च्याउखेतीबाट महिला आत्मनिर्भर
अभियान संवाददाता
भदौ ५, दाङ । चुलोचौकोमा व्यस्त हुने दाङ नारायणपुरका महिला अहिले समूहमा आबद्ध भई व्यावसायिक च्याउखेतीमा व्यस्त हुन थालेका छन् । च्याउखेतीबाट राम्रो आम्दानी हुन थालेपछि स्थानीय विपन्न वर्गका महिला आत्मनिर्भर बन्दै गएका छन् । उनीहरूले आम्दानी गरेपछि परिवारले हेर्ने दृष्टिकोणमा समेत परिवर्तन आएको नारायणपुरकी २३ वर्षीया रञ्जिता चौधरीले बताइन् । सर्वेश्वरी महिला बचत तथा ऋण सहकारी संस्थामा आबद्ध महिलाले ३ वर्षदेखि सामूहिक च्याउखेती गर्दै आएका हुन् । आफूहरूमा बचत गर्ने बानी बसेकाले आर्थिक स्रोत जुटाउने हौसला बढेको रिमा चौधरी बताउँछिन् । 'च्याउखेतीबाट थोरै भए पनि आम्दानी हुन थालेको छ, घर खर्च चलेको छ,' रिमाले भनिन् ।
'पहिले कमाउन सक्दैनौ भनेर हेला गर्थे, आजभोलि सबैले राम्रो गर्यौ भन्छन्,' रञ्जिताले भनिन् । २५ जना महिलाले तालीम लिएर पाँचओटा समूह बनाई च्याउखेती गरेको उनले जानकारी दिइन् । एउटा समूहमा पाँच जना छन् । प्रत्येक समूहले वार्षिक रू. १ लाखभन्दा बढी आम्दानी गर्ने लक्ष्मी लम्सालले बताइन् । आम्दानीबाट उनीहरूले च्याउखेतीको स्तर बढाउने र समूहमा बाँडफाँट गरेर घर खर्च चलाउने गरेको उनले बताए । आम्दानीले छोराछोरीको सामान्य कापीकलम किन्न खर्च चल्ने गरेको उनीहरूको भनाइ छ । असोजदेखि चैतसम्म च्याउ राम्रो उत्पादन हुने र एक सिजनमा करीब ४० हजार रुपैयाँको विक्री हुने उनीहरू बताउँछन् । च्याउ प्रतिकिलो रू. २ सयमा विक्री हुने गरेको छ ।
'सहकारीलाई नियामक निकाय चाहिँदैन’
अभियान संवाददाता
भदौ ५, काठमाडौं । सहकारी संस्थालाई नियामक निकाय नै नचाहिने अन्तरराष्ट्रिय सहकारी सङ्घ, एशिया प्रशान्तका क्षेत्रीय निर्देशक चान हो चेइले बताएका छन् । सहकारी संस्था समुदायको आर्थिक तथा सामाजिक विकास गर्ने उद्देश्यले सञ्चालित भएकाले नियामक निकायको आवश्यकता नपर्ने उनको भनाइ थियो । चारदिने नेपाल भम्रणका क्रममा राष्ट्रिय सहकारी सङ्घ, सहकारी विभाग, सहकारी विकास बोर्ड र केन्द्रीय सङ्घको अवलोकनपछि चेइले सो कुरा बताएका हुन् । विश्वमा सहकारी ऐनअनुसार सञ्चालित सहकारी संस्था सफल रहेको बताउँदै उनले भने, 'सहकारी ऐनविपरीत सञ्चालन भएका सहकारीलाई मात्र नियामक निकाय आवश्यक भएको हो ।' नियमविपरीत सञ्चालित सहकारी संस्था यस क्षेत्रको विकृति भएको र तिनीहरूको भविष्य उज्ज्वल नभएको पनि उनले बताए ।
नेपालमा सञ्चालित केन्द्रीय सहकारी सङ्घले आफ्नो भूमिका प्रभावकारी बनाउनुपर्ने चेइले बताए । नेपालमा सहकारी अभियान सफल पार्नका लागि प्रारम्भिक सहकारी संस्था आर्थिक रूपमा सबल हुनुपर्नेमा उनको जोड थियो । 'केन्द्रीय सहकारी सङ्घले नै व्यावसायिक रणनीति तयार गरी प्रारम्भिक सहकारी संस्थामा लागू गर्न सहयोग गर्नुपर्छ' उनले भने । प्रारम्भिक संस्था बलियो भएमा मात्र केन्द्रीय सङ्घ बलियो हुने उनको भनाइ थियो ।
विगत केही समयदेखि विश्व अर्थतन्त्रको विकासमा सहकारी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको छ । कुनै एक राष्ट्रको विकासले मात्र विश्व अर्थतन्त्रको विकास सम्भव नभएकाले सहकारीमार्फत राष्ट्रको विकास गर्नुपर्ने उनले बताए । 'सहकारीमार्फत अर्थतन्त्रका ठूला-ठूला समस्या पनि समाधान गर्न सकिन्छ,' उनले भने, 'समुदायमा आधारित भएकाले सहकारीले सदस्यको आर्थिक तथा सामाजिक विकासमा महत्त्वपूर्ण भूमिका खेल्दछ ।'
सहकारीद्वारा व्यावसायिक कुरिलो खेती
भदौ ५, तनहुँ (अस) । तरकारीबालीले भन्दा धेरै आम्दानी दिन थालेपछि तनहुँको आँबुखैरेनीका किसानले कुरिलो खेती शुरू गरेका छन् । बरादीस्थित मस्याङ्दी बहुउद्देश्यीय सामुदायिक विकास सहकारी संस्थासँग आबद्ध आँबुखैरेनी-१ र ३ का १६ जना किसानले तरकारी छाडेर कुरिलोको व्यावसायिक खेती शुरू गरेका हुन् ।
२०६६ सालमा काभ्रेबाट ल्याइएको कुरिलोको बीउ ६ जना सदस्यबाट विस्तार भएर १६ मा पुगिसकेको छ । सहकारीका अध्यक्ष नारायण भट्टराईले सहकारी सदस्यहरूले २५ रोपनी जग्गामा कुरिलो लगाएको जानकारी दिए । सामान्यतया ३ वर्षलाग्ने भए पनि १ वर्ष नपुग्दै उनीहरूले लागत उठाएको उनले बताए । शुरूका ६ जना कृषकले गतवर्षकुरिलो विक्री गरी रू. ६८ हजार आम्दानी गरेका थिए । 'कम लगानीमा धेरै आम्दानी दिनु नै यसको विशेषता हो,' भट्टराई भन्छन्, 'एकपटक लगाएपछि वर्षौंसम्म उत्पादन दिने भएकाले कृषक यसप्रति आकर्षित भएका हुन् । कुरिलोमा रोग कममात्र लाग्ने उनले बताए । तरकारी बारीमा कुरिलो खेती थालेकी कृषक सविना वाग्ले भन्छिन्, 'तरकारी लगाउँदा हरेक ४ महीनामा बाली फेर्नुपर्छ, रोगका कीरा पनि उत्तिकै लाग्छ । तर, कुरिलोमा वर्षमा १/२ पटक गोडमेल गरेर सिँचाइ गरे पुग्छ ।' आफ्नो ५ रोपनी जग्गामा वाग्लेले कुरिलो खेती गरेकी छन् । कुरिलोले एकपटक लगाएपछि १८ वर्षसम्म उत्पादन दिन्छ ।
मूल्यसमेत राम्रो पाइने भएपछि उनका छिमेकीले पनि ३-४ रोपनीमा कुरिलो खेती शरू गरेका छन् । उत्पादित कुरिलो प्रतिकेजी रू. ४ सयमा विक्री हुने गरेको छ । उक्त सहकारीले सदस्यको कुरिलो खरीद गरी विक्रीको प्रबन्ध गरिदिएको छ । 'किसानबाट सङ्कलन गरी बजारसम्म आफै पुर्याइदिने गरेका छौं,' भट्टराईले भने, 'आजकल त ग्राहक आफै खोज्दै आउन थालेका छन् ।'
प्रशिक्षण केन्द्र निर्माणमा थप ५ करोड
भदौ ५, काठमाडौं । चालू आर्थिक वर्षमा क्षेत्रीय सहकारी प्रशिक्षण केन्द्र निर्माणका लागि थप रू. ५ करोड विनियोजन गरिएको छ । सरकारले गत आवमा पाँचओटै विकास क्षेत्रमा आधुनिक सुविधा सम्पन्न सहकारी प्रशिक्षण केन्द्र निर्माण प्रक्रिया शुरू गरेको थियो । चालू आवमै निर्माण सम्पन्न गर्ने उद्देश्यले सबै स्थानमा भवन निर्माणको काम शुरू गरिएको सहकारी विभागका उप-रजिष्ट्रार गोपिकृष्ण निरौलाले जानकारी दिए । यस प्रयोजनका लागि गतवर्ष रू. २ करोड विनियोजन गरिएको थियो । 'बजेट अभाव नभए चालू आवमा भवन निर्माणको काम सम्पन्न हुन्छ,' निरौलाले भने । विभागले केन्द्र निर्माणका लागि रू. ६ करोड प्रस्ताव गरे पनि रू. ५ करोडमात्र विनियोजन भएकाले काम पूरा गर्न अप्ठ्यारो हुन सक्ने उनको भनाइ थियो । निर्माणाधीन प्रशिक्षण केन्द्रले डिभिजन सहकारी कार्यालयको समेत काम गर्ने र तिनीहरूमा आवास सुविधा पनि उपलब्ध रहेको विभागले बताएको छ ।
यसैगरी, सहकारी विभागले यसै साता राष्ट्रिय गोष्ठी सम्पन्न गरेको छ । भदौ २ देखि ४ गतेसम्म सञ्चालन भएको सो गोष्ठीमा सहकारी विभाग मातहतका कार्यालयको वार्षिक कार्यक्रमको समीक्षाका लागि गोष्ठी आयोजना गरिएको हो । गोष्ठीमा केन्द्रीय सहकारी प्रशिक्षण केन्द्र, क्षेत्रीय सहकारी प्रशिक्षण केन्द्र, डिभिजन सहकारी कार्यालय र सहकारी केन्द्रीय सङ्घको उपस्थिति रहेको उप-रजिष्ट्रार निरौलाले जानकारी दिए । छलफलको निष्कर्षको आधारमा भावी कार्यनीति तयार गर्न गोष्ठी आयोजना गरिएको उनले जानकारी दिए । गोष्ठीमा केन्द्रीय सहकारी प्रशिक्षण केन्द्र, पाँचओटै क्षेत्रीय सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय र ३३ ओटा जिल्ला डिभिजन कार्यालयको सहभागिता रहेको थियो ।
Admin 2011-08-23