पाँचथरमा लघु जलविद्युत् सहकारी
असोज ९, काठमाडौं (अस)। पाँचथर जिल्लामा पहिलोपटक लघु जलविद्युत् सहकारी संस्था स्थापना भएको छ । ग्रामीण नवीकरणीय ऊर्जा तथा जीविकोपार्जन कार्यक्रमअन्तर्गत जिल्ला ऊर्जा तथा वातावरण शाखा पाँचथरको सहयोगमा 'हाम साम्भे निबु लघु जलविद्युत् सहकारी संस्था' स्थापना भएको हो । नवगठित सहकारी संस्थाका पदाधिकारीलाई राष्ट्रिय सहकारी सङ्घले संस्था गठन तथा व्यवस्थापनसम्बन्धी तालीम दिएको सङ्घका वरिष्ठ प्रबन्धक बाबुल खनालले जानकारी दिए ।
चिलिङदिङ गाविस-१ का स्थानीय बासिन्दाले विसं २०६३ सालदेखि निबुखोला लघु जलविद्युत् आयोजनाबाट १२ किलोवाट बिजुली उत्पादन गर्दै आएका थिए । करीब साढे १९ लाख रुपैयाँको लागतमा उक्त आयोजनाबाट बिजुली उत्पादन गरिएको हो । कुल १ सय १६ सदस्य रहेको सो समूह राष्ट्रिय सहकारी सङ्घको सहयोगमा अहिले सहकारी संस्थामा परिणत भएको हो । आयोजनाबाट उत्पादित बिजुली गाविसका सबै घरमा बत्ती बाल्न र दुईओटा कुटानीपिसानी मिल सञ्चालन गर्न प्रयोग गरिएको खनालले बताए । पाँचथरमा सहकारी संस्थाद्वारा वृक्षरोपण, सरसफाइलयागत वातावरण संरक्षणको क्षेत्रमा विभिन्न काम पनि हुँदै आएका छन् । चिलिङदिङ गाविस-१ मा मात्र ७५ घरधुरीले बायोग्यास प्लाण्ट जडान गरेका छन् भने, अधिकांशको घरमा सुधारिएको (धूवाँरहित) चुलो जडान गरिएको प्रबन्धक खनालले जानकारी दिए । यसैगरी, बाग्लुङको बोङ्गादोभान गाविसमा पनि लघु जलविद्युत् सहकारी संस्था गठन भएको छ । जिल्ला ऊर्जा प्रवर्द्धन केन्द्रको सहयोगमा उक्त सहकारी संस्था गठन भएको हो । सो गाविसका स्थानीय बासिन्दाले एक समूह गठन गरी गत फागुनदेखि तल्लो तामान खोला लघु जलविद्युत् आयोजनाबाट १ सय किलोवाट बिजुली उत्पादन गर्दै आएका छन् । राष्ट्रिय सहकारी सङ्घको सहयोगमा उक्त समूह अहिले 'बोङ्गादोभान लघु जलविद्युत् सहकारी संस्था'मा परिणत भएको हो । करीब रू. २ करोड लागतमा निर्मित सो आयोजनाबाट उत्पादित बिजुली ८ सय घरपरिवारलाई वितरण गरिएको सङ्घले जानकारी दिएको छ ।
चालू आर्थिक वर्षको बजेटमा सहकारीमार्फत सञ्चालित लघु जलविद्युत् आयोजनामा सरकारले प्रतिकिलोवाट बढीमा रू. १ लाख २५ हजार वा प्रतिघरधुरी रू. १५ हजारका दरले अनुदान दिने घोषणा गरेको थियो । यो घोषणापछि लघु जलविद्युत् उत्पादनमा लाग्ने सहकारी संस्थाको सङ्ख्या बढेको सरोकारवालाहरू बताउँछन् । हाल नेपालमा 'सहकारी ऐन २०४८' अन्तर्गत पाँचओटा लघु जलविद्युत् सहकारी संस्था दर्ता भएका छन् भने, सामुदायिक विद्युतीकरणअन्तर्गत २ सय ५५ सहकारी संस्था सञ्चालनमा छन् । गत भदौमा केन्द्रीय विद्युत् सहकारी संस्था पनि गठन भएको छ ।
५७ जिल्लामा कर्मचारी सहकारी
असोज ९, बेनी, म्याग्दी (अस) । नेपालका ५७ जिल्लामा सरकारी कर्मचारीका निम्ति सहकारी संस्था सञ्चालन गरिएको छ । मुस्ताङको राष्ट्रसेवक बचत तथा ऋण सहकारी सस्था लिमिटेडको उद्घाटन गर्दै नेपाल निजामती कर्मचारी सङ्गठनका केन्द्रीय अध्यक्ष भोलानाथ पोखरेलले उक्त जानकारी दिएका हुन् । नागरिक प्रशासन बलियो बनाउन ५७ जिल्लामा सङ्गठनले यस्ता सहकारी सञ्चालनमा ल्याएको पोखरेलले बताए ।
सहकारीले लगानीलाई व्यवस्थित गर्नुपर्ने सङ्गठनका केन्द्रीय उपाध्यक्ष यज्ञमूर्ति भण्डारीले सुझाव दिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डे, सङ्गठनका धवलागिरि इञ्चार्ज रामजीप्रसाद पौडेललगायतले मन्तव्य व्यक्त गरेका थिए । कुल शेयर पूँजी रू. ५ लाखबाट शुरू गरिएको उक्त सहकारीमा २५ संस्थापक सदस्यले रू. २० हजारका दरले लगानी गरेका छन् । प्रतिशेयर रू. १ सयका दरले ५ हजार शेयर वितरण गर्न सकिने कार्यक्रममा जानकारी दिइएको थियो । अन्यत्र जिल्लामा सरुवा भएमा सोही जिल्लाको सहकारी संस्थाबाट कर्मचारीले आफ्नो शेयर प्राप्त गर्न सक्ने व्यवस्था मिलाइएको सहकारीका अध्यक्ष माधव शर्माले बताए ।
Admin 2011-09-27