लघुवित्तमा उदयदेवको पाँच करोड
जेठ ९, धनगढी (अस)। कञ्चनपुरको महेन्द्रनगरस्थित उदयदेव बहुउद्देश्यीय सहकारी संस्थाले लघुवित्तमा करीब ५ करोड रुपैयाँ लगानी गरेको छ ।
प्रबन्ध सञ्चालक गणेशबहादुर चन्दले लघुवित्तमा अझै लगानी हुने बताए । २०५६ सालमा १० लाख रुपैयाँ पूँजीबाट कारोबार थालेको उदयदेवले हालसम्म २२ करोड २५ लाख ३ हजार ३ सय ६५ रुपैयाँ लगानी गरिसकेको छ । चन्दका अनुसार सहकारीले लघुवित्तमा महिला समूहहरू बनाएर विनाधितो ऋण प्रवाह गर्दै आइरहेको छ । संस्थाले महिलालाई ५ हजारदेखि ३० हजारसम्म विनाधितो ऋण दिने गरेको उनले बताए । हालसम्म सदरमुकाम महेन्द्रनगर, महाकालीपारिका दोधारा-चाँदनी र झलारी गाविस गरी तीन शाखामा महिला समूहमार्फत लघुवित्त कार्यक्रम अगाडि बढाइरहेको चन्दले बताए । यस क्रममा ६ सय ८७ महिला समूह बनिसकेका छन् । यसमा ३ हजार ४ सय ९ महिला सङ्गठित भएको उनले जानकारी दिए । तीनओटै शाखामा १ सय ६४ केन्द्र छन् ।
महिला समूहले हालसम्म २ करोड १६ लाख ६ हजार १२ रुपैयाँ बचत सङ्कलन गरेका छन् । २०६४ सालमा लघुवित्त कार्यक्रम शुरू गरेको संस्थाले निकट भविष्यमै जिल्लाको दक्षिणी क्षेत्र बेलौरीमा पनि यस्तै प्रकारको योजना अघि बढाउने जनाएको छ ।
संस्थाले चालू आवको चैत मसान्तसम्म ११ करोड रुपैयाँको कारोबार गरेको जनाएको छ । ४ करोड ८५ लाख ४४ हजार ६ सय ७३ रुपैयाँ असुली गर्न बाँकी रहेको चन्दले जानकारी दिए । एक दशकअघि स्थापित यस संस्थाको लघुवित्तमा ४ करोड ८० लाख ६८ हजार ३ सय २० रुपैयाँ लगानी छ ।
सहकारीद्वारा 'बस सेवा’ सञ्चालन
जेठ ९, दमौली (तनहुँ) । तनहुँको ग्रामीण कृषि उत्पादक सहकारी संस्थाले 'सहकारी बस सेवा' सञ्चालन गरेको छ । संस्थाका सदस्यद्वारा उत्पादित कृषि उपज बजार पुर्याउन कठिनाइ उत्पन्न भएपछि आफ्नै यातायात सेवा सञ्चालन गर्नुपरेको सहकारीका प्रबन्ध सञ्चालक राजेश्वर ढकालले अभियानलाई बताए । जिल्लाको दक्षिणी भेगमा अवस्थित राम्जाकोट गाविसस्थित सहकारीले रू. २४ लाखको लागतमा बस सेवा सञ्चालन गरेको ढकालले जानकारी दिए । उनले भने, 'नियमित यातायात सञ्चालन नहुँदा संस्थामा आबद्ध किसानले उत्पादन गरेका कृषि उपज बजार पुर्याउन असहज भएकाले बस सञ्चालन गरेका हौं ।'
बस खरीदका लागि १५ लाख रुपैयाँ फाइनान्सबाट ऋण लिएको ढकालले बताए । सहकारीले सञ्चालनमा ल्याएको बस दैनिक राम्जाकोट गाविसबाट भीमाद बजार हुँदै सदरमुकाम दमौली आवतजावत गर्छ । राम्जाकोट गाविस मास, अदुवा, मकै, केरालगायत कृषि उपज उत्पादनमा अगाडि छ । 'पहाडी बाटो भएकाले झन्झट मान्दै अन्य व्यक्तिद्वारा सञ्चालित बस, जीपलगायत सवारी साधन गाउँ नआउने गरेकाले बस सञ्चालनको अवधारणा ल्याइएको हो,' ढकालले भने, 'बस सञ्चालनमा आएपछि सोचेभन्दा धेरै सजिलो भएको छ ।' बस सञ्चालनपछि किसानका उत्पादन विभिन्न ठाउँमा पुर्याउन तथा ग्रामीण जनतालाई सदरमुकाम र नजिकैको बजार जान सहज भएको छ । नियमित रूपमा बस सञ्चालन हुने भएकाले किसानले उत्पादन गरेका ताजा तरकारी र तथा फलफूल हरेक दिन बजार पुर्याउन पाएको सहकारीका सदस्य हरिराज कँडेलले बताए । पहिले अन्य व्यवसायीको बस सञ्चालन हुँदा दमौलीदेखि राम्जाकोटसम्मको १ सय २० रुपैयाँ भाडा लिने गरिएकामा सहकारी बसले रू. १ सय मात्र भाडा लिने गरेको छ ।
यसैगरी बसले सहकारीद्वारा सञ्चालित सुपथ मूल्य पसलमा समेत बजारबाट सामान पुर्याउने गरेको छ । सहकारीको आफ्नै बस भएकाले ढुवानी खर्च कम परेकाले पसलको सामान पनि अन्य पसलभन्दा सस्तोमा बेच्न सकिएको सञ्चालक ढकाल बताउँछन् ।
डिभिजन सहकारी कार्यालय तनहुँले तनहुँमा बस सञ्चालन गर्ने ग्रामीण सहकारी पहिलो र एक मात्र सहकारी भएको बताएको छ । सहकारीको बस सेवाले राम्रो प्रगति गरेको सहकारी कार्यालयका अधिकृत शेरबहादुर ओलीले बताए ।
सहकारी रेसम खेती
जेठ ९, भरतपुर (अस)। पूर्वी चितवनको चैनपुरमा स्थापना भएको रेशम कीरा सहकारी संस्थाले यो वर्षबाट रेशम कीरा पालनलाई पुन: निरन्तरता दिने भएको छ । रेसम धागो उत्पादनका लागि ८६ जना कृषकको सहभागितामा २०६४ सालमा सहकारी संस्था स्थापना भएको थियो । स्थापनाको पहिलो वर्षसंस्थाले १ लाख रेशम कीरा पालेर एक सिजनमा ३० हजार रुपैयाँ आम्दानी गरेको थियो । तर, त्यसपश्चात् बन्द भएको रेसम कीरा पालन पुन: सञ्चालन गर्न लागिएको सहकारी संस्थाका अध्यक्ष खड्गबहादुर कार्कीले बताए ।
किम्बु नसरी व्यवस्थापन केन्द्र भण्डारा, चितवनको रू. ४० हजार, कमफम पोखराको रू. ७० हजार र जिल्ला कृषि विकास कार्यालय भरतपुरको ५९ हजार रुपैयाँको सहयोगमा सहकारीले रेशम कीरा पालन शुरू गरेको थियो । संस्थालाई चैनपुरकै कङ्काली सामुदायिक वनले १ हेक्टर जमीन र १५ हजार रुपैयाँबराबरको काठसमेत उपलब्ध गराएका थियो । फितलो व्यवस्थापनका कारण पछिल्लो चरणमा राम्रो फाइदा नभएपछि कीरा पालन हुन नसकेको संस्थाको भनाइ छ ।
तालीम प्राप्त प्राविधिकको समूह निर्माण गरी गत चैत महीनाबाटै रेशम कीरा पालन गर्ने तयारी गरिएको थियो । तर, सिँचाइको सुविधा नहुँदा त्यतिखेर किम्बुका बोटमा राम्रोसँग पात नलागेपछि बन्द गरिएको किम्बु खेती पुन: शुरू गरिँदैछ । रेशम कीरा पालनका लागि आहाराको रूपमा किम्बुको आवश्यकता पर्दछ ।
विपन्न समुदायका कृषकको जीवनस्तरमा सुधार आउने अपेक्षाले कङ्काली सामुदायिक वन र किम्बु नसरी व्यवस्थापन केन्द्र भण्डाराको पहलमा सहकारीको स्थापना गरिएको अध्यक्ष कार्कीले बताए ।