घरजग्गा जोड्दै सुनसरीका सहकारी
चैत २१, इटहरी (सुनसरी)(अस) । सुनसरी जिल्लाका सहकारी संस्था अहिले घरजग्गा जोड्ने अभियानमा लागेका छन् । जिल्लामा रहेका ४ सय सहकारी संस्थामध्ये सबैभन्दा बढी इटहरी र धरान नगरक्षेत्रमा सञ्चालित छन् । घरजग्गा जोड्ने लहर जिल्लाभरिका सहकारी संस्थाबीच चलेको देखिएको छ । तरहरा तथा चक्रघट्टीका सहकारीहरू पनि यस्तो अभियानमा लागेका छन् । इटहरीको नेपाः बहुउद्देशीय सहकारी संस्था, दुर्गा बचत तथा ऋण सहकारी संस्था, पूर्वाञ्चल बचत तथा ऋण सहकारी, महिला बचत तथा ऋण सहकारी, दुग्ध उत्पादक सहकारी संस्था र साझा सहकारी संस्थाका आफ्नै जग्गा तथा भवन छन् । इटहरी र एकम्बाको सङ्गम बालग्राम चौकमा रहेको किसान कल्याण बचत तथा ऋण सहकारी संस्थाले रू. २३ लाखको लागतमा हालै जग्गा खरीद गरी भवन निर्माण थालेको छ ।
इटहरीसँग जोडिएको हाँसपोसा गाविसको तरहरामा रहेको कामधेनु दुग्ध उत्पादक सहकारी संस्था आफ्नै भवनमा सञ्चालित छ । सोही गाविसको शान्ति जनकल्याण सहकारी संस्थाले भने रू. १ करोडको लागतमा अहिले भवन निर्माण गरिरहेको संस्थापक टीकाप्रसाद ओझाले अभियानलाई बताए । इनरुवाको कोशी बचत तथा ऋण सहकारी संस्था आफ्नै भवनमा सञ्चालन भइरहेको छ भने राष्ट्रसेवक सहकारी संस्थाले भवन निर्माण कार्य शुरू गरिसकेको छ । इनरुवाकै साझा सहकारी संस्था पनि आफ्नै भवनमा सञ्चालन हुँदै आएको छ ।
त्यस्तै भरौलस्थित सामुदायिक सहकारी संस्थाले आफ्नो भवन निर्माण गरिसकेको छ भनेे पशुपति महिला सहकारीको भवन निर्माण भइरहेको छ । यस्तै, चतरामा सामुदायिक सहकारी संस्था तथा, प्रकाशपुरमा रामधुनी बचत तथा ऋण सहकारी संस्था र दुग्ध उत्पादक सहकारी संस्थाले आफ्नै भवन निर्माण गरिसकेका छन् । महेन्द्रनगर गाविस क्षेत्रमा रहेका सहकारी संस्थामध्ये साना किसान सहकारी संस्था र बहुमुखी कृषि सहकारी संस्थाले पनि आफ्नै भवन निर्माण गरेर कार्य सञ्चालन गर्दै आएका छन् । दुहबीको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले पनि जग्गा खरीद गरेर भवन निर्माणको तयारी गरिरहेको बताएको छ ।
सुनसरी जिल्लामा सञ्चालित सहकारीमध्ये घर निर्माण गर्न जग्गा खरीद गर्नेको सङ्ख्या करीब ३ दर्जन छन् भने करीब २ दर्जनले आफ्नै भवन बनाइसकेका वा बनाइरहेका छन् । यसले सहकारी संस्थाहरू स्थायित्वतर्फ अघि बढेको सङ्केत गर्ने सहकारी समन्वय समिति, सुनसरीका अध्यक्ष सोमबहादुर श्रेष्ठ बताउँछन् । इटहरी नगरक्षेत्रमा मात्र सहकारी संस्थाहरूले घरजग्गामा रू. १० करोडभन्दा बढी लगानी गरेको पनि उनले बताए । उनका अनुसार ग्रामीण क्षेत्रका सहकारीले पनि घरजग्गा जोड्ने क्रममा रू. ५ करोडभन्दा बढी लगानी गरेका छन् ।
साझा सहकारीका भवनहरू बेवारिसे
सहकारी समन्वय समिति, सुनसरीका अध्यक्ष सोमबहादुर श्रेष्ठका अनुसार सुनसरीमा साझा सहकारी संस्था नाम भएका पुराना सहकारी संस्थाको सङ्ख्या १७ छ । ती सबै संस्थाको आफ्नै भवन भए पनि व्यवस्थापनको अभावले ४ ओटा मात्र सञ्चालनमा रहेको समितिले बताएको छ । सञ्चालनमा नरहेका संस्थाहरूको भवन बेवारिसे अवस्थामा छन् । कतिपय सहकारीले कृषि विकास बैङ्कबाट ऋण लिएर सवसाधारणलाई लगानी गरेको र असुल गर्न नसकी डुबेका छन् । एकातिर लगानी असुल गर्न नसक्नु र अर्कोतिर बैङ्कको ऋण तिर्न नसक्नुजस्ता कारणले पुराना सहकारीहरू डुबेको सहकारी क्षेत्रमा कार्यरतहरू बताउँछन् । ऋणमा डुबेका कतिपय सहकारीका भवनहरू कृषि विकास बैकले कब्जामा लिएका छन् भने कतिपयको भवन लिलाम विक्रीसमेत भइसकेको छ । केही साझा सहकारी संस्था भने भ्रष्टाचारका कारण पनि डुबेको भनाइ छ । २०३६ सालदेखि सञ्चालन हुँदै आएको महेन्द्रनगर चक्रघट्टीको साझा सहकारी संस्था भने भ्रष्टाचारका कारण डुबेको छ । एक वर्षअघि सो सहकारीको जग्गा तथा भवन लिलामीका लागि कृषि विकास बैङ्कले टेण्डर आह्वान गरेपछि महेन्द्रनगर गाविसले ९ कट्ठा ६ धुर जग्गा र गोदामसहितको भवन रू. १७ लाखमा सकार गरेको थियो । गाविसले सकार गरेको उक्त भवन गाविसको मातहतमा आए पनि अहिले प्रयोगहीन अवस्थामा रहेको छ ।
नुवाकोटमा सहकारीको लगानी रू. १ अर्बभन्दा बढी
चैत २१, विदुर (नुवाकोट) (अस)। नुवाकोटका सहकारी संस्थाहरूले घरेलु उद्योग तथा विपन्न समुदायमा लगानी बढाएका छन् । सहकारीले रू. २ अर्ब निक्षेप सङ्कलन गरेर रू. १ अर्ब १० करोड लघु उद्यम तथा विपन्न वर्गमा कर्जा प्रवाह गरेको जिल्ला सहकारी सङ्घले बताएको छ । जिल्लाका एक नगरपालिका र ६० गाविसमा गरी २ सय ८० सहकारी संस्था सञ्चालित छन् । तीमध्ये ७६ कृषि सहकारी, ६३ बचत तथा ऋण सहकारी, ५८ बहुउद्देश्यीय सहकारी, ५१ महिला सहकारी, ९ दुग्ध सहकारी, ५ उपभोक्ता सहकारी र बाँकी अन्य सहकारी रहेको जिल्ला सहकारी सङ्घले जानकारी दिएको छ । यी सहकारी संस्थाहरूमा ४६ हजार शेयर सदस्यका रू. १४ करोड ५० लाख शेयर पूँजी रहेको छ ।
सङ्घका अनुसार नुवाकोट जिल्लामा सहकारीका माध्यमबाट दैनिक ६ टन हरियो तरकारी र ३ हजार ५ सय लिटर दूध उत्पादन भई बजारमा गइरहेको छ । जिल्लामा सरकारको सहयोगमा ५९ ओटा सहकारी उपभोक्ता भण्डार पनि सञ्चालित छन् । यसैगरी अहिले सहकारीले ठूला चिस्यान केन्द्रहरू स्थापना गर्ने अभियान सञ्चालन गरेका छन् ।
जिल्लामा सञ्चालित सहकारी संस्थामा ८ सय २० जनाले प्रत्यक्ष रोजगारी पाएको सङ्घका कार्यकारी अध्यक्ष वैकुण्ठ मिश्रले जानकारी दिए । मिश्रले सहकारी कर्जाको माध्यमबाट जिल्लाका ११ हजारभन्दा बढी परिवारले स्वरोजगार प्राप्त गरेको पनि बताए । सहकारीको माध्यमबाट जिल्लामा दैनिक रू. ७० लाख रेमिटयान्स भित्रिरहेको पनि सङ्घले बताएको छ ।
सङ्घले ५४औं राष्ट्रिय सहकारी दिवसको सप्ताहव्यापी कार्यक्रम सार्वजनिक गर्न विदुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा सो जानकारी दिइएको थियो । सो अवसरमा अध्यक्ष मिश्रले आगामी दिनमा सहकारीलाई ग्रामीण समुदायको सशक्तीकरण र आर्थिक विकासको आधारस्तम्भ बनाइने बताए ।
थप दश सहकारीमा एक्सेस कार्यक्रम
चैत २१, काठमाडौं (अस)। २०६८ वैशाखसम्ममा नेपालका थप १० बचत तथा ऋण सहकारी संस्थामा ए-वान कम्पिटेटिभ च्वाइस फर एक्सिलेन्स इन सर्भिस एण्ड साउण्डनेश (एक्सेस) कार्यक्रम सञ्चालन हुने भएको छ । चालू आवमा १२ ओटा सहकारी संस्था एक्सेसमा सहभागी हुने तयारी भए पनि सो अवधिभित्र १० संस्थामा मात्र कार्यक्रम शुरू गरिने केन्द्रीय बचत तथा ऋण सहकारी संस्था लि. (नेफ्स्कुन) का एक्सेस संयोजक बाबुराम न्यौपानेले अभियानलाई बताए । एक्सेस एशियाली ऋण महासङ्घद्वारा अन्तरराष्ट्रियस्तरमा बचत तथा ऋण सहकारी संस्थाको गुणस्तर सुनिश्चत गर्न विकास गरिएको औजार हो । यसमा बचत तथा ऋण सहकारी संस्थाका क्षमता वृद्धिका ८६ सूचक समेटिएका छन् । 'एक्सेसले संस्थाको वित्तीय पक्ष, सदस्यता सेवा (बचत, ऋण, तालीम), आन्तरिक व्यवस्थापन पक्ष र सिकाइ तथा वृद्धिको पक्ष गरी सबै क्षेत्र समेटेको छ,' एक्सेस संयोजक न्यौपानेले भने ।
एक महीनाअघि नेफ्स्कुनले आयोजना गरेको एक्सेस अभिमुखीकरण कार्यक्रममा सहभागी भएपछि ती संस्था एक्सेसमा सहभागी हुने भएका हुन् । कार्यक्रममा एशियाली ऋण महासङ्घका कार्यक्रम अधिकृत रञ्जित हिताको नेतृत्वमा आएको टोलीले प्रशिक्षण दिएको थियो । अभिमुखीकरणमा काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ, दोलखा र नवलपरासी गरी ६ जिल्लाका १२ सहकारी संस्थाका अध्यक्ष र प्रबन्ध निर्देशक सहभागी थिए । यस्तै सहभागी संस्थाहरूमा काठमाडौंका अैंचोपैंचो, दुर्गाभवानी र नयाँपाटी, ललितपुरका कल्याणकारी र पद्मावती, भक्तपुरका बालकुमारी र शुभकामना, धादिङको जनकल्याण, नवलपरासीका बिकु र किसान, दोलखाका हाम्रो जनकल्याण र फ्रेण्डशीप बचत तथा ऋण सहकारी संस्था रहेको नेफ्स्कुनले बताएको छ । तीमध्ये कल्याणकारी, नयाँपाटी, हाम्रो जनकल्याण र शुभकामना बचत तथा ऋण सहकारी संस्थाले कार्यक्रम शुरू गर्न सम्झौता गरिसकेको संयोजक न्यौपानेले जानकारी दिए । बाँकी ६ संस्थाले पनि छिट्टै सम्झौता गर्ने तयारी गरेको उनको भनाइ छ । अभिमुखीकरणमा सहभागी दुई संस्थाले अहिले एक्सेस कार्यक्रममा सहभागी नहुने बताएका छन् ।
विगत २ वर्षदेखि नेपालका सातओटा बचत तथा ऋण सहकारी संस्थामा सो कार्यक्रम सञ्चालन भइरहेको छ । एशियाली ऋण महासङ्घले वैशाखमा ती संस्थाहरूको अन्तिम लेखापरीक्षण गर्ने भएको छ । लेखापरीक्षणका आधारमा ती संस्थाहरूको स्तर निर्धारण गरी तक्मा प्रदान गरिने नेफ्स्कुनले जानकारी दिएको छ ।
उद्देश्य परिवर्तन गर्दै बाराही सहकारी
चैत २१,काठमाडौं । चालू आर्थिक वर्षको फागुनसम्म श्री बाराही बचत तथा ऋण सहकारी संस्थाको चुक्ता पूँजी करीब डेढ करोड रुपैयाँ पुगेको छ । गत आवको साउनको तुलनामा यो रकम रू. २७ लाख ५० हजारले बढी हो । आव ०६६/६७ को असारसम्ममा संस्थाले नयाँ तथा पुराना सदस्यलाई शेयर विक्री गरेकाले संस्थाको चुक्ता पूँजीमा वृद्धि भएको हो । चालू आवको फागुनसम्म संस्थाको जगेडाकोषमा करीब रू. ३५ लाख र अवितरित खुद बचत करीब रू. २४ लाख छ । संस्थाको जगेडाकोष गत आवको अन्तिम महीनाको तुलनामा रू. १ लाख ६९ हजारले बढी हो ।
श्री बाराही बचत तथा ऋण सहकारी संस्था २०५६ सालमा गःपली- १२, भक्तपुरमा स्थापना भएको हो । २६ जना सदस्यबाट जनही रू. १ हजार सङ्कलन गरी रू. २६ हजारबाट स्थापना भएको संस्थामा हाल सदस्य सङ्ख्या २ हजार ७ सय ८७ पुगेको छ । त्यसमध्ये १ हजार ३ सय ८ महिला, १ हजार ४ सय ७७ पुरुष र दुई संस्थागत सदस्य रहेका छन् ।
संस्थाले नियमित, ऐच्छिक, दैनिक मौज्दात, बाल, खुत्रुके, पेन्सन, शिक्षा, महशुल, घरनिर्माण, बीमा, गरगहना, सवारी साधन, अविच्छिन्न र लघुवित्त गरी १५ किसिमका बचत कार्यक्रम सञ्चालन गर्दै आएको छ । चालू आवको फागुनसम्ममा संस्थाको बचत रू. १२ करोड ३१ लाख ९१ हजार पुगेको छ । बचतमा संस्थाले वार्षिक ७ देखि १५ प्रतिशतसम्म ब्याज दिँदै आएको छ ।
यसैगरी संस्थाले कृषि, व्यापार/व्यवसाय, वैदेशिक रोजगारी, हायर पर्चेज, औद्योगिक, घरजग्गा, शैक्षिक, शेयर खरीद, सामाजिक, बैङ्क ब्यालेन्स शो र मुद्दती गरी ११ किसिमका कर्जा कार्यक्रम सञ्चालन गर्दै आएको छ । चालू आवको फागुनसम्ममा संस्थाको कर्जा रू. ११ करोड ५० लाख रहेको छ । अघिल्लो आवको अन्त्यको तुलनामा यो रकम रू. ६२ लाख ९३ हजारले बढी हो । ती कार्यक्रममा संस्थाले वार्षिक शून्य दशमलव ५ प्रतिशतदेखि १६ प्रतिशत ब्याज लिँदै आएको छ ।
संस्थाले नेपाल लाइफ इन्स्योरेन्स, जनहित बहुउद्देश्यीय सहकारी संस्था, नेफ्स्कुन, राष्ट्रिय सहकारी बैङ्क, भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घ, शुभकामना साकोस, अन्नपूर्ण विकास बैङ्कलगायत सङ्घसंस्थामा करीब रू. २४ लाख लगानी गरेको छ ।
संस्थाले २०६४ सालमा सिपाडोल गाविस-१ मा रू. १४ लाख ४३ हजारमा खरीद गरेको जग्गामा २०६६ सालमा करीब रू. १ करोडको लागतमा भवन निर्माणसमेत गरिसकेको संस्थाका प्रबन्ध निर्देशक राधेश्याम सुवालले जानकारी दिए । संस्था स्थापनाकालदेखि नै सामाजिक उत्तरदायित्वको क्षेत्रमा पनि सहभागी हुँदै आएको छ ।
पुण्यकृष्ण भुजू अध्यक्ष रहेको यस संस्थाको सचिवमा रविन्द्र सुजखू र कोषाध्यक्षमा विश्वराम त्वयना रहेका छन् । यस्तै सदस्यहरूमा तुलसीप्रसाद सुवाल, रामचन्द्र जोशी, रामकृष्ण ग्वार्छा,बलराम प्रजापति, कृष्ण प्रजापति, न्यच्छे लक्ष्मी सुजखू र राधेश्याम सुवाल छन् । यसैगरी संस्थाका लेखा संयोजक लक्ष्मीसुन्दर बासुकला तथा सदस्यहरूमा विष्णुप्रसाद सुवाल तथा कृष्णभक्त बोडे रहेका छन् ।
राधेश्याम सुवाल
प्रबन्ध निर्देशक
श्री बाराही बचत तथा ऋण सहकारी संस्था लि., भक्तपुर
आफ्नो संस्थालाई कसरी चिनाउनुहुन्छ ?
श्री बाराही बचत तथा ऋण सहकारी समुदायमा आधारित र सदस्यद्वारा नियन्त्रित संस्था हो । हाम्रो उद्देश्य भनेकै संस्थाका सदस्यको आर्थिक र सामाजिक विकास गर्नु हो । हाम्रा क्रियाकलाप नाफा कमाउनभन्दा बढी सामाजिक कल्याणमा केन्द्रित छन् । अब संस्थाले आफ्नो उद्देश्यलाई परिवर्तन गरी नाफामूलक क्षेत्रमा पनि काम गर्ने योजना बनाएको छ । यसका आधारमा म यस संस्थालाई सहकारीको मूल्य र मान्यतामा आधारित भई सधैं सदस्यको हितका लागि अघि बढिरहेको संस्थाको रूपमा चिनाउन चाहन्छु ।
एक दशकको अवधिमा तपाईंले भोगेका समस्याहरू बताइदिनहोस् न ।
एउटै उद्देश्यमा समुदायलाई लामो समयसम्म लिएर हिँड्नु आफैमा 'फलामको चिउरा चपाउनु सरह हो ।' त्यसैले सदस्यहरूलाई समायोजन गर्दै अघि बढ्न धेरै अप्ठयारो छ । यसैले बेलाबेलामा धेरै समस्या देखिए । अर्को कुरा नेपालमा सहकारीसम्बन्धी स्पष्ट कानून छैन । त्यसैले सहकारी विभागले दिने कतिपय निर्देशन झन्झटिला हुन्छन् ।
संस्थाको दीर्घकालीन लक्ष्यचाहिँ के हो ?
अहिलेसम्म संस्थाका अघिकांश क्रियाकलाप बचत सङ्कलन र परिचालनमा केन्द्रित छन् । तर, अबका दिनमा संस्थाले आफ्ना क्रियाकलाप उत्पादनमूलक क्षेत्रमा विस्तार गर्न लागेको छ । त्यसका लागि संस्थाले त्रिवर्षीय योजना पनि बनाएको छ । यसअन्तर्गत सो अवधिमा संस्थाले सदस्य सङ्ख्या बढाएर ५ हजार ५ सय पुर्याउने, कुल सम्पत्ति करीब रू. ३२ करोड पुर्याउने, चुक्तापूँजी करीब रू. ३ करोड पुर्याउनेलगायत लक्ष्य लिएको छ ।
सिमरामा सहकारी बैङ्कको शाखा
चैत २१, सिमरा (अस) । राष्ट्रिय सहकारी बैङ्कले बाराको सिमरामा शाखा कार्यालय स्थापना गर्ने भएको छ । आइतवार यहाँ बसेको शाखा स्थापना समन्वय समितिको बैठकले सो निर्णयगर्दै त्यसका लाग प्रक्रिया अघि बढाउन केन्द्रलाई अनुरोध गरेको छ । समितिका अध्यक्ष कृष्ण पौडेलको अध्यक्षतामा सो बैठक बसेको थियो । बैठकले सम्पूर्ण सहकारी सङ्घसंस्थालाई राष्ट्रिय सहकारी बैङ्कको शेयर खरीद तथा कारोबार गर्न अनुरोध पनि गरेको छ । राष्ट्रिय सहकारी बैङ्कमा सबै प्रकारका सहकारी सङ्घसंस्था आबद्ध हुन र कारोबार गर्न पाउने व्यवस्था छ ।
बैठकमा साना किसान कृषि सहकारी सङ्घ-बाराका अध्यक्ष शिव अधिकारी, दुग्ध उत्पादक किसान सहकारी सङ्घ-बाराका अध्यक्ष नारायण बर्तौला, रौतहट उपभोक्ता सहकारी सङ्घका अध्यक्ष तेजनारायण यादव, बारा बचत तथा ऋण सहकारी सङ्घका उपाध्यक्ष भोला गौतम, सचिव शम्भुराम, लेखा समितिका संयोजक मुकुन्दबहादुर क्षत्री, बारा माइक्रो बचत तथा ऋण सहकारी संस्था-रहुवाहीका अध्यक्ष रामबाबु पटेल, साना किसान कृषि सहकारी संस्थाका मुख्य प्रबन्धक रविलाल आचार्यलगायतको उपस्थिति थियो । बैङ्क स्थापनाका लागि आवश्यक आबद्ध हुने सहकारी संस्थाको सङ्ख्या करीब १ सय पुगिसकेको समितिले बताएको छ ।
सहकारी दिवसमा वक्तृत्वकला
चैत २१, दोलखा (अस) । राष्ट्रिय सहकारी दिवसको अवसरमा जिल्ला सहकारी सङ्घ र डिभिजन सहकारी कार्यालयद्वारा संयुक्त रूपमा आइतवार चरिकोटमा वक्तृत्वकला प्रतियोगिताको आयोजना गरियो । प्रतियोगितामा काब्रेको हनुमन्तेश्वर उच्च माविकी क्षितिजा बुढाथोकी पहिलो, दोलखाको भीम उच्च माविकी रेणु बस्नेत दोस्रो, माटीको महेन्द्रोदय उच्च माविका रामचन्द्र केसी तेस्रो भएका थिए । त्यसैगरी जिलुको सव माविका सहदेव थापाले सान्त्वना पुरस्कार हात पारे । विजयीहरूलाई क्रमशः रू. १ हजार, रू. ८ सय, रू. ६ सय र रू. ४ सय तथा प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रममा सबै सहभागीलाई रू. २ सय र प्रमाणपत्र पनि प्रदान गरियो । प्रतियोगितामा मावि र उच्च मावि गरी ८ ओटाको सहभागिता थियो ।
सोही कार्यक्रममा डिभिजन सहकारी कार्यालय, दोलखाले रामेछाप र दोलखा जिल्लास्थित सहकारीमध्ये दोलखाको जिरीमा रहेको फ्रेण्डशीप बचत तथा ऋण सहकारी र रामेछापको मन्थलीमा रहेको सहारा बचत तथा ऋण सहकारीलाई उत्कृष्ट सहकारीको रूपमा पुरस्कृत पनि गरेको छ ।
पर्यटन प्रवर्द्धनतर्फ हंस सहकारी
चैत २१, नारायणगढ(अस) (चितवन) । हंस बहुउद्देश्यीय सहकारी संस्थाले जिल्लामा रहेका टिकौली ताल, बीसहजारी ताल र जैविक विविधता केन्द्र (सङ्ग्रहालय)को प्रवर्द्धनका लागि विशेष अभियान सञ्चालन गर्ने भएको छ । संस्थाको टिकौली मध्यवर्ती सामुदायिक वनमा भएको संस्थापकहरूको पहिलो भेलामा सो जानकारी दिइएको हो । संस्थाले गत मङ्सिर २७ गतेदेखि सेवा शुरू गरेको हो ।
संस्थाले रत्ननगरको शान्तिचोक नजिक हाल बन्द अवस्थामा रहेको माछापालन व्यवसायलाई पुनः शुरू गर्न लागेको जानकारी भेलामा अध्यक्ष दिनेशकुमार चुकेले दिए । सो माछापालन २ वर्षदेखि बन्द अवस्थामा रहेको छ । भेलामा उनले सहकारीले आर्थिक भार एकैपटक नपर्ने गरी शेयर सदस्यहरूलाई सहकारीमार्फत नै विभिन्न घरायसी र व्यावसायिक प्रयोगका सामग्रीहरू आयात गर्ने व्यवस्था मिलाउन लागेको जानकारी दिए । सो सहकारीले व्यवस्थित आवासको विकास गर्ने उद्देश्यले पूर्वी चितवनको रत्ननगर-८, पसौनीमा हंस कोलनीको नाममा २३ कठ्ठा जग्गामा पीच बाटो, विद्युत्, खानेपानीको व्यवस्थापन गर्दै आएको पनि बताएको छ । अध्यक्ष चुकेको अध्यक्षतामा भएको सो भेला चितवनका प्रमुख जिल्ला अधिकारी वसन्तराज गौतमको प्रमुख आतिथ्यमा भएको थियो ।
सो सहकारी संस्थामा जिल्लाका उद्योग, व्यवसाय, कृषि तथा घरजग्गा कारोबारमा संलग्न संस्थापक १ सय ५२ र साधारण ८६ गरी २ सय ३८ सदस्य छन् ।
शेयर बजारलाई व्यवस्थित गर्न ११ बुँदे सुझाव
निरन्तर घट्दै गएको शेयर बजारलाई माथि उठाउनका लागि स्टक ब्रोकर एशोसिएशनका अध्यक्ष नन्दकिशोर मुन्दडाले ११ बुँदे उपाय अपनाउनुपर्ने बताएका छन् ।
मुन्दडाका उपायहरू राजनीतिक प्रतिबद्धता व्यक्त गर्ने, एकद्वार नीति अवलम्बन गर्ने, शेयर बजारमा सरकार संलग्न भएका कम्पनीहरूको लगानी भित्र्याउने, लगानीको स्रोत खोज्ने प्रक्रियालाई व्यवस्थित गर्ने, क्रेडिट रेटिङ एजेन्सीको स्थापना गर्ने, सीडीएस कम्पनीअन्तर्गत खरीद-विक्री प्रणालीलाई इण्टरनेटमा आधारित बनाउने, आईपीओमा सुधार गर्नुपर्ने, करबारे पुनःविचार गर्ने, शेयर बाई ब्याक पोलिसी लागू गर्ने, शेयर बजारका बारेमा सचेतना र जागरुक अभियान सञ्चालन गरी लगानीकर्तालाई निरुत्साहित हुन नदिनेलगायत छन् ।
Admin 2011-04-05