शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

अदुवा प्रशोधन केन्द्र स्थापना गर्दै उद्यमशील सहकारी
चैत १४, काठमाडौं (अस) । चालू आर्थिक वर्षमा उद्यमशील कृषि बहुउद्देश्यीय सहकारी संस्थाले 'अदुवा प्रशोधन केन्द्र' स्थापना गर्ने भएको छ । संस्थाका सदस्यहरूले उत्पादन गरेको अदुवाको व्यवस्थापन तथा बजार प्रवर्द्धनका लागि प्रशोधन केन्द्र स्थापना गर्न लागिएको संस्थाका अध्यक्ष ध्रुवकुमार श्रेष्ठले अभियानलाई बताए । करीब रू. ३ लाखको लागतमा प्रशोधन केन्द्र स्थापना गरिने उनले बताए । केन्द्र सञ्चालन भएको एक वर्षभित्र अदुवाको क्याण्डी पनि उत्पादन गर्ने लक्ष्य संस्थाले लिएको छ ।  

उद्यमशील कृषि बहुउद्देश्यीय सहकारी संस्था २०६४ सालमा चैलाही गाविस-२ लमही, दाङमा स्थापना भएको हो । २५ जना सदस्यको रू. १९ लाख ५० हजारबाट संस्था स्थापना भएको थियो । हाल संस्थाका सदस्य सङ्ख्या ५ सय ७१ र चुक्ता पूँजी करीब रू. ३४ लाख रहेको छ । संस्थाले वार्षिक करीब रू. १ करोडको कारोबार गरिरहेको संस्थाका प्रबन्ध निर्देशक शङ्कर गौतमले जानकारी दिए ।

संस्थाले तीन वर्षदेखि 'च्याउको बीउ उत्पादन तथा विक्री वितरण' कार्यक्रम सञ्चालन गर्दै आएको छ । संस्थाका अनुसार यो कार्यक्रमअन्तर्गत पहिलो वर्ष७ सय प्याकेट (पोका), दोस्रो वर्ष६ हजार पोका र तेस्रो वर्ष१५ हजार पोका बीउ उत्पादन गरी विक्री वितरण गरेको छ । च्याउकोबीउको मूल्य प्रतिपोका रू. २५ देखि रू. ४० सम्म पर्छ । प्रतिपोका बीउबाट सदस्यहरूले कम्तीमा पनि रू. १ हजारबराबरको च्याउ उत्पादन गरिरहेको संस्थाले जानकारी दिएको छ ।

संस्थाले १ वर्षदेखि दाङको लमहीमा डेरी उद्योग पनि सञ्चालन गर्दै आएको छ । रू. १० लाखको लागतमा स्थापना भएको सो उद्योगले दूध उत्पादन हुने मौसममा दैनिक हजार लिटर र बेमौसममा दैनिक ४ सय लिटर दूध सङ्कलन गरी विक्री वितरण गर्ने गरेको छ । दाङमा दूध प्रतिलिटर रू. २६ देखि रू. ३० सम्ममा विक्री हुने गर्छ ।

संस्थाले ५ वर्षअघिदेखि तरकारीको बीउ उत्पादन कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ । ३ सयभन्दा बढी सदस्य आबद्ध रहेको सो कार्यक्रमअन्तर्गत विभिन्न किसिमका तरकारीका बीउ उत्पादन हुने गरेको छ । यसैगरी १ वर्षदेखि संस्थाले 'बेमौसमी तरकारी खेती कार्यक्रम' पनि सञ्चालन गरेको छ । हाल राप्ती नदीले कटान गरेको १ सय ५० हेक्टर क्षेत्रफलमा तरकारी खेती सञ्चालन गरिएको छ । तरकारी खेतीमा बेरोजगार, महिला, सुकुमवासी तथा सीमान्तकृत समूह आबद्ध छन् । गत आवमा सदस्यहरूले करीब रू. १ करोड ५० लाखबराबरको बेमौसमी तरकारी उत्पादन गरी विक्री वितरण गरेको संस्थाले जानकारी दिएको छ ।

संस्थाले स्थापना कालदेखि नै सामाजिक क्षेत्रमा काम गर्दै आएको छ । यसअन्तर्गत संस्थाले आफ्ना सदस्यहरूले उत्पादन गरेको कृषि उपजको विक्रीमा सहयोग गर्न नि:शुल्क हाटबजार पनि सञ्चालन गरेको छ । ध्रुवकुमार श्रेष्ठ अध्यक्ष रहेको सो संस्थामा उपाध्यक्ष लीलाधर शर्मा, सचिव सानुनारायण अधिकारी र कोषाध्यक्ष देवीप्रसाद गुप्ता रहेका छन् । सदस्यहरूमा भरतबहादुर बुढाथोकी, एकनारायण पौडेल, सूर्य पौडेल, नारद पोखरेल र दिलीप खनाल छन् । संस्थाको लेखा संयोजकमा घनश्याम अधिकारी तथा सदस्यहरू हेमराज बञ्जाडे र मधुसूदन वैद्य रहेका छन् ।

ध्रुवकुमार श्रेष्ठ
अध्यक्ष
उद्यमशील कृषि बहुउद्देश्यीय सहकारी संस्था, दाङ

सहकारीको क्षेत्रमा तपाईंको सहकारी कसरी उत्कृष्ट छ ?
म आफैले संस्थाको विश्लेषण गर्नु उचित नहोला । तर, पनि संस्थाले सञ्चालन गरेका कार्यक्रम हेर्दा यसले धेरै राम्रा काम गरेको भन्न सकिन्छ । ती कार्यक्रमको परिणाम पनि राम्रो आएको छ । कृषि क्षेत्रमा राम्रो काम गरेकै कारण संस्था दाङ जिल्ला मा उत्कृष्ट घोषित भई व्यावसायिक कृषि तथा व्यापार आयोजनाबाट रू. १९ लाख ५ हजार अनुदानसमेत प्राप्त गर्न सफल भएको छ । संस्थामा दाङ जिल्लाका प्रसिद्ध तथा बौद्धिक व्यक्तित्वहरू आबद्ध छन् । त्यसैका आधारमा अन्य संस्थाको तुलनामा यसप्रति सदस्यको विश्वास बढेको हो ।

संस्थाका भावी योजना बताइदिनुहोस् न ।

संस्थाले सदस्यद्वारा उत्पादित कृषि उपजको भण्डारण गर्न शीत भण्डार स्थापना गर्न लागेको छ । यसैगरी संस्थाले दीर्घकालमा पशुको नश्ल सुधार कार्यक्रम, हयाचरी (कुखुराका चल्ला उत्पादन),  दाना उत्पादन, जडीबुटी उत्पादन तथा प्रशोधन, लघुवित्त कार्यक्रमलगायत काम गर्ने योजना बनाएको छ ।

संस्थाले भोगेका चुनौतीहरू के-के छन् ?

नेपालका सबै क्षेत्रमा सहकारी शिक्षा पुग्न सकेको छैन । हल्लाकै भरमा सहकारी सङ्घसंस्थाहरू चलिरहेका छन् । यसले पनि राम्रो गर्न चाहने संस्थालाई अप्ठयारो परेको छ । नियामक निकायले पनि सहकारीको क्षेत्रमा प्रभावकारी काम गर्न सकेको छैन । सम्बन्धित निकायले सहकारीको प्रभावकारी नियमन गरी राम्रो नराम्रोका आधारमा सङ्घसंस्थाको वर्गीकरण गर्नुपर्छ र पुरस्कार तथा सजायको व्यवस्था गर्नुपर्छ ।

1234Next »Last »