शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

रजिष्ट्रारले मागे सहकारी ऐन
फागुन ९, बुटवल (अस)। सहकारी विभागका रजिष्ट्रार सुदर्शनप्रसाद ढकालले वर्तमान सहकारी ऐनलाई परिवर्तन गर्नुपर्ने बताएका छन् । राष्ट्रिय सहकारी सङ्घद्वारा बुटवलमा आयोजित क्षेत्रीय अन्तरक्रिया गोष्ठीमा कार्यपत्र प्रस्तुत गर्दै उनले सो कुरा बताएका हुन् । 'सहकारी ऐन २०४८' मा भएका व्यवस्थाकै कारण सहकारी क्षेत्रमा विकृति भित्रिएको उनको भनाइ थियो । 'अहिलेको ऐन सहकारी विस्तारको आधार मात्र बनेको छ, सहकारीको नियन्त्रणमा यसले ध्यान दिएको छैन,' ढकालले भने । सहकारी क्षेत्रमा बढ्दै गएको विकृति नियन्त्रण गरी गुणस्तरमा सुधार गर्न छुट्टै सहकारी ऐन आवश्यक रहेकोमा उनको जोड थियो ।

गोष्ठीमा केन्द्रीय कफी सहकारी सङ्घका तर्फबाट सञ्चालक शेषकान्त गौतम, कृषि सहकारी केन्द्रीय सङ्घका तर्फबाट अध्यक्ष खेमबहादुर पाठक र जिल्ला अदुवा सहकारी सङ्घ, पाल्पाका तर्फबाट अध्यक्ष कृष्णबहादुर जिसीले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमा सहभागी सहकारीकर्मीहरूले टिप्पणी गरेका थिए ।

कार्यक्रममा राष्ट्रिय सहकारी सङ्घका उपाध्यक्ष विजयराज घिमिरे, कार्यकारी सञ्चालक रवीन्द्र केसीलगायतका व्यक्तिहरूको सहभागिता थियो । अन्तरक्रियामा राष्ट्रिय सहकारी सङ्घमा आबद्ध पश्चिमाञ्चल विकास क्षेत्रअर्न्तर्गतका १३ जिल्लाका सहकारी सङ्घसंस्थाका प्रतिनिधिहरू पनि सहभागी रहेको सङ्घले बताएको छ ।

सङ्घले 'सहकारी विकास रणनीतिपत्र’ तयार गर्ने क्रममा सुझाव सङ्कलन गर्न क्षेत्रीय अन्तरक्रिया गोष्ठीको आयोजना गर्दै आएको छ । यसअघि पूर्वाञ्चलमा फागुन ३ र ४ गते तथा मध्यमाञ्चलमा फागुन ६ र ७ गते अन्तरक्रिया सम्पन्न भइसकेका छन् । सुदूरपश्चिमाञ्चलमा ११ र १२ गते तथा मध्यपश्चिमाञ्चलमा १४ र १५ गते अन्तरक्रिया गर्ने सङ्घको कार्यक्रम छ ।  

७७ सहकारी संस्था बङ्गुर तथा कुखुरा पालनमा
फागुन ९, काठमाडौं (अस)। चालू आर्थिक वर्षमा केन्द्रीय बङ्गुर तथा कुखुरा प्रवर्द्धन केन्द्रले थप १२ जिल्लाका २३ सहकारी संस्थामार्फत 'बङ्गुर तथा कुखुरा पालन' कार्यक्रम सञ्चालन गरेको छ । ३ वर्षदेखि शुरू भएको सो कार्यक्रम हालसम्म २६ जिल्लाका ७७ सहकारी संस्थामार्फत सञ्चालन भएको केन्द्रका वरिष्ठ पशु विकास अधिकृत किशोरकुमार कायस्थले अभियानलाई बताए । उनले भने, 'कार्यक्रम किसानका लागि निकै उपयोगी भएको छ ।' कार्यक्रमले लक्षित वर्गको आय वृद्धिमा प्रत्यक्ष सहयोग पुगेको उनको भनाइ छ ।

'गाउँ गाउँमा सहकारी, घरघरमा भकारी' कार्यक्रमअन्तर्गत आव ०६५/६६ देखि यो कार्यक्रम शुरू भएको हो । कार्यक्रम दलित, जनजाति, महिला, सुकुम्बासी, मुक्त कमैया, भूमिहीन किसानलगायत वर्गप्रति लक्षित रहेको कायस्थले बताए । सहकारी खेती कार्यक्रमअन्तर्गत बङ्गुर पालन गर्ने प्रत्येक सहकारी संस्थालाई सरकारले पहिलो वर्ष रू. ८ देखि १० लाख, दोस्रो वर्ष रू.२ लाख र तेस्रो वर्ष रू. १ लाखका दरले अनुदान दिँदै आएको छ । हाल २६ जिल्लाका ६१ सहकारी संस्था बङ्गुर पालन व्यवसायमा संलग्न छन् । यसैगरी सहकारी खेतीअन्तर्गत कुखुरा पालन गर्ने प्रत्येक सहकारी संस्थालाई सरकारले पहिलो वर्ष रू.४ लाख, दोस्रो वर्ष रू. २ लाख र तेस्रो वर्ष रू. १ लाखका दरले अनुदान दिँदै आएको कायस्थले जानकारी दिए । हाल २६ जिल्लाका १६ सहकारी संस्था कुखुरा पालन व्यवसायमा आबद्ध छन् । यी दुवै कार्यक्रममा करीब ३ हजार ८ सय ५० घरपरिवार संलग्न रहेको पनि कायस्थले बताए ।

शुरूमा कैलाली, बर्दिया, बाँके, दाङ र सप्तरी गरी पाँच जिल्लाका ३३ सहकारी संस्थामार्फत यो कार्यक्रम सञ्चालन गरिएको हो । दोस्रो वर्ष झापा, मोरङ, उदयपुर, र्सलाही, रामेछाप, दोलखा, सिन्धुपलाञ्चोक, धादिङ र रसुवा गरी थप नौ जिल्लाका २१ सहकारी संस्थामा कार्यक्रम लागू गरिएको पनि केन्द्रले जानकारी दिएको छ ।  यसैगरी आव ०६७/६८ मा भक्तपुर, काभ्रे, धनुषा, महोत्तरी, सिन्धुली, बारा, पर्सा,मकवानपुर, लमजुङ, नवलपरासी, बाग्लुङ र पर्वतका २३ सहकारी संस्थामा कार्यक्रम सञ्चालन गरिएको छ । संस्थाहरूबाट उत्पादित बङ्गुर तथा कुखुराको बजार व्यवस्थापन सहकारी आफैले गर्दै आएका छन् ।

कायस्थका अनुसार सरकारले कार्यक्रममा आबद्ध सहकारी संस्थालाई ३ वर्षसम्म आर्थिक तथा प्राविधिक र त्यसपछिका वर्षमा प्राविधिक सहयोग मात्र गर्नेछ । तर, सहकारी संस्थाको मागबमोजिम जिल्लास्थित पशु सेवा कार्यालयले निरन्तर प्राविधिक सहयोग गर्नेछ । कार्यक्रमको अनुगमन तथा निरीक्षण केन्द्रीय तथा जिल्ला कार्यालयबाट नियमित हुँदै आएको छ । चालू आवको बजेटमा सरकारले सहकारी पशुपालनतर्फ रू. २ करोड ८० लाख विनियोजन गरेको छ । नेपालमा उत्पादित कुल मासुमा बङ्गुर र कुखुरा दुवैको योगदान ७/७ प्रतिशत रहेको छ ।

महिला सहकारीको कुल पूँजी रू.४६ करोड
फागुन ९, काठमाडौं (अस)। आर्थिक वर्ष०६६/६७ मा महिला सहकारी संस्थाको कुल पूँजी पौने ४६ करोड रुपैयाँभन्दा बढी पुगेको छ । यो आव ०६५/६६ को तुलनामा करीब शून्य दशमलव ५७ प्रतिशतले बढी हो । आव ०६५/६६ मा संस्थाको कुल पूँजी रू. ४५ करोड ५० लाख रहेको थियो । आव ०६६/६७ मा संस्थाको कर्जा तथा सापटी करीब रू. ३१ करोड १८ लाख र निक्षेप रू. १६ करोड ४४ लाख रहेको छ । अघिल्लो आवको अन्त्यमा संस्थाको कर्जा तथा सापटी र निक्षेप क्रमशः रू. २४ करोड १ लाख  र रू. १५ करोड ५० लाख रहेको थियो ।

महिला सहकारी संस्था लिमिटेड २०५१ सालमा ३० जना सदस्यको रू. ३० लाख चुक्ता पूँजीबाट काठमाडौंको टेकुमा स्थापना भएको हो । हाल संस्थाको चुक्ता पूँजी करीब रू. २ करोड रहेको छ । यसैगरी शेयर सदस्य सङ्ख्या पनि बढेर १ हजार ४ सय ५० पुगेको छ । शेयर सदस्यमध्ये ९५ प्रतिशत महिला छन् । संस्थाले बल्खु, ललितपुर, साँखु र जोरपाटीमा गरी चार शाखा र ती शाखाअन्तर्गत बालाजु, कमलविनायक, ठिमी, थानकोट र चापागाउँमा विभागमार्फत काम गर्दैआएको छ । संस्थाले काठमाडौं उपत्यकाका ८२ गाविसमा कार्यक्रम विस्तार गरेको पनि बताएको छ । संस्थाका शाखा र विभागमा गरी ६८ जनाले रोजगारी पाएका छन् ।  

संस्थाले २०६१ सालमा काठमाडौंको कुलेश्वरमा करीब रू. ९३ लाखमा भवन खरीद गरेको संस्थाकी अध्यक्ष इन्दिरा मानन्धरले बताइन् । संस्थाले स्थापना कालदेखि नै सदस्यहरूलाई लघुवित्त सेवा प्रदान गरिरहेको छ । गत आवको अन्त्यसम्ममा लघुवित्त क्षेत्रमा मात्र संस्थाको लगानी रू. १३ करोड ६५ लाख पुगेको छ । कार्यक्रमअर्न्तर्गत १५ हजारभन्दा बढी सदस्यले लघुकर्जा लिइसकेको संस्थाले जानकारी दिएको छ । संस्थाले लघुवित्त परियोजना, औद्योगिक, व्यापारिक, सेवा व्यवसाय, आवास, शिक्षा, अन्य निक्षेपको धितोमा, मुद्दती रसिद धितोमा, पेन्सन पट्टा धितोमा, हायर पर्चेज र विविध गरी १० किसिमका कर्जा कार्यक्रम सञ्चालन गरेको छ । यी कर्जामा संस्थाले वार्षिक १६ देखि २४ प्रतिशतसम्म ब्याज लिने गरेको छ । यसैगरी संस्थाले साधारण बचत, विशेष बचत, क्रमिक बचत, बाल बचत, गृहिणी बचत, जेष्ठ नागरिक बचत, मुद्दती बचतलगायत बचत कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ । यी कार्यक्रममा संस्थाले वार्षिक २ देखि १६ प्रतिशतसम्म ब्याज दिने गरेको छ । संस्थाले प्रदान गर्दै आएको कर्जा सुविधामा महिलालाई ब्याजमा एक प्रतिशत छूट दिँदै आएको पनि अध्यक्ष मानन्धरले जानकारी दिइन् । संस्थाले स्थापना कालदेखि नै सामाजिक क्षेत्रको सहयोगअन्तर्गत संस्थाले विभिन्न तहका गरी ५ सय ३८ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिरहेको छ । इन्दिरा मानन्धर अध्यक्ष रहेको सो संस्थामा उपाध्यक्षमा माधुरी सैँजू तथा सदस्यहरूमा डा. सुमित्रा गुरूङ, सरस्वती श्रेष्ठ, विजया के.सी, प्रमिला मास्के र इल्या भट्टराई छन् ।

इन्दिरा मानन्धर
अध्यक्ष
महिला सहकारी संस्था लि., काठमाडौं

तपाई आफ्नो संस्थालाई कसरी चिनाउनुहुन्छ ?

हाम्रो संस्था महिलाको सामाजिक र आर्थिक सुधार गर्ने उद्देश्यले १५ वर्षघि स्थापना भएको हो । संस्थाले स्थापनाकालदेखि नै महिलाको क्षेत्रमा निरन्तर काम गर्दै आएको छ । हामीले महिला सदस्यहरूलाई नै लक्षित गरेर लघुवित्त कर्जा कार्यक्रम पनि सञ्चालन गरेका छौं । कार्यक्रममार्फत धेरै महिलाको आर्थिक स्थितिमा निकै सुधार आएको देखिएको छ । समग्रमा भन्नुपर्दा, समाजका दलित, जनजाति, विपन्न वर्ग, पिछडिएका महिलाको सामाजिक र आर्थिक हितमा काम गर्ने संस्थाको रूपमा यसको स्थापना भएको हो ।

१५ वर्षको अवधिमा संस्थाले भोगेका समस्याहरू बताइदिनुस् न ।

धेरै समस्या भोग्दै संस्था अहिलेको अवस्थामा आइपुगेको हो । महिलाको हितमा काम गर्ने उद्देश्य लिएकोले संस्थाको लक्षित समूह नै विपन्न र पिछडिएका महिला हुन् । उनीहरूलाई संस्थामा समावेश गराउनु नै हाम्रो प्रमुख चुनौती रहेको छ । लघुकर्जा कार्यक्रममा संलग्न अधिकांश सदस्य अशिक्षित छन् । उनीहरूलाई कुरा बुझाएर लघुवित्त कार्यक्रमसँगै अघि बढाउन धेरै अप्ठयारो छ ।

संस्थाका दीर्घकालीन योजनाहरू बताइदिनुस् न ।

संस्थाले दीर्घकालीन योजनाका रूपमा नर्सिङ क्याम्पस, पोलिक्लिनिक र डिपार्टमेण्टल स्टोर सञ्चालन गर्ने सोच बनाएको छ । तर, सहकारी विभागले त्यस्ता कार्यक्रम सञ्चालन गर्न अनुमति दिएको छैन । यसको प्रत्यक्ष असर हाम्रो दीर्घकालीन योजनामा परेको छ ।

आगामी ५ वर्षमा महिला सहकारी कुन स्तरमा पुग्ला ?

भविष्य अनिश्चित छ, यही नै पुगिन्छ भनेर भन्न गाह्रो छ । तर, आगामी ५ वर्षमा सबै क्षेत्रमा तीन गुणाले विकास गर्ने हाम्रो लक्ष्य छ ।

दोलखाका सहकारीद्वारा करीब ६५ करोड ऋण लगानी
फागुन ९, दोलखा (अस)। दोलखा जिल्लामा सञ्चालित सहकारी संस्थाहरूले वार्षिक करीब ६५ करोड रुपैयाँभन्दा बढी रकम शेयर सदस्यलाई ऋण लगानी गर्दै आएका छन् । जिल्लामा रहेका ३ सय ६९ सहकारी संस्थाबाट सो रकम लगानी भएको डिभिजन सहकारी कार्यालय दोलखाले बताएको छ । कार्यालयका अनुसार आर्थिक वर्ष०६६/६७ को अन्त्यसम्ममा ती सहकारीहरूको शेयर पूँजी रू. ४ करोड ६० लाख रहेको  छ । यस्तै ती सहकारीहरूको गत आवको बचत सङ्कलन रू. ५६ करोड ५८ लाख ७१ हजार, ऋण लगानी रू. ६५ करोड ७३ लाख र ऋण असुली रू. २५ करोड रहेको थियो ।

जिल्लाका सहकारीमा २५ हजार महिलासहित ५१ हजार आबद्ध रहेको र करीब ५ सय जनाले रोजगारी पाएको पनि डिभिजन सहकारी कार्यालयले जानकारी दिएको छ । जिल्लामा अहिले १ सय ५८ बचत तथा ऋण सहकारी, ८४ कृषि सहकारी, ४३ बहुउद्देश्यीय सहकारी, ३६ उपभोक्ता सहकारी, १४ पर्यटन सहकारी, ९ दुग्ध सहकारी, ४ विद्युत् सहकारी, ३ यातायात सहकारी, २ स्वास्थ्य सहकारी, एउटा सञ्चार सहकारी र अन्य ८ ओटा रहेका छन् ।

छोटो समयमै जिल्लामा सहकारीप्रतिको आकर्षा निकै बढेको कार्यालयका निमित्त प्रमुख मधु खनालले अभियानलाई बताए । उनका अनुसार सहकारी ऐन २०४८ लागु हुँदा जिल्लामा एउटै पनि सहकारी संस्था थिएनन् । चालू आवको अघिल्लो ६ महीनामा मात्र जिल्लामा करीब २३ ओटा सहकारी संस्था दर्ता भई सञ्चालनमा आएको पनि उनले जानकारी दिए । जिल्लामा रहेका सहकारीमध्ये भीमेश्वर नगरपालिकामा मात्र करीब ७०  सहकारी संस्था रहेको कार्यालयको तथ्याङ्कले देखाउँछ ।

त्यसपछि काब्रे र जिरीमा १५ ओटा रहेका छन् । जिल्लामा ५१ गाविस र एक नगरपालिका छन् । जिल्लामा सञ्चालित सहकारी संस्थामध्ये सैलुङ सहकारी संस्थाले सामुदायिक रेडियो र स्वास्थ्य सहकारी संस्थाले अस्पताल सञ्चालन गर्दै आएको पनि निमित्त प्रमुख खनालले बताए । सहकारी विभागको अनुदानमा जिल्लामा ३ वर्षदेखि सहकारी संस्थामार्फत  सुपथ मूल्यका ३६ ओटा सहकारी पसल पनि सञ्चालित छन् । ती पसलहरूमा स्थानीय बासिन्दाको करीब रू. १ करोड लगानी रहेको पनि खनालले जानकारी दिए ।

अण्डा उत्पादन गर्दै सहकारी कुखुरा फार्म
फागुन ९, दाङ (घोराही) (अस)। दाङ जिल्लामा सहकारीका माध्यमबाट कुखुरा पालन बढेपछि अण्डा उत्पादन पनि बढेको छ । जिल्लाको पञ्चकुले गाविस-२ स्थित सहकारी कुखुरा फार्मले मात्रै अहिले दैनिक १ हजारभन्दा बढी अण्डा उत्पादन गर्दै आएको फार्मका अध्यक्ष वीरबहादुर विष्टले अभियानलाई बताए । जिल्लामा अण्डा उत्पादन बढेपछि अन्यत्रबाट कुखुरा र अण्डा ल्याएर विक्री गर्ने व्यवसायीहरूले जिल्लामै उत्पादित अण्डा विक्री गर्न थालेका छन् ।  

सो सहकारी कुखुरा फार्ममा १ सय ५७ शेयर सदस्यले कुल रू. ३ लाख ५० हजार लगानी गरेका छन् । फार्मलाई जिल्ला पशुसेवा कार्यालयले रू. ७ लाख ५० हजार अनुदान उपलब्ध गराएको फार्मले बताएको छ । फार्ममा हाइब्राइन जातका १ हजार ८ सय कुखुरा रहेका छन् । अध्यक्ष विष्टले भने, 'जिल्लामा मासुका लागि कुखुरा पालिए पनि अण्डाका लागि पाल्ने नगरेकाले हामीले अण्डा उत्पादनमा जोड दिएका हौँ ।’ उनले आफूहरूले स्थापना गरेको सहकारी कुखुरा फार्म अण्डा उत्पादन गर्ने पहिलो सहकारी फार्म भएको दाबी पनि गरे । स्थानीय बासिन्दाको सक्रियतामा स्थापना भएको सो कुखुरा फार्ममा तीन जना युवा कार्यरत छन् ।  

गत वर्षदेखि सञ्चालन भएको सो फार्ममा राखिएका कुखुराहरूको अण्डा दिने समय सकिन लागेकोले अब नयाँ कुखुरा राख्नु आवश्यक भएको फार्मका सचिव तेजबहादुर डाँगीले बताए । उनका अनुसार अण्डा दिने कुखुराहरूले १८ महीना पुगेपछि अण्डा दिन कम गर्ने भएकाले मासुका लागि विक्री गर्ने गरिन्छ । उनले भने, 'फार्मले अण्डा र मासु दुवैको विक्रीबाट राम्रो आम्दानी गर्दै आएको छ ।' फार्मका कुखुराहरूका लागि दैनिक तीन क्विण्टल दाना आवश्यक पर्ने उनको भनाइ छ । फार्मका कुखुराहरूमा पाठेघर खस्ने समस्या आएपछि उत्पादनमा केही कमी आएको पनि उनले बताए । उनका अनुसार केही कुखुरा ओथारो पनि बस्ने कारण अण्डा उत्पादनमा असर परेको छ । तर, प्राविधिक निमबहादुर पुनले अण्डा बढी दिने हाइब्राइन जातका कुखुरा खानपान र स्याहारसुसार कम भए मात्र ओथारो बस्ने बताए । उनले भने, 'कुखुरामा उमेरअनुसार तौल हुनुपर्नेमा कम गुणस्तरको दाना, आवश्यकताभन्दा कम दाना र आवश्यकताभन्दा कम पानी खुवाउँदा तौल घट्ने र ओथारो बस्ने समस्या आउँछ ।' सो सहकारी फार्मबाट उत्पादित अण्डाको मुख्य बजार तुलसीपुर रहेको छ ।

Admin 2011-02-22