कृषि सहकारीलाई सरकारको प्राविधिक सहयोग
यज्ञ वञ्जाडे
वैशाख १९, काठमाडौं । सरकारले देशका सबै जिल्ला कृषि सहकारी सङ्घमा एक/एक जना स्वयम्सेवक कृषि प्राविधिक (जेटी, जेटीए) पठाउन शुरू गरेको छ । सहकारीमार्फत कृषकलाई प्राविधिक सहयोग उपलब्ध गराउने उद्देश्यले स्वयम्सेवक पठाउन शुरू गरिएको राष्ट्रिय योजना आयोगका स्वयम्सेवक सेवाका निर्देशक जगन्नाथ अधिकारीले अभियानलाई जानकारी दिए । नेपाल कृषि सहकारी केन्द्रीय सङ्घले आफ्ना सङ्घसंस्थामा कृषि प्राविधिक माग गरेपछि सरकारले स्वयंसेवक पठाउन शुरू गरेको अधिकारीले बताए । 'जिल्ला कृषि सहकारी सङ्घमा खटिने प्राविधिकले सङ्घमा आबद्ध प्रारम्भिक सहकारी संस्थामा पनि प्राविधिक सहयोग गर्नेछन्,' उनले भने । हाललाई यस्तो प्राविधिक चालू आर्थिक वर्षको असारसम्मका लागि मात्र पठाउन लागिएको आयोगले बताएको छ ।
सरकारले नेपाल कृषि सहकारी केन्द्रीय सङ्घमा भने कृषि वैज्ञानिक, इलेक्ट्रोनिक इञ्जिनीयर र स्वास्थ्य सहायक एक/एक गरी तीन जना प्राविधिक सहयोगका लागि पठाएको छ । यसैगरी जिल्ला कृषि सहकारी सङ्घ रहेका २८ जिल्लामध्ये १५ जिल्लामा एक/एक जना जेटी वा जेटीए पठाइसकिएको छ । जेटी/जेटीए पठाइसकिएका जिल्लाहरूमा धादिङ, चितवन, मकवानपुर, बारा, रौतहट, धनुषा, महोत्तरी, मोरङ, सुनसरी, झापा, रूपन्देही, नवलपरासी, कास्की, बाँके र सुर्खेत रहेका छन् । यसैगरी दाङ, बर्दिया, सल्यान, सलाही, सप्तरी, सिराहा, नुवाकोट, काभ्रे, ललितपुरलगायत १० जिल्लामा पनि छिट्टै त्यस्ता प्राविधिक पठाइने राष्ट्रिय योजना आयोगले जानकारी दिएको छ । सङ्घले प्राविधिक माग गर्ने समयमा २५ जिल्ला सङ्घ मात्र रहेकाले आयोगले ती सङ्घमा मात्र प्राविधिक पठाउन लागेको हो । हाल जिल्ला सङ्घको सङ्ख्या २८ पुगेको छ । सङ्घले माग गरेमा बाँकी तीन जिल्ला सङ्घमा पनि प्राविधिक पठाउन सकिने आयोगले बताएको छ । आयोगका अनुसार ती प्राविधिकलाई सरकारले नै 'स्वयम्सेवक निर्वाह भत्ता' प्रदान गर्नेछ । निर्देशक अधिकारीले कृषि सहकारी केन्द्रीय सङ्घ र योजना आयोगबीचको सहमतिमा ती प्राविधिकहरूको सङ्घमा काम गर्नुपर्ने समयावधि २ वर्षथप गर्न सकिने पनि बताए ।
सरकारले चालू आवमा मासुका लागि पशुपालन गर्न साना किसान बैङ्कमार्फत किसानलाई रू. १ अर्ब सहुलियत ब्याजमा कर्जा प्रवाह गर्ने निर्णयगरेको थियो । त्यसमध्ये पहिलोपटक निकासी भएको रू. ३० करोड कर्जा परिचालन भइसकेको सङ्घका अध्यक्ष खेमबहादुर पाठकले बताए । 'सरकारबाट दोस्रो किस्ता पनि निकासी भएको छ, वैशाख महीनाभित्रै सबै रकम निकासी भई वितरण भइसक्ने छ,' पाठकले भने । सहुलियत कर्जा पाउने कृषि सहकारीमा आबद्ध अधिकांश किसानलाई कृषि प्राविधिक ज्ञान नभएकाले सरकारसँग प्राविधिक सहयोग मागिएको उनको भनाइ थियो ।
हाल केन्द्रीय सङ्घमा ३ सय १५ कृषि सहकारी सङ्घसंस्था आबद्ध छन् । सङ्घको ५२ जिल्लामा सञ्जाल रहेको छ भने जिल्ला सङ्घको सङ्ख्या २८ रहेको छ । वित्तीय कारोबार गर्न सङ्घले केन्द्रीय स्तरमा साना किसान बैङ्क स्थापना गरेको छ । हाल बिर्तामोड, इटहरी, जनकपुर, हेटौंडा, धादिङको गजुरी, पोखरा, बुटवल र नेपालगञ्जमा गरी बैङ्कका आठ शाखा रहेको सङ्घले जानकारी दिएको छ ।
भवन बनाउँदै कल्याणकारी साकोस
वैशाख १९, काठमाडौं (अस)। चालू आर्थिक वर्षमा कल्याणकारी बचत तथा ऋण सहकारी संस्थाले कार्यालय भवन निर्माण गर्ने भएको छ । संस्थामा ए १ कम्पिटेटिभ च्वाइस फर एक्सिलेन्स इन सर्भिस एण्ड साउण्डनेश (एक्सेस) लागू गरेपछि पुरानो भवन अपुग भएकोले नयाँ निर्माण गर्न लागिएको संस्थाका अध्यक्ष प्रल्हाद विष्टले अभियानलाई जानकारी दिए । संस्थाले यसअघि नै ०६२/६३ सालमा रू. २५ लाखमा पक्की भवनसमेत किनेको थियो । हाल सो भवनको मूल्य करीब रू. १ करोड पुगेको संस्थाले बताएको छ ।
कल्याणकारी बचत तथा ऋण सहकारी संस्था २०५० सालमा उपत्यकाभरि कार्यक्षेत्र रहने गरी ललितपुरको लुभु गाविस-४ मा स्थापना भएको हो । राष्ट्रिय वाणिज्य बैङ्क, लुभु शाखाका तत्कालीन कर्मचारीहरूबाट 'कर्मचारी कल्याणकारी कोष'को रूपमा स्थापित संस्थापछि सहकारीमा परिणत भएको हो । शुरूमा २५ जना सदस्यको १ हजार २ सय ५० रुपैयाँबाट स्थापना भएको सो संस्थामा हाल सदस्य सङ्ख्या करीब २ हजार र चुक्ता पूँजी करीब साढे १ करोड रुपैयाँ पुगेको छ ।
गत असारदेखि संस्थाले लुभु गाविस-८, शङ्खादेवीमा पनि 'कल्याणकारी सेवा केन्द्र'मार्फत पनि सेवा दिँदै आएको छ । हाल संस्थाको केन्द्र र सेवा केन्द्रमा गरी सात जना कर्मचारी छन् । चालू आवको चैतसम्ममा संस्थाको कुल पूँजी तथा दायित्व रू. १८ करोड ५५ लाख पुगेको संस्थाले जानकारी दिएको छ ।
संस्थाले नवक्षितिज सहकारी संस्था, नेफ्स्कुन, नेपाल बङ्गलादेश बैङ्क, ललितपुर बचत तथा ऋण सहकारी सङ्घ, राष्ट्रिय सहकारी बैङ्क, जिल्ला सहकारी सङ्घ ललितपुर, नेशनल डेभलपमेण्ट बैङ्क, बृहत् शैक्षिक सहकारी संस्था, स्वावलम्बी बचत तथा ऋण सहकारी संस्था र स्वास्थ्य सेवा सहकारीलगायत सङ्घसंस्थामा करीब रू. १३ लाख शेयर लगानी गरेको छ ।
संस्थाले नियमित, दैनिक, आवधिक, साधारण, नाबालक, कर्पोरेट, विशेष, लघु, पेन्सन र आवास गरी १० किसिमका बचत कार्यक्रम सञ्चालन गर्दै आएको छ । चालू आवको चैतसम्ममा संस्थाको बचत रू. १४ करोड १२ लाख पुगेको छ । यी बचतमा संस्थाले वार्षिक ८ देखि १५ प्रतिशतसम्म ब्याज दिँदै आएको छ ।
यसैगरी संस्थाले उत्पादनमूलक, अनुत्पादनमूलक, धितो, जमानी, लघु, कृषि, व्यावसायिक, औद्योगिक, हायरपर्चेज, वैदेशिक रोजगार, घरजग्गा, भवन निर्माण तथा मर्मतसम्भार, शैक्षिक र व्यक्तिगत गरी १४ प्रकारका कर्जा कार्यक्रम सञ्चालन गर्दै आएको छ । यी कर्जामा संस्थाले वार्षिक १५ देखि १७ प्रतिशतसम्म ब्याज लिने गरेको छ । चालू आवको चैतसम्म संस्थाको कर्जा प्रवाह रू. १६ करोड २८ लाख रहेको छ ।
संस्था स्थापना कालदेखि नै सामाजिक उत्तरदायित्वका क्षेत्रमा सक्रिय सहभागी हुँदै आएको छ । २०५१/५२ सालदेखि नियमित रूपमा संस्थाले स्थानीय 'महालक्ष्मी क्याम्पस'लाई आर्थिक तथा भौतिक सहयोग गर्दै आएको छ । साथै संस्थाले विगत ५ वर्षदेखि किष्ट मेडिकल कलेजसँग मिलेर प्रत्येक वर्षनिःशुल्क स्वास्थ्य शिविर पनि सञ्चालन गर्दै आएको छ ।
प्रल्हाद विष्ट अध्यक्ष रहेको यस संस्थामा उपाध्यक्षमा पुण्यकुमारी सिलवाल (आचार्य), सचिवमा प्रभुराम थापा र कोषाध्यक्षमा सुन्दर श्रेष्ठ रहेका छन् । यसैगरी सदस्यहरूमा रामबहादुर थापा, मिनु श्रेष्ठ, वसन्त पौडेल, गोकुल राउत, देवी श्रेष्ठ, मानबहादुर विसुङ्के र राजमान श्रेष्ठ छन् ।
प्रल्हाद विष्ट
अध्यक्ष
कल्याणकारी बचत तथा ऋण सहकारी संस्था, ललितपुर
तपाइं आफ्नो संस्थालाई कसरी चिनाउनुहुन्छ ?
यो संस्था सदस्यहरूको कल्याण गर्ने उद्देश्यले करीब १८ वर्षअघिस्थापना भएको हो । संस्था स्थापनाकालदेखि नै नियमित रूपमा सामाजिक कार्यमा पनि सहभागी हुँदै आएको छ । यो ग्रामीण भेगमा स्थापना भई सानो-सानो पूँजी परिचालन गर्दै ठूलो बनेको एक मात्र संस्था हो । त्यसैले, यो सदस्यहरूकै हितका लागि काम गर्ने सहकारी संस्था हो ।
संस्थाका उद्देश्यहरू बताइदिनुहोस् न ।
संस्थाको प्रमुख उद्देश्य नै सदस्यहरूको आर्थिक तथा सामाजिक अवस्थामा सुधार गर्नु हो । संस्थाका अधिकांश क्रियाकलाप त्यसैमा केन्द्रित छन् । यी उद्देश्य पूर्ति गर्न संस्थाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । संस्थाले विगत ६ वर्षदेखि पर्ल्स नियमन प्रणाली लागू गरेको छ । पर्ल्स लागू भएपछि संस्थाको लेखा प्रणालीमा सुधार आएको छ । चालू आवदेखि संस्थामा एक्सेस पनि लागू गरेका छौं । अहिलेको संस्थाको मुख्य लक्ष्य भनेकै एक्सेसमा सफलता हासिल गर्नु हो ।
संस्थाका कमजोरीहरू के-के हुन् ?
संस्थाको मुख्य कमजोरी भनेको सबैलाई समेट्न नसक्नु हो । हाम्रो सदस्य सङ्ख्यामा वृद्धि भएको छ । तर, सोचेअनुसार महिला, विपन्न, दलित र जनजातिलाई समेट्न सकेका छैनौं । त्यसैले ती समुदायलाई संस्थामा आबद्ध गर्न चालू आवमा विशेष योजनाहरू अघि बढाएका छौं ।