पाँचै विकास क्षेत्रमा सहकारी प्रशिक्षण केन्द्र निर्माण हुँदै
यज्ञ बञ्जाडे
वैशाख ५, काठमाडौं (अस)। सरकारले पाँचओटै विकास क्षेत्रमा सुविधासम्पन्न सहकारी प्रशिक्षण केन्द्र निर्माण गर्ने भएको छ । सबै जिल्लामा डिभिजन सहकारी कार्यालय नभएकाले डिभिजन कार्यालयको समेत काम गर्ने गरी प्रशिक्षण केन्द्र निर्माण हुन लागेको सहकारी विभागका रजिष्ट्रार सुदर्शनप्रसाद ढकालले अभियानलाई बताए । 'सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय' नाम दिइएका ती प्रशिक्षण केन्द्रहरू आधुनिक र सुविधासम्पन्न हुने उनको भनाइ छ ।
प्रशिक्षण केन्द्र निर्माण गर्न करीब रू. ७ करोड लाग्ने विभागको अनुमान छ । विभागका अनुसार एउटा प्रशिक्षण केन्द्र निर्माणका लागि औसतमा रू. १ करोड ५० लाख लाग्नेछ । प्रशिक्षण केन्द्र निर्माणका लागि सरकारले चालू आर्थिक वर्षमा रू. २ करोड विनियोजन गरेको छ । आगामी दुई वर्षमा प्रशिक्षण केन्द्रको निर्माण कार्य सम्पन्न हुने विभागले जानकारी दिएको छ ।
प्रशिक्षण केन्द्र पूवाञ्चलको सुनसरी, मध्यमाञ्चलको चितवन, पश्चिमाञ्चलको पोखरा, मध्यपश्चिमाञ्चलको नेपालगञ्ज र सुदूरपश्चिमाञ्चलको धनगढीमा निर्माण हुनेछन् । त्यसका लागि विभागले टेण्डरसमेत आ⋲वान गरिसकेको छ । 'प्राप्त टेण्डरबाट उत्कृष्ट छनौट गरी छिट्टै काम शुरू गर्नेछौं,' उनले भने । प्रत्येक प्रशिक्षण केन्द्रमा २५ जना अटाउने छात्रावास पनि निर्माण गरिनेछ । प्रशिक्षण केन्द्रमा राखिने कर्मचारीको दरबन्दीबारे भने अध्ययन भइरहेको रजिष्ट्रार ढकालले बताए । उनले भने, 'सङ्गठन तथा व्यवस्थापन (ओ एण्ड एम) अध्ययन भइरहेको छ, त्यसैका आधारमा कर्मचारीको दरबन्दी तोकिनेछ ।' नेपालमा सहकारी सङ्घसंस्थाको विकासको तुलनामा सहकारी शिक्षाको प्रचारप्रसार हुन नसकेको अवस्थामा प्रशिक्षण केन्द्रहरूको स्थापनाले सहकारी शिक्षाको प्रचारप्रसारमा महत्त्वपूर्ण सहयोग पुग्ने ढकालको भनाइ छ ।
हाल नेपालको ३८ जिल्लामा मात्र डिभिजन सहकारी कार्यालय रहेका छन् । ती कार्यालयमा ५ सय ९४ कर्मचारीको दरबन्दी छ । त्यसमा पनि करीब २ सय दरबन्दी खाली रहेको विभागले जानकारी दिएको छ ।
सहकारी पसलबाट मासिक २० लाखको व्यापार
केपी भट्टराई
वैशाख ५, बिर्तामोड (झापा) । बिर्तामोडमा सञ्चालन हुँदै आएका दुईओटा सहकारी पसलले मासिक रू. २० लाखभन्दा बढीको कारोबार गर्दै आएका छन् ।
डेढ वर्षअघि सतासी बहुउद्देश्यीय सहकारी संस्थाले बिर्तामोड बजारमा शुरू गरेको सुपथ मूल्यको सहकारी पसलले अहिले मासिक रू. १५ लाखभन्दा बढीको कारोबार गर्दै आएको छ । संस्थाका कोषाध्यक्ष तथा सहकारी पसलका संयोजक चक्रबहादुर खत्रीले रू. १० लाखबाट शुरू भएको पसलको पूँजी अहिले रू. ४० लाख पुगेको बताए । उनका अनुसार पसल बिहान ८ बजेदेखि बेलुका साढे सात बजेसम्म खुल्छ । पसलमा दैनिक न्यूनतम रू. ५० हजारको व्यापार हुने गरेको उनले जानकारी दिए । सहकारी पसलकी व्यवस्थापक कमला बिष्टले पसलमा दैनिक उपभोगका खाद्य सामग्री, शृङ्गार सामग्री, उपहार सामग्रीलगायत ९ हजारभन्दा बढी वस्तुहरू राखिएका छन् ।
२०५३ सालमा स्थापना भएको सतासी बहुउद्देश्यीय सहकारी संस्थामा १ हजार ८ सय शेयर सदस्य र ४५ लाख शेयर पूँजी रहेको छ । बचत तथा ऋण र विपे्रषण भुक्तानीको समेत कारोबार गर्दै आएको सो सहकारीले वार्षिक रू. २ करोड निक्षेप सङ्कलन र सोही हाराहारीमा ऋण लगानी गर्दै आएको छ । संस्थाको सहकारी पसलमा १० जनाले रोजगारी पाएका छन् ।
त्यस्तै विराट अर्जुन उपभोक्ता सहकारी संस्थाले पनि डेढ वर्षअघिदेखि बिर्ता सुपथ मार्केटको नामबाट सहकारी पसल सञ्चालन गर्दै आएको छ । संस्थाका अध्यक्ष गोपाल काफ्लेका अनुसार सहकारी पसलमा मासिक औसत रू. ५ लाखको कारोबार हुने गरेको छ । पसलले सात जनालाई प्रत्यक्ष रोजगारी दिएको छ । रू. १७ लाख शेयर पूँजी रहेको विराट अर्जुन सहकारीले पसलमा रू. २० लाख लगानी गरेको छ । पसलमा २ हजारभन्दा बढी प्रकारका सामान रहेका छन् ।
दुवै सहकारी पसलले प्रत्येक सामानमा मूल्य अङ्कित गर्ने गरेकाले उपभोक्तालाई सामान छान्न र मूल्य थाहा पाउन सजिलो भएकाले पनि सहकारी पसलहरूमा उपभोक्ताको आकर्षण बढेको स्थानीय हेमन्त राजवंशीले बताए । बिर्तामोडमा ७ वर्षअघि गोर्खा सुपर मार्केट खुलेपछि उक्त सुपर मार्केटले मूल्य अङ्कित गरेर सामान राख्न थालेको र अहिले सहकारी पसलहरूले समेत त्यसलाई अनुकरण गरेकाले उपभोक्तालाई सजिलो भएको राजवंशीको धारणा छ ।