शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

विराटनगरमा सहकारीद्वारा पेट्रोलपम्प सञ्चालन
केपी भट्टराई
माघ १७, विराटनगर । अरनिको बचत तथा ऋण सहकारी संस्था, विराटनगरले पूर्वाञ्चलमै पहिलोपटक सहकारीमार्फत पेट्रोलपम्प सञ्चालन गरेको छ । संस्थाले आफ्ना ६ सयभन्दा बढी शेयर सदस्यबाट न्यूनतम रू. १ हजारदेखि अधिकतम रू. १ लाख १ हजारसम्म शेयर पूँजी सङ्कलन गरी करीब रू. ४ करोडको लगानीमा जयश्री  तिरुपति अटो मोबाइल नामक पेट्रोलपम्प सञ्चालन गर्दै आएको छ ।

सहकारी संस्थाका अध्यक्ष दिनेश सुवेदीले पेट्रोलियम पदार्थमा शुद्धताको प्रश्न उठिरहेका बेला सहकारीकै सदस्य उपभोक्ताहरूलाई ध्यानमा राखेर पेट्रोलपम्प सञ्चालनमा ल्याएको अभियानलाई बताए । उनका अनुसार गुणस्तरमा शुद्धता र तौलमा निश्चितता भन्ने नाराका साथ पेट्रोलपम्प सञ्चालन गरिएको हो । पेट्रोलपम्पबाट दैनिक ७ हजार लिटर डिजल तथा पेट्रोल विक्री वितरण हुँदै आएको छ । उनका अनुसार सहकारीले सञ्चालन गर्नुअघि उक्त पम्पले दैनिक ३ हजार ४ सय लिटर पेट्रोल तथा डिजल विक्री गर्दै आएको थियो ।

गत वर्षदेखि सञ्चालन भएको सो सहकारी पेट्रोलपम्पले एक वर्षको अवधिमा सबै खर्च कटाएर करीब रू. २५ लाख नाफा कमाएको पनि सुवेदीले जानकारी दिए । २०६६ जेठ १५ मा स्थापना भएको अरनिको बचत तथा ऋण सहकारी संस्थाले स्थापनाको पहिलो वर्षदेखि नै पेट्रोलपम्प सञ्चालन गरेको व्यवस्थापक बलराम बरालले जानकारी दिए । कुल ६ सय ८१ शेयर सदस्य रहेको यस सहकारी संस्थाको हालको शेयर पूँजी रू. ४ करोड ५९ लाख रहेको छ । संस्थाको हालसम्मको बचत सङ्कलन रू. ४ करोड तथा ऋण लगानी रू. ४ करोड ८५ लाख रहेको बताइएको छ ।

दाङमा सहकारी रेडियो पाण्डवप्रसाद शर्मा
माघ १७, दाङ (घोराही) । हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाले तुलसीपुरमा सहकारी रेडियो सञ्चालन गरेको छ । सो रेडियो रू. ४५ लाखको लागतमा सञ्चालन गरिएको संस्थाका कोषाध्यक्ष मोहनसिंह ओलीले बताए ।

संस्थाले रेडियो सञ्चालनसँगै आफ्नो कार्यक्रमहरूमार्फत सहकारीको बारेमा चेतना अभिवृद्धि गर्न थालेको छ । रेडियो सञ्चालन गर्न सहकारी दर्ता गर्ने प्रक्रिया भए पनि सहकारीकै नीति नियममा रहेर मध्यपश्चिममै पहिलोपटक 'हाम्रो पहुँच' रेडियो सञ्चालन गरिएको ओलीले जानकारी दिए । 'शेयर सङ्कलन गरेर सहकारी दर्ता गरी रेडियो सञ्चालन गर्ने धेरै छन्, तर बहुउद्देश्यीय सहकारीले रेडियो सञ्चालन गरेको यो नै पहिलो हो', ओलीले बताए ।

सहकारी रेडियोमा हाल १५ कर्मचारी छन् । २०६४ साउन ३१ गते डिभिजन सहकारी कार्यालयमा दर्ता भएको हाम्रो पहुँच बहुउद्देश्य सहकारी संस्थाले आफ्नो तेस्रो कार्यक्रमअर्न्तर्गत सहकारी रेडियो स्थापना गरेको हो । ५ सय वाट क्षमताको हाम्रो पहुँच ८९ मेगाहर्ज रेडियोले 'सहकारी अभियान' भनेर नियमितरूपमा कार्यक्रम सञ्चालन गरिरहेको छ । जिल्लास्थित सहकारी संस्थाको विकासका लागि रेडियोले कार्यक्रमहरू सञ्चालन गरिरहेको ओलीले बताए । अहिले रेडियो बिहान ५ बजेदेखि राति १० बजेसम्म सञ्चालन भइरहेको छ । रेडियोले स्थानीय समाचारलाई प्राथमिकता दिने गरेको छ ।

सहकारी सञ्चालनका लागि ७ सदस्यीय सञ्चालक समिति गठन गरिएको छ भने उपसमितिमार्फत रेडियो सञ्चालन गरिएको छ । सहकारीका माध्यमबाट रेडियो सञ्चालन हुँदा आफ्नो भन्ने भावनाको विकास हुने भएकाले सञ्चालन गर्न सजिलो भएको पनि ओलीको भनाइ छ । 'हामीले जिल्लामा रहेका ११ ओटा रेडियोभन्दा पृथक्रूपमा रेडियो सञ्चालन गरेका छौं', उनले भने । सो सहकारीमा अहिले कुल २ सय १२ शेयर सदस्य छन् । प्रतिव्यक्ति रू. १६ हजार  सङ्कलन गरेर स्थापना गरिएको सहकारीको चुक्ता पूँजी रू. २ करोड ३४ लाख १३ हजार ८ सय ७६ छ । सहकारीको आफ्नै भवन छ भने भाडामा पेट्रोलपम्प पनि सञ्चालन गरेको छ । सहकारीले श्रीगाउँ गाविसमा ८ कठ्ठा जग्गासमेत खरीद गरिसकेको उनले बताए । संस्थाले रेडियो, पेट्रोलपम्प र दैनिक बचत सङ्कलन गरेर ५० जनालाई रोजगारी दिएको छ । सहकारीमा शेयर सदस्यहरू अधिकांश कृषक छन् ।

सहकारीमा कर लगाउनु अनावश्यक
माघ १७, काठमाडौं (अस)। सरकारले सहकारी संस्थामा लगाउँदै आएको कर अनावश्यक र विभेदपूर्ण भएको राष्ट्रिय सहकारी सुदृढीकरण दबाब तथा तदर्थ समितिकी अध्यक्ष तुलसा रिमालले बताएकी छिन् । शनिवार समितिको काठमाडौंमा सम्पन्न छलफल कार्यक्रममा रिमालले सो कुरा बताएकी हुन् ।

कार्यक्रममा सहकारी विकास बोर्डका सहअध्यक्ष सरोज शर्मा, बोर्डका सदस्य सचिव नेत्र न्यौपाने, साना मझौला व्यवसाय महासङ्घका अध्यक्ष जङ्गबहादुर श्रेष्ठ, राष्ट्र बैङ्क, विभिन्न केन्द्रीय विषयगत सङ्घलगायत प्रतिनिधिहरूको उपस्थिति थियो । कार्यक्रममा वक्ताहरूले सहकारी क्षेत्रको विकासका लागि छुट्टै मन्त्रालय गठन गर्नुपर्ने बताएका थिए ।

कार्यक्रममा राष्ट्र बैङ्कले सहकारीलाई हेर्ने दृष्टिकोण पक्षपातपूर्ण भएको, कृषि तथा सहकारी मन्त्रालयले सहकारी सुदृढीकरणका लागि छुट्टयाएको रकम ग्रामीण सहकारीमा नपुगेको, सहकारीले सहकारी संस्थाको मागलाई बेवास्ता गरेकोलगायत विषयमा छलफल भएको अध्यक्ष रिमालले जानकारी दिइन् । सहकारी क्षेत्रको विकृति रोक्ने उद्देश्यले राष्ट्रिय सहकारी सुदृढीकरण दबाब तथा तदर्थ समिति विसं.२०६६ साउनमा स्थापना भएको हो ।

सहकारी पसलहरूमा मासिक १ करोडको कारोबार
माघ १७, दाङ (घोराही)(अस) । दाङ जिल्लास्थित ४२ ओटा सुपथ मूल्यका सहकारी पसलहरूले मासिक रूपमा कुल रू. १ करोडको कारोबार गरिरहेका छन् । जिल्लाका ३९ गाविस र २ नगरपालिकामा रहेका ती सहकारी पसलहरूले मासिक न्यूनतम रू. १ लाखदेखि अधिकतम रू. १० लाखसम्मको कारोबार गर्ने गरेको डिभिजन सहकारी कार्यालय, दाङले बताएको छ । दुइ वर्षअघि सरकारले बीउ पूँजीको रूपमा एक/एक लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेर ती सहकारी पसलहरू खोलेको थियो । ती पसलहरूले आफ्नो कारोबारको १ देखि साढे २ प्रतिशतसम्म आम्दानी गरेको सो कार्यालयका प्रमुख नारायणप्रसाद श्रेष्ठले बताए । ती पसलहरूले दैनिक उपभोग्य वस्तुहरू नून, चिनी, तेल, रासायनिक मललगायत सामग्री विक्री गर्दै आएका छन् ।

सहकारी पसलहरूले गाउँमै सर्वसुलभ सेवा प्रदान गर्न थालेपछि ग्रामीण भेगका जनता खुशी भएको श्रेष्ठको भनाइ छ । उनले भने, 'मूल्य निर्धारण समितिद्वारा निर्धारित मूल्यमा सहकारी पसलहरूले सामान विक्री गरिरहेकाले उपभोक्ताहरू ठगिनबाट जोगिएका छन् ।' दाङमा अहिलेसम्म ३ सय ६८ सहकारी संस्था छन् । त्यसमध्ये १ सय ५० बचत, ७७ कृषि, ३१ उपभोक्ता र अन्य १ सय १०  सहकारी संस्था छन् । कार्यालयका अनुसार जिल्लास्थित सबैखाले सहकारी संस्थामध्येबाट छनोट गरेर सहकारी पसल सञ्चालन गर्ने जिम्मेवारी दिइएको थियो । यसैबीच डिभिजन सहकारी कार्यालयले सुपथ मूल्यका सहकारी पसलको प्रभावकारी सञ्चालनका लागि सम्बन्धित व्यक्तिहरूलाई सहकारी व्यवस्थापन तथा लेखा तालीम सञ्चालन गरेको छ । सोअन्तर्गत पहिलो चरणमा २५ सहकारी पसलका अध्यक्ष, कोषाध्यक्ष र व्यवस्थापकमध्येबाट एक/एकजनालाई तालीम दिइने छ । यस्तै दोस्रो चरणमा थप सहकारी पसलहरूका व्यक्तिहरूलाई पनि तालीम दिने कार्यक्रम भएको कार्यालयले बताएको छ । सो कार्यालयले जिल्लाका चार ओटा सहकारी पसलहरूको अनुगमनसमेत गरेको छ । अनुगमनको क्रम जारी रहेको पनि कार्यालयका प्रमुख श्रेष्ठले अभियानलाई बताए । अनुगमनपछि सहकारीको नीतिअनुरूप सञ्चालन भएका सहकारीलाई प्रोत्साहनस्वरूप पुरस्कृत र नीतिविपरीत काम गर्नेलाई कारवाही गरिने पनि उनले जानकारी दिए ।

६ महीनामा २६ सहकारी संस्था दर्ता
गोकर्ण डुवाडी
माघ १७, धादिङ । धादिङ जिल्लामा चालू आर्थिक वर्षको पहिलो ६ महीनामा २६ सहकारी संस्था दर्ता भएका छन् । दर्ता भएका सहकारी संस्थामध्ये कृषि सहकारी १६ र बचत तथा ऋण सहकारी १० रहेको डिभिजन सहकारी कार्यालय, धादिङले जनाएको छ । गत आवको सोही अवधिमा धादिङमा १५ सहकारी संस्था दर्ता भएका थिए ।

नयाँ दर्ता भएका सहकारी संस्थासँगै जिल्लामा सहकारी संस्थाहरूको कुल सङ्ख्या अब २ सय ८५ पुगेको सहायक सहकारी निरीक्षक महेश्वर ढकालले बताए । त्यसमध्ये कृषि सहकारी संस्था सबैभन्दा धेरै ९२ ओटा रहेका छन् । त्यस्तै बचत तथा ऋण सहकारी ७२, बहुउद्देश्यीय सहकारी संस्था ४०, साना किसान कृषि सहकारी संस्था २३, दुग्ध उत्पादक सहकारी २२ र फलफूल तथा तरकारी सहकारी २१ ओटा रहेका छन् ।  यस्तै विद्युत् सहकारी ५, जडीबुटी उत्पादन सहकारी ४, कफी तथा चिया सहकारी ३, सञ्चार सहकारी ३, स्वास्थ्य सहकारी २ र विद्यालय, यातायात तथा उपभोक्ता सहकारी संस्था १/१ रहेको पनि ढकालले जानकारी दिए ।

सहकारी संस्थाहरूको छाता सङ्गठनको रूपमा धादिङमा जिल्ला सहकारी सङ्घ, दुग्ध उत्पादक सहकारी सङ्घ, बचत तथा ऋण सहकारी सङ्घ, साना किसान कृषि सहकारी सङ्घ र तरकारी तथा फलफूल सहकारी सङ्घ गरी पाँच ओटा रहेका छन् ।

यसैबीच डिभिजन सहकारी कार्यालयले सहकारी ऐनअनुसार काम नगरेका र वार्षिक प्रतिवेदन नबुझाएका ३० सहकारी संस्थाको खारेजीका लागि प्रक्रिया थालेपछि १३ ओटाले स्पष्टीकरणसहित कार्यालयमा सम्पर्क गरेको बताइएको छ । बाँकी १७ सहकारीको नाम भने केही दिनभित्रै सार्वजनिक सञ्चारमाध्यममा प्रकाशन गरी खारेजी प्रक्रिया अघि बढाइने पनि सहायक सहकारी निरीक्षक ढकालले अभियानलाई जानकारी दिए ।

अँैचोपैँचोको कुल सम्पत्ति साढे १३ करोड
माघ १७, काठमाडौं (अस)। आर्थिक वर्ष०६६/६७ सम्ममा अंैचोपैंचा बचत तथा ऋण सहकारी संस्थाको कुल सम्पत्ति रू. १३ करोड २० लाख पुगेको छ । यो अघिल्लो आवको तुलनामा करीब १४ प्रतिशतले बढी हो । आव ०६५/६६ मा संस्थाको कुल सम्पत्ति रू. ११ करोड ५८ लाख रहेको थियो । आव ०६६/६७ को अन्त्यसम्ममा संस्थाको निक्षेप रू. ९ करोड ९६ लाख पुगेको थियो । यो अघिल्लो आवको तुलनामा करीब ५ दशमलव ८ प्रतिशतले बढी हो ।

अंैचोपैंचा बचत तथा ऋण सहकारी संस्था २१ वर्षअघि काठमाडौंको कालिमाटीमा स्थापना भएको हो । कालिमाटीस्थित 'यूनाइटेड युवा क्लब' का सदस्यको अगुवाइमा स्थापना भएको सो संस्था २०५२ सालमा विधिवत् रूपमा दर्ता गरिएको थियो । स्थापनाकालमा १५ जना सदस्यको रू. ७ सय ५० बाट शुरू भएको यस संस्थामा हाल सदस्य सङ्ख्या १ हजार ४ सय ८४ पुगेको छ । सोमध्ये ७ सय ३९ पुरूष, ७ सय ३९ महिला र ६ संस्थागत सदस्य रहेका छन् ।

संस्थाले खुत्रुके बचत, कारोबार बचत, नारी बचत, विशेष बचत, आवधिक बचतलगायत विभिन्न बचत कार्यक्रम सञ्चालन गरेको छ । यसैगरी संस्थाले व्यक्तिगत कर्जा, आपतकालीन कर्जा, आयमूलक कर्जा, हायर पर्चेज कर्जा, उपचार कर्जा, शैक्षिक कर्जा, घर/जग्गा कर्जा, पैँचो कर्जा, आवधिक कर्जा, सञ्चयकोष कर्जा र अन्तरसंस्था कर्जा गरी ११ किसिमका कर्जा कार्यक्रम सञ्चालन गरेको बताएको छ ।

संस्थाले नेपाल बचत तथा ऋण केन्द्रीय सङ्घ (नेफ्स्कुन), बिकु बचत तथा ऋण सहकारी संस्था लि, नेपाल सहकारी वित्तीय संस्था, सगरमाथा इन्स्योरेन्स, राष्ट्रिय सहकारी विकास बैङ्क, नेपाल श्रीलङ्का मर्चेण्ट बैङ्क, दुर्गा भवानी सहकारी संस्था, काठमाडौं जिल्ला सहकारी सङ्घ, अइली सहकारी लि,समुन्नति, सहकारी सेवा सुरक्षण कोषलगायत सङ्घसंस्थामा शेयर लगानी गरेको संस्थाका महासचिव विष्णुकुमार आचार्यले जानकारी दिए ।

सदस्यहरूको आर्थिक तथा सामाजिक विकासमा संस्थाले महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ । सदस्यहरूको परिवारका सदस्यको मृत्यु भएमा संस्थाले बढीमा तीन पटकसम्म रू. ५ हजार किरिया खर्च सहयोग गर्दै आएको छ भने संस्थाका सदस्यको मृत्यु भएमा परिवारलाई रू. ७ हजार सहयोग दिँदै आएको छ । चालू आवमा संस्थाले सहानुभूति कोषबाट १० जना सदस्यलाई रू. ५५ हजार ५ सय प्रदान गरेको बताइएको छ ।

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत संस्थाले स्थापना कालदेखि नै विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ । गत आवमा संस्थाले रामेछापको एक विद्यालयका विद्यार्थीहरूलाई स्कूल पोशाक र किताबकापी वितरण गरेको संस्थाका महासचिव आचार्यले बताए ।

हरिकृष्ण बास्तोला अध्यक्ष रहेको सो संस्थामा उपाध्यक्ष हरिहर सुवेदी, महासचिव विष्णुकुमार आचार्य, कोषाध्यक्ष देवेन्द्रकुमार अर्याल र सचिव इन्दिराकुमारी पोखरेल रहेका छन् । यसैगरी सदस्यहरूमा गोपालकृष्ण आचार्य, दुर्गादेवी तिवारी, राजेन्द्र देवकोटा, राजुकुमार कँडेल, रामप्रसाद भट्टराई र माधवप्रसाद आचार्य रहेका छन् ।

विष्णुकुमार आचार्य

महासचिव
अंैचोपैंचो बचत तथा ऋण सहकारी संस्था लि.

साकोसको भीडमा तपाईको संस्थालाई कसरी चिनाउनुहुन्छ ?

अंैचोपैंचो बचत तथा ऋण सहकारी 'निरन्तर सेवा अटूट विश्वासः गर्छ यसले आर्थिक विकास' भन्ने मूल नारा लिएर अघि बढेको संस्था हो । संस्थाका सबै निर्णय सदस्यताको सहभागितामा हुँदै आएका छन् । संस्थालाई सदस्यहरूको पूर्ण विश्वास प्राप्त छ । यसको परिणाम संस्थाले ठूलो आर्थिक उन्नति गर्न सफल भएको छ । संस्थाले सदस्यहरूलाई निरन्तर नगद लाभांश पनि वितरण गर्दै आएको छ । वर्तमान अवस्थामा पनि सहकारीका मूल्य र मान्यतामा अडिग भई सदस्यहरूकै आर्थिक तथा सामाजिक विकासमा लागेको शुद्ध संस्था हो ।

संस्थाका आगामी योजनाहरू के-के हुन् ?

संस्थाले सदस्यहरूको आर्थिक विकासका लागि विभिन्न आयआर्जनका क्षेत्रमा लगानी गर्ने योजना बनाएको छ । चालू आवमा संस्थाले दीर्घकालीन विकास रणनीति पनि तयार गर्न शुरू गरेको छ । संस्थाका सबै योजना सदस्यको हितमा केन्द्रित छन् । आगामी दिनमा पनि सदस्यहरूकै आर्थिक र सामाजिक विकासमा योजनाहरू लक्षित हुनेछन् ।

संस्थाले भोग्दै आएका समस्याहरू बताइदिनुस् न ।

अहिले बचत तथा ऋण सहकारीको नाममा विकृति भित्रिएको छ । कतिपय साकोसले गल्ती गरेका होलान् । तर, त्यसको मारमा सबै साकोस परेका छन् । त्यस्ता सहकारीका माझ हाम्रो संस्थालाई उत्कृष्ट देखाउनु नै प्रमुख चुनौती हो । संस्थामा सदस्य सङ्ख्या करीब १ हजार ५ सय पुगेको छ । फरकफरक विचार भएका सदस्यहरूलाई गोलबन्द गरी एउटै बाटोमा हिँडाउनु संस्थाको अर्को चुनौती हो ।

दुग्ध सहकारीबाट दोलखामा वार्षिक २ लाख लिटर दूध सङ्कलन
माघ १७, दोलखा (अस)। दोलखा जिल्लामा वार्षिक करीब २ लाख लिटर दूध सङ्कलन हुँदैआएको छ । सोमध्ये जिल्लाको एक मात्र दुग्ध उद्योगबाट करीब १ सय लिटर र स्थानीय कृषकहरूबाट करीब ४ सय गरी दैनिक ५ सय लिटर सङ्कलन हुने गरेको जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ, दोलखाले बताएको छ । तर, जिल्लामा दूधको माग भने वार्षिक ६ लाख लिटर भएको दोलखा दुग्ध उद्योगका अध्यक्ष श्यामकाजी कटुवालले अभियानलाई बताए । उनका अनुसार जिल्लामा करीब ६ सय परिवार दुग्ध उत्पादन व्यवसायमा संलग्न छन् । जिल्लामा सुस्पा, तामाकोशी, कालिञ्चोक पशु र चर्नावतीलगायत १० दुग्ध उत्पादक सहकारी संस्था सञ्चालित छन् । तीमध्ये आठ दुग्ध सहकारी संस्था दुग्ध उत्पादक सहकारी सङ्घमा आबद्ध छन् भने बाँकी दुइ सङ्घमा आबद्ध हुने तयारीमा रहेको बताइएको छ ।

२०६५ सालमा गठन भएको जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घले अहिलेसम्म १० गाविसमा सञ्जाल विस्तार गरिसकेको सङ्घका उपाध्यक्ष हेमन्त चौलागाईंले बताए । उनले दुग्ध व्यवसायको प्रवर्द्धन र विकासका लागि दुग्ध उत्पादन प्रशोधन, विक्री र वितरणलगायतमा सङ्घले किसानलाई सहयोग पुर्याउँदै आएको पनि बताए । उनले सदस्यहरूको आर्थिक उन्नतिमा सहयोग पुर्याउने, कृषकलाई व्यापारीको शोषणबाट मुक्त बनाउने र उन्नत जातका दुधालु पशुपालनलाई प्रोत्साहित गर्नेलगायत उद्देश्य प्राप्तिमा सङ्घले सहयोग पुर्याइरहेको पनि बताए । सङ्घको दूधको बजार पहिल्याउने र अन्य सङ्घसंस्थासँग मिलेर चिस्यान केन्द्र स्थापना गर्ने योजना रहेको पनि बताइएको छ ।