शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

५२ प्रतिशत सहकारी संस्थाले वार्षिक प्रतिवेदन बुझाएनन्
चैत ७, इटहरी (अस)। सुनसरी जिल्लामा सञ्चालित सहकारी संस्थामध्ये ५२ प्रतिशतले गत आर्थिक वर्षको कारोबारको वार्षिक प्रतिवेदन सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय, सुनसरीमा बुझाएका छैनन् । त्यस्तै चालू आवको ८ महीना बितिसक्दा पनि आधाभन्दा बढी सहकारीले वार्षिक साधारणसभा पनि नगरेका सो कार्यालयले बताएको छ । कार्यालय प्रमुख उपेन्द्रबहादुर ढुङ्गानाले भने, 'कतिपय सहकारीले साधारणसभा गर्न र प्रतिवेदन बुझाउन नै अटेर गर्ने गरेका छन् ।’ उनले इटहरीको सामुदायिक स्वास्थ्य सहकारी, स्वाधीन सञ्चार सहकारी, धरानको औजार प्रकाशन सहकारीलगायतले २ वर्षअघिदेखि नै साधारणसभा, वार्षिक प्रतिवेदन र लेखा परीक्षण प्रतिवेदन नबुझाएको बताए । सहकारी ऐनमा आव सकिएको ६ महीनाभित्र साधारणसभा सम्पन्न गर्नुपर्ने र सहकारी नियमावलीमा आव सकिएको ३ महीनाभित्र वार्षिक प्रतिवेदन अनिवार्य पेश गर्नुपर्ने स्पष्ट व्यवस्था छ । ढुङ्गानाले त्यस्तो व्यवस्था हुँदाहुँदै पनि अधिकांश सहकारी संस्था र सङ्घहरूले प्रतिवेदन बुझाएका छैनन् । उनले यस वर्ष साधारणसभा नगर्ने र प्रतिवेदन नबुझाउने संस्थाहरूलाई कारबाहीका लागि आवश्यक प्रक्रिया थालिसकिएको जानकारी पनि दिए ।

सहकारी डिभिजन कार्यालयमा गत आवसम्ममा दर्ता भएका सहकारी संस्थाहरूको सङ्ख्या ३ सय ५० र सङ्घ ५ ओटा रहेका छन् । तीमध्ये हालसम्म २ सय ४५ संस्थाले मात्र वार्षिक साधारणसभा गरेको बताइएको छ । वार्षिक साधारणसभा गरेको जानकारी दिने संस्थाहरूले मात्र वार्षिक कारोबारको प्रतिवेदन र लेखा परीक्षण प्रतिवेदन बुझाएका छन् । सहकारी ऐनमा प्रतिवेदन समयमा पेश नगर्ने वा जानकारी नदिने संस्था वा सङ्घलाई रू. १ हजार ५ सयसम्म जरीवाना हुने उल्लेख छ । कार्यालय प्रमुख ढुङ्गाना विवरण नबुझाएकोमा जरीवाना तिर्न तयार हुने तर विवरण भने नबुझाई अटेर गरिरहने प्रवृत्ति सहकारी सञ्चालकहरूमा रहेको बताउँछन् ।

गत वर्षसमयमा लेखा परीक्षक नियुक्ति नगर्ने र प्रतिवेदन नबुझाउने इटहरीको सेवा बचत तथा ऋण सहकारी संस्था, धरानको विजयपुर बचत तथा ऋण सहकारी संस्था, हाँसपोसाको शान्ति जनकल्याण सहकारी संस्था, पाँचकन्याको साना किसान कृषि सहकारी संस्था, धरानको चेतना बचत तथा ऋण सहकारी संस्था, महेन्द्रनगरको बहुमुखी कृषि सहकारी संस्थासहित ३८ ओटा सहकारी संस्थालाई कारबाही गरिएको सो कार्यालयले जानकारी दिएको छ । तीन नगरपालिका र ४९ गाविस रहेको सुनसरी जिल्लामा गत फागुनसम्ममा दर्ता भएका सहकारी संस्थाको सङ्ख्या ४ सय पुगेको छ । जिल्लाका जल्पापुर र घुस्कीबाहेक सबै गाविसमा सहकारी संस्था दर्ता भएको सो कार्यालयले बताएको छ ।

शाखा विस्तार गर्दै राष्ट्रिय सहकारी बैङ्क
चैत ८, काठमाडौं (अस)। यही चैत महीनामा राष्ट्रिय सहकारी बैङ्कले काठमाडौँ उपत्यकामा थप तीन शाखा सञ्चालन गर्ने भएको छ । सहकारी सङ्घसंस्थाको माग बमोजिम शाखा विस्तार गर्न लागेको बैङ्कका प्रबन्ध निर्देशक केबी उप्रेतीले अभियानलाई बताए । उपत्यकाका तीन ठाउँमा शाखा विस्तारका लागि पूर्वाधार निर्माण कार्य सम्पन्न भइसकेको उनको भनाइ थियो । बैङ्कले काठमाडौंको कलङ्कीमा यही चैत ९ गते, न्यूरोडमा १० गते र चावहिलमा १४ गतेदेखि शाखाबाट सेवा शुरू गर्ने जानकारी दिएको छ ।

विसं. २०६१ मा राष्ट्रिय सहकारी बैङ्कको स्थापना भएको हो । हाल  बैङ्कमा करीब २ हजार ७ सय सहकारी सङ्घसंस्था आबद्ध रहेका छन् । नेपालका ६४ जिल्लामा बैङ्कको सञ्जाल विस्तार भएको छ । हाल बैङ्कले झापा, मोरङ, सुनसरी, दोलखा, मकवानपुर, ललितपुर, काभ्रे, काठमाडौं, कास्की, स्याङ्जा, बाग्लुङ, रूपन्देही, तनहुँ, सुर्खेत र दाङ गरी  १५ जिल्लामा १९ शाखामार्फत सेवा प्रदान गर्दै आएको छ । चालू आवमा शाखा सङ्ख्या थप गरी ४० पुर्याउने लक्ष्य बैङ्कले लिएको छ ।  

चालू आवको फागुनमसान्तसम्म बैङ्कको कुल पूँजी तथा दायित्व करीब रू. १ अर्बभन्दा बढी छ । वर्तमान चुक्ता पूँजी करीब रू. १६ करोड रहेको सो बैङ्कले विसं. २०७१ सालसम्ममा चुक्ता पूँजी बढाएर ६४ करोड पुर्याउने लक्ष्य लिएको छ । चालू आवको फागुनमसान्तसम्मा बैङ्कको लगानी र निक्षेप क्रमशः रू. ८० करोड र रू. ८५ करोड रहेको छ ।  हाल बैङ्कअन्तर्गतका कार्यालायहरूमा करीब ८० जना कर्मचारी कार्यरत रहेका छन् ।

५४ औं सहकारी दिवसको तयारी
चैत ७, काठमाडौं (अस)। काठमाडौं जिल्ला सहकारी सङ्घले ५४ औं राष्ट्रिय सहकारी दिवसको तयारी गरेको छ । सङ्घको आइतवार काठमाडौंमा सम्पन्न बैठकले अध्यक्ष केबी उप्रतीको संयोजकत्वमा मूल समारोह समिति गठन गरेपछि तयारीको औपचारिक शुरुआत भएको हो । मूल समारोह समितिमा २ सय ५१ सदस्य रहेका छन् । विगतका सहकारी दिवसका तुलनामा ५४ औं सहकारी दिवस भव्य रूपमा मनाइने मूल समारोह समितिका संयोजक उप्रेतीले अभियानलाई बताए । नेपालमा प्रत्येक वर्षको चैत २० गते राष्ट्रिय सहकारी दिवस मनाइँदै आइएको छ ।

'हाल सहकारी क्षेत्रमा धेरै उन्नति भएको छ, त्यसैले पनि यो दिवस पहिलेका भन्दा धेरै भव्य हुनेछ,' उप्रेतीले भने । दिवसमा विभिन्न किसिमका जातजाति र संस्कृतिका झाँकी, सांस्कृतिक तथा रक्तदानलगायत कार्यक्रम गरिने उनको भनाइ थियो । दिवसमा करीब रू. ५ लाख खर्च हुने उप्रेतीले जानकारी दिए ।   

बैठकले ३३ सदस्यीय सचिवालय समिति र ६ सदस्यीय उपसमिति गठन गरेको छ । गठित उपसमितिहरूमा आर्थिक, अतिथि संस्कार तथा मञ्च व्यवस्थापन, सूचना सञ्चार तथा प्रचारप्रसार, स्वयम्सेवक तथा र्याली व्यवस्थापन, अनुगमन मूल्याङ्कन तथा पुरस्कार छनौट र स्वास्थ्य उपचार रहेका छन् ।

सङ्घले ५४ औं सहकारी दिवस साताव्यापी रूपमा मनाउने तय गरेको छ । कार्यक्रमअनुसार चैत्र १५ गते पत्रकार सम्मेलन गरी दिवसको औपचारिक शुरुआत गरिनेछ । १६ देखि १८ गतेसम्म सहकारीको राष्ट्रिय अन्तरक्रिया गोष्ठीमा सहभागी हुने, १९ गते मोटरसाइकल र्याली तथा रक्तदान कार्यक्रम सञ्चालन गर्ने र २० गते दिवसको समापन  कार्यक्रम गरिने बताइएको छ । कार्यक्रममा करीब ५० हजारको उपस्थिति रहने सङ्घले जानकारी दिएको छ ।

यसैगरी नेपालका सबै जिल्लामा ५४ औं सहकारी दिवसको तयारी भएको छ । जिल्ला सहकारी सङ्घ भएका जिल्लामा तिनीहरूमार्फत र नभएका जिल्लाहरूमा विषयगत सङ्घसंस्थामार्फत दिवसको औपचारिक शुरुआत भएको हो ।

डिपार्टमेण्ट स्टोर विस्तार गर्दै सङ्कटा

चैत ७, काठमाडौं (अस)। विसं. २०६७ पुसमसान्तसम्म सङ्कटा बचत तथा ऋण सहकारी संस्थाको कुल पूँजी तथा दायित्व करीब रू. ५२ करोड पुगेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा करीब ४ करोड रुपैयाँले बढी हो । गत वर्षको सोही अवधिमा संस्थाको कुल पूँजी तथा दायित्व करीब ४८ करोड रहको थियो ।

सङ्कटा बचत तथा ऋण सहकारी संस्था १० वर्षअधि काठमाडौंमा स्थापना भएको हो । ३१ जना सदस्यको रू. ६ लाख २० हजार शेयर पूँजीबाट शुरू भएको सो संस्थामा हाल ८ सय ६८ सदस्य र रू. ३ करोड ६० लाख चुक्ता पूँजी रहेको छ ।

संस्थाले बचत हिसाव, मासिक बचत हिसाव, मुद्दती हिसाव, क्रमिक मुद्दती हिसाव, विशेष बचत हिसाव र बचत हिसावको कर्जा गरी ६ किसिमका कार्यक्रम सञ्चालन गरेको छ । यी कार्यक्रममा संस्थाले वार्षिक १४ देखि १५ प्रतिशत ब्याज लिँदै आएको छ । चालू आवको पुसमसान्तसम्म संस्थाको निक्षेप करीब रू. ४६ करोड रहेको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा करीब रू. ८ कारोडले बढी हो । अघिल्लो आवको पुस मसान्तमा संस्थाको निक्षेप रू. ३६ करोड रहेको संस्थाको प्रबन्ध सञ्चालक विन्देश्वर श्रेष्ठले जानकारी दिए ।

यसैगरी संस्थाले व्यावसायिक कर्जा, हायर पर्चेज कर्जा, आवास निर्माण कर्जा, सामूहिक जमानी कर्जा, मुद्दती निक्षेप रसिद धितोमा कर्जा र अन्य कर्जा गरी पाँच किसिमका कर्जा कार्यक्रम सञ्चालन गर्दै आएको छ । चालू आवको पुसमसान्तसम्म संस्थाको लगानी करीब रू. ४८ करोड पुगेको छ । यो गत आवको पुसमसान्तको तुलनामा करीब  रू. १९ करोडले बढी हो । गत आवको सोही अवधिमा संस्थाकोे लगानी करीब रू.२९ करोड रहेको थियो ।

संस्थाले सम्झना बहुमुखी सहकारी संस्था, राष्ट्रिय सहकारी बैङ्क, रिलायबल सहकारी संस्था, रोयल सहकारी संस्था, सहकारी सेवा सुरक्षण कोष, नेशनल डेभलभमेण्ट सहकारी संस्था, आर्वन को-अपरेटिभलगायत सङ्घसंस्थामा शेयर लगानी गरेको छ । यसैगरी गोलबल सेभिङ एण्ड इन्भेष्टमेण्ट, रिलायवल सहकारी संस्था, रोयल कोअपरेटिभ र आर्वन कोअपरेटिभलयागत सङ्घसंस्थामा मुद्दती  निक्षेपमा लगानी गरेको छ । चालू आवको पुसमसान्तसम्म विभिन्न सङ्घसंस्थको मुद्दती र शेयरमा गरी रू. १ करोड ३९ लाख ७० हजार लगानी गरेको छ ।

२०६५ सालमा संस्थाले काठमाडौंको न्यूरोड स्थित एङ्गाल- २१ मा करीब ९७ लाखको लागतमा जग्गा खरीद गरेको थियो । २०६५ सालमा संस्थाले सो जग्गामा  करीब रू.१ करोड ७५ लाखको लागतमा पाँचतले पक्की भवन निर्माण गरेको बताएको छ ।

२०६७ साल असोजदेखि संस्थाले आफ्नै भवनमा कोअपरेटिभ डिपार्टमेण्ट स्टोर (को-अप) सञ्चालन गर्दै आएको छ । करीब रू. ५० लाखको लागतमा सञ्चालित सो स्टोरको लगानी हाल रू. १ करोड पुगेको संस्थाले जानकारी दिएको छ ।  स्टोरबाट सबै उपभोक्ताले सुपथ मूल्यमा वस्तु तथा सेवा पाइरहेका छन् । यसैगरी संस्थाले गत कार्तिकदेखि 'रेडियो उपत्यका ८७ दशमलब ६ मेगाहर्ज' मा पनि  रू.१५ लाख लगानी गरेको छ । संस्था स्थापना कालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्वका क्षेत्रमा सहभागी हुँदै आएको छ । आगामी दिनमा पनि त्यस्ता कार्यक्रममा सहभागी हुने योजना रहको संस्थाले बताएको छ ।  

ईश्वरमान तुलाधर अध्यक्ष रहेको संस्थामा सचिव तथा प्रबन्ध सञ्चालक विन्देश्वरमान श्रेष्ठ छन् । यसैगरी सदस्यमा माधवलाल जोशी, उत्तमबहादुर सिंह, कैलाशप्रसाद श्रेष्ठ रहेका छन् । संस्थाले दिव्येश्वरप्रसाद श्रेष्ठको संयोजकत्वमा लेखासमिति र प्रवीणमान सिंहको संयोजकत्वमा ऋण उपसमिति पनि गठन गरेको छ ।

विन्देश्वर श्रेष्ठ

सचिव (प्रबन्ध सञ्चालक)
सङ्कटा बचत तथा ऋण सहकारी संस्था, काठमाडौं


सङ्कटा सहकारीलाई कसरी चिनाउनुहुन्छ ?
सङ्कटा बचत तथा ऋण सहकारी संस्था हो । विगत १० वर्षदेखि सङ्कटा सहकारी लगातार सदस्यहरूको आर्थिक तथा सामाजिक विकासमा लागेको छ । थोरै नाफामा सदस्यहरूलाई धेरै सेवा सुविधा प्रदान गर्नु नै हाम्रो मुख्य उद्देश्य हो । त्यसैले यो संस्था सदस्यहरूको इच्छा र चाहनालाई नै प्रमुख प्राथमिकता दिई सञ्चालन भएको जनताको सहकारी हो ।

एक दशकको अवस्थामा संस्थाले भोगेको समस्याहरू के-के हुन् ?

संस्थाले त्यस्तो ठूलो समस्या भोगेको छैन । स्थापना कालदेखि नै सदस्यहरूको बलियो साथ पाउँदै आएको छ । त्यसैले पनि यो अवस्थमा आइपुग्दा  संस्थाले ठूलो गुडविल (नाम)  प्राप्त गरेको छ । यो नै हाम्रो ठूलो उपलब्धि हो ।

संस्थाका दीर्घकालीन योजना बताइदिनुस् न ।

संस्थाले सञ्चालन गरेको डिपार्टमेण्ट स्टोरलाई अन्य सहकारी सङ्घसंस्थमा पनि सञ्चालन गर्ने  हाम्रो योजना छ । यसका लागि विभिन्न सहकारी सङ्घसंस्थासँग छलफल भइरहेको छ । यस्ता डिपार्टमेण्ट स्टोर सञ्चालन गर्दा सम्पत्ति तथा लगानी सबै सम्बन्धित सङ्घसंस्थाकै हुनेछ । यसमा सङ्कटाले डिलर अथवा थोक विक्रेताबाट सस्तो मूल्यमा सामान आपूर्ति गरी डिपार्टमेण्ट स्टोरमा खरीद मूल्यमै आपूर्ति मात्र गर्नेछ ।

सहकारी क्षेत्रमा भएको विकृति रोक्न के गर्नुपर्ला ?

सहकारी ऐन २०४८ नै परिर्वतन गर्नुपर्छ । यो ऐनले सहकारी क्षेत्रमा देखिएको विकृति तथा समस्या समाधान गर्न सक्दैन । यसले सहकारीहरूलाई अनावश्यक  झन्झट मात्र दिएको । ऐनमा समय सुहाउँदो परिमार्जन नगरिए सहकारी क्षेत्रको विकृति रोक्न सकिँदैन ।

महिलाद्वारा सहकारीलाई कर छूटको व्यवस्था

चैत ७, काठमाडौं (अस) । सरकारले आगामी बजेटमा महिलाद्वारा सञ्चालित सबै सहकारी संस्थालाई पूर्णरूपमा कर छूटको व्यवस्था गर्ने भएको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री भरतमोहन अधिकारीले १ सय १ औँ अन्तरराष्ट्रिय नारी दिवसका अवसरमा आयोजित विशेष कार्यक्रममा सो जानकारी दिएका हुन् । उनले महिलासम्बन्धी सहकारी संस्थाको आत्मनिर्भरता र स्तरोन्नतिका लागि कर छूटको व्यवस्था गर्न लागिएको स्पष्ट पारे । सहकारी सङ्घसंस्थालाई बलियो बनाउन सहकारी आन्दोलनमा लागेका अग्रजहरूको भावना र सुझावलाई समेटेर सरकारले बजेट तयारी गर्ने अर्थमन्त्री अधिकारीको भनाइ थियो । उनले भने, 'मुलुकको सहकारी क्षेत्रले आमजनताको आर्थिक उन्नति र विकासका लागि ठोस नीति अख्तियार गरी अगाडि बढ्नुपर्छ ।’

सहकारी सङ्घ लिमिटेडका पूर्वअध्यक्ष दीपकप्रसाद बाँस्कोटाले महिलाको समग्र उत्थान र विकासका लागि प्राथमिक तहमै महिला सहकारीसम्बन्धी पाठ्यक्रम विकास गरिनुपर्नेमा जोड दिए । सङ्घका कार्यकारी अध्यक्ष केशवप्रसाद बडालले सहकारी क्षेत्रमा लागेका महिलालाई लक्षित गरेर सरकारले कार्यक्रम ल्याउनुपर्ने बताए ।

Admin 2011-03-22