शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

सहकारीले १० पोलिक्लिनिक सञ्चालन गर्दै
यज्ञ बञ्जाडे
पुस ५, काठमाडौं । नेपाल स्वास्थ्य व्यवसायी सहकारी संस्थाले यही पुस महीनामा काठमाडौंमा १० ओटा मेडिकल पोलिक्लिनिक सञ्चालन गर्ने भएको छ । पोलिक्लिनिकमा वैदेशिक रोजगारीमा जाने कामदारहरूको अन्तरराष्ट्रिय मापदण्डअनुसार स्वास्थ्य परीक्षण गरिने संस्थाका अध्यक्ष खड्गबहादुर श्रेष्ठले अभियानलाई बताए । पोलिक्लिनिक सञ्चालनका लागि करीब रू. १५ करोड लाग्ने उनले बताए ।

संस्थाले दुइ चरण गरेर पोलिक्लिनिक सञ्चालन गर्न लागेको छ । पहिलो चरणमा काठमाडौंको रातोपुल, कोटेश्वर, महाराजगञ्ज चप्पल कारखाना, सामाखुशी र कलङ्की गरी पाँच ठाउँबाट सेवा शुरू गरिने बताइएको छ । यी स्थानमा आवश्यक भौतिक पूर्वाधार तयार भइसकेको श्रेष्ठले बताए । 'दोस्रो चरणका पाँच पोलिक्लिनिकका लागि दुइ हप्ताभित्र स्थानको टुङ्गो लगाइनेछ,' उनले भने ।  

पोलिक्लिनिकहरूमा सबै खाले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गरिए पनि विशेषगरी खाडी मुलुकमा जाने कामदारलाई प्राथमिकता दिएको श्रेष्ठले जानकारी दिए । 'यी पोलिक्लिनिकहरू खासगरी साउदी अरब, ओमन, बहराइन जाने कामदारको स्वास्थ्य परीक्षण गर्न स्थापना गर्न लागिएका हुन्,' उनले भने । खाडीमुलुकमा गएका कामदारहरूको स्वास्थ्य परीक्षणमा बढी समस्या देखिएकाले ती देशमा जानेलाई प्राथमिकता दिएको उनले बताए । पोलिक्लिनिकहरू अन्तरराष्ट्रिय मापदण्डअनुसारको छ वा छैन निरीक्षण गर्न जनवरीको पहिलो साता गल्फ कोअपरेशन काउन्सिल (जीसीसी)बाट एक टोली आउन लागेको उनले जानकारी दिए ।  

स्वास्थ्य परीक्षणका लागि चाहिने उपकरणहरू जर्मनी, जापान र कोरियाबाट र डिजिटल एक्सरे-सीआर जापान तथा कोरियाबाट ल्याइएको श्रेष्ठले बताए । ल्याब टेक्नोलोजीसम्बन्धी अन्य सम्पूर्ण उपकरणहरू जर्मनीको ह्यूमन कम्पनीबाट ल्याइएको श्रेष्ठले जानकारी दिए । एउटा मेडिकल पोलिक्लिनिक स्थापना गर्न रू. १ करोड ५० लाख खर्च लाग्ने संस्थाले बताएको छ । प्रत्येक पोलिक्लिनिकमा सबै तहका गरी २० कर्मचारीको आवश्यकता पर्ने बताइएको छ । यी पोलिक्लिनिकमा स्वास्थ्य परीक्षण गर्दा प्रतिव्यक्ति कम्तीमा करीब ५० अमेरिकी डलर (रू. ३ हजार ६ सय) लाग्ने श्रेष्ठले बताए । यो परीक्षण अन्तरराष्ट्रियस्तरको हुने भएकाले केही महँगो देखिए पनि अन्य देशको तुलनामा कम नै भएको श्रेष्ठको भनाइ छ । हाल वैदेशिक रोजगारीमा जाने कामदारले स्वास्थ्य परीक्षण गर्दा पुरुषले रू. २ हजार र महिलाले रू. २ हजार १ सय ५० तिर्दै आएका छन् ।

मोरङमा सहकारी संस्थाहरूको लगानी डेढ अर्ब
केपी भट्टराई
पूरा आकारमा हेर्नुहोस्पुस ५, विराटनगर । मोरङ जिल्लामा सञ्चालित सहकारी संस्थाहरूले वार्षिक डेढ अर्ब रुपैयाँभन्दा बढी रकम आफ्ना सदस्यहरूमा ऋण लगानी गर्दै आएका छन् । डिभिजन सहकारी कार्यालय विराटनगरका अनुसार मोरङमा ६ सय ७७ सहकारी संस्थाहरू दर्ता सञ्चालनमा छन् । आर्थिक वर्ष२०६६/०६७ को अन्त्यसम्म ती संस्थाहरूको शेयर पूजी ४४ करोड २३ लाख रुपैयाँ र वार्षिक वचत सङ्कलन १ अर्ब ५ करोड २९ लाख रुपैयाँ रहेको छ । ऋण लगानी १ अर्ब ५२ करोड ५७ लाख र ऋण असुली १ अर्ब ३६ करोड ८३ लाख रुपैयाँ रहेको छ ।

जिल्लामा ५८ ओटा सुपथ मूल्यका सहकारी पसलहरू सञ्चालनमा रहेका छन् भने सहकारीमा जिल्लाको कूल जनसङ्ख्याको १२ प्रतिशत मानिस आबद्ध छन् । सहकारीमा आबद्धमध्ये ५३ हजार ४ सय पुरुष र ४६ हजार ३ सय जना महिला सदस्य छन् । तिनमा ७ सय जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

जिल्लामा ४ सय २३ ओटा वचत तथा ऋण सहकारी, १ सय ३२ बहुउद्देश्यीय सहकारी, ७५ कृषि सहकारी, ३१ दुग्ध सहकारी, ११ उपभोक्ता सहकारी र एउटा सञ्चार सहकारी तथा पाँचओटा अन्य छन् । सहकारी कार्यालय मोरङका अनुसार सहकारी ऐन २०४८ लागू हुँदा मोरङ जिल्लामा केवल १५ ओटा मात्र सहकारी संस्थाहरू थिए । २०५७ सालमा यो बढेर १ सय ६२ पुगेको थियो भने २०६७ मङ्सिरमसान्तसम्म यो सङ्ख्या ६ सय ७७ पुगेको छ । चालू आवको ५ महीनामा मात्र ४३ ओटा नयाँ सहकारी संस्था थप भएका छन् ।

मोरङका ६५ गाउँ विकास समिति र १ उपमहानगरपालिकामध्ये विराटनगर उपमहानगरपालिकाभित्र १ सय ३९ ओटा सहकारी संस्था सञ्चालित छन् । ६५ गाविसमध्ये इन्द्रपुरमा सबैभन्दा बढी ५८ ओटा रहेका छन् । पाटी, सिंहदेवी, वारङ्गी, रमिते खोला, भौडाहा, टकुवा, सिसवनी जहदा, नोचा र महादेवा गरी नौओटा गाविसमा १/१ ओटा मात्र सहकारी छन् । साथै अमाही वरयाती, पोखरिया, आमगाछी, कदमाहा र वरडङ्गा गाविसमा अहिलेसम्म एउटा पनि सहकारी संस्था नभएको डिभिजन सहकारी कार्यालय मोरङका अधिकृत अर्जुन निरौलाले जानकारी दिए ।

सहकारीहरू उद्योग र व्यापारमा
मोरङ जिल्लामा सञ्चालित सहकारी संस्थामध्ये राजघाट दुग्ध उत्पादक सहकारी संस्था र झोराहाट सहकारी संस्थाले दुग्धजन्य उद्योग तथा रञ्जनी कृषि सहकारी संस्था र प्रगतिशील मौरी पालन सहकारी संस्था दर्बेसाले मह उद्योग सञ्चालन गर्दै आएका छन् । विराटनगरको अरनिको बचत तथा ऋण सहकारी संस्थाले भने पेट्रोल पम्प सञ्चालन गरेको छ । दुग्ध उद्योग सञ्चालनका लागि प्रत्येकलाई २ लाख ५० हजार रुपैयाँ र मह उद्योगका लागि २ लाखको दरले सरकारले अनुदान दिएको सहकारी कार्यालयले बताएको छ ।

अनुदानमा ५८ सुपथ मूल्य पसल
सरकारी अनुदानमा मोरङमा सहकारी संस्थामार्फत ५८ ओटा सुपथ मूल्यका सहकारी पसल सञ्चालन भइरहेका छन् । प्रत्येक ३० हजार जनसङ्ख्यामा एउटा सुपथ मूल्यमा उपभोग्य सामग्री उपलब्ध गराउने पसल सञ्चालन गर्न सरकारले प्रत्येक पसललाई १/१ लाख रुपैयाँ अनुदान दिने नीतिअनुरूप विगत तीन वर्षेखि यस्ता पसलहरू सञ्चालन हुन थालेका हुन् । ती सुपथ मूल्यका पसलहरूमा स्थानीयवासीको लगानी २ करोड ५ लाख रुपैयाँ रहेको छ । सरकारले तोकेको मापदण्डअनुसार विराटनगर उपमहानगरपालिकामा सातओटा र ६५ गाविसहरूमा १/१ ओटा गरी जम्मा ७२ ओटा पसल सञ्चालन गरिनुपर्नेमा १४ ओटा गाविसमा हालसम्म पसल सञ्चालन हुन नसकेको अधिकृत निरौलाले बताए ।

महिलाको सहारा बन्दै छ भृकुटी सहकारी
पुस ५, दाङ (घोराही) (अस) । लालमटिया गाविस, वडा नं ९ की ३५ वर्षीया मीना कुमाललाई हिजोआज दिदीबहिनीसँग एकछिन बसेर दुःखसुखका कुराकानी गर्नसम्म फुर्सद छैन । कुखुरा र बङ्गुरको हेरचाह तथा कुखुराको दाना मिलको व्यवस्थापन गर्दागर्दै दिन बितेको पत्तै हुँदैन उनलाई । उनले भनिन्, 'हिजोआज त संस्थाको बैठकमा जानसम्म समय मिलाउन धौधौ पर्छ ।' उनी महिला विकास कार्यालयद्वारा लालमटिया गाविसमा सञ्चालित भृकुटी महिला विकास सहकारी संस्थाकी सदस्य हुन् । दश वर्षअघिसम्म हातमुख जोड्न हम्मेहम्मे पर्ने उनको जीवनमा यस्तो परिवर्तन सहकारी संस्थाले ल्याइदिएको हो ।

सहकारीबाट लिएको ऋणले विभिन्न किसिमका व्यवसाय सञ्चालन गरेपछि आफ्नो आर्थिक स्थितिमा सुधार आउनुका साथै छिमेकीले गर्ने व्यवहारमा समेत अकल्पनीय परिवर्तन देखा परेको उनी बताउँछिन् । विगत सम्झदै उनी भन्छिन्, 'पहिले त छिमेकीसँग
२/४ सय रुपैयाँ सापटी माग्दा पनि नानाथरी कुरा सुन्न पर्थ्यो तर अहिले लाखौंको कारोबार गर्नका लागि पनि कुनै समस्या छैन ।' विसं ०५२ मा रू. १० हजार लिएर कुखुरापालन शुरू गरेकी उनले त्यसबाट राम्रो आम्दानी भएपछि थप ऋण लिएर बङ्गुरपालन गर्नुका साथै कुखुराको दानामिल तथा खुद्रापसलसमेत सञ्चालन गरिन् । यस्ता व्यवसायको आम्दानीबाट उनको परिवार आत्मनिर्भर त बनेको छ नै, अन्य पाँच जनाले रोजगारीसमेत पाएका छन् ।

आत्मविश्वास र अवसरले मानिसलाई अघि बढ्न सहयोग गर्ने उनी बताउँछिन् । महिलाको क्षमतालाई अवमूल्यन गर्न नहुने र अवसर दिनुपर्नेमा उनको जोड छ । आफ्नो काममा श्रीमान् केवलबहादुर कुमालले पूर्ण सहयोग गर्दै आएको उनले बताइन् । उनले भनिन्, 'अहिले सबै व्यवसायबाट गरी वार्षिक रू. ३ लाख नाफा हुने गरेको छ ।' कुमाल परिवारले कुखुरा ओसारपोसारका लागि अहिले मोटरसाइकल र रिक्सासमेत किनेका छन् । लालमटिया-४ की ५५ वर्षीया पशुपति भुसालको पनि सहकारीमा आबद्ध भएपछि दिनचर्या नै फेरिएको छ । ८/९ वर्षअघि घरका लागि आवश्यक स-साना कुरा किन्न श्रीमान्सँग पैसा माग्नुपर्ने बाध्य उनी अहिले अहिले लाखौंको कारोबार गर्ने भएकी छन् । विसं २०५५ मा सोही सहकारीबाट लिएको रू. ८ हजारको लगानीमा व्यापार थालेकी उनको अहिले किराना, खाद्यान्न तथा फेन्सीका छुट्टाछुट्टै पसल छन् । पसल सञ्चालनका लागि उनलाई तीन जना छोराले सहयोग गर्दै आएका छन् । यी व्यवसायले अबको बाँकी जीवन सहज हुने बताउँदै उनले अभियानलाई भनिन्, 'सहकारीबाट ऋण लिएर शुरू गरेको व्यापार बुढेसकालको सहारा बनेको छ ।' मीना र पशुपतिमात्र नभई भृकुटी महिला विकास तथा ऋण सहकारी संस्थामा आबद्ध ४ सय ८३ शेयर सदस्यको आर्थिकस्तर अहिले सुदृढ बन्दै गएको संस्थाका अध्यक्ष हिमाली न्यौपानेले बताइन् ।
 
वि.सं. २०५२ मा महिला विकास कार्यालयले नारी दिवस मनाउनका लागि दिएको १ हजारबाट बचत शुरू गरी महिला समूहले २०५८ मा सो सहकारी दर्ता गरेका गरेको संस्थाकी सामाजिक परिचालक परमेश्वरी ज्ञवालीले जानकारी दिइन् । संस्थाको चुक्ता पूजी रू. २ लाख १९ हजार, बचत रू. २५ लाख ५४ हजार तथा लगानी रू. ५२ लाख ३३ हजार रहेको छ । भृकुटी महिला विकास तथा ऋण सहकारी संस्थाजस्तै महिला विकास कार्यालय, दाङअर्न्तर्गतका ३० सहकारी संस्था दर्ता भई सक्रिय रूपमा काम गरिरहेको सो कार्यालयले जानकारी दिएको छ ।

स्कोपको निक्षेप झण्डै ३० प्रतिशतले बढयो
पुस ५, काठमाडौं (अस)। आर्थिक वर्ष०६५/६६ को तुलनामा आव ०६६/६७ मा स्कोप सहकारी संस्थाको निक्षेप २८ दशमलव ९२ प्रतिशतले बढेको छ । आव ०६५/६६ मा कुल रू. १० करोड २८ लाख ९० हजार निक्षेप सङ्कलन गरेको स्कोपको निक्षेप आव ०६६/६७ मा बढेर रू. १३ करोड २६ लाख ४४ हजार पुगेको संस्थाका अध्यक्ष पूर्णराज शाक्यले बताए । करीब रू. १ करोड ४० हजार चुक्ता पूँजी रहेको सो सहकारीको गत आवको असारमसान्तमा लगानीमा रहेको रकम रू. १३ करोड ६० लाख थियो । संस्थाले आव ०६६/६७ को मुनाफाबाट सदस्यहरूलाई १५ प्रतिशतका दरले नगद लाभांशसमेत वितरण गरेको छ ।

स्कोप सहकारी २०५० सालमा  ललितपुर जिल्लाको ललितपुर उपमहानगरपालिका-१६ बालिफलमा स्थापना भएको हो । स्थापनाका समयमा २७ जना सदस्यले १ सयका दरले कुल रू. २ हजार ७ सय जम्मा गरेका थिए । हाल सदस्य सङ्ख्या बढेर १ हजार ७ सय पुगेको छ भने कुल पूजी करीब रू. १५ करोड पुगेको बताइएको छ । संस्थाले सहकारीहरूको तरलता व्यवस्थापन तथा अन्य विविध कार्यक्रम आयोजना गर्ने उद्देश्यले अन्तरसहकारी सुरक्षण कोष पनि गठन गरेको छ । सो कोषमा स्कोप सहकारी संस्थाका अतिरिक्त रत्नाकार साकोस, शाक्य पुचः साकोस, दीपावती साकोस, झी बहुउद्देश्यीय सहकारी संस्था गरी पाँच सहकारी संस्था आबद्ध छन् ।

संस्थाका सदस्यहरूलाई सहकारीसम्बन्धी जानकारी दिने उद्देश्यले संस्थाले सहकारीसम्बन्धी कक्षा पनि सञ्चालन गर्दैआएको छ । संस्थाले चालू आवमा सहकारीसम्बन्धी तालीमलाई निरन्तरता दिने, सदस्यहरूका लागि अध्ययन भम्रणको आयोजना गर्ने, खासगरी ज्येष्ठ नागरिक सदस्यहरूलाई लक्षित गरी आध्यात्मिक तथा सामाजिक सेवाका कार्यक्रम सञ्चालन गर्ने, सहकारी पुस्तकालय व्यवस्थित गर्ने, हस्तकला क्रेता विक्रेता कार्यक्रमलाई निरन्तरता दिनेलगायतका योजना र्सार्वजनिक गरेको छ । 'एकका लागि सबै र सबैका लागि एक' भन्ने सहकारीको मूल नारालाई आत्मसात् गर्दै स्थापनाकालदेखि नै सक्रिय रूपमा काम गरिरहेको यस सहकारीले चालू आवमा ललितपुर जिल्लाका सबै सहकारीसँगको समन्वयमा सहकारी महोत्सव गर्ने योजना पनि बनाएको छ । जिल्लाका सहकारी संस्थाहरूबीच आपसी समन्वयको विकास तथा सहकारीसम्बन्धी जनचेतना फैलाउने उद्देश्यले महोत्सव गर्न  लागेको बताइएको छ ।

संस्थाले नेपाल पर्यटन वर्ष२०११ मा नेपाल हस्तकला महासङ्घ, नेपाल पर्यटन बोर्ड, नेपाल उद्योग वाणिज्य महासङ्घलगायतका सङ्घसंस्थासँग मिलेर हस्तकला प्रवर्द्धनसम्बन्धी कार्यक्रम पनि गर्ने बताएको छ । नेपालमा उत्पादित हस्तकलासम्बन्धी सामग्रीहरूको अन्तरराष्ट्रिय जगत्मा प्रचारप्रसार गर्ने उद्देश्यले सो कार्यक्रम गर्न लागेको अध्यक्ष शाक्यले अभियानलाई बताए ।
 
पूर्णराज शाक्य अध्यक्ष रहेको सो संस्थाको उपाध्यक्ष अनिलवीर वज्राचार्य, सचिव बाबुराजा वज्राचार्य, सहसचिव यज्ञराज वज्राचार्य, कोषाध्यक्ष दीपकराज शाक्य र सहकोषाध्यक्ष कल्पना वज्राचार्य रहेका छन् । यस्तै सदस्यहरूमा चैत्यतारा शाक्य, प्रदीप शाक्य र विनोदरत्न वज्राचार्य छन् ।

पूर्णराज शाक्य
अध्यक्ष
स्कोप सहकारी संस्था
लिमिटेड,ललितपुर
संस्थाका दीर्घकालीन योजनाहरू के-के छन् ?
संस्थाले आगामी दिनमा लगानीको क्षेत्रमा विविधीकरण गर्ने योजना बनाएको छ । त्यसका लागि संस्थाले आन्तरिक अनुसन्धान गरिरहेको छ । अनुसन्धानका आधारमा उपयुक्त क्षेत्रमा लगानी विस्तार गरिनेछ । संस्थाको मुख्य उद्देश्य नै सदस्यहरूलाई आर्थिक रूपमा सक्षम बनाउने हो । त्यसैअर्न्तर्गत संस्थाका अधिकांश कार्यक्रम सञ्चालन भएका छन् ।

संस्थाका चुनौतीहरू के-के हुन् ?
स्कोप सहकारी ललितपुर जिल्लामै उत्कृष्ट र लोकप्रिय संस्था बन्न सफल भएको छ । तर, आजभोलि टोलटोलमा सहकारीहरू खुलेका छन् । यस्ता सहकारीहरूको स्थापनाले हाम्रो क्षेत्र साँघुरो भएको छ । धेरै सहकारी संस्थामाझ हाम्रो संस्थालाई अरूभन्दा भिन्न र उत्कृष्ट बनाउनुपर्ने र विगत १७ वर्षेखि कमाएको लोकप्रियतालाई जोगाउनुपर्ने चुनौती संस्थासँग रहेको छ ।
 
संस्थाका सम्भावनाहरू के-के छन् ?
संस्थाले स्थापनाकालदेखि नै ललितपुर जिल्लामा नामजस्तै राम्रो स्कोप बनाएको छ । भविष्यमा सहकारीको क्षेत्रमा नेपालकै उत्कृष्ट बन्ने सम्भावना हाम्रो संस्थाको छ । यसका लागि संस्थाले नयाँ-नयाँ कार्यक्रममार्फत सदस्यहरूलाई उत्कृष्ट सेवासुविधा प्रदान गर्न सक्नुपर्छ ।

हंस सहकारी पुनः सञ्चालनमा
पुस ५, चितवन । द्वन्द्वका कारण स्थापना भएको दुइ वर्षअछि नै बन्द हंस बहुउद्देश्यीय सहकारी संस्था सोमवारदेखि पुनः सञ्चालनमा आएको छ । विसं २०५६ चैत २० मा नारायणगढमा स्थापना भएको  सो सहकारी केही व्यवसायी र समाजसेवीको संयुक्त पहलमा पुनः सञ्चालन गरिएको संस्थाका कार्यकारी अध्यक्ष दिनेशकुमार चुकेले जानकारी दिए । उनले भने, 'छरिएर रहेका पूँजीलाई जम्मा गरेर हामी विभिन्न क्षेत्रमा लगानी गर्नेछौं ।' रू. २ करोड ५० लाख शेयर पूँजी रहेको सो सहकारीको पुनः उद्घाटन गरिएको दिन मात्र बचत तथा मुद्दती खातामा ५ करोडभन्दा बढी रकम जम्मा भएको सहकारीले दाबी गरेको छ । संस्थाले महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई बचत गर्न प्रोत्साहन गर्दै उच्च ब्याजदर प्रदान गर्ने पनि चुकेले बताए ।

सो संस्थाले चितवनको व्यवस्थित भविष्यका लागि तयार पारिएका गुरुयोजनाअनुरूप शहरी क्षेत्र तथा बसोबास क्षेत्रमा व्यवस्थित प्लटिङ र आवास निर्माण गर्ने, कृषि, पोल्ट्री, माछापालन, केराखेती, सामूहिक लघु उद्योग, पहाडमा सुन्तला खेती गर्नका लागि विशेष लगानी गरी आर्थिक क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने पनि बताइएको छ । त्यसैगरी संस्थाको नाफाबाट सहकारी विकास कोषको माध्यमद्वारा चितवन जिल्लाको पूर्वाधार विकास गर्न हरियाली पार्क, खानेपानी, लघु जलविद्युत् तथा अन्य सामाजिक कार्यमा लगानी गर्ने कार्यकारी अध्यक्ष चुकेले जानकारी दिए । सहकारीले बैङ्कले दिने विभिन्न सुविधा पनि दिने बताएको छ ।

सहकारीको प्रमुख जिल्ला अधिकारी वसन्तराज गौतमले उद्घाटन गरेका थिए । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य रमेशकुमार पिया, कुखुरा व्यवसायी गुणचन्द्र बिष्ट, सहकारी डिभिजन कार्यालयका प्रमुख बलराम निरौला, हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका उपाध्यक्ष बाबुराम अधिकारी, दीपज्योति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तेजेन्द्र खड्कालगायतले चितवनलाई सहकारीग्रामका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका थिए ।