सहकारीद्वारा सिँचाइ योजना निर्माण
पवन पौडेल
असार ६, जामुने (तनहुँ) । तनहुँको जामुनेस्थित नारायण कृषि सहकारी संस्थाले सिँचाइ आयोजना सम्पन्न गरेको छ । करीब रू. ३ लाख ३२ हजारको लागतमा ४५ हजार लिटर क्षमताको टयाङ्कीसहित सिँचाइ पोखरी निर्माण गरिएको संस्थाका अध्यक्ष एवम् निर्माण उपभोक्ता समितिका संयोजक नवराज घिमिरेले जानकारी दिए ।
जिल्ला कृषि विकास कार्यालय, तनहुँको सहकारी सिँचाइ कार्यक्रमअन्तर्गत रू. १ लाख ४२ हजार र बाँकी रकम संस्थाका प्रत्येक सदस्यको घरपरिवारबाट रू. ५ हजारका दरले सङ्कलन गरिएको संस्थाले जानकारी दिएको छ । आयोजनाबाट जामुने गाविसको १४ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको घिमिरेले जानकारी दिए । यसअघि सिँचाइ सुविधा नपुगेका कारण सो क्षेत्रका जग्गा बाँझै रहेका थिए । सिँचाइ सुविधा पुगेपछि यसै वर्षबाट बेमौसमी तरकारी खेती शुरू गर्न लागिएको घिमिरेले बताए ।
आयोजनामा केही पर रहेको पानीको स्रोतबाट दुईओटा मोटर लगाएर पानी तानी टयाङ्कीमार्फत वितरण गर्ने प्रबन्ध मिलाइएको छ । पानी तान्दा लाग्ने विद्युत् खर्च प्रतिघण्टा सिँचाइ गरेबापत १० रुपैयाँ शुल्क लिएर पूर्ति गरिने सहकारीले जानकारी दिएको छ । आयोजनामा अझै विद्युत् लाइन जोडिएको छैन । 'प्राधिकरणबाट विद्युत् जोड्ने सिफारिश पाउनासाथ सिँचाइ कार्य शुरू हुन्छ,' घिमिरेले भने । सो क्षेत्रको बाँझो जमीनमा विभिन्न किसिमका घाँस लगाएर तरकारी खेतीसँगै पशुपालन पनि अघि बढाइने घिमिरेले बताए ।
सहकारीलाई नियामक निकाय चाहिँदैन
असार ६, काठमाडौं (अस)। चालू आर्थिक वर्षको जेठ मसान्तसम्म प्रतिभा बचत तथा ऋण सहकारी संस्थाको चुक्ता पूँजी रू. ५७ लाख १६ हजार पुगेको छ । गत आवको सोही अवधिमा संस्थाको चुक्ता पूँजी रू. ४४ लाख रहेको थियो । यसैगरी, गत आवको जेठ मसान्तको तुलनामा चालू आवको सोही अवधिमा संस्थाको निक्षेप करीब रू. २८ लाख र कर्जाप्रवाह करीब रू. १० लाख बढेको छ ।
प्रतिभा बचत तथा ऋण सहकारी संस्था विसं २०६३ मा ललितपुरको इमाडोलमा स्थापना भएको हो । शुरूमा २७ जना सदस्य प्रत्येकको रू. ५ हजारबाट सञ्चालन भएको सो संस्थामा हाल सदस्यसङ्ख्या ७ सय ४६ र कुल कारोबार (पूँजी तथा दायित्व) करीब रू.४ करोड पुगेको छ । संस्थाको कार्यक्षेत्र ललितपुर उपमहानगरपालिकाको १५ र १६ वडा र चापागाउँ, धापाखेल र इमाडोल गाविस रहेको संस्थाले जानकारी दिएको छ ।
संस्थाले हालसम्म नेपाल केन्द्रीय बचत तथा ऋण सहकारी सङ्घ (नेफ्स्कुन), ललितपुर जिल्ला सहकारी सङ्घ, ललितपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घ, राष्ट्रिय सहकारी बैङ्कलगायत सङ्घसंस्थामा करीब रू. ३५ हजारबराबरको शेयर लगानी गरेको छ । संस्थाले साधारण, मुद्दती र ज्येष्ठ नागरिक गरी तीन किसिमका बचत कार्यक्रम सञ्चालन गर्दै आएको छ । ती बचत कार्यक्रममा संस्थाले वार्षिक १२ देखि १३ प्रतिशतसम्म ब्याज दिँदै आएको छ । चालू आवको जेठ मसान्तसम्म संस्थाको निक्षेप रू. २ करोड २८ लाख पुगेको छ । यसैगरी, संस्थाले हायरपर्चेज, व्यापारिक, शैक्षिक र कृषि गरी चार किसिमका कर्जा कार्यक्रम सञ्चालन गर्दै आएको छ । ती कर्जा कार्यक्रममा संस्थाले वार्षिक १८ प्रतिशत ब्याज लिने गरेको छ । संस्थाको कुल कर्जाको करीब ३५ प्रतिशत व्यापार कर्जामा प्रवाह गरिएको संस्थाका अध्यक्ष रामहरि शर्मा बजगाइंले अभियानलाई जानकारी दिए । साथै, संस्थाले रू. १ लाखभन्दा थोरै कर्जा जमानीमा र रू.१ लाखभन्दा बढी कर्जा धितोमा प्रदान गर्दै आएको पनि बताएको छ ।
संस्थाले स्थापनाकालदेखि नै आफ्ना शेयर सदस्यहरूलाई वार्षिक १४ देखि १५ प्रतिशतसम्म लाभांश वितरण गर्दै आएको छ । स्थापनाकालदेखि नै सामाजिक सेवामा सहभागी हुँदै आएको सो संस्थाले चालू आवमा रक्तदान कार्यक्रम, नि:शुल्क स्वास्थ्य शिविर र विरामी तथा अनाथहरूलाई फलफूल वितरण गरेको थियो । संस्थाद्वारा आयोजित नि:शुल्क स्वास्थ्य शिविर किष्ट मेडिकल कलेजसँग संयुक्त रूपमा गरिएको संस्थाले बताएको छ । साथै किष्ट मेडिकल कलेजले संस्थाका सदस्यहरूको उपचार तथा औषधि खर्चमा औसतमा १४ देखि १५ प्रतिशतसम्म छूट दिएको पनि संस्थाले जानकारी दिएको छ ।
रामहरि शर्मा बजगार्इं अध्यक्ष रहेको सो संस्थामा उपाध्यक्ष रेवतीप्रसाद घिमिरे, सचिव बेनप्रसाद तिमल्सिना र कोषाध्यक्ष माधवप्रसाद घिमिरे रहेका छन् । यसैगरी, सदस्यमा क्षिरिङ लामा, बिन्दुमाया लामा, दिव्येश्वरी बजगाइं, बलबहादुर केसी र ध्रुवप्रसाद सापकोटा रहेका छन् ।
रामहरि शर्मा बजगाइं (नारायण)
अध्यक्ष
प्रतिभा बचत तथा ऋण सहकारी संस्था, ललितपुर
आफ्नो संस्थालाई कसरी चिनाउनुहुन्छ ?
प्रतिभा बचत तथा ऋण सहकारी संस्था सदस्यको आर्थिक तथा सामाजिक विकास गर्ने उद्देश्यले स्थापित संस्था हो । संस्थामा प्रत्येक सदस्यलाई समान अधिकार र पहुँच प्रदान गरिएको छ । हामीले सदस्यहरूलाई चुरोट, सुर्ती र खैनी खाने पैसाबाट बचत गरी दैनिक रू. १० का दरले संस्थामा जम्मा गर्न आग्रह गरेका छौं । सञ्चालकहरूले संस्थाबाट कुनै पनि शीर्षकमा कर्जा लिन नपाउने व्यवस्था गरिएको छ । यो संस्था सदस्यहरूको कल्याणका लागि सहकारी ऐन तथा मापदण्डअनुरूप सञ्चालन भएको छ ।
सहकारी क्षेत्रमा देखिएको विकृति कम गर्न के गर्नुपर्ला ?
सहकारी आफैमा स्वनियन्त्रित संस्था हो । सहकारीलाई नियामक निकाय नै चाहिँदैन । सहकारीका मूल्य र मान्यताअनुरूप सञ्चालन भई सदस्यहरूबीच पारदर्शी र समान सहभागिता हुने हो भने नियमनको आवश्यकता पर्दैन । सहकारी ऐनअनुसार काम नगर्ने र सदस्यहरूबीच पक्षपातपूर्ण व्यवहार गर्दै जाने हो भने यो क्षेत्रको विकृति हट्न सक्दैन । अहिले कतिपय बचत तथा ऋण सहकारी संस्थाहरू बैङ्क तथा वित्तीय संस्थाका रूपमा सञ्चालन भएका छन् । ती संस्थाहरूमा सदस्य र संस्थाबीचको सम्बन्ध बैङ्क र खातावालाको जस्तै भएको देखिन्छ । यो सहकारी ऐन तथा मापदण्डविपरीत हो ।
संस्थाको दीर्घकालीन उद्देश्य बताइदिनुस् न ।
संस्थाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । आगामी दिनमा कृषिक्षेत्रमा लगानी गर्ने योजना बनाएको छ । बेमौसमी तरकारी खेती, पशुपालन तथा नगदे बाली हाम्रो लगानीका क्षेत्र हुनेछन् ।
२५ प्रतिशत सहकारीले मात्र वित्तीय प्रतिवेदन बुझाए
असार ६, सिन्धुली (अस) । चालू आर्थिक वर्षमा सिन्धुली जिल्लाका २५ प्रतिशत सहकारीले मात्र वित्तीय प्रतिवेदन बुझाएका छन् । सहकारी संस्थाहरूले मासिक रूपमा आफ्नो प्रगति प्रतिवेदन बुझाउनुपर्ने भए पनि ७५ प्रतिशत सहकारी संस्थाले वार्षिक प्रतिवेदन तथा लेखापरीक्षण प्रतिवेदन नबुझाएको डिभिजन सहकारी कार्यालय, धनुषाले बताएको छ । सो कार्यालयका अनुसार सिन्धुलीका २ सय ७६ सहकारीमध्ये २ सय ७ सहकारीले वित्तीय विवरण तथा लेखापरीक्षण प्रतिवेदन बुझाएका छैनन् । प्रतिवेदन नबुझाउनेमा अधिकांश कृषि, बचत तथा ऋण सहकारी र तरकारी तथा फलफूल सहकारी संस्था रहेको कार्यालयका डिभिजन प्रमुख परमेश्वर यादवले जानकारी दिए । 'ती सहकारी संस्थाले चालू आर्थिक वर्षको ११ महीना बितिसक्दा पनि कुनै प्रतिवेदन बुझाएका छैनन्', डिभिजन प्रमुख यादवले भने, 'कतिपयले त स्थापनाकालदेखि नै कुनै जानकारी दिएका छैनन् ।’
सहकारी ऐन २०४८ अनुसार प्रत्येक सहकारी संस्थाले मासिक वित्तीय प्रतिवेदन तथा कारोबार विवरणको जानकारी सम्बन्धित डिभिजन सहकारी कार्यालयलाई बुझाउनुपर्छ । प्रतिवेदन नबुझाउने सहकारी संस्थालाई पटकपटक भन्दा पनि हालसम्म कुनै प्रतिवेदन नबुझाएको सो कार्यालयका सहकारी निरीक्षक बिल्टु महतोले बताए । आफूले निरीक्षणका क्रममा धेरैजसो सहकारीले लेखापरीक्षण नगराई कारोबार गरेको र प्रतिवेदन पनि तयार नगरेको पाएपछि प्रतिवेदन तयार गर्न सुझाव दिएको उनले जानकारी दिए । 'त्यस्ता सहकारी संस्थालाई गतिविधिबारे जानकारी गराउन पत्राचार गरिसकेको भए पनि कुनै जानकारी आएको छैन,’ डिभिजन प्रमुख यादवले भने । सहकारीभित्रैको कारोबार राम्रो भए पनि सहकारी ऐन तथा नीतिअनुरूप भने जिल्लाका सहकारीहरू चल्न नसकेको उनको भनाइ छ ।
जिल्लाका केही सहकारी संस्था दर्ता भए पनि धेरैजसो प्यानमा दर्ता छैनन् । सहकारी संस्थाहरूले कारोबारको भ्याट तिर्नुपर्ने भए पनि कतिपयले लेखापरीक्षण नगरेको पाइएको जिल्ला सहकारी सङ्घ, सिन्धुलीका अध्यक्ष कृष्णराज केसीले जानकारी दिए । उनले भने, 'हामीले पनि प्रगति प्रतिवेदन उपलब्ध गराउन भनेका छौं । यसले सहकारीको अवस्थाका बारेमा मूल्याङ्कन गर्नसमेत सहयोग पुग्ने थियो ।’ सहकारी ऐन २०४८ अनुसार लगातार २ वर्षम्म वार्षिक प्रतिवेदन नबुझाउने सहकारी संस्थालाई खारेज गर्ने तथा सहकारी ऐन उल्लङ्घन गर्ने सहकारी संस्थालाई १ हजार ५ सय रुपैयाँसम्म जरीवाना गर्न सकिने व्यवस्था छ ।
Admin 2011-06-21