सहकारीद्वारा घ्यूकुमारीको जुस उत्पादन
यज्ञ बञ्जाडे
फागुन २३, काठमाडौं । स्वास्थ्य विकास सहकारी संस्थाले घ्यूकुमारी (एलोभेरा)बाट जुस उत्पादन गर्न शुरू गरेको छ । सो संस्थाले ६ महीनाअघि करीब रू. २२ लाखको लागतमा स्थापना गरेको 'ज्योति स्वरूप जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र'ले जुस उत्पादन शुरू गरेको हो । संस्थाले घ्यूकुमारीबाट जुस, जेल, पाउडर र मेहन्दीसमेत उत्पादन गर्दै आएको संस्थाका अध्यक्ष प्रदीपकुमार गौतमले अभियानलाई बताए । ६ महीनामा संस्थाले घ्यूकुमारीको ५ सय लिटर जुस उत्पादन गरिसकेको छ । गौतमका अनुसार उत्पादित जुसमध्ये हालसम्म करीब ४० हजार रुपैयाँको विक्री भइसकेको छ । जुसको मूल्य प्रतिलिटर रू. १ हजार २ सयदेखि रू. १ हजार ५ सय पर्ने संस्थाले बताएको छ ।
घ्यूकुमारी एकप्रकारको जडीबुटी हो । यसमा करीब २ सयभन्दा बढी पोषणतत्त्व पाइने ज्योति स्वरूप उत्पादन तथा प्रशोधन केन्द्रका प्राविधिक सल्लाहकार नरेन्द्रकुमार भुसालले बताए । यसमा भिटामिन ए, सी,ई, बी १, बी २, बी ३, बी ५, बी १२ लगायत तत्त्व पाइने बताइएको छ । भुसालका अनुसार घ्यूकुमारीले रोग प्रतिरोधात्मक क्षमता बढाउने, पेटको अल्सर कम गर्ने, मधुमेय हुँदा रगतमा हुने चिनीको मात्रा नियन्त्रण गर्ने, मांशपेशी तथा जोर्नीको दुखाइ कम गर्नेलगायत काम गर्छ ।
हाल संस्थाले चितवनको गुञ्जनगर गाविस-५ मा स्थानीय प्रसिद्धि जडीबुटी सहकारी संस्थासँग संयुक्त रूपमा करीब तीन बिगाहा क्षेत्रफलमा घ्यूकुमारी खेती शुरू गरेको छ । अहिलेसम्म सो जग्गामा घ्यूकुमारीको ८ हजार विरूवा रोपिसकिएको छ । चालू आवमा सो जग्गामा २० हजार विरूवा रोप्ने र आगामी तीन वर्षमा १ सय बिगाहा क्षेत्रफलमा घ्यूकुमारी खेती गर्ने लक्ष्य संस्थाको छ । प्रत्येक ६ महीनामा घ्यूकुमारीको एक बोटबाट १ देखि ३ किलोसम्म पात उत्पादन हुन्छ । प्रति तीन किलो पातबाट एक लिटर जुस उत्पादन हुने बताइएको छ । अध्यक्ष गौतमका अनुसार हाल संस्थामा नेपालका करीब ४० बढी विभिन्न सहकारी सङ्घसंस्थाले जडीबुटी प्रशोधनमा सहकार्य गर्न रुचि देखाएका छन् ।
यसबाहेक संस्थाले मौसमअनुसार अमलाको जुस, तितौरा, शीतल आयुर्वेदिक रस, लेमनग्रास चिया, मैनबत्ती, अगरबत्ती, सुठो, गरम मसला, बेसार, लसुनको धुलोलगायत वस्तु पनि उत्पादन गर्दै आएको छ । अध्यक्ष गौतमका अनुसार संस्थाले जडीबुटी उत्पादन र प्रशोधन वृद्धि गरे पनि बजार विस्तार गर्न सकेको छैन । घ्यूकुमारीसम्बन्धी जनचेतना र प्रचारप्रसारको अभावले बजार विस्तार गर्न नसकिएको उनको भनाइ थियो । 'संस्थाले उत्पादन गरेको सामग्री विक्री गर्न सकेका छैनौं, हाम्रो मुख्य समस्या नै बजार भएको छ,' गौतमले भने ।