सहकारीमार्फत व्यावसायिक गाईपालन
सरस्वती सुवेदी
वैशाख १२, कुश्मा (पर्वत) । पर्वत जिल्लाको देउराली गाविसमा सहकारी संस्थामार्फत सामूहिक गाईपालन शुरू गरिएको छ । जिल्लाका देउराली, देउपुर, तिलाहार, बाजुङ र दुर्लुङ गाविसका बासिन्दाको शेयर लगानी रहेको सञ्जीवनी सहकारी संस्थाले देउराली गाविसको वडा नं. ५ मा गाई फार्म नै सञ्चालन गरेको छ । पाँच जनाको समूह संलग्न रहेको सो फार्ममा अहिले दूध दिने १० ओटा गाई रहेको सहकारी संस्थाले बताएको छ ।
संस्थाका अनुसार त्यसबाहेक सहकारीका अन्य सदस्यहरूले भने आ-आफ्नै घरमा व्यावसायिक रूपमा गाई पालेका छन् । सहकारीका ७४ सदस्यमध्ये ३६ जना गाईपालनमा संलग्न रहेको संस्थाले जानकारी दिएको छ । तीमध्ये प्रगतिशील दूध उत्पादन समूहमा १८ जना र पातीचौर दुग्ध उत्पादक समूहमा १३ जना कृषक रहेका छन् । उनीहरूले आफ्नै लगानीमा एकदेखि पाँचओटासम्म गाई पालेका छन् । सबै समूहबाट गरी दैनिक २ सय ५० लिटरभन्दा बढी दूध उत्पादन भइरहेको सहकारीका अध्यक्ष प्रेमप्रसाद पौडेलले अभियानलाई बताए । 'अबको आवश्यकता सामूहिक प्रणालीबाट कृषिमा लगानी गर्नु हो,' उनले भने । उनले कृषकहरूले आफ्नो आम्दानी बढाउन सामूहिक र व्यक्तिगत लगानी गरेर शुरू गरेको गाईपालन सफल हुँदै गएको पनि बताए । उनका अनुसार अहिलेसम्म सहकारीबाट सामूहिक रूपमा रू. ८ लाखभन्दा बढी र व्यक्तिगत रूपमा प्रत्येक सदस्यले आ-आफ्नो आर्थिक अवस्थाअनुसार लगानी गरेर गाई किनेका छन् । सहकारीका सदस्य एक जनाले रू. १ लाख ५० हजारभन्दा बढीसमेत गाईपालनमा लगानी गरेका छन् । अहिले सहकारीका प्रत्येक सदस्यको घरमा रू. ३० हजारदेखि रू. ७० हजारसम्मका होलिष्टेन र मिनी जर्सी गाई छन् । सहकारीले आफ्नै लगानीमा चिस्यान केन्द्रसमेत स्थापना गरेको छ ।
फागुनदेखि व्यवसाय शुरू गरेका कृषकहरूले सोही महीनामा मात्र ३८ सय लिटर दूध विक्री गरेको सहकारीले बताएको छ । आफ्नै चिस्यान केन्द्र हुनुका साथै सदरमुकाम कुश्माबजारमा दूधको विक्री प्रशस्त हुने भएकाले कृषकहरू अझ हौसिएका छन् । कुश्मामा दूध प्रतिलिटर रू. ३० देखि रू. ३५ सम्ममा विक्री हुने गरेको छ । गाईपालनमा सक्रिय कृषकहरूले सहकारीलाई आगामी दिनमा दुग्ध सहकारीको रूपमा विकास गर्ने योजना पनि बनाएका छन् । उनीहरूको वार्षिक ४० लाखभन्दा बढी आम्दानी गर्ने लक्ष्य छ । गाईका लागि घाँस आवश्यक भएकाले सहयोग गर्न सहकारीले वार्षिक रू. ३० हजार भाडा तिर्ने गरी खरबारी भएको १ सय २० रोपनी जग्गा भाडामा समेत लिएको छ । सो सहकारीमा अहिले स्थानीय पाँच जनाले रोजगारीसमेत पाएका छन् । भविष्यमा गाईको सङ्ख्या बढाएर दैनिक ५ सय लिटर दूध उत्पादन गर्ने योजना रहेको कृषकहरूले बताएका छन् ।
सहकारीसम्बन्धी चेतनाका लागि रेडियो कार्यक्रम
पवन पौडेल
वैशाख १२, दमौली (तनहुँ) । तनहुँ जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घले सहकारीकर्मीहरूका लागि चेतनामूलक रेडियो कार्यक्रम उत्पादन गरी प्रसारण गर्न शुरू गरेको छ ।
स्थानीय दमौली एफएम ९४ थोप्लो २ मेगाहर्जसँग समन्वय गरी सङ्घले साप्ताहिक सहकारी सन्देश नामक कार्यक्रम प्रसारण गर्न थालेको हो । जिल्लाका विभिन्न विषयगत सहकारीसँग आबद्ध सदस्यहरूको चेतना बढाएर सहकारीका कामलाई प्रभावकारी बनाउन रेडियो कार्यक्रम प्रसारण गर्न थालिएको सङ्घका अध्यक्ष अमरबहादुर कुँवरले अभियानलाई बताए । उनले भने, 'कम शिक्षित सदस्यको पनि रेडियोमा पहुँच भएको र रेडियोमार्फत कुरा बुझाउन सहज भएकाले पनि कार्यक्रम शुरू गरिएको हो ।’ सो कार्यक्रम प्रत्येक बिहीवार प्रसारण हुन्छ । कार्यक्रममा जिल्लाका विभिन्न सहकारीसँग आबद्ध उत्कृष्ट सदस्यहरूको सफलताका कथा प्रसारण गर्ने गरिएकोले त्यसबाट अन्य सदस्य पनि उत्साहित हुने उनको भनाइ छ । सङ्घमा अहिले करीब ४ हजार सदस्य छन् । 'कार्यक्रमले सहकारीलाई सरकारले प्रदान गर्ने सेवासुविधा, नीतिगत व्यवस्थालगायत विषयमा सदस्यलाई जानकारी दिने तथा सहकारीका सदस्यहरूका समस्या र पीरमर्का प्रसारण गरी सरकार र सहकारीकर्मीबीच सेतुको काम गर्ने छ,' उनले भने । कार्यक्रम सञ्चालक प्रदीप काफ्लेले यस्तो कार्यक्रम जिल्लामा नै पहिलो भएको बताए ।
तनहुँ जिल्ला सहकारी सङ्घका अध्यक्ष पुरुषोत्तम काफ्लेले सहकारी जागरणका लागि कार्यक्रम प्रभावकारी हुन सक्ने बताए ।