शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

१४ प्रतिशत सहकारी मात्र केन्द्रीय सङ्घमा
साउन १६, काठमाडौं (अस)। आर्थिक वर्ष०६७/६८ को असार मसान्तसम्म स्थापना भएका १७ हजार  ६ सय १५ सहकारी संस्था मध्ये २ हजार ४ सय ४ संस्था मात्र केन्द्रीय सङ्घमा आबद्ध छन् । यो कुल सहकारीको करीब १४ प्रतिशत हुन आउँछ । बाँकी सहकारी संस्था सङ्घमा आबद्ध नभई स्वतन्त्र रूपमा सञ्चालन भइरहेको सहकारी विभागका उपसचिव राजनप्रसाद दवाडीले जानकारी दिए ।

हाल केन्द्रीय सङ्घमा ९ प्रतिशत जिल्ला सहकारी सङ्घ (विषयगत) तथा ९१ प्रतिशत प्रारम्भिक सहकारी संस्थाले सदस्यता लिएका छन् । करीब ४ हजार बहुउद्देश्यीय सहकारी संस्था आफ्नो केन्द्रीय सङ्घ नभएकाले आबद्ध नभएको विभागले बताएको छ ।  हाल नेपालमा ११ ओटा केन्द्रीय सङ्घ स्थापना भइसकेका छन् ।

प्रारम्भिक सहकारीले जिल्ला विषयगत सङ्घको मात्रै सदस्यता लिएर केन्द्रीय सङ्घको प्रतिनिधि हुनुपर्नेमा केन्द्रको सदस्यता लिन पाइने प्रावधान रहेकाले केन्द्रीय सङ्घको औचित्य नभएको जिल्ला सहकारी सङ्घ ललितपुरका अध्यक्ष माधव दुलालले बताए । सहकारी केन्द्रीय सङ्घहरू भर्खर-भर्खरमात्र सञ्चालनमा आएकाले  प्रारम्भिक संस्था र सङ्घमा खासै फरक नभएकाले पनि केन्द्रीय सङ्घको महत्त्व नदेखिएको उनले बताए ।

अघिकांश शहर केन्द्रित सहकारीले जिल्ला सङ्घ तथा केन्द्रीय सङ्घको सदस्यता लिने गरेको राष्ट्रिय सहकारी महासङ्घका महाप्रबन्धक रामभजन शाहले बताए । 'एउटै संस्था कति ठाउँमा सदस्य छ,' यसको वास्तविक तथ्याङ्क छैन,' शाहले भने । तर, केन्द्रीय सङ्घले ग्रामीण भेगका न्यून आय भएका संस्थालाई समेट्न नसकेको उनको भनाइ थियो ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लि (नेफ्स्कुन) बाट ९ सय ४५ सङ्घसंस्थाले मात्र सदस्यता लिएका छन् । यो कुल बचत तथा ऋण सहकारी संस्थाको करीब १० प्रतिशत हुन आउँछ, जसमध्ये ३९ जिल्ला सङ्घ र ९ सय ६ प्रारम्भिक संस्था छन् । सहकारी ऐनमा प्रारम्भिक संस्था विषयगत जिल्ला सङ्घ, जिल्ला सहकारी सङ्घ, केन्द्रीय सङ्घ र राष्ट्रिय सहकारी बैङ्कमा समेत आबद्ध हुन पाउने भएकाले दोहोरो आबद्धता बढेको नेफ्स्कुनका अध्यक्ष मीनराज कँडेलले बताए ।

यसैगरी केन्द्रीय उपभोक्ता सहकारी सङ्घमा १ सय १० संस्थाले मात्र सदस्यता लिएका छन्, जसमध्ये १३ जिल्ला सङ्घ र ९७ प्रारम्भिक संस्था छन् । हाल नेपालमा १ हजार ३ सय उपभोक्ता सहकारी संस्था छन् । आर्थिक वर्ष०६५/६६ मा सरकारले सहकारीमार्फत सुपथ मूल्य पसल सञ्चालनका लागि  रू. १ लाख अनुदान दिन शुरू गरेपछि यो प्रकृतिका संस्था खुल्ने क्रम बढेको थियो । तर, अहिले सरकारले उक्त प्रकृतिको अनुदान दिएको छैन ।

नेपालमा कुल ३ हजार १ सय ४४ कृषि सहकारी संस्थामध्ये नेपाल केन्द्रीय कृषि सहकारी सङ्घमा ३ सय ५० मात्र आबद्ध छन्, जसमध्ये ८ जिल्ला कृषि सहकारी सङ्घ र ३ सय ४२ प्रारम्भिक सहकारी संस्था छन् । अहिले जिल्ला कृषि सङ्घहरू बलियो नभएको अवस्था भएकाले प्रारम्भिक संस्थालाई सोझै केन्द्रमा आबद्ध गराएको केन्द्रीय कृषि सङ्घका अध्यक्ष खेमबहादुर पाठकल बताए ।

सहकारीलाई 'करमुक्त क्षेत्र’ घोषणा गर्न माग
साउन १६, काठमाडौं (अस)। सहकारी क्षेत्र विकासका लागि सरकारले यो क्षेत्रलाई करमुक्त घोषणा गरी छुट्टै सहकारी मन्त्रालयको व्यवस्था गर्न सरोकारवालाहरूले माग गरेका छन् । सरकारले लागू गरेको तीनखम्बे अर्थनीतिमा सहकारीलाई समावेश गरिए पनि सोअनुसार व्यवहार नगरेको भन्दै उनीहरूले उक्त माग गरेका हुन् । सोमवार सिमरामा हातेमालो बचत तथा ऋण सहकारी सङ्घद्वारा आयोजित व्यवस्थापन तालीमको समापन समारोहमा उनीहरूले सो कुरा बताएका हुन् ।

सहकारीले मुलुकको अर्थतन्त्र र सामाजिक विकासमा पुर्याएको योगदानलाई सम्मान गर्दै यसको प्रभावकारी प्रवर्द्धनका लागि राज्यले छुट्टै व्यवस्था गर्नुपर्ने नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लिमिटेड (नेफ्स्कुन) का अध्यक्ष मिनराज कँडेलले बताए । 'सरकारले छिटोभन्दा छिटो छुट्टै सहकारी मन्त्रालयको व्यवस्था गरी यो क्षेत्रलाई करमुक्त घोषणा गर्नुपर्छ,' कँडेलले भने । सहकारीले समुदायलाई केन्द्रबिन्दु बनाएर आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणका लागि काम गर्ने भएकाले समावेशी र दिगो विकासका लागि सहकारीलाई प्रवर्द्धन गर्नुपर्ने उनको भनाइ थियो । सरकारको वार्षिक नीति तथा कार्यक्रम र बजेटलाई सहकारीमुखी भनिए पनि शब्दमा सीमित रहेको तथा यस क्षेत्रका अत्यावश्यक मागलाई खासै सम्बोधन नभएको पनि कँडेलले बताए ।

कार्यक्रममा डिभिजन सहकारी कार्यालय बारा कलैयाका प्रमुख महेन्द्र राउत, जिल्ला बचत तथा ऋण सहकारी सङ्घका उपाध्यक्ष भोला गौतम, रौतहट बचत तथा ऋण सहकारी सङ्घका सञ्चालक खड्ग मैनाली, नेफ्स्कुनका वरिष्ठ अधिकृत रामबाबु आचार्य, हातेमालो बचत तथा ऋण सहकारी संस्थाका लेखा समिति संयोजक डम्मरमणि लिम्बूलगायतले मन्तव्य दिएका थिए ।

अर्को साताबाट पन्ध्र नयाँ ब्रोकर कम्पनी सञ्चालनमा
साउन १६, काठमाडौं (अस)। अनुमति पाए पनि तालीम नपाएर सञ्चालनमा आउन नसकेका नयाँ शेयर ब्रोकर कम्पनीहरू अर्को साताबाट सञ्चालनमा आउने भएका छन् । नेप्सेले सोमवारदेखि ती कम्पनीहरूका लागि कारोबारसम्बन्धी तालीम सञ्चालन गरेको हो । सात दिनसम्म चल्ने उक्त तालीममा नेपाल धितोपत्र बोर्डबाट सञ्चालन अनुमति पाएका १५ र प्रस्तावित एक कम्पनी गरी १६ कम्पनीको सहभागिता रहेको छ । तालीममा प्रत्येक कम्पनीबाट दुई-दुई जनाको उपस्थिति रहेको छ ।

तालीममा कारोबार प्रणाली, बजार सम्बद्ध सूचना प्रविधि, धितोपत्रको कारोबार, राफसाफ तथा फछर्यौट, सूचीकरण, सुपरिवेक्षण तथा अनुगमन, सूचना सम्प्रेषण, पूँजी बजार सुधार, पूँजीबजारका औजारलगायत विषयमा प्रशिक्षण दिइएको छ । तालीममा नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जका उच्च तहका अधिकारीहरूले प्रशिक्षण दिइरहेका छन् ।

नयाँ केन्द्रीय सहकारी सङ्घ स्थापना
साउन १६, काठमाडौं (अस) । नेपाल सूचना तथा सञ्चार केन्द्रीय सहकारी सङ्घ स्थापना भएको छ  । सुनसरी, तेह्रथुम, धादिङ, काठमाडौंलगायत जिल्लाका २६ ओटा सञ्चार सहकारी संस्थाको पहलमा सोमवार सङ्घको स्थापना भएको हो ।  सहकारी विभागमा दर्ता भएको यो १२ औं केन्द्रस्य सङ्घ हो ।

Admin 2011-08-02