङ्कलक राख्ने गरेको छ । सो सहकारीमा बचत सङ्कलकमा पुरुषको सङ्ख्या भने १५ जना मात्र छ । सो सहकारीमा ७ वर्षदेखि बचत सङ्कलनको काम गर्दै आएकी प्रमिला भट्टराई लाखौं खर्च गरेर वैदेशिक रोजगारीमा जानुभन्दा यहीँ नै बढी कमाउन सकिने बताउँछिन् । बचत सङ्कलक प्रमिलाले यही काम गरेर पाएको पारिश्रमिकबाट इटहरीको बसपार्क क्षेत्रमा घडेरी किनेर घरमात्र बनाएकी छैनन्, छोरीहरूलाई काठमाडौंमा राखेर उच्चशिक्षा पढाउँदै पनि छन् ।
अर्की बचत सङ्कलक मीना खतिवडाको अनुभव पनि प्रमिलाको भन्दा फरक छैन । दुर्गा सहकारीकै बचत सङ्कलक मीनाले पनि सोही कामको पारिश्रमिकबाट ४ छोराछोरीलाई उच्चशिक्षा पढाइरहेकी छिन् । इटहरी-८ की कल्पना भट्टराईले पनि दुर्गा वचतमै काम गरेर २ जना छोरालाई बोर्डिङ स्कूल पढाइरहेकी छिन् भने त्यहीँबाट कमाएको पैसाले श्रीमान्लाई वैदेशिक रोजगारीमा पठाएकी छन् । दुर्गा बचत तथा ऋण सहकारी संस्थाले मासिक २ करोड ५० लाख रुपैयाँ बचत सङ्कलन गर्दै आएको व्यवस्थापक कुमार निरौलाले बताए । इटहरी नगरक्षेत्रमा सञ्चालन हुँदैआएका बचत तथा ऋण सहकारी संस्थाहरूले वाषिर्क करीब ७० करोड रुपैयाँ सङ्कलन गर्ने गरेको सहकारी संस्थाहरूको प्रतिवेदनले देखाएको छ ।
सहकारी डिभिजन कार्यालय, सुनसरीका प्रमुख उपेन्द्रबहादुर ढुङ्गानाले जिल्लामा सञ्चालित ३ सय ७६ ओटा सहकारी संस्थामा कार्यरत बचत सङ्कलकवाहेक महिला २ सय १६ र पुरुष २ सय ७६ कर्मचारी रहेको बताए । सहकारी डिभिजन कार्यालय, सुनसरीका अनुसार जिल्लामा महिलाले चलाएका सहकारी संस्थाको सङ्ख्या ५४ छ भने सहकारी संस्थामा आबद्ध सदस्य महिलाको सङ्ख्या १४ हजार छ ।
महिला बचतको कारोबार ६ करोडभन्दा बढी
सुनसरीको इटहरी-४ मा १० वर्षअघि स्थापना भएको महिला बचत तथा ऋण सहकारी संस्थाले वार्षिक रू. ६ करोडभन्दा बढीको कारोबार गरिरहेको छ । पच्चीस जना महिला मिलेर रू १-१ हजार शेयर उठाई २५ हजार रुपैयाँको पूँजीबाट यो संस्था शुरू गरिएको थियो । संस्थाको १२ औं साधारणसभामा वार्षिक प्रतिवेदन पेश गर्दै सचिव यशोदा सेनेले आर्थिक वर्ष०६६/६७ को अवधिमा संस्थाले रू. ६ करोड २९ लाख ४० हजारको कारोबार गरेको जानकारी दिइन् । संस्थामा महिला शेयर सदस्यको सङ्ख्या गत असारसम्ममा १ हजार ३ सय ४ पुगेको छ भने शेयर पूँजी रू. ४४ लाख ८० हजार पुगेको बताइएको छ । संस्थाले गत वर्ष रू. २ करोड ६० लाख ५४ हजार निक्षेप सङ्कलन गरेको थियो । संस्थाको जगेडा कोषमा रू. २० लाख ३८ हजार रहेको छ । संस्थाले गत वर्ष रू. ३ करोड ४८ लाख २१ हजार लगानी र रू. २ करोड ९८ लाख असुली गरेको थियो । सो सहकारीले रू. १६ लाख खर्च गरी साँढे १० धुर जग्गामा आफ्नै भवन बनाएको छ । अध्यक्ष अमृता सुब्बाका अनुसार संस्थाको कूल सम्पत्ति करीब रू. २१ लाख रहेको छ ।
आफ्नै भवन बनाउँदै जोरसल्ला सहकारी
माघ ३, काठमाडौं (अस)। माघ महीनाभित्र 'जोरसल्ला तरकारी उत्पादक सहकारी संस्था'को भवन निर्माण कार्य सम्पन्न हुने भएको छ । तीन महीना अघिदेखि संस्थाले करीब रू. १२ लाखको लागतमा पक्की भवन निर्माण शुरू गरेको हो । भवनका लागि वातावरण तथा कृषि नीति अनुसन्धान, प्रसार एवम् विकास केन्द्र (सिग्रेड) ले रू. ३ लाख ५० हजार, मेथिनकोट गाविसले रू. ५० हजार र संस्थाका सदस्यहरूले करीब रू. २ लाख सहयोग गरेका छन् । अपुग रकम विभिन्न सङ्घसंस्थाबाट जुटाइने संस्थाका अध्यक्ष रूद्रबहादुर बिसुन्केले जानकारी दिएका छन् ।
संस्था विस. २०६५ मा काभ्रेपलाञ्चोक जिल्लाको मेथिनकोट गाविस-१ मा ३० जना सदस्यको करीब रू. ३ हजारबाट स्थापना भएको हो । हाल सहकारीमा सदस्य सङ्ख्या १ सय ६४ र कुल पूँजी रू. ३० लाख पुगेको छ । संस्थाका सदस्यहरू १६ समूहमा आबद्ध छन् । प्रत्येक समूहका सदस्यले सामूहिक रूपमा तरकारी तथा तरकारी बीउ उत्पादन गरिरहेको बताइएको छ ।
आर्थिक वर्ष०६६/६७ मा संस्थाका सदस्यहरूले करीब १५ मेटि्रकटन विभिन्न किसिमका तरकारीको बीउ उत्पादन गरी विक्रीसमेत गरिसकेका छन् । त्यसअघिको आवमा संस्थाले ५ मेट बीउ उत्पादन गरेको थियो । सदस्यहरूले उत्पादन गरेको तरकारी बीउ संस्थाले सङ्कलन गर्दै आएको छ । सङ्कलित बीउ प्रशोधन गरेपछि संस्थामार्फत विक्री गर्ने गरिएको छ । उत्पादित बीउ बनेपा, काठमाडौं उपत्यकालगायत बजारमा विक्री हुने गरेको छ । बीउको मूल्य प्रतिकिलो रू. १ सयदेखि रू. ४ हजार २ सयसम्म पर्छ ।
हाल सहकारीमा आबद्ध सदस्यहरूले मात्र करीब १ हजार ७ सय ८८ रोपनी क्षेत्रफलमा तरकारी बीउ उत्पादन गर्दै आएका छन् । केराउ, चमसुर, बकुल्ला, सिमी, खुर्सानी, चिचिण्डालगायतका नौ प्रकारका तरकारीको बीउ उत्पादन हुँदै आएको बताइएको छ । बीउ विक्रीबाट संस्थाका प्रत्येक सदस्यहरूले औसतमा वार्षिक १५ हजार आम्दानी गर्दै आएका छन् । संस्थाका सदस्यहरूले करीब ५ सय रोपनी जग्गामा वर्षे तरकारी खेती पनि गर्दै आएका छन् ।
संस्थाले विभिन्न स्थानबाट गुणस्तरीय बीउ सङ्कलन गरी सदस्यहरूलाई वितरण गर्ने गरेको छ । संस्थाका सदस्यहरूलाई सिग्रेडले नियमित प्राविधिक सहयोग गर्दै आएको बताइएको छ ।
रूद्रबहादुर बिसुन्के अध्यक्ष रहेको सो संस्थामा उपाध्यक्षमा ठूलाकान्छा मिजार, सचिवमा शेरबहादुर मिजार र कोषाध्यक्षमा सरिता बिसुन्के रहेका छन् । सदस्यहरूमा कृष्णबहादुर मिजार, रत्नबहादुर बिक, कृष्णबहादुर बिक, बिमला मिजार र कुलबहादुर मिजार छन् ।
रूद्रबहादुर बिसुन्के
अध्यक्ष
जोरसल्ला तरकारी बीउ उत्पादक सहकारी संस्था, मेथिनकोट, काभ्रे
सहकारीमार्फत तरकारी बीउ उत्पादन गर्ने सोच कसरी आयो ?
मेथिनकोट-१ जोरसल्ला मिजार (दलित) जातिको बाहुल्य भएको बस्ती हो । यँहाका वासिन्दा गरीब र अशिक्षित छन् । तरकारी बीउ उत्पादन शुरू गर्नुअघि दैनिक गुजाराका लागि उनीहरु इंटा उद्योगमा काम गर्न जान्थे । इंटा उद्योगमा काम गर्दा उनीहरूले धेरै समस्या भोग्दै आएका थिए । करीब सात वर्षअघि स्वीस सरकार विकास नियोग (एडीसी) को आर्थिक सहयोगमा सिग्रेडले मिजार समुदायलाई लक्षित गरी आयआर्जनका लागि 'तरकारी बीउ उत्पादन' कार्यक्रम सञ्चालन गरेको थियो । यो कार्यक्रम मिजार समुदायका लागि धेरै उपयोगी सिद्ध भयो । तर, स्रि्रेडले लामो समयसम्म सहयोग गरिरहन नसक्ने भएपछि समुदाय आफैलाई सक्षम बनाउन सहकारी संस्था स्थापना गरी सामूहिक बीउ उत्पादन शुरू गरिएको हो ।
सहकारीमा तपाईले कस्ता समस्या देख्नुभएको छ ?
समयमा गुणस्तरीय बीउ, मल नपाइनु संस्थाको मुख्य समस्या हो । हामीसँग प्राविधिकको पनि कमी छ । त्यसका कारण क्षमताअनुसार बीउ उत्पादन गर्न सकिएको छैन । अर्कोतिर उत्पादित बीउले उचित मूल्य पाउन सकेको छैन ।
जोरसल्लाका आगामी कार्यक्रमहरु के-के छन् ?
अचेल जोरसल्ला सहकारी मिजार समुदायको अभिभावक बनेको छ । विपन्न र पिछडिएका मिजार समुदायको आर्थिक उन्नतिमा संस्थाको महत्त्वपूर्ण योगदान रहेको छ । आगामी दिनमा पनि सदस्यहरूको आर्थिक तथा सामाजिक विकासमा संस्थाको महत्त्वपूर्ण भूमिका रहनेछ । संस्थाले आफ्नै भवन निर्माण गर्न लागेको छ । भवन निर्माणपछि बीउ भण्डारण पनि शुरू गर्ने छ । भविष्यमा संस्थाले बीउ उत्पादनमा नमूना सहकारी बन्ने सम्भावना बोकेको छ ।
विराटनगरका ५० सहकारी कारबाहीमा
माघ ३, विराटनगर । सहकारी डिभिजन कार्यालय, विराटनगरले निष्क्रिय रूपमा रहेका ५० सहकारीलाई कारबाही गर्ने भएको छ । दर्ता गर्ने तर सञ्चालन नगरी लापरबाही गर्ने क्रम बढेकाले कारबाही प्रक्रिया अघि बढाइएको सो कार्यालयले जानकारी दिएको छ । सो कार्यालयका प्रमुख अर्जुन निरौलाले अभियानसँग भने, 'मोरङमा सहकारी दर्ता वृद्धिसँगै सञ्चालन नहुने क्रम पनि बढेकाले नियन्त्रणका लागि कारबाही प्रक्रिया अघि बढाइएको हो ।' सो कार्यालयले गत आवदेखि दर्ता गरी सञ्चालन नगर्ने, साधारणसभा नगर्ने, लेखापरीक्षण प्रतिवेदन नबुझाउने सहकारी संस्थाहरूलाई कारबाही थालेको हो ।
जिल्लामा भएका सहकारी संस्थामध्ये १ सय २४ निष्क्रिय रहे पनि यस वर्ष५० सहकारीलाई मात्र कारबाही गर्ने प्रक्रिया थालिएको बताइएको छ । प्रमुख निरौलाले भने, 'केन्द्रले सो कार्यका लागि थोरै बजेट पठाएकाले यस वर्ष५० ओटालाई मात्र कारबाही गर्ने तयारी गरिएको हो ।' निष्क्रिय रहेका संस्थालाई न्यूनतम रू. ५ सयदेखि रू. १५ सयसम्म जरीवाना गरी पुनः सञ्चालनको अनुमति दिन सकिने कानूनी व्यवस्था छ । तर, खारेज गर्ने प्रक्रिया धेरै जटिल भएको निरौलाको भनाइ छ । 'खारेज गर्नेक्रममा सूचना प्रकाशन गर्ने, स्थलगत भ्रमण गरी प्रतिवेदन तयार पार्नेलगायत कामहरू गर्दा प्रशासनिक खर्च बढी लाग्छ' निरौलाले बताए 'आवश्यक बजेट नआउँदा निष्क्रिय सबै सहकारीलाई कारबाही गर्न समस्या भएको छ ।' गत आवमा सो कार्यालयले १६ सहकारीलाई कारबाहीको सिलसिलामा जरीवाना गरेको थियो । त्यस्तै आठओटाको दर्ता खारेज गर्नुका साथै तीनओटाको लिक्वडेशनसमेत गरेको थियो ।
जिल्लामा चालू आर्थिक वर्ष०६७/६८ को मङ्सिरसम्ममा दर्ता भएका सहकारीको सङ्ख्या ६ सय ८० रहेको छ । सोमध्ये ४८ ओटा चालू आवको साउनदेखि मङ्सिरसम्मको पाँच महीनामा दर्ता भएको सो कार्यालयले बताएको छ । निरौलाका अनुसार १५ सहकारी हाल दर्ता प्रक्रियामा छन् । मोरङमा बचत तथा ऋण, बहुउद्देश्यीय, उपभोक्ता, दुग्ध, कृषि र सञ्चार क्षेत्रसँग सम्बन्धित सहकारी संस्था दर्ता हुँदै आएका छन् । यीमध्ये बचत तथा ऋण सहकारी संस्थाको सङ्ख्या सर्वाधिक ४ सय २४ रहेको छ । डिभिजन सहकारी कार्यालयका अनुसार बहुउद्देश्यीय १ सय १३, कृषि ७७, दुग्ध ३१, उपभोक्ता ११ र सञ्चारसम्बन्धी एउटा सहकारी दर्ता भएका छन् ।
सहकारी अभिमुखीकरण तालीम
माघ ३, काठमाडौं । सरकारले महिला, जनजाति तथा विपन्न वर्गलाई सहकारी शिक्षा प्रदान गर्ने उद्देश्यले सहकारी अभिमुखीकरण तालीम सञ्चालन गर्ने भएको छ । सहकारी विभागको सहयोगमा डिभिजन सहकारी कार्यालयहरूले माघदेखि तालीम सञ्चालन गर्ने विभागका रजिष्ट्रार सुदर्शनप्रसाद ढकालले बताए । उनले भने, 'सहकारीसम्बन्धी तालीम अन्य संस्थाहरूबाट भइरहे पनि प्रभावकारी नभएको जनगुनासो आएकाले सरकारी स्तरबाट सञ्चालन गर्न लागिएको हो ।' ढकालका अनुसार यस्तो तालीम डिभिजन सहकारी कार्यालय भएका ३८ जिल्लामा सञ्चालन गरिने छन् । तालीम महीनाको एकपटक दिइने बताइएको छ । सरकारले गत भदौदेखि सहकारी संस्था दर्ता गर्न निवेदन दिनेहरूमध्ये न्यूनतम १५ जनाले सहकारी अभिमुखीकरण तालीम लिएको हुनुपर्ने व्यवस्था गरेको छ ।
चालू आर्थिक वर्षको दोस्रो चौमासिकमा काठमाडौं जिल्लामा यस्ता तालीम सञ्चालन गर्न करीब रू. ७५ हजार छुट्टयाइएको डिभिजन सहकारी कार्यालय, काठमाडौंका अधिकृत कृष्णप्रसाद शर्माले बताए । शर्माले कार्यालयले प्रत्येक महीना बढीमा १ सय जनालाई तालीम दिने जानकारी पनि दिए । यसैबीच जिल्ला सहकारी सङ्घ, काठमाडौंले गत भदौदेखि हालसम्म जिल्लामा करीब ७ सयलाई यस्तो तालीम दिइसकेको बताएको छ । सङ्घका अनुसार तालीम लिनेहरूसँग प्रतिव्यक्ति रू. ६ सय शुल्क लिने गरिएको छ
'साना किसान’ नमूना सहकारी
माघ ३, धनगढी (अस)। साना किसान कृषि सहकारी संस्थाले जिल्लाका कृषकलाई बचत गर्न प्रोत्साहित गर्नुका साथै ऋण दिएर कृषि कार्यमा महत्त्वपूर्ण सहयोग पुर्याउँदै आएको छ । कैलालीको गेटा गाविसको अत्तरियामा महिलाद्वारा सञ्चालित सो सहकारीले विभिन्न ६ किसिमका बचत योजनाअर्न्तर्गत सदस्यहरूलाई बचत गर्न प्रोत्साहन गर्दै आएको संस्थाकी अध्यक्ष माया कुँवरले बताइन् । ती ६ बचत योजनामध्ये सबैभन्दा बढी समूह बचतमा रू. १५ लाख ३० हजार, ग्रामीण सुरक्षा बचतमा रू. १५ लाख २१ हजार, बाल बचतमा रू. ५ लाख ५४ हजार, अन्तरसमूह बचतमा रू. ३ लाख १५ हजार, सेवा बचतमा रू. १ लाख ६८ हजार र अन्य बचतमा रू. ११ हजार गरी कुल रू. ४० लाख ९९ हजार बचत रहेको संस्थाले बताएको छ ।
सहकारीले आफ्ना सदस्यहरूलाई न्यूनतम रू. ५ हजारदेखि अधिकतम रू. ३ लाख ५० हजारसम्म ऋण दिने गरेको छ । ती ऋण विशेषतः कृषि कार्य, पशुपालन र घरेलु उद्योगमा लगानी भएकाले असुलीमा समस्या नभएको संस्थाका प्रबन्धक नृप खड्काले अभियानलाई बताए । उनले भने, 'ऋणीहरूमध्ये ६५ प्रतिशतले निर्धारित समयमै र ३५ प्रतिशतले भाका नाघेको २० दिनमा ऋण तिर्ने गरेका छन् ।' अन्य व्यवसाय गर्नेभन्दा गाईभैंसी पाल्ने र कृषि कार्य गर्ने किसानले समयमै सबै ऋण तिर्ने गरेको पनि उनले जानकारी दिए । अध्यक्ष कुँवरले भने संस्थाले गत आवमा ४८ प्रतिशत र चालू आवमा ६५ प्रतिशत ऋण असुली भएको बताउँदै आगामी वर्ष शतप्रतिशत ऋण असुली गर्ने कार्यक्रम बनाएको बताइन् । सो सहकारीको कुल सदस्य सङ्ख्या अहिले ७ सय ७७ पुगेको छ ।
सहकारीका माध्यमबाट सजिलै र थोरै ब्याजदरमा ऋण पाउन थालेपछि स्थानीय सदस्य किसान पनि हौसिएका छन । स्थानीय तारा खत्री र गीता सिंहले सहकारीबाट लिएको ऋणबाट व्यावसायिक खेती गर्दैआएको बताएका छन् । उनीहरूले दैनिक रू. ५ हजारदेखि देखि रू. ८ हजारसम्मको तरकारी बेचेर निर्धारित मितिमै ऋण तिरेको सहकारीले जानकारी दिएको छ । सहकारीले यस वर्षदेखि संस्थामा आबद्ध किसानको दुर्घटनामा परी निधन भएमा रू. ५ हजार क्षतिपूर्ति दिने व्यवस्था गर्नुका साथै व्यावसायिक भैंसीपालन गर्ने किसानका लागि दूध सङ्कलन केन्द्रको समेत स्थापना गरेको बताएको छ ।
जेष्ठनागरिकलाई सहकारीको भत्ता
माघ ३, दोलखा । दोलखास्थित जनसचेत बचत तथा ऋण सहकारी संस्थाले ८० वर्षमाथिका आफ्ना सदस्यहरूलाई मासिक भत्ता दिने भएको छ । आम्दानीको स्रोत नहुँदा घरपरिवारबाट अपहेलित बनेका आफ्ना सदस्यहरूलाई प्रतिव्यक्ति मासिक रू. ५ सयका दरले भत्ता दिन शुरू गरिएको सहकारीका सञ्चालक हेमन्त चौलागाईँले बताए । हाल सहकारीमा १४ जना सदस्य ८० वर्षभन्दा माथिका रहेको बताइएको छ । 'उनीहरूलाई संस्थाको 'आजीवन सहारा' कार्यक्रमअन्तर्गत मासिक भत्ता दिने निर्णय गरेका हौँ,' चौलागाईँले भने । संस्थाले सदस्य सुरक्षा कोष, आपतविपत सहयोग, किरिया खर्च, मृतक परिवारलाई सहयोगलगायतका कार्यक्रम सञ्चालन गरेको छ । सो सहकारीको कुल पूँजी रू. १४ करोड र लगानी करीब रू. १२ करोड रहेको चौलागाइंले जानकारी दिए । कुल लगानीको करीब ८० प्रतिशत उत्पादनमूलक क्षेत्रमा रहेको बताइएको छ ।